डा. प्रकाश बुढाथोकी
जाडोमा खासगरी रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, ब्रोङ्काइटिस, दम, श्वासप्रश्वास, पिनास, निमोनिया, चिसोको एलर्जी, घाँटीको सङ्क्रमण, भाइरल झाडापखाला, छाला फुट्ने, चिलाउने, सुन्निने, सेतो कत्ला निस्कने, छाला सुख्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने लगायत मुटु कमजोर बन्दछ । हातखुट्टाका औँला, कान रातो हुने, चिलाउने, सुन्निने र कहिलेकाहीँ घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्ने, शरीर चिलाउने, अपच, पखाला, आउँ जस्ता पाचनसम्बन्धी रोग र हातखुट्टा र जोर्नी सुन्निने अवस्था पनि त्यत्तिकै हुन्छ । मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रान्त पार्दछ चिसोले । शीतलहरले मुटु र मस्तिष्कमा असर पारी हृदयाघात दोब्बर बढी हुने, कोलेस्ट्रोल बढाउने, पक्षाघात गराउने, सरसफाइको कमीले विभिन्न सङ्क्रमण र बालबालिकामा दादुरा, ठेउला पनि ल्याउँछ । शरीरको प्रवेशद्वारलाई चिसो मौसमले असर नपार्ने कुरै रहेन । त्यसमा पनि विशेषतः चिसो पिउदा, खाँदा, ब्रस गर्दा र हावा मुखमा पर्दा समेत दुःख दिने सिरिङ्गको बारेमा चर्चा गरौँ ।
हाइपरसेन्सिटिभिटी
मुखमा चिसो पानी तथा गुलियो वस्तु पर्दा दाँत दुख्ने, लाग्ने रोगलाई चिकित्सकीय भाषामा हाइपरसेन्सिटिभिटी भनिन्छ । यो एक किसिमको दुःखाइ हो जुन दाँतको बीचको तह डेन्टिन देखिएर हुने गर्दछ । यस रोगलाई सुरु गराउने तथा बढाउने काम तातो, चिसो, ब्रस गर्दा वा छुँदा, औषधि, रसायन, गुलियो पदार्थले गर्दछ । दुःखाइ चिन्ह नभएर लक्षण भएकाले दुःखाइको समय, प्रकार गाम्भीर्य चिकित्सकलाई थाहा नहुने भएकाले बिरामीलाई यसबारे विस्तृत सोधपुछ गरी निदान गरिन्छ ।
डेन्टिन कसरी देखिन्छ
दाँतको बाहिरी सतह मुकुटमा भए इनामेल, जरामा भए सिमेन्ट र घाँटीमा भए इनामेल र सिमेन्ट दुवै नोक्सान भएर भित्री सतह डेन्टिन देखिन्छ । डेन्टिनमा भएका डेन्टिनल ट्युबुल जहाँ नसाहरू हुन्छन् बाहिरी वातावरण वा मुखको वातावरणसँग प्रत्यक्ष सम्पर्कमा आउन थाल्छ । त्यसैले हामीले गुलियो, चिसो खाँदा, ब्रस गर्दा, अमिलो खाँदा नसासँग सम्पर्कमा आई दुख्छ ।
दाँत कीराले खाँदा (दन्त सडन), दाँत खिइनु, गिजाले दाँत छोड्नु, दन्तहर्षा र पाइरिया हुनु, दाँतमा चोटपटक लाग्नु वा दाँत भाँचिनु, भरिएको सिमेन्ट फुट्नु, चुहिनु, चोइटा निस्कनु, औषधि– चपाएर खाने भिटामिन सी, एस्प्रीन र थुक कम निकाल्ने औषधि, मेसिनले दाँत, गिजा सफा गरेपछि जस्तै स्केलिङ, रुट प्लानिङ र पेरियोडेन्टल शल्यक्रिया, परम्परा तथा धार्मिक कारणले दाँतको कुना हटाइँदा, बुढ्यौली उमेर, गिजाका रोग र हाइपरएसिडिटीमा दाँतले चिसो पिउन सक्दैन । ब्याट्री, प्लेटिङ, दर्जी, सिकर्मी, जुत्ता बनाउने, अस्वेस्टस धुलोमा रोजगारी तथा काम गर्नेहरू, दाह्रा किट्ने, पाइपबाट धूमपान गर्ने, बबी पीन दाँतले खोल्ने बानी, माटो खाने बानी भएकामा पनि समस्या देखिन्छ । त्यसैगरी गलत र जोडद्वार ब्रसिङ्ग सुर्ती चपाउने बानी, अत्यधिक अमिलो पदार्थको सेवन —अचार, कोल्डड्रिङ्क्सले पनि समस्या निम्त्याउँछ ।
