गोपाल खनाल
नेकपाले आफ्ना नेता र कार्यकर्ताका लागि ११ बुँदे आचारसंहिता जारी ग¥यो । आचारसंहितामा मूलतः तीन पक्ष छन् । पहिलो, सामाजिक आचरण, दोस्रो, आर्थिक आचरण र तेस्रो वैचारिक र सैद्धान्तिक पक्ष । यी तीनै पक्षको उद्देश्य एउटै छ– हरेक कम्युनिस्ट नेता र कार्यकर्ता असल नागरिक हुनुपर्छ । त्यहाँ भनिएको छ– कम्युनिस्ट कार्यकर्ता अनुशासित, नैतिकवान र जिम्मेवार हुनुपर्छ । भ्रष्टाचारी, कालोबजारी, गैरकानुनी कमिसन, करछली अनियमितता जस्ता अपराध गर्नुहुँदैन । त्यस्तै, कम्युनिस्ट नेता र कार्यकर्ताले आफूलाई प्राप्त सूचना सरकारलाई उपलब्ध गराउनुपर्छ । कसैलाई हेप्न र होच्याउन पाइँदैन । परिवारका सदस्य र अरूमा बोलिने भाषा मर्यादित, सरल र मिठासपूर्ण हुनुपर्छ ।’ यीमध्ये धेरै विषय चाहिँ कसैले प्रश्न उठाएको अवस्थामा मात्र सार्वजनिक हुन्छन् र तीविरुद्ध दृढनिश्चयी नेतृत्वले चाहेमा ‘एक्सन’ लिनसक्छ । लामो समय हो वा होइन भन्ने विषयगत बहसमै जान्छ ।
कम्युनिष्टले सामाजिक संस्कारलाई मान्छन् वा मान्दैनन् भन्ने एउटा पाटो अझै बहसमा छ, कम्युनिस्ट पनि समाजकै उत्पादन हुने यथार्थलाई बिर्सेर । तानाशाही कम्युनिस्ट शासकहरूको सत्ता अभ्यासलाई खिचेर प्राचीन डरलाग्दो सामुद्रिक जीव ‘लभियथान’ सँग कम्युनिस्ट नामका नेतृत्वलाई तुलना गर्ने प्रवृत्ति छँदैछ । विश्वको कम्युनिस्ट आन्दोलनमा आएको परिवर्तनलाई हेर्दै नहेर्ने र नेपालको कम्युनिस्ट मूलधारमा देखिएको अति प्रजातान्त्रिक अभ्यासलाई मूल्य नदिने सोच ‘बुद्धिजीवी’ वर्गमा पनि छ । त्यसले आफ्नो तर्क प्रमाणित गर्नुप¥यो भने नेपालका कम्युनिस्ट प्रजातान्त्रिक भइसके, कम्युनिस्ट रहेनन् पनि भन्छ र फेरि सँगसँगै अर्को कोणलाई उठाउनुप¥यो भने कम्युनिस्ट भनेका तानाशाही हुन्, धर्मकर्म मान्दैनन् र प्रजातन्त्र तिनको शत्रु हो पनि भन्छ । कम्युनिस्ट पार्टीको सरकारप्रति मूल्याङ्कन सन्दर्भमा पनि यो विरोधाभाष विम्बित भएको छ । चुनावको बेला यो बल्झिरहन्छ ।
त्यहीबीचमा आचारसंहिता भन्छ– विवाहलाई सरल, मितव्ययी बनाउनुपर्छ । जन्मदिन, व्रतबन्ध, पास्नी जस्ता परम्परागत संस्कारलाई घरपरिवारमा सीमित गर्नुपर्छ ।’ खासमा यस्ता सामाजिक संस्कार कसरी मनाउने वा सम्पन्न गर्ने भन्ने विषय कम्युनिस्ट वा काँग्रेस वा मधेशवादीभन्दा पनि कुन वर्गको भन्नेसँग जोडिन्छ । केही नेताका छोरा र छोरीको विवाहमा भएको खर्चको प्रसङ्ग अझै पनि बेलाबेला आइरहेकै छ । किन कम्युनिस्ट नेता र कार्यकर्ताले मात्र यो पालना गर्ने वा किन अन्य पार्टी वा सिद्धान्त मान्नेले चाहिँ पालना नगर्ने वा गर्नुनपर्ने भन्ने तर्क देखिंदैन । पुँजीवादबाट समाजवादउन्मुख यात्रा भनेपछि पुँजीवादका चरित्र स्वाभाविक रूपमा प्रदर्शित हुन्छन् र तिनलाई एकैपटक समाप्त पार भन्नु विश्वविकासको स्वाभाविक गतिविरुद्ध हुन्छ भन्ने बुझ्नुपर्नेमा त्यो देखिँदैन ।
