अमृतकुमार बोहरा
गोविन्द वियोगी र म उमेरले दाइ÷भाइ जस्ता थियौँ, उहाँ मभन्दा १९ वर्ष जेठो हुनुहुन्थ्यो । तर व्यवहारमा चाहिँ साथी जस्ता । उहाँ मलाई ‘अमृतजी’ वा ‘बोहराजी’ भनेर बोलाउनुहुन्थ्यो भने म ‘गोविन्द दाइ’ वा ‘वियोगी दाइ’ भन्थेँ । हाम्राबीचमा अत्यन्त आत्मीयता थियो । मैले भेट्दा उहाँ ‘मातृभूमि’ साप्ताहिकको सम्पादक हुनुहुन्थ्यो । हरेक मङ्गलबार प्रकाशित हुने ‘मातृभूमि’ को कार्यालय काठमाडौँको घण्टाघर नजिकै सामान्य घरमा थियो ।
म त्यसबेला सिन्धुपाल्चोकको बाह्रबिसेस्थित शारदा माध्यमिक विद्यालयमा अध्ययन गर्दैगर्दा परिवर्तनका लागि नेपाल कम्युनिष्ट पार्टीको पुष्पलाल समूहमा आबद्ध भइसकेको थिएँ । निरङ्कुश–निर्दलीय पञ्चायती शासन व्यवस्थामा राजनीतिक दल र तिनका कार्यकर्तालाई काम गर्न बन्देज भएकाले जनताका बीचमा गोप्य रूपमा अर्थात् भूमिगत शैलीमा काम गर्नुपर्दथ्यो । त्यसबेला कामविशेषले म बारम्बार काठमाडौँ आवतजावत गरिरहन्थेँ । २०२४ सालतिर एकजना मित्रमार्फत गोविन्द वियोगीसँग मेरो परिचय भए यता काठमाडौँ आएपछि ‘मातृभूमि’को कार्यालयमा नपसी र उहाँलाई नभेटी म फर्किन्नथेँ ।
हामी ‘मातृभूमि’ असाध्यै रुचिका साथ पढ्थ्यौँ । भाषा शिष्ट र सरल हुन्थ्यो भने अडान चाहिँ बेजोड । धेरैजसो जनपक्षीय र प्रजातान्त्रिक प्रकृतिका खबर– विश्लेषणहरू आउँथे । निरङ्कुशताको आँखा छलेर र ‘सेन्सरसिप’ बाट उम्केर आउने ती विश्लेषणहरू हाम्रा निम्ति प्रेरणादायी हुन्थे । ‘मातृभूमि’को प्रवृत्ति प्रगतिशील थियो । त्यतिखेर हिन्दचीन अर्थात् भियतनाम, कम्बोडिया र लाओसमा अमेरिकाले ठूलो सैनिक हस्तक्षेप गरेको थियो र त्यहाँका देशभक्त जनता अमेरिकी साम्राज्यवादी आक्रमणका विरुद्ध आफ्नो भूमिको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय मुक्तिका निम्ति जीवन–मरणको लडाइँमा थिए । हामी नेपालीहरू हिन्दचिनी जनताको स्वाधीनताका पक्षमा दृढतापूर्वक उभिएका थियौँ । त्यसका लागि कहिले सभा–प्रवचन हुन्थे भने कहिले जुलुस निस्किन्थे । त्यसको समाचार ‘मातृभूमि’ ले समाचार छाप्थ्यो । यी र यस्तै कारणले हामी ‘मातृभूमि’ पत्रिका खोजी–खोजी पढ्थ्यौँ ।
हामीले बाह्रबिसेमा ३० प्रति ‘मातृभूमि’ मगाएका थियौँ । मिलेर बिक्री–वितरण गर्ने भएकाले त्यो हाम्रो जनसम्पर्कको माध्यम बनेको थियो । उठेको पैसा इमानदारीपूर्वक पत्रिकाको कार्यालयमा बुझाउँथ्यौँ ।