सबैभन्दा बढी हाइपरसेन्सिटिभिटी हुने कारणमा ब्रस गर्ने तरिका नमिलेर तथा प्रयोग गरिने दन्तब्रस र दन्तमञ्जन नमिल्दा दाँतका घाँटी क्षेत्रमा इनामेल, सिमेन्ट खिइएर डेन्टिन देखिने अवस्था हो । आधिकारिक आँकडा नभए पनि एकहजार ५५० भन्दा बढी स्वास्थ्य शिविर तथा २० वर्षभन्दा बढी अस्पतालमा बिरामी हेर्दाको अनुभव अनुसार करिब ३५ देखि ५५ प्रतिशतमा यस्तो पाइएको छ । २५ देखि ४५ वर्ष उमेर समूहमा, पुरुषभन्दा महिलामा बढी देखिएको छ ।
दाँत सिरिङ्ग हुने समस्याले जीवन दुःखदायी बनाउँछ । तातो, चिसो, गुलियो र अमिलो खाँदा दुख्ने तथा कष्ट हुने भएकाले, खाने तथा पिउने आनन्द पाउन सकिन्न । त्यसैगरी नित्यकर्म दाँत सफा गर्ने काममा बाधा पर्दा तथा ब्रस नगर्दा फोहोर कुरा, दन्तलेउ जम्मा भई सेन्सिटिभिटी बढाउँछ तब दन्त सडन, गिजासम्बन्धी रोग, पाइरिया तत्पश्चात् शरीरमा विभिन्न रोग निम्त्याउँछ ।
व्यवस्थापन
दाँतको दुःखाइबाट हाइपरसेन्सिटिभ र क्षेत्रको निदान गर्नुपर्छ । कारण पत्ता लगाई त्यसको नियन्त्रण गरिनुपर्छ । बिरामीले घरमै प्रयोग गर्नसक्ने रासायनिक पदार्थ जस्तै फ्लोराइड, पोटासियम क्लोराइड, नाइटे«ड, स्ट्रोन्टियम क्लोराइड, सोडियम साइटे«ट, डाइक्याल्सियम फस्फेटयुक्त मलम, माउथवास वा मञ्जन प्रयोग गर्नसक्छन् । त्यतिले ठीक नभए अस्पतालमै प्रयोग गर्ने तत्व दाँतमा लगाइदिएर हाइपरसेन्सिटिभिटी निर्मूल गर्न सकिन्छ ।
त्यस्तै चिसोको प्रकोपबाट बच्न तातो र न्यानो स्थानमा बस्ने गर्नुपर्दछ । चिसो हावा लाग्ने ठाउँमा हिँडडुल नगर्ने तथा धुलो धुवाँ, चिसो र सङ्क्रमणबाट बच्न मास्क लगाउनुपर्दछ । खानपानका वस्तुमा पोषणयुक्त र सन्तुलित खाना खाने, तातो र झोलयुक्त खाद्यपदार्थको बढी उपयोग गर्ने, मौसमी फलफूल लिने र सागसब्जी प्रशस्त खानुपर्छ । खुला ठाउँमा नजाने, वातावरणलाई न्यानो बनाउने र आफैँ सचेत भएर बस्नुपर्छ । एउटै बाक्लो कपडाको सट्टा दुई तीनवटा पातलो लुगा लगाउने, कम्मल ओढ्ने गर्नुपर्दछ । रोग लागेका व्यक्तिबाट टाढै बस्ने, दम निमोनिया, ब्रोङ्काइटिस र मुटुसम्बन्धी रोगको उपचार गराउनुपर्दछ । धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ । जाडोमा छिटो पच्ने र भोक लाग्ने भएकाले जथाभावी जे पायो त्यही खानपान गर्नहुँदैन । मर्निङवाक बिहानै नभई वातावरण तातेपछि ९–१० बजेतिर गर्नुपर्छ ।
पूरै झ्यालढोका बन्द गरी बाथरुममा नुहाउने, कोठामा भुसको आगो बाल्ने, मकल ताप्ने, मट्टीतेल तथा ग्याँसयुक्त हिटर, कोइला र आगो बाल्ने गर्दा कोठाभित्रको अक्सिजन आगोले लिइदिने, अक्सिजनको मात्रा कम हुँदै जाने समस्या एकातिर हुन्छ भने अर्कोतिर आगोले कार्बन मोनोअक्साइड जस्ता विषालु ग्यास बढी हुँदै गई मानिसलाई आवश्यक पर्ने अक्सिजन कम भई विस्तारै अचेत बनाई थाहै नपाई मृत्युसमेत हुने खतरा बढ्छ, घरमा आगलागी हुनसक्छ ।
( लेखक दाँत एवं मुखरोग विशेषज्ञ हुनुहुन्छ ।)