अच्युत कुइँकेल
सहज मानव जीवन यापन गर्न पाउने विषय मानव अधिकारकै अभिन्न अङ्गअन्तर्गत पर्दछ । प्रविधिमा भएको विकास र प्रवृत्तिमा भएको अभ्यस्तताका कारण मानव जीवनका हरेक चरणलाई यान्त्रिक बनाइँदै लगिएको छ । मानव दिनचर्यालाई सहज बनाउन आविष्कार एवं उत्पादन भएका कतिपय साधनबाट कैयौँ मानिसको अकालमा ज्यान जाने गरेको छ । भौतिक सुख सुविधा प्रवद्र्धनका लागि आएका चिजवस्तुहरू प्रयोगमा सावधानी नअपनाइँदा एवं उत्पादनमा भएका खराबीका कारण अकाल मृत्युको कारण बनिरहेको पाइन्छ ।
दुर्घटना वा अशुभ घटना कसैलाई पनि प्रिय हुँदैन । दुर्घटना हुन्छ भन्ने हेक्का राख्ने हो भने कोही उक्त कार्यतर्फ उद्यत हुँदैन । फरक के हो भने असावधानी, लापरवाही, हेल्चेक्र्याइँ, अज्ञानता, मूर्खपनका कारण अञ्जानमै अगाडि बढ्दा दुर्घटना हुने सम्भावना प्रबल हुन्छ । विश्वमा नसर्ने रोगका कारण ज्यान गुमाउनेहरूको सङ्ख्यामा बढोत्तरी भइरहेको सन्दर्भमा दैनिक रूपमा हुने साना ठूला दुर्घटनाका कारण ज्यान गुमाउने, अङ्गभङ्ग हुनेको बढ्दो सङ्ख्यालाई चुनौतीका रूपमा लिनुपर्ने भएको छ । कसैले कसैको ज्यान मारेमा जन्मकैदसमेत हुने कानुनी व्यवस्था रहेको परिप्रेक्ष्यमा दुर्घटनाको आवरणमा दैनिक धेरै व्यक्ति पीडित हुँदा पनि हामीले केही गर्न नसक्ने अवस्थालाई विडम्बनापूर्ण रूपमा लिनुपर्छ ।
दुर्घटना निम्त्याउने कारणतर्फ समीक्षा गरी पर्याप्त पूर्व सावधानी अपनाउनुपर्ने व्यवस्थालाई अनिवार्य गरिनुपर्छ । कसैको कारणले सिर्जित घटनालाई दुर्घटनाको आवरणमा छुट दिने अभ्यास भएसम्म एक दुईजनाको गल्तीको शिकार सर्वसाधारण नागरिक बन्नुपर्ने अवस्था कायम रहन्छ । बाहिर रङरोगन गरेर नयाँ देखिने ग्याँस सिलिण्डर होस् वा मर्मत सम्भार नगरी चलाइएका सवारी साधनका कारण हुने दुर्घटना होस्, सबैलाई जिम्मेवार बनाउन प्रभावकारी नियमन जरुरी छ । होटल व्यवस्थापनका सवालमा आधारभूत पक्षहरूबारे ध्यान पुग्ने हो भने हिटरको उचित प्रयोग नभएका कारण पर्यटकले ज्यान गुमाउने अवस्था हुने थिएन । कानुनको पालना गर्दै पर्याप्त नियमन हुन सक्ने हो भने मालवाहक गाडीमा यात्रा गर्दा ज्यान गुमाउनुपर्ने थिएन । पर्याप्त सावधानी र सञ्चार नहुँदा वर्षौं त्यही क्षेत्रमा कार्य गरेका मजदुरले एक्कासि विद्युत् प्रवाह भई पोलबाट झर्नुपर्ने थिएन ।