पञ्च–प्रशासनले ‘मातृभूमि’लाई ‘कम्युनिष्ट पक्ष’ को पत्रिका भन्ने गर्दथ्यो र नपढ्न दबाब दिन्थ्यो । तिनीहरू भन्थे, ‘गोरखापत्र पढ ।’ सरकारले दर्ता गरेको पत्रिका कसरी कम्युनिष्ट हुन्छ भन्दा ‘मातृभूमिको शिरै रातोमा छ, रातो कम्युनिष्टको नभएर कसको हुन्छ ?’ भन्थे । तर हामी नडराई आफ्नो काम गर्दथ्यौँ । यो कुरा गोविन्दजीलाई सुनाउँदा हाँस्दै ‘निर्दलीयहरूको चरित्र नै त्यस्तै हो’ भन्नुहुन्थ्यो ।
त्यतिखेर बाह्रबिसेमा हामी माक्र्सवादी विचारले ओतप्रोत, परिवर्तनका निम्ति प्रतिबद्ध र जोश–जाँगरले भरिएका केही युवा– म, इन्द्रलाल श्रेष्ठ, गणेशलाल रञ्जितकार, रमेशबहादुर श्रेष्ठ, ताराबहादुर लामा, गणेशबहादुर श्रेष्ठ, पुण्य राउत, भीमबहादुर पौडेललगायत मिलेर पत्रिका वितरण गर्दथ्यौँ । प्रशासनको कडा विरोध हुँदाहुँदै हामीले बाह्रबिसेमा ‘जनजागृति पुस्तकालय’ खोलेर प्रगतिशील चेतना फैलाउने काम गरेका थियौँ । ‘मातृभूमि’लाई व्यवस्थित रूपमा पुस्तकालयमा राख्थ्यौँ । धेरै पाठक आएर पढ्थे । यस काममा हामीलाई जयराम शर्मा, शङ्कर नेपाल, नारायणबहादुर गुरुङ आदिको राम्रो सहयोग थियो ।
०२० सालपछि मित्रराष्ट्र चीन सरकारको सहयोगमा काठमाडौँ–कोदारी अर्थात् अरनिको राजमार्ग बनेपछि त्यसले हाम्रो क्षेत्रको आर्थिक, शैक्षिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा राम्रो प्रभाव पार्दै थियो । बाटोको निर्माणपछि बसको नियमित सुविधाले काठमाडौँ र सिन्धुपाल्चोकलाई निकट बनायो र राजनीतिक चेतना अभिवृद्धिमा पनि राजमार्गले राम्रो सहयोग पु¥याएको महसुस भएको थियो । बस सेवाका कारण ‘मातृभूमि’ लाई बाह्रबिसे ल्याउन पनि सहज भएको थियो ।
‘मातृभूमि’ को कार्यालयमा विभिन्न खालका व्यक्तित्वको जमघट हुँदोरहेछ । हामी त्यहाँ पुग्दा उहाँहरूसँग समसामयिक राजनीतिक विषयका साथै जिल्लाको हालखबरदेखि ठट्टा–रमाइला कुरा हुन्थे । त्यहाँ पुगेपछि वियोगीले हामीलाई माया गरेर सिसाको ग्लासमा दूधको मीठो चिया र पाउरोटी खुवाउनुहुन्थ्यो । प्रयागलाल श्रेष्ठ, टीआर विश्वकर्मा, किशोरी राणालगायत अनेकौँ पत्रकारसँग त्यहीँ परिचय भएको थियो । गोविन्दजीले मलाई छुट्टै बोलाएर जिल्लाको हालखबर मसिनो गरी सोध्नुहुन्थ्यो । प्रकाशन गर्न योग्य कुरा आए भने ‘मातृभूमि’मा छाप्नुहुन्थ्यो । हामी आफ्ना ठाउँका खबर छापिँदा खुबै खुशी हुन्थ्यौँ । उहाँले मलाई समाचार लेख्न धेरै जोड गर्नुहुन्थ्योे । तर मलाई राम्ररी लेख्न आउँदैनथ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘पत्रकारिता नराम्रो कुरा होइन, राजनीति र पत्रकारिता एक अर्काका सहयोगी हुन् ।’
