logo
२०८१ मंसिर १२ बुधवार



बूढो वर–पीपलको आलाप

विचार/दृष्टिकोण |




रुकु कार्की

सामान्यतया साठी वर्ष नाघेका मानिसलाई ज्येष्ठ नागरिक भनिन्छ । यो यस्तो उमेर हो, जब मानिस क्रमशः बूढो हुँदै जान्छ । समाज पनि ऊबाट टाढिँदै जान्छ । परिवारका विभिन्न सदस्य, शुभचिन्तक, नाता–कुटुम्ब, साथीभाइ पनि टाढिँदै जान्छन् । त्यतिबेला मन एक्लो भइदिन्छ । तर, ऊ मानिसको जमातमा छ तर पनि ऊ एक्लो छ । निरीह र निराधार छ । ऊ जहाँ पुगे पनि एक्लो अनुभव गर्छ । मन, हृदय अर्थात् करिब एक÷डेढ पाउ पानको पात आकारको मासुको डल्लो, मन भाव हो, मन संवेदना पनि हो । मन काल्पनिक पनि हो । मन कोमल र उद्गार हुन्छ ।
प्रौढ अवस्था भएपछि झल्याँस्स हुन्छ मान्छे । ओहो, आखिर मैले के पाएँ ? जीवनमा रोग पाएँ, शोक पाएँ, पीडा र आहत पाएँजस्तो सम्झन्छ ।
जीवन प्रहर–प्रहरमा रङ्गिँदै, पखालिँदै बितिरहेको छ । धेरै उकाली–ओराली छिचोल्दै जीवन बितिरहेको छ । समयले कसैलाई पर्खंदैन, समयका क्षितिजहरू बिस्तारै टाढिँदै गए । हिजोजस्तो लाग्छ यस ठाउँमा उभिएर संसारका गतिविधि नियाल्न थालेको । ओहो तीन पुस्ता पो बितिसकेछ । सबैले बूढी भयौ भन्छन्– तर लठ्ठी नै टेकेर हिँड्नुपर्ने भइसकेको छैन । कोही साथी नलिई हिँड्नै नसक्ने अवस्थाचाहिँ भइसकेको छैन । अलि–अलि उमेर बाँकी छ । यौवनका तरङ्ग बाँकी छन्जस्तो अनुभूति हुन्छ । शरीरमा अब बुढ्यौलीका लक्षण देखिन थालेका छन् । दम, एलर्जी र रक्तचापको औषधिको मात्रा बढिरहेको छ । रोगभन्दा ज्यादा शोकले गाँजेको छ । सधैँ कतै न कतै दुखेको अनुभव गर्छु । लागूपदार्थ खाएजस्तै गरी लठ्ठिँदै आएका छन् । बुढ्यौली लागिहाल्यो– आफू जस्तोसुकै समस्या भए पनि सकुन्जेलसम्म गर्ने नै हो । मृत्युसँग सकेसम्म लड्ने हो । केही सीप नलागेपछि चाहिँ आलाप हुने हो । फूलजस्तो जीवन आज आफैँलाई काँडासरी बिझाइरहेको छ ।
उमेरको प्रौढतासँगै तरङ्ग र मन छताछुल्ल भएर आउँछ मस्तिष्कमा । शारीरिक शिथिलता बढ्दै गइरहेछ । फुलेका केश र क्लान्त शरीरले मलाई बुढ्यौलीमा पुगेको प्रस्ट हुन्छ, साठीभन्दा बढी । डुब्न लागेको जून, घामजस्तै यो जिन्दगी अब मृत्युले खान तयार भएको छ । छोराबुहारी, छोरीज्वाईं र नातिनातिना भनेर जे–जसरी नाता जोडिएका छन्, तिनले प्रत्येक घरका बूढाबूढीलाई कमजोर तुल्याएका छन् । यो हाम्रो सामाजिक यथार्थ हो । धनी होस् या गरिब जुनसुकै घरका वृद्धवृद्धा हुन्, जीवनमा कहिल्यै दुःख र उत्पीडन नहोस् । यस अवस्थाका लौरा भनेका छोराबुहारी र नातिनातिना नै हुन् ।
