logo
२०८१ मंसिर १२ बुधवार



बालबालिकामा मोबाइल लत

विचार/दृष्टिकोण |




मञ्जु भट्ट

भर्खरै कक्षा आठमा पढ्ने मेरी छोरी स्कुलबाट पिकनिक गइन् । पिकनिक स्थलमा स्कुलले बिङ्गो, पट ब्रेकिङ, कबड्डीजस्ता धेरै खेलहरू खेलाइएछ । छोरीले मोबाइल लगेकी थिइनन् र सबै खेलहरूमा भाग लिइन् । सँगैका कतिपय साथीहरू भने मोबाइल लगेकाले त्यसमै व्यस्त हुँदा एउटा खेलमा पनि भाग लिएनन् । पोहोर साल पसलमा भेट भइरहने एकजना हजुरबुवाले आफ्नी दुई वर्षीया नातिनीले मोबाइलबाट अ–आ भन्न सिकिसकेको र धेरै गीतहरू पनि गाउन सिकेको सुनाउनुभयो । अस्ति उनै हजुरबुवासँग भेट हुँदा नातिनी मोबाइल छोडेर स्कुल जान पनि नमान्ने, बिहान खानेबेलासम्म मोबाइल नै चाहिने र बेलुका घर फर्केपछि पनि मोबाइल नै माग्ने कारण गृहकार्य गराउनसम्म हम्मे परेको सुनाउनुभयो । त्यसैगरी कक्षा एकमा पढ्ने मेरो छोराले छुट्टै मोबाइल चाहियो भनेर जिद्दी गर्न थाल्यो । हुन त छ वर्षको छोराले मोबाइलबाट धेरै कुरा के नै सिक्न सक्छ र । त्यसैले बिदाको दिन निश्चित समयबाहेक स्कुल लागेका दिनहरूमा उसलाई मोबाइल दिने गरिएको छैन । ऊ खुसी छ । मुना, कथाका किताबहरू पढ्छ ।
सोचेँ पहिला हाम्रो पालामा बिहे गरेर माइत आएका फुपू, दिदीहरू वा अन्य जोसुकै पाहुनासँग पनि कति छिटो घुलमिल हुन्थ्यौँ । उनीहरूका घरमा कतिवटा बच्चाहरू छन्, के–के गर्छन्, किन सँगै नल्याएको, छोडेर जान पाइँदैन भन्दै रुने गथ्र्यौं । अहिले घरमा पाहुना आए पनि मोबाइलमा के–के भिडियोहरू डाउनलोड गरेका छौ, कुन–कुन मुभीहरू हेरियो, कुन हिरो, हिरोइन मन पर्छजस्ता कुरा बढी हुन्छन् । परिवारमा को–को बस्छन्, के गर्छन्, कसलाई के बिरामी छ, न पाहुना युवाहरूले सोध्ने जाँगर चलाउँछन् न त घरका केटाकेटीलाई पाहुनाका बारेमा जान्ने इच्छा हुन्छ । कसैलाई केही मतलब हुँदैन सिवाय मोबाइलमा नेट छ कि छैन । अहिलेका केटाकेटी मोबाइलमा कुरा गर्नुपरे पनि बोल्न मान्दैनन् । किनभने के बोल्ने भन्ने उनीहरूलाई थाहा नै हुँदैन ।
भर्खरै स्कुलमा दोस्रो त्रैमासिकको परीक्षाफल लिन आएका विद्यार्थीमध्ये सानो भाइले ‘यी दिदीहरूले घरमा कति धेरै मोबाइल चलाउँछन् त्यसैले रिजल्ट बिग्रिन्छ’ म सरहरूलाई भनिदिन्छु भने । उनकी आमाले होमा हो मिलाउँदा छोरीहरूले पनि ‘तपाईं घरमा कति मोबाइल चलाउनुहुन्छ, हामीले पनि तपाईंबाटै सिकेको हो नि भनिदिन्छौँ’ भन्ने जवाफ फर्काए । त्यसपछि सबैजना तैँ चुप मै चुप भए । कक्षा छ देखिका विद्यार्थीसँग आफ्नै वाइफाइजडित मोबाइल रहेको बताउँछन् । त्यसैले कहिलेकाहीँ चोरेर