इन्द्रकुमार श्रेष्ठ
प्रत्येक विद्यालयमा प्रत्येक दिन कक्षाकोठामामा प्रवेश गरेर शिक्षण सहजीकरण क्रियाकलापमा सहभागी हुनुअघि शिक्षक विद्यार्थी भएर विद्यालय भवनसँगैको मैदानमा प्रार्थना (एसेम्ब्ली) गरिन्छ÷गराइन्छ । प्रार्थना गर्दा मुख्यतः राष्ट्रिय गान गाइने हो । त्यसबाहेक त्यहाँ पीटी, कवाज, ड्रिलजस्ता क्रियाकलाप पनि विद्यालयपिच्छेको तत्कालीन चलनअनुसार गराइन्छ । विद्यार्थीहरूका लागि कुनै महìवपूर्र्ण सूचना दिनुपर्ने भए त्यसका लागि पनि प्रार्थनाको समय नै उपयुक्त ठानिन्छ । शिक्षक तथा विद्यार्थी दुवैलाई समय पालना गराउनका लागि धेरै विद्यालयहरूमा प्रार्थनास्थलमै विद्यार्थीहरूको हाजिरी पनि लिइन्छ । यस सम्बन्धमा सबै विद्यालयमा एकरूपता पाइँदैन ।
प्रार्थना गर्दा यसरी गर्नुपर्छ भन्ने कुनै क्रम निर्धारण शिक्षा ऐन तथा नियमावलीमा छैन । न त यो शिक्षक वा विद्यार्थी आचार संहितामै उल्लिखित छ । यो स्वतःस्फूर्त र स्वाभाविक रूपमा हुने भएको हुँदा त्यसो गरिरहनु कुनै आवश्यक पनि छैन । त्यसैले प्रत्येक विद्यालयमा कोही न कोही सक्रिय, हाट्टहुट्ट गर्ने, आफूलाई बुझक्की ठान्ने शिक्षकको सक्रियता वा आलोपालोबाट विद्यार्थीहरूको पनि सहभागिता र सक्रियतामा फरक फरक पाराले प्रार्थना भइरहेको देखिन्छ ।
केही वर्षअघि सोलुखुम्बु सल्लेरीको एउटा सरकारी विद्यालयमा बिहानको ठीक १०.०० बजे घण्टी लाग्यो । घण्टी लाग्ने समय सामान्यतः सबैतिर एउटै हो । घण्टी बजेसँगै एकजना विद्यार्थी अफिसभित्रबाट एउटा ठूलो दमाहा बाहिर लिएर आई बस्यो र ऊ उक्त दमाहा बजाउन थाल्यो– ढ्याङ ... ढ्याङ ...ढ्याङ...। विद्यार्थीहरू क्रमशः चौरमा भेला भएर लाम लाग्न थाले । सबै विद्यार्थी लाम लागिसकेपछि उसले दमाहा बजाउन छोड्यो । भर्खरैसम्म उसको हातमा दमाहा बजाउने एउटा मात्र काठ (गजो) थियो । अब उसले दुईवटा गजो लियो र बजाइको भाका फेरेर ढ्याकु ढ्याकु ढ्याक .. ढ्याकु ढ्याकु ढ्याक ..पार्न थाल्यो । त्यो गोडाफाट÷सतर्कको सङ्केत रहेछ । विद्यार्थीहरूले मजाले मिलाएर त्यही पारामा गोडाफाट÷सतर्क गरे अनि राष्ट्रिय गान पनि गाए ।
राष्ट्रिय गान गाइसकेपछि फेरि केटोले पहिलाकै जसरी, ढ्याङ ढ्याङ ...ढ्याङ पारामा दमाहा बजाउन थाल्यो । विद्यार्थीहरू ‘लाइन बाइ लाइन’ दमाहाको तालमा खुट्टा चाल्दै कक्षातिर लागे । अन्तिम लाइनको अन्तिम विद्यार्थी पनि कक्षाभित्र पसिसकेपछि केटोले दमाहा बजाउन छोडेर थन्क्यायो । त्यो विद्यालयको प्रार्थना गराइ निकै रमाइलो लागेको थियो ।