एउटा रोचक प्रसङ्ग अहिले पनि सम्झना हुने गर्छ । त्यसबेला अर्थात् ०२६ सालतिर म नेकपाको सिन्धुपाल्चोक जिल्ला कमिटीमा थिएँ । पार्टीका तर्फबाट विभिन्न ठाउँमा पुग्दा किसानहरूले आफ्ना समस्याका बारेमा बताउँथे । त्यसबेला बाँदरले किसानहरूलाई साह्रै दुःख दिएर बसाइँ सर्नुपरेका घटनाहरू थिए । एक दिन मैले बाँदरको ज्यादतीका कारण किसानहरूको उठिबास भएको सन्दर्भ वियोगीलाई सुनाएँ । उहाँले रुचिपूर्वक सुन्नुभयो र कुन–कुन ठाउँमा त्यस्तो समस्या छ, कति जति बाँदर आउँछन्, कति किसानले घरबास छाडे होलान् भन्ने जस्ता कुरा सोध्दै टिप्नुभयो । पछि ‘मातृभूमि’मा त्यो खबर आकर्षक रूपमा छापिएछ । बाँदरले बस्ती नै उठाएको खबर अनौठो लागेर विदेशका केही अखबारले साभार गरेछन् । यो खबर सुनाउँदै वियोगीले मलाई धन्यवाद दिनुभएको थियो ।
वियोगीजीले मलाई टाइप गर्नेदेखि कम्पोज गर्नेसम्मको सबै कुरा रुचिपूर्वक देखाउनुभयो । हातभरि मसी लाग्ने, एउटा अक्षर वा शब्द बिग्रेमा सबै सेट मिलाउनुपर्ने असाध्यै झण्झटिलो काम हुँदोरहेछ । त्यतिखेर अहिले जस्तो आधुनिक प्रविधि र छापाखाना थिएन । तैपनि उहाँहरू मिहिनेतका साथ अखबार निकाल्नुहुन्थ्यो ।
पञ्चायती शासनमा प्रेस स्वतन्त्रता हुने कुरै भएन । यसले गर्दा ‘मातृभूमि’ लगायत धेरै पत्रपत्रिकाले दुःख झेल्नुपरेको मार्मिक कथा वियोगीजी हामीलाई सुनाउनुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘राजनीतिमा जस्तै पत्रकारिता जगत्मा पनि आफ्नो स्वाभिमान हुन्छ । शासकहरू हामीलाई पद र पैसाको प्रलोभन देखाएर किन्न चाहन्छन् । म आफ्नो स्वाभिमान र अखबारको इज्जतका निम्ति धेरै सङ्घर्ष गरेको मानिस हुँ । पहिला पत्रिकाको पाठक थिएँ, पछि हस्तलिखित पत्रिका प्रकाशन गरेँ । ‘मातृभूमि’ त २०१८ सालेखि मात्र प्रकाशन भएको हो । तर मलाई सरकारले प्रायः अङ्कैपिच्छे सताउने गथ्र्यो । मैले बुझेको छु, अखबार प्रकाशन पनि एक प्रकारको सङ्घर्ष मोर्चा नै हो ।’
०१९ सालमा वियोगी राष्ट्रिय पञ्चायत सदस्य हुनुभएछ । उहाँ भन्नुहुन्थ्यो, ‘पञ्चायतको भण्डाफोर मेरो मूल उद्देश्य हो । पञ्चायतलाई कमजोर पार्न धेरै मोर्चाबाट लड्नुपर्छ । कम्युनिष्ट–काँग्रेस नमिली पञ्चायत फ्याँक्न सकिन्न ।’
प्रजातन्त्र खोस्ने राजाको ०१७ सालको फौजी काण्डको बेला वियोगीको घरमा पनि प्रहरी पठाइएछ । घर पूरै तलासी गरिएछ, आतङ्कित पार्ने धेरै कोशिस भएछ । त्यसबेलाको सम्झना गर्दै भन्नुहुन्थ्यो, ‘घरायसी कारणले मैले जेल जाने आँट गरिनँ, बाध्य भएर पञ्चायत प्रवेश गरेँ । त्यो मेरो कमजोरी थियो । यद्यपि मैले आफ्नो अडान र मान्यता कहिल्यै तल–माथि गरिनँ । म सधैँ पुष्पलाल र मनमोहन अधिकारीलाई आदर गर्दछु । उहाँहरू देशको असल नेता हो ।’