दिन बित्दै गइरहेछ, स्वास्थ्य खस्किँदै छ । बिस्तारै कमजोर हुँदै आफैँ सबैतिर टाढिँदै एक्लिँदै गइरहेकी छु । उमेरले जीवनको उच्छ्वास, छटपटी र तरङ्गलाई थामेको छ । मन र उमेरको इसारामा चलिरहेको छ, शरीर । मन कहिले भत्किने र दगुर्ने यो ५० देखि ६० वर्षको प्रौढकाल । त्यसैले होला अचेल बिस्तारै कलम पनि कमजोर हुँदै गइरहेको थाहा पाउँछु । मेरा पाठक–श्रोता मेरो लेखनमा रमाउन थालिसकेको अनुभव गर्छु । के–के सम्झन्छु, एकपछि अर्को गर्दै धेरै कुरा सम्झन्छु । किन चाउरिस् मरिच ? भन्दा आफ्नै पीरले भन्थ्यो रे, बूढाबूढीलाई जति पीर त्यो जाबो मरिचको गेडालाई के प¥यो होला र ! हुन त मनको बह कसैसँग नकह भन्छन् तर आफूलाई आत्मसन्तोष लाग्छ । सबैसित बह पोख्न पाए कतै जीवनबाट मुक्ति पाइहाल्थ्यो कि ! दाँत झर्नु, आँखा कम देख्नु, स्मरण शक्ति नहुनु, परिवारको बोझ हुनु, कति विडम्बित र अभिशप्त छ जिन्दगी ! अहिलेको आफू र किशोरी अवस्थाको आफूमा आकाश जमिन फरक पाउँछु ।
म यतिखेर हाम्रो गाउँको घरअगाडिको बूढो वर–पीपलको आलाप सम्झन्छु । तर, ती दुई प्रौढ रूख आत्मवेदनाले छटपटाएको देख्छु । उमेरको प्रौढतासँगै जरा र हाँगाबिँगा शारीरिक शिथिलता बढ्दै गएको र जरादेखि टुप्पोसम्म कीराका पोको गुजुल्टिरहेका देखिन्छन् । ती चुस्दै थिए, बूढो रूखको रगत र पसिना । तिनै कीरालाई नियालेर हेरिरहन्छु । कीराको निरीक्षण गर्दै जाँदा दुई÷चारवटा झुसिलकीरा पनि टोक्दै थिए, त्यही दुई रूखलाई । लाग्छ यो शरीर बूढो वर–पीपलको रूख भएको छ । हाँगाबिँगा सबै मक्किन थालेका छन् । जरा बाहिर निस्किँदै छ । रूख ढल्नमात्र बाँकी छ । हिन्दु धर्ममा वर–पीपलको ठूलो महŒव छ । देवताको प्रतीकका रूपमा श्रद्धापूर्वक पुजिन्छ । पीपल सबैभन्दा बढी अक्सिजन दिने बिरुवा पनि हो ।
भीष्मपितामहले महाभारतको शान्ति पर्वमा भनेका छन्, “हामीजस्तै रूख वृक्षमा पनि जीवन हुनाले विनाप्रयोजन काट्नुहुँदैन । काटे जीवहत्या लाग्छ । यदि काटिएछ भने पनि त्यसबाट मुक्ति पाउन अर्को वर–पीपल रोप्नुपर्छ । पीपल–वर र पैयूँको पात मात्रको उपस्थितिले महायज्ञजस्ता धार्मिक कार्यमा अति शुभ हुन्छ । गीताको दसौँ अध्यायमा विभूति र ऐश्वर्यको वर्णन गर्दा “वृक्षमा पीपलै म हुँ भनी भगवान्ले भनेका छन् । वर–पीपलको वृक्ष रोप्नाले आकाशबाट पानी पर्दा पातबाट जति थोपा धरतीमा खस्छन्, त्यतिपटक पितृले तर्पण–जल पाउँछन् र वर–पीपलको वृक्ष रोप्ने व्यक्तिको कुल कहिल्यै नष्ट हुँदैन भनिएकाले महाभारत खण्डका विभिन्न ठाउँमा वर–पीपलका चौतारीका प्रसङ्ग भेटिन्छन् ।