स्कुलमा पनि लिएर आएका भेटिन्छन् । साना बालबालिकामात्रै हैन, कतिपय क्याम्पस पढ्ने विद्यार्थी पनि चिया खाने बहाना बनाई पसलमा घण्टाँैसम्म मोबाइलमै घोप्टिएका भेटिन्छन् । भेटेको बेला आफ्नो पढाइसम्बन्धी छलफल गर्ने, घरभित्र, घरबाहिरका समसामयिक गतिविधिहरूका बारेमा जानकारी लिने गरेको देखिँदैन । साँच्चै भन्ने हो भने यस्ता युवासँगै बसेर पनि बोलचाल गरेको कमै देखिन्छ । भोलि गएर यस्ता युवालाई सामाजिक सद्भाव कायम राख्न, घरपरिवारमा आइपरेका कठिनाइ पार लगाउन आफूसँग त्यसको ज्ञान नहुँदा हम्मे नपर्ला भन्न सकिन्न ।
मोबाइल बोक्दै सधैँजसो बेलुकी डुलिरहनुभन्दा पनि कहिलेकाहीँ घरमा आफ्नी आमासँग बसेर साग केलाउन, तरकारी काटन मद्दत गर्नु, आफ्ना बुवासँग जीवन दर्शनका गहकिला कुराहरू सुन्नु, कहिलेकाहीँ चिया पकाएर सबैलाई खुसी पार्दा जीवनका अमूल्य कुराहरू सिकिन्थे कि ।
अहिले सबैको मनमस्तिष्कलाई मोबाइलले यसरी गाँजेको छ कि एक दिन पनि मोबाइल नभई बाँच्न नसकिनेजस्तो । पहिला विद्यार्थी स्कुल जान भनेपछि खुसीले उफ्रिन्थे । कारणवश घरमा बस्नुपर्दा दिनभरि उनीहरूलाई नरमाइलो हुन्थ्यो । अहिले भने स्कुल छुट्टी भयो भने वा मोबाइल चलाउनकै लागि आफैँ विभिन्न बहाना बनाई घरमै बस्न खोजेको देखिन्छ ।
यो वर्षको गर्मी बिदा सकिएसँगै फ्रान्सले १५ वर्षमुनिका विद्यार्थीलाई स्कुलमा सेलफोन, ट्याब्लेट र स्मार्ट घडीहरूसमेत प्रयोग गर्नबाट वञ्चित गरेको छ । यसलाई फ्रान्सले ‘ल फर द ट्वान्टी फस्र्ट सेन्चुरी’ भनेको छ । आफैँ सोच्ने, खोज्ने, रचनात्मक हुनुभन्दा पनि जुनसुकै कुराका लागि विद्यार्थी मोबाइलमा भर पर्न थालेको जनाइएको छ । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनका अनुसार प्रविधिसँग साक्षात्कार हुनु भनेको मोबाइलमा देखापर्ने प्रत्येक कुराहरू स्कुले विद्यार्थीले स्वीकार गर्नैपर्छ भन्ने छैन । एक नयाँ अध्ययनका अनुसार एक्काइसौँ शताब्दीका बासिन्दालाई डिजिटल बासिन्दा भन्न थालिए पनि लगातार लामो समयसम्म मोबाइलको प्रयोगले स्क्रिन डिपेन्डेन्सी डिसअडर (एसडीडी) हुने र यसले ब्रेन ड्यामेज गर्न सक्ने भनिएको छ । प्रसिद्ध ब्रिटिस मनोचिकित्सक डा. एरिक सिगमनका अनुसार एसडीडी इन्टरनेट एडिक्सन डिसअडरजस्तै हो ।