केही वर्षअघि खोटाङ, दिक्तेलको एउटा निजी विद्यालयमा प्रवेश गर्ने मौका पाइएको थियो । त्यहाँ चाहिँ प्रार्थनाको समयमा समाचार भन्नुपर्ने रहेछ । प्रार्थनाको घण्टी लागेपछि त्यहाँ पहिला एकजना विद्यार्थी अगाडि गएर समाचार वाचन गर्न थाले । समाचार स्थानीय र राष्ट्रिय÷अन्तर्राष्ट्रिय सबै क्षेत्रको थियो । समाचार वाचन सकेपछि मात्रै प्रार्थनाको कार्यक्रम सुरु भयो । त्यो काइदा पनि ठीक लाग्यो ।
रामेछापका एकजना शिक्षकले जानकारी दिनुभएअनुसार, त्यहाँको एउटा विद्यालयमा प्रार्थना समयमा क्विज (हाजिरीजवाफ) जस्तो पनि गराइने रहेछ । सदनमा बाँडिएका विद्यार्थीहरूमध्ये आलोपालो गरी सदन प्रमुखले प्रश्नहरू ल्याएर अघिल्लै दिन शिक्षकहरूलाई देखाई बुझाउने र भोलिपल्ट सोही सदनको एकजना विद्यार्थी अगाडि आएर तिनै प्रश्न अन्य सदनका विद्यार्थीहरूलाई सोध्ने गरिँदो रहेछ । प्रश्नहरू एकदिन पाठ्यपुस्तकबाटै र अर्को दिन सामान्य ज्ञानसम्बन्धी हुने रहेछन् । ड्रमसेटकै माध्यमबाट प्रार्थना (गोडाफाट÷सतर्क) गराइने र क्विजमा सोधिएका प्रश्नको उत्तर सही आएमा लाममा उभिइरहेका विद्यार्थी समूहको ताली र ड्रमसेटको माध्यमबाट खुशी व्यक्त गरिने त्यस विद्यालयको तरिका पनि राम्रो लाग्यो । १०.१५ बजे कक्षा सुरु गर्नुपर्ने भएको हुँदा, प्रार्थनाका ती क्रियाकलाप समयमै सिध्याउनका लागि १०.०० बज्नुभन्दा केही समयअघि नै घण्टी लगाइने रहेछ त्यहाँ ।
कास्कीको एउटा विद्यालयमा कार्यरत शिक्षकले दिनुभएको जानकारीअनुसार त्यहाँ पनि १०.०० बजेभन्दा पहिले नै घण्टी लगाइने रहेछ । त्यस विद्यालयमा चाहिँ आइतबारदेखि शुक्रवारसम्म ६ दिन कक्षा १० देखि कक्षा ५ सम्मका विद्यार्थीहरूबाट पालैपालो ‘ट्यालेन्ट शो’ गराइने रहेछ । जाडोको मौसममा अलि लामो समयसम्म पीटी र समय मिलाएर क्विज गराउने चलन पनि रहेछ त्यहाँ । त्यो पनि रमाइलो लाग्यो । त्यस्तै, भक्तपुरका एकजना शिक्षकले दिनुभएको जानकारीअनुसार उहाँको विद्यालयमा भने राष्ट्रिय गान गाउनुभन्दा पहिल्यै ‘लेफ्ट–राइट’ गराउने, ताली पिट्न लगाउने र कुनै कुनै दिन ‘साउन्ड सिस्टम’ बजाएर सबै विद्यार्थीलाई नाचेजस्तो गरी ‘जिम्न्यास्टिक’ गराइने चलन चलाइएको रहेछ ।
झापामा कक्षा १–१२ सम्म सञ्चालन हुने एउटा चर्चित विद्यालय देवी माविका सहायक प्रधानाध्यापक लीलाप्रसाद भण्डारीले दिनुभएको जानकारीअनुसार त्यहाँ कक्षा ११–१२ मा मात्र दुई हजार विद्यार्थी रहेछन् । विद्यालयको प्रवेशद्वार एउटैमात्र भएको हुँदा तिनीहरूको बिहानी कक्षा सिद्धिएर बाहिर निस्कनलाई मात्रै केही समय लाग्ने, फेरि कक्षा १–१० सम्म एक हजार आठ सय विद्यार्थी भएको हुँदा ती लाम लाग्न र कक्षामा प्रवेश गर्न पनि केही समय लाग्ने भए पनि त्यहाँ पीटीसहित राष्ट्रिय गान गाइने रहेछ ।