कुनै बेला कति महŒव थियो वर–पीपल चौतारीको ? अब यस्तो चौतारो बनाउने गाउँमा को होलान् र ! हाम्रा पुर्खाले वर–पीपल, स्वामी, आँक र तुलसी रोपेर त्यत्तिकै धर्म गरेका होइनन् । जीवन बाँच्नका लागि जीवनोपयोगी आयुर्वेदिक औषधिको पनि प्रयोगमा ल्याए ।
पहिला छोराछोरीको भविष्यको चिन्ता लाग्थ्योे, आज मेरो भविष्यको चिन्ता लाग्छ । कुनै बैङ्क ब्यालेन्स छैन । न जागिर न बन्द व्यापार । छोराबुहारीका आधारमा बाँचिरहेकी छु । कसैसँग मागेर खाइएन । ढाँटेर खाइएन, छलेर खाइएन । म मेरो आमाको अवस्थामा पुगेँ भने मेरो हालत कस्तो होला ? डाँडापारिको पहेँलो घामजस्तै उमेर वर्षात् अनि हिउँदको घामले मेरा जीवनलाई छोट्याइरहेको छ । भित्र–भित्रै बेचैनी र छटपटीसँगै हरेक प्रश्न मडारिरहन्छ । प्रौढ अवस्थामा यहीँबाट मुटु हल्लाइदिने गीतको सिर्जना हुन्छ । त्यहीँबाट मन भिजाइदिने व्यथाको जन्म हुन्छ । ‘विरह व्यथा पलाए रुनुप¥यो धर–धर तिमी भयौ बूढी पीपल म त बूढो वर...’ यो गीत मुटुको ढुकढुकीमा बढी सम्बन्धित हुने हुँदा संवेदनशील हुन्छ । जस्तै गीतमा कतै खुसी उर्लन्छन्, कतै पीडा बर्सन्छन् । वृद्धावस्थाले लम्किरहेको मेरो उमेरले मलाई नै जिस्काएझैँ लाग्छ । निद्रा नलाग्ने समस्याले सताउन थालेको छ । कोसँग भनूँ आफ्नो हृदयका व्यथा ? धेरै भइसक्यो मेरो शरीरको नसा, जोर्नी र मानसिकतासमेत खल्बलिन थालेका छन् । फेरि विगतलाई फर्केर हेर्छु, समय आइरहेछ, गइरहेछ । धेरै कुरा आँखाभरि हुन थाल्छन् । अहिले मेरो मनले भनिरहन्छ– यो संसारमा कुनै भविष्य छैन । जे छ वर्तमानमा आज छ, अहिले छ, पलपलमात्र जीवन छ ।
बिहेपछिको किशोरी अवस्थाको सम्झना हो । घरनजिकै सासूससुराले वर–पीपल रोपेर चौतारा बनाउनुभयो । वर–पीपलको विवाह गरिदिनुभयो । आदरणीय, पूजनीय र ममतामयी उहाँहरू दुवैजना गइसक्नुभयो । जिन्दगीको गहिरो इनारभित्र पसेर सोचिरहन्छु– अब मसँग एउटा असल र महान् सासूससुराको पुरानो स्मृतिबाहेक अरू के नै छ र ! मात्र सम्झनाको एउटा धमिलो आकृति बसेको छ, उहाँहरूले सुस्ताएको चौतारीमा । यौवनकालमा अनुभव गरेका त्यो ठाउँको सम्झना र वर–पीपलका चौतारी म बिर्सन सक्तिनँ । अहिले पनि मलाई चौतारीले गाइरहेझैँ, बोलाइरहेझँै र आलाप गरिरहेझैँ लाग्छ । यो चौतारी मेरो मानसपटलमा फनफनी घुमिरहन्छ । तैपनि त्यो वृक्ष जो आँधीबेहरी वर्षा, असिना र चट्याङ, जाडो र गर्मी सबै बेहोरेर बाँचिरहेको छ । सबैलाई यी पवित्र रूखले शीतलता दिइरहेको छ । आफ्नो जीर्ण शरीर बोकेर बाँचिरहेको त्यो बूढो वर–पीपलको आलाप भग्नावशेषजस्तो लाग्छ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?