दुर्घटनाका क्षेत्र अनुमानभन्दा बाहिर हुन्छ नै तर सम्भावित दुर्घटना रोकथाममा मानवीय व्यवहारले महìवपूर्ण भूमिका खेल्छ । बम हो भन्ने जान्दाजान्दै लापरवाही गर्दा सुरक्षा अधिकृतले ज्यान गुमाउनुपर्ने थिएन । गाडीको चक्कामा हावा कम छ भन्ने जान्दाजान्दै सवारी लिएर हिँडेकै कारण भीरबाट झर्नुपर्ने थिएन । विद्युतीय सुरक्षाका प्रभावकारी कदम चाल्ने हो भने विशेषतः सहरी र औद्योगिक क्षेत्रमा विद्युत् शर्ट भई आगलागीमा पर्नुपर्ने थिएन ।
यदाकदा दुर्घटनालाई आधार बनाएर बीमा दाबी गर्नका लागि कृत्रिम दुर्घटना गराउने भन्ने विषयमा यथार्थ अनुसन्धान हुनसके दुर्घटनाप्रतिको संवेदनहीनतामा कमी आउन सक्छ । ट्रिपर लगायत ठूला गाडीको संरचनाका कारण नजिकका सवारी नै नदेखिने गर्दा बढेको दुर्घटनाका सवालमा सवारी चालकलाई प्रशिक्षण गर्दै त्यस्ता सवारीको ‘रि–डिजाइन’का लागि निर्माता कम्पनीमा पहल गरी सञ्चालनमा थप व्यवस्थापन गर्नुपर्ने देखिन्छ । ट्रिपर लगायतका ठूला गाडी चलाउने समय हद लगाउँदा बन्धन खुलेका बखत झन् तीव्र गतिमा कुदाउने अभ्यास हटाउन पर्याप्त नियमन जरुरी छ । ससाना बालबालिका खेल्दा हुने दुर्घटनाका कारण जीवनपर्यन्त असर पर्ने आँखा नदेख्ने, कुरूप हुने, अङ्गभङ्ग हुने जस्ता समस्या हटाउन पारिवारिक भूमिका निर्वाह गर्नुपर्ने विषयमा पर्याप्त शिक्षा जरुरी देखिन्छ ।
दैवी प्रकोप उद्दार र विपद् व्यवस्थापनका सवालमा सरकारी स्तरमा नीति, योजना एवं कार्यक्रम देखिए पनि दैनिक जीवनमा हुने दुर्घटना नियन्त्रण चुनौती बनेको छ । जन्मजात सबल व्यक्ति नाबालक रहँदा खेल्ने क्रममा इँटाभट्टामा र अन्यत्र ससाना खाल्डामा डुबेर मर्ने, भीरबाट लड्ने, भूबनोटमा ध्यान नपु¥याई हिँड्दा माथिबाट ढुङ्गा खसेर लाग्ने, सहर बजारमा हावाहुरीका क्रममा पर्याप्त ध्यान नपु¥याइँदा रुख ढलेर लाग्ने, जस्तापाता उडेर काट्ने दुर्घटनाहरू देखिने गरेका छन् । यस्तै विद्युतीय पोल ढलेर करेन्ट लाग्ने, रातमा सर्पले डस्ने, जङ्गलको आसपास जङ्गली जनावरको आक्रमणमा पर्ने, खोला तर्दा बगाउने, हाइभोल्टेज पोल आसपास जाँदा करेण्ट लाग्ने, जङ्गल एवं एकान्त ठाउँमा विद्युतीय तार सर्ट भई ग्रामीण महिला र बालबालिकाले अकालमा ज्यान गुमाउनुपर्ने लगायतका अवस्था नियन्त्रण गर्न मानवीय गतिविधिले ठूलो भूमिका खेल्न सक्छ । सहर बजारमा बाटो र ढल विस्तार क्रममा खनेका खाल्डामा सवारी साधन परेर धनजनको क्षति हुने, पर्याप्त ढल निकास नहुँदा जमेको पानीले बाटो नदेख्दा विद्यालय जाने बालबालिकाले ढलमा बग्नुपर्ने अवस्था अन्त्य गर्न सक्नुपर्छ । यस्ता दुर्घटना नियन्त्रणमा मानवीय गतिविधिले प्रधान भूमिका खेल्ने देखिन्छ ।