पहिला धरानको एउटा निजी आवासीय विद्यालयमा पढेका एकजना विद्यार्थीले भने, ‘त्यहाँ त राष्ट्रिय गानको कार्यक्रममा गायत्री मन्त्रलगायत अन्य मन्त्रहरू पनि गाउन लगाइन्थ्यो र हामी गाउँथ्यौँ ! रमाइलो हुन्थ्यो । आजकल त त्यो कतै गाउनुपर्दैन र पनि मैले बिर्सेको छैन ।’
कुनै कुनै विद्यालयमा सरस्वती वन्दना गाउन लगाउने गरिन्छ । अनि कतै चाहिं ॐ उच्चारण गराइने चलन पनि भएको सुनिन्छ । सैनिक तथा प्रहरी विद्यालयहरूमा प्रार्थना गराउँदा पीटीमा निकै जोड दिई उफ्रीपाफ्री गराउने गरिएको युट्युबहरूमा पनि हेर्न सकिन्छ । यसरी हेर्दा नेपालका धेरै सरकारी तथा निजी आवासीय विद्यालयहरूमा के कसरी राष्ट्रिय गान गाइन्छ त्यो एउटा खोजकै विषय हुनसक्छ ।
चलन आ–आफ्नो हो । देखे सुनेका सबै तरिका राम्रा छन् । तर अन्य कुरा सबै ठीक भए पनि विद्यार्थीहरूलाई शारीरिक व्यायाम गराउनुको उद्देश्य शरीर फुर्तिलो, लचिलो र तन्दुरुस्त बनाउनका लागि भएको हुँदा, भर्खर खाना खाएर आएका विद्यार्थीहरूलाई प्रार्थनाको बेलामा कठिन शारीरिक व्यायाम गराउनु उपयुक्त नहुन सक्छ । साथै गर्मीकोे मौसममा केही समय लाममा उभिँदा नै भाउन्न हुने र रिँगटा लागेर लडिने भएको हुँदा यस विषयमा पनि विचार पु¥याउनु आवश्यक छ । कतिपय विद्यालयले बढी तामझाम देखाउन समुदाय– बस्तीबीच चर्को आवाजमा ड्रमसेट, माइक आदि बजाउने गरेका छन् । यसले ध्वनिप्रदूषण बढाउनेतर्फ विद्यालयहरू सजग हुनुपर्छ ।
आभारभूत तहका कक्षाहरूमा योगसम्बन्धी पाठहरू पनि राखिएको र योग शिक्षालाई अझ व्यापक बनाउनुपर्ने ठानिएको हुँदा प्रार्थनाको समयमा यसलाई बढी जोड दिइनु आवश्यक छ । साथै आजकलका छात्रछात्राहरूमा गुरूप्रतिको आदरभाव पनि कम भएको देखिएको हुँदा प्रार्थना गराउँदा यी क्रियाकलापहरू गराउन उचित होला कि ः
(क) पहिला गुरुवन्दना (ॐ श्री गुरवे नमः)
(ख) तीनपटक ॐ उच्चारण,
(ग) दिनैपिच्छे फरक फरक दुईटासम्म साधारण पीटी,
(घ) गोडाफाट सतर्कसँगै राष्ट्रिय झण्डालाई प्रणाम गराएर राष्ट्रिय गान,
(ङ) जयजयकार (यसअन्तर्गत नेपाल आमा, विद्यालय परिवार, आजको आनन्द ।)
(च) ताली बजाइ, हात जोडेर धर्तीमातालाई शिर झुकाई नमन गरी कक्षातिर जान निर्देशन गर्र्ने ।
(लेखक शिक्षक हुनुहुन्छ ।)