सरकारको कडा निगरानी र राजनीतिक कामको बढ्दो जिम्मेवारीले गर्दा ०३० को अन्त्यदेखि म पूर्णरूपमा भूमिगत भएँ । त्यसपछि वियोगीसँग सम्पर्क हुन सकेन । गाउँमा किसानहरूले आफूमाथिको शोषण र अत्याचारविरुद्ध विभिन्न रूपको आन्दोलन गर्न थाले । त्यसबाट सरकार झन क्रूर बन्यो र दमनलाई सघन बनाउन थाल्यो । सक्रिय नेताहरू मात्र होइन, काखमा नानी बोकेका महिला, वृद्धवृद्धालगायत जो कोहीलाई पनि गिरप्तार गर्न थालियो । राजकाज, वन, डाँका जस्ता अनेकौँ मुद्दा लगाएर दुःख दिने क्रम बढ्यो । तर जति दमन त्यति नै प्रतिरोध भने जसरी जनसमुदायहरू जेलनेल र मुद्दा–मामिलाको पर्वाह नगरी प्रतिवादमा उर्लिन थाले । फलस्वरूप किसान आन्दोलनका नयाँ–नयाँ रूप देखिन थाले । २०३७÷४० सालतिर पिस्कर क्षेत्रमा अष्टलक्ष्मी शाक्य र माधव पौडेल पार्टीको भूमिगत सङ्गठक हुनुहुन्थ्यो ।
मैले राजनीतिक यात्राको आरम्भ आफ्नै गाउँ पिस्करबाट गरेको हुँ । पिस्कर सामन्ती शोषण र उत्पीडनबाट पिल्सिएको गाउँ हो । जब स्थानीय जनताले कम्युनिष्ट पार्टीको नेतृत्वमा मुक्तिको राजनीति थाहा पाउन थाले, तबदेखि उनीहरू अत्याचारका विरुद्ध जुर्मुराउन थाले । यो कुरा स्थानीय सामन्तदेखि सत्ताधारी पञ्चलाई पाच्य भएन । पिस्कर हत्याकाण्ड त्यसैको पराकाष्ठा थियो ।
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा २०४० माघ १ गते कहिल्यै बिर्सिन नसकिने ऐतिहासिक दिन हो । शोषक–सामन्तका विरुद्ध राजनीतिक स्वतन्त्रताका पक्षमा उभिए वापत वीर किसान योद्धा इली थामी र वीरबहादुर थामीले त्यसै दिन शहादत प्राप्त गर्नुभएको थियो । त्यस दिन दमनको प्रतिरोधमा उत्रिएका कैयौँ योद्धालाई गोली हानी घाइते बनाएर गिरफ्तार गर्नुका साथै दर्जनौँ योद्धालाई जेलमा कोचिएको थियो । त्यतिले नपुगेर सयौँलाई झुट्टा मुद्दा लगाएर वर्र्षाैंसम्म दुःख दिइएको थियो । यसो गर्नका लागि उनीहरूमाथि ‘उग्रवादी’, ‘आतङ्ककारी’, ‘डाँका’, ‘चोर’, ‘ज्यानमारा’ र ‘असामाजिक’ तत्व जस्ता आरोप लगाइएको थियो ।
माघे सङ्क्रान्तिको साँझ पिस्कर महादेवस्थानमा भएको जनसांस्कृतिक कार्यक्रममा देशभरिकै कम्युनिष्ट नेताहरू भेला भएर गणतन्त्रका निम्ति विद्रोह घोषणा गर्दैछन् भन्ने कथित सूचनाका आधारमा सयौँ हतियारधारी प्रहरी उतारिए र अन्धाधुन्ध गोली बर्साएर सबैलाई ‘एकै चिहान’ बनाउने प्रयत्न भयो । तर न्यायप्रेमी एवं क्रान्तिकारी जनसमुदायको अभूतपूर्व र ऐतिहासिक प्रतिरोधका कारण ठूलो क्षति हुन पाएन । यस्तो घटनामा पञ्चायती निषेध र नाकाबन्दीको प्रतिवाद गर्दै गोविन्दजीले ३२ जना पत्रकारको नेतृत्व गरेर लामोसाँघुदेखि पिस्करसम्म पैदल यात्रा गर्नु कम कष्टपूर्ण थिएन । उहाँहरूको यो साहसपूर्ण कदमलाई हामीले सधैँ उच्च सम्मान गर्नुपर्दछ । पिस्कर घटनामा वियोगीको नाम जोडिनु एउटा ऐतिहासिक संयोग हो । आन्दोलनमा प्रत्यक्ष सहभागी नभए पनि उहाँले जसरी त्यसलाई सही रूपमा साथ दिनुभयो, त्यो एउटा गर्वको कुरा हो ।