एउटा कम्युनिस्ट नेता र कार्यकर्ताले स्वाभाविक रूपमा पार्टीका सिद्धान्त, नीति, कार्यक्रम बुझ्नुपर्छ नै । झट्ट हेर्दा यो आचारसंहितामा नयाँ केही छैन । फेरि कम्युनिस्ट नेता र कार्यकर्तालाई मात्र हैन, असल नागरिक बन्न चाहने सबैलाई यो आचारसंहिता सिद्धान्ततः अनुकरणीय छ भन्न सकिन्छ । नेकपाको ब्यानरमा जारी भएकाले यसलाई कम्युनिस्ट आचारसंहिता भनिएको हो । मोहन वैद्य, विप्लवहरूको आचारसंहिता शायद योभन्दा ‘क्रान्तिकारी’ हुनुपर्छ, जुन कार्यान्वयन गर्नभन्दा अधिनायकत्व स्थापनामा बढी प्रयोग भएको देखिन्छ । सामान्यतः भूमिगत आन्दोलन वा हिंसाको नेतृत्व गर्ने शक्तिमा एकल नेतृत्व हुन्छ, जसलाई संरचनाले नै निरङ्कुश बनाउँछ । १० वर्षे जनयुद्धको बेलाका प्रचण्ड र अहिलेका प्रचण्ड नेतृत्वमा रहँदा आएको परिवर्तन त्यसको उदाहरण हो । प्रचण्डको भूमिगतकालको ‘फियर्स इमेज’ ले अहिलेको लचकतासँग कुनै साइनो सम्बन्ध नै राख्दैन ।
कुनखाले कम्युनिस्टको बहसतिर नजाऔँ । तर हरेक कार्यकर्ताले कम्युनिस्ट पार्टीको सदस्यता लिएको दिन नै यी माथि उल्लेखित आचार पालनाप्रति सपथ लिएको हुन्छ । कम्युनिस्ट समाजका आदर्श हुन् भन्ने बुझाइ केही पुराना कम्युनिस्ट नेताले प्रमाणित गरेकै हुन्, जो आज खण्डित छ । त्यही भएर अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असल कम्युनिस्ट कसरी बन्न सकिन्छ भनेर यो आचारसंहितामार्फत सम्झाएको हुनुपर्छ । विश्वमा कम्युनिस्ट लहर आउँदा असल कम्युनिस्ट कसरी बन्ने भन्ने पुस्तिका खुबै वितरण भएका थिए, ती नेपालीमा समेत अनुवादित थिए । अहिले नेपालमा कम्युनिस्ट लहर आएको बेला असल कम्युनिस्ट चरित्र टिकाइराख्न यो संहिता आवश्यक ठानिएको हुनुपर्छ । यो जारी नगरेको भए बहसमा आउने थिएन, पालना हुनु वा नहुनु पछिको विषय थियो । त्यसैले बहसमा आउनुमात्रलाई पनि सकारात्मक ठानौँ ।
काँग्रेस वा अन्य पार्टीमा आचारसंहिता बन्छ वा बन्दैन, थाहा छैन । किनकि त्यहाँ यस्तो अपेक्षा गरिँदैन । कम्युनिस्ट भएर यसो गर्ने भन्ने प्रश्न धेरैले राखेको सुनिन्छ तर काँग्रेस भएर यसो गर्ने ? भन्ने प्रश्न राखेको सुनिँदैन । जहाँ प्रश्नले अर्थ राख्छ, त्यहाँ सोधिन्छ । शेरबहादुर देउवालाई नेपाली काँग्रेसको सिद्धान्त, आदर्श र आचारसंहिताबारे प्रश्न सोधेर उत्तर पाइन्छ भन्ने कसैलाई विश्वास नै नभएपछि किन दुःख गर्नु ? प्रश्न सोध्ने क्षमता भएका एकाध युवा काँग्रेस पार्टी सैद्धान्तिक, चारित्रिक रूपमा बलियो बन्नुपर्छ भन्ने ठान्दैनन्, सरकारको कमजोरीमा आफ्नो व्यक्तिगत राजनीतिक भविष्य देख्छन् र त्यतै लाग्छन् । गगन थापाले यसको नेतृत्व गरेको देखिन्छ ।