ज्ञान, सीप र क्षमता हेक्का नगरी इनारमा पस्दासमेत धेरैको ज्यान गएको छ । घर लिपपोतका लागि माटोको ढिस्को खस्दा ढिस्कोले पुरिएर, डोजर चलाउँदा डोजर नै पुरिएर, पर्वतारोहणका क्रममा जिद्दीपनले निस्सासिएर, लेक लागेर, जाडो याममा कोइला बालेर सुत्दा वा ग्यास गिजरका कारण निस्सासिएर मृत्यु हुने गरेको पनि देखिएकै छ । कुनै एक व्यक्तिको हत्या हुँदा बीसौँ वर्षसम्म अनुसन्धान गरी कानुनी दायरामा आउन सक्ने अवस्थामा मानवीय कमजोरीबाट हुने घटनालाई दुर्घटनाको लेपन लगाउँदै जाने विषयलाई प्रभावकारी रूपमा नियन्त्रण जरुरी छ ।
विदेशी पर्यटकलाई समेत गलत सन्देश जाने घटना न्यूनीकरणका लागि सम्बन्धित विषयमा प्रभावकारी शिक्षा, प्रविधि प्रयोगमा अभिमुखीकरण, लापरवाहीमा जिम्मेवारीपन, गलत उत्पादकलाई कारबाही, पर्याप्त सचेतना प्रवद्र्धन, दुर्घटना रोकथामका लागि हुने अनुसन्धानको नतिजा पर्याप्त मात्रामा सार्वजनिकीकरण आवश्यक देखिन्छ । दुर्घटना रोकथामका सवालमा अनुसन्धान प्रवद्र्धन, हरेक निकायको केही निश्चित बजेट दुर्घटना शिक्षामा विनियोजन, शीघ्र समस्याको सम्बोधन संयन्त्रको निर्माण र सुविधा सम्पन्न अस्पतालको व्यवस्था गर्नसके दुर्घटना न्यून हुन गई अकालमा नागरिकले ज्यान गुमाउने र अङ्गभङ्ग हुनुपर्ने थिएन । अत्यधिक रक्सी सेवन एवं दुव्र्यसन नियन्त्रण, मनोरञ्जनात्मक क्षेत्रमा हुने दुर्घटना न्यूनीकरण, कमजोर भौतिक संरचनाका कारण हुने दुर्घटना पूर्व नियमन, मानवीय कमजोरीका कारण हुने हवाई तथा सडक दुर्घटना, विस्फोटक पदार्थबाट हुने दुर्घटना जस्ता विषय नियन्त्रण गर्न नागरिक सहभागितामूलक कार्यक्रम सञ्चालन जरुरी छ । प्रभावकारी रूपमा वन व्यवस्थापन एवं सिँचाइ लगायत पूर्वाधार विकास व्यवस्थापन आवश्यक देखिन्छ ।
विपद्का सवालमा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय नीति २०७५ ले लिएका नीतिगत प्रबन्धको कार्यान्वयनबाट भौगोलिक सूचना प्रणाली निर्माण एवं स्वास्थ्यका क्षेत्रमा राज्यको लगानी भएझैँ दुर्घटना न्यूनीकरणमा सचेतनामा पर्याप्त लगानी भई प्रतिफल प्राप्त हुनसके दुर्घटनाबाट आम नागरिकले सधैँ पीडित बन्नुपर्ने अवस्था कम हुने आशा गर्न सकिन्छ ।
(लेखक प्रशासकीय अदालतका रजिष्ट्रार हुनुहुन्छ ।)