म जतिखेर पिस्करको भूमिमा पाइला टेक्छु, गोविन्दजीको अनुहार भल्झल्ती सम्झना आउँछ । १४ वर्षअघि बिते पनि उहाँको मिलनसार व्यवहार र प्रखर पत्रकारिताले गर्दा जीवितै भएजस्तो अनुभूति हुने गर्दछ । उहाँले ३६ वर्षअघि पिस्कर पुगेर १७ माघ २०४० मा ‘मातृभूमि’मा लेखेको “पिस्कर हत्याकाण्ड, आतङ्कले जनता अति त्रस्त” भन्ने स्थलगत अध्ययन रिपोर्ट हेर्दा अहिले पनि त्यतिबेलाकै भयावहको झझल्को आउँछ । त्यसले पिस्करको जीवन्त तस्बिर खिचेको थियो, जुन रिपोर्ट ०४१ सालमा पार्टीको नाम नराखी ‘हिमाली प्रकाशन’ मार्फत ‘पिस्कर ः दमन र प्रतिरोधको कथा’ पुस्तकमा सविस्तार समेटिएको छ । उहाँले २४ माघ, ०४० मा ‘मातृभूमि’मा लेखेको सम्पादकीयको एउटा अंश पढ्दा पनि त्यो कति साहसपूर्ण, तथ्यपरक, दृष्टिकोणयुक्त र आन्दोलनप्रति सकारात्मक थियो भन्ने छर्लङ्ग हुन्छ । म उहाँका यी योगदानलाई कहिल्यै बिर्सिन सक्दिनँ ।
सम्पादकीयमा लेखिएको थियो, “पिस्कर हत्याकाण्ड सत्ता उन्मादको अति रोमाञ्चित दृश्य बनेर सामुन्ने आएको छ । तर्क, तथ्य र पृष्ठभूमि कुनैले पनि नसघाउने सरकारी उक्तिको “उग्रवादी करतुत” शोषित–पीडित जनताको चिसो हत्याबाहेक अरू केही सावित नहुने देखा परिसकेको छ । जागृति गीतको स्वरलहरी झिक्ने र मादलको चिरपरिचित ताल गम्काउने दृश्यमा उग्रवादको कीटाणु खोज्नेहरूले पिस्करमा सामन्ती जगजगीको रक्षा निम्ति नै नवजागरणको मिर्मिरे उज्यालो फैलिएला भन्ने डरले बीभत्स हत्याकाण्डको संरचना गरेको भन्ने कुरा पत्रकारहरूको स्थलगत निरीक्षणले परिपुष्टि गरिसकेको ठहरिन्छ ।”
यी हरफहरू पञ्चायती कानुनको प्रतिवाद गरेर लेखिएका सत्यवाणी हुन् । ‘पिस्कर ः दमन र प्रतिरोधको कथा’ पुस्तक साथीहरूले उहाँको हातमा पु¥याउँदा ‘एउटा ऐतिहासिक काम’ भनेर खुशी व्यक्त गरेको कुरा हामीले सुनेका थियौँ ।
निरङ्कुशताको त्यस्तो बर्बर अवस्थामा पनि गोविन्दजीले सत्य बोल्न र यथार्थ जनसमक्ष ल्याउन कति ठूलो साहस गर्नुभएको थियो ! अहिले त देशमा राजनीतिक स्वतन्त्रता छ, लोकतन्त्र छ । जे लेखे पनि छुट छ । तर त्यसबेलाको परिवेश र प्रसङ्ग बुझे मात्र उहाँहरूको कदमको महìवलाई अझ राम्ररी बुझ्न सकिन्छ ।
२०४० माघ १ को घटनापछि सम्भवतः माघ ६ गते काठमाडौँ यट्खामा गोप्यरूपमा तत्कालीन नेकपा (माले) को पोलिट्ब्युरोको आकस्मिक बैठक बस्यो । त्यतिखेर महासचिव झलनाथ खनाल र पोलिट्ब्युरो सदस्यहरू मदन भण्डारी, माधव नेपाल, वामदेव गौतम र अमृत बोहरा बसेर गम्भीरतापूर्वक छलफल ग¥यौँ । पोलिट्ब्युरो सदस्य जीवराज आश्रित भने लुम्बिनीतिर भएकाले बैठकमा आउन सक्नुभएन ।