अहिलेका साना बालबालिकादेखि युवासमेत घरबाहिर कतै घुम्न जाँदा बसमा पनि दायाँबायाँ हेर्नु, कुन ठाउँ पुगियो इत्यादि जान्नुभन्दा पनि मोबाइलमै व्यस्त भेटिन्छन् । पार्क इत्यादिमा घुम्न जाँदा पनि बुवाआमा बढी रमाइलो गर्छन् । धेरैजसो छोराछोरी भने मोबाइल नै मागिरहेका वा खेलिरहेका भेटिन्छन् । यसले उनीहरूमा धेरै नकारात्मक प्रभाव पारिरहेको हुन्छ । केटाकेटीहरू डिप्रेसनको सिकार हुन सक्छन् । विभिन्न अध्ययन र खोजका अनुसार घण्टौँ एउटै आसनमा बसेर मोबाइल चलाउँदा उनीहरूलाई नाडी, पाखुरा, गर्दन तथा कम्मरको समस्या हुने सम्भावना हुन्छ । अश्लील भिडियो, फिल्म हेरेर समयअगावै परिपक्वता आउन सक्छ । फेसबुकमार्फत साथीहरूहरूसँग नजिक भएर आफ्ना अन्तरङ फोटोहरू साटासाट गर्दै एकले अर्कालाई ब्ल्याकमेल गरेर जीवन जोखिममा पार्न सक्छन् । उनीहरूमा एक्लोपना बढ्छ । साथीहरू तथा अन्य मानिससँग निर्धक्क भई बोल्न र घुलमिल हुन हिच्किचाउने हुन्छन् । आँखा जुधाएर कुरा गर्न डराउँछन् । उनीहरूले मोबाइलबाट आफूलाई काम लाग्ने कुरा केही पनि खोजेका हुँदैनन् तर आफ्नो महŒवपूर्ण समय भने बर्बाद गरिराखेका हुन्छन् । घरबाहिर खेलिने शारीरिक विकासका लागि महŒवपूर्ण खेलहरू खेल्न छाडेका हुन्छन्, जसले गर्दा उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । चिकित्सकका अनुसार आँखा र मोबाइलको बीच अठार इन्चको दूरी राख्नुपर्ने हुन्छ । त्यो नमिलाएर लामो समयसम्म आँखा नझिम्काई हेरिरहँदा त्यसबाट आउने रेडियो तरङ्गहरूले आँखालाई नराम्ररी असर गरिराखेको हुन्छ ।
हालैका केही खोजअनुसार समय मिलाएर प्रत्येक दिन एक घण्टामात्र मोबाइलमा भिडियो गेम खेल्ने हो भने यसले विद्यार्थीलाई योजना बनाएर काम गर्न सिकाउँछ साथै सिर्जनात्मक पनि बनाउँछ । मोबाइललाई राम्रोसँग प्रयोग गर्न सक्यो भने आफ्नो पढाइसम्बन्धी तथा थप ज्ञान बढाउन चाहिने सर्वत्र कुरा त्यसमै हुन्छ ।
अमेरिकन एकेडेमी अफ पिडियाट्राक (एएपी) का अनुसार दुईदेखि पाँच वर्षसम्मका बालबालिकाले दिनको एक घण्टाभन्दा बढी मोबाइल प्रयोग गर्नु घातक मानिएको छ । अठार महिनाभन्दा कम उमेरका बालबालिकालाई मोबाइल हेर्न दिनुहँुदैन । तर, हामीहरूको बानी खाना खुवाउनेदेखि आफ्नो सजिलोका लागि बच्चाहरूको हातमा मोबाइल थमाइदिन्छौँ । हामी नै उनीहरूको बानी बिगार्ने मुख्य कारण त बन्दै गएका छैनौँ ? घरभित्र आफू पनि सजग हुनु जरुरी छ । हामीहरू आफैँ मोबाइलमा व्यस्त भइदियौँ भने बच्चाले सिक्ने नै त्यही हो । प्रत्येक अभिभावकले आफ्ना छोराछोरीलाई मोबाइलको लत नलागोस्, उनीहरू सिर्जनशील होऊन् भनेर होश पु¥याउनु जरुरी छ । बाल मनोचिकित्सकहरूका अनुसार बालबालिकामा पैसा खर्च गर्नुभन्दा, उनीहरूलाई खाना, खेलौना दिएर एक्लै अल्झाउनुभन्दा अभिभावकले समय खर्च गर्नु अति नै महŒवपूर्ण हुन्छ ।

(लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?