बैठकले पिस्कर हत्याकाण्डविरोधी आन्दोलनलाई देशव्यापी आन्दोलनका रूपमा लाने, राजनीतिक पार्टीहरू प्रतिबन्धित भएकाले वाम–प्रजातान्त्रिक नेताहरूलाई हत्या–दमनका विरुद्धमा बोल्न अभिप्रेरित गर्ने र हत्याकाण्डलाई राष्ट्रिय÷अन्तराष्ट्रिय विषय बनाउँदै सरकारको फासीवादी चरित्रलाई उदाङ्गो पार्न मानवअधिकारकर्मी र सञ्चार जगत्लाई चलायमान गर्ने सम्बन्धमा महìवपूर्ण निर्णय गरेको थियो । बैठकपछि तत्परताका साथ निर्णय कार्यान्वयनमा लाग्ने काम भयो । स्थिति धेरै गम्भीर र भयावह थियो ।
त्यस घटनाका बारेमा मैले सङ्क्षेपमा एउटा पत्र लेखेर गोविन्दजीलाई पठाएँ । धेरै वर्ष बितेकाले भाषा पूरै नसम्झे पनि पत्रको मोटामोटी सार यस्तो थियोः
मित्रवर गोविन्दजी,
म तपाईंको पुरानो मित्र हुँ । कडा भूमिगत अवस्थामा भएकाले भेटघाट गर्न सकिनँ । तपाईं देशको एक वरिष्ठ र जुझारु पत्रकार हुनुहुन्छ । पिस्करमा सरकारले ठूलो सङ्ख्यामा हतियारधारी प्रहरी थुपारेर त्यस क्षेत्रलाई नै आतङ्कित पारेको छ । कति धनजनको क्षति भयो, यकिन छैन । गाउँघरलाई पूरै रित्तो अवस्थामा पु¥याइएको छ । दमन अझ बढाइँदैछ । बाह्रबिसेदेखि माथि कसैलाई जान दिइएको छैन । चौतर्फी नाकाबन्दी छ । तसर्थ तपाईंले सरकारसँग लडेर भए पनि पत्रकारको टोली लिएर त्यहाँको यथार्थ स्थिति जनसमक्ष ल्याउने काममा सहयोग गरिदिन सक्नुहुन्थ्यो कि ? यसमा तपाईंको सहयोग रहनेछ भन्ने अपेक्षा गर्दै यो पत्र लेखेको छु ।
अचानक पत्र पाउँदा केही झस्के पनि सम्झना गरेकोमा गोविन्दजी खुसी हुनुभएछ । पत्रबाहक साथीलाई भन्नुभएछ, ‘उहाँ जीवित हुनुहुन्छ भन्ने लागेकै थिएन । खोजी धेरै छ । जोगिएर काम गर्न भनिदिनुहोला । म पिस्कर गएर आफ्नो काम गर्ने प्रयत्न गर्नेछु ।’
पिस्कर जाने पत्रकार टोलीको पृष्ठभूमि यसरी तयार भएको थियो । यसमा मुख्य पहल वियोगीजीकै थियो । जाँदा बाटोमा के–के भयो, अञ्चलाधीशले व्यवस्था गरिदिएको बस र रक्सीको मातले कति पिस्कर पुगेनन् ? सबै कुरा उहाँकै स्थलगत रिपोर्टमा उल्लेख छ । त्यो आजका पुस्ताका निम्ति सान्दर्भिक हुने मलाई लाग्छ ।
०४१ देखि ०४७ सम्म मेरो पार्टी कार्यक्षेत्र पूर्वाञ्चल भयो । पिस्कर हत्याकाण्डपछि मलाई बाग्मती क्षेत्रमा रहेर काम गर्न धेरै प्रतिकूल देखियो । त्यसैले मलाई पार्टीले मेचीकेन्द्रित हुने गरी पूर्वाञ्चल ब्युरोमा स्थानान्तरण ग¥यो । त्यसअघि पूर्वाञ्चलमा मदन भण्डारी हुनुहुन्थ्यो । उहाँलाई पार्टी हेडक्वाटरमा सघाउने गरी काठमाडौँ ल्याइयो । त्यसबेला हाम्रो पार्टीमा पाँच ब्युरोकोे व्यवस्था थियो ।
३० वर्षे पञ्चायती शासनको अन्त्य र बहुदलीय प्रजातन्त्रको आगमनपछि हामीहरूले पार्टी निर्णय अनुसार खुला भएर काम गर्न थाल्यौँ । त्यसपछि वियोगीजीसँग मेरो बारम्बार भेटघाट हुन थाल्यो । राजनीतिक परिवर्तनसँगै सकुशल फर्किन सकेकोमा उहाँ धेरै खुसी हुनुभयो । हाम्रो भूमिगत जीवनबारे वियोगीजीमा धेरै उत्सुकता थियो । वास्तवमा सङ्गठकहरूले आफ्नो घर–परिवार त्यागेर जनतामा राजनीतिक र सङ्गठनात्मक काम नगरेको भए आजको परिवर्तन सम्भव थिएन ।
०६१ सालको प्रतिगमनपछि हामी राजतन्त्रविरुद्धको आन्दोलनमा केन्द्रित थियौँ । गोविन्दजी त्यसबेला सम्पादक समाजमा हुनुहुन्थ्यो । त्यसका माध्यमबाट लोकतन्त्रका पक्षमा जनमत बनाउन र निरङ्कुशताका विरुद्ध आन्दोलन उठाउन उहाँले भूमिका खेलिरहनुभएको थियो । यसैबीच सम्पादक समाजकै कार्यालयमा काम गर्दागर्दै उहाँको अचानक निधन भएको दुःखद समाचार नचाहँदा नचाँहदै सुन्नुप¥यो । एकजना पुराना र दुःखका बेला सहयोग गरेको मित्रको निधनको खबर सुन्दा अत्यन्त स्तब्ध भएँ । गहिरो श्रद्धा र माया हुँदाहुँदै पनि अन्तिम संस्कारमा सहभागी हुन नसक्दा अहिले पनि दुःख लागिरहन्छ ।
निधनभन्दा तीन महिना जति अघि काठमाडौँमा एउटा कार्यक्रममा वियोगीजी र मेरो भेट भएको थियो । त्यतिखेर मुलुकमा चलेको आन्दोलनका बारेमा उहाँले भन्नुभएको अहिले पनि सम्झना छ, ‘राजा धेरै अनुदार र कठोर छन् । जस्तोसुकै दमन गरेर भए पनि आन्दोलन बिथोल्ने प्रयत्नमा छन् । नेताहरूबीच पदको लोभ देखाएर फुटाउने खेल भइरहेको छ । पार्टीका कतिपय नेता गणतन्त्र ल्याउनेमा अल्मलिएको देखिन्छ । आन्दोलनकारीलाई व्यङ्ग्य गरेको पनि सुनिन्छ । तपाईंहरूले होशियारपूर्वक काम गर्नुपर्छ । सबै जेल त जानुहुँदैन । आन्दोलनप्रति हाम्रो सधैँ साथ–सहयोग रहेकै छ । हिजो बहुदल आएपछि अपेक्षित सुधार नभएपछि जनताले राजनीतिक दलका नेताहरूलाई राम्ररी पत्याइरहेका छैनन् । पञ्चायतको अन्त्यपछि जनताको जीवनमा आर्थिक–सामाजिक सुधारका काम भएनन् भन्ने जनआरोप छ । अब पुराना गल्तीहरू दोहोरिन दिनेछैनौँ भन्ने दह्रो प्रतिबद्धता जनताले नेताबाट खोजेका छन् । यी कुरा स्वीकार गरे आन्दोलनमा जनता सामेल हुनेछन् । लोकतन्त्र प्राप्तिको आन्दोलन सफल हुनेछ ।’
अनुभवी र खारिएका व्यक्तित्व वियोगीजीका यी भनाइ असाध्यै मननयोग्य थिए । त्यो भेट नै वास्तवमा उहाँसँगको सम्झाउने–बिर्साउने अन्तिम भेट बन्न पुग्यो ।
(लेखक नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।)