देखाउनकै लागि भए पनि कम्युनिस्टमा आचारसंहिता कोरिन्छ । आचारसंहिता पालना गर्नु र अनुशासित हुनु फरक विधा हुन् । चिनियाँ कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले अनुशासन र आचारसंहिता दुवै बुझेका छन् । जो पार्टीमा सक्रिय छन् तिनले पालना गरेका छन्, जो पालना गर्न सक्दैनन्, ती पार्टी छाड्छन् । आचारसंहिता पालना नगर्नेहरूमाथि ठूलो शुद्धीकरण अपरेशन छ, कारबाहीमा परेका छन् । भारतमै पनि भारतीय जनता पार्टीमा आचारसंहिता तुलनात्मक प्रभावी छ । राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) भित्रको एक अङ्ग भएकाले आरएसएसको अनुशासन त्यहाँ लागू हुन्छ । उत्तर कोरिया, भियतनाम, लाओसमा पनि आचारसंहिता छन् तर ती कम्युनिस्ट अन्तर्राष्ट्रियबाट निर्देशित छैनन्, ती मूलतः शासक निर्देशित छन् ।
नेपालमा सत्तारुढ कम्युनिस्ट पार्टीले आचारसंहिता जारी गरिरहँदा त्यसले सबैभन्दा ठूलो व्यङ्ग्य भने स्वयं नेताहरूलाई नै गरेको छ । कम्युनिज्ममा विश्वास गर्नेहरूलाई कम्युनिस्ट भनिएको हो, जहाँ वर्गविहीन समाजको कल्पना गरिन्छ । कम्युनिष्टको एकमात्र उद्देश्य हुन्छ– राम्रो समाजको निर्माण । कार्लमाक्र्स र फ्रेडरिक एंगेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्र लेख्दा उत्पादनमा सामूहिक स्वामित्वको सोच ल्याउनुभयो, जसको उद्देश्य समाजका दुई वर्ग रहनुहुँदैन भन्ने थियो । औद्योगीकरणको युगले कामदार वर्गलाई सधंँै त्यसैमा सीमित गर्ने भएपछि सामूहिक स्वामित्वको अवधारणा आयो । सर्वहारावर्गको अधिनायकत्वलाई माक्र्स आफैँले स्थायी नभन्नुको अर्थ सत्तामा यो वर्ग स्थापित भएपछि साम्यवाद आउँछ भनिएको हुनुपर्छ । यो त्यतिबेलाको युरोपेली समाजलाई आधार मानेर निर्माण गरिएको सिद्धान्त थियो ।
आजका कम्युनिस्टहरूलाई वर्ग निर्माणको छुट छ, यो नेतृत्व उदार वा अनुदार भएर होइन, समयले देखाएको बाटो हो । आदर्शवादी समाजको कल्पना आजको विश्वमा सम्भव छैन । कम्युनिस्टलाई समाजको आदर्श नागरिक बन्नुपर्ने बाध्यता छैन । कम्युनिस्ट हुन कम्युनिस्ट सिद्धान्त बुझ्नुपर्छ भन्ने पनि छैन । कम्युनिस्ट पार्टीको सदस्यता लिन पनि गाह्रो छैन । नेकपा निर्माणपछि ‘पूर्व’ का विसङ्गति र विकृतिले पनि पूर्वकै हैसियत पाएका छन्, पार्टीका मुख्य पद र राजकीय मुख्य पदमा पूर्वकै हैसियतमा भागबण्डा भए पनि । त्यसैले आचारसंहिता कार्यकर्ताका लागि हो, नेताका लागि होइन भन्ने आम बुझाइमा परिवर्तन ल्याउनुपर्छ । भ्रष्टाचारी, कालोबजारी, गैरकानुनी कमिसनमा लाग्नुहुँदैन भन्ने वाक्यलाई आफ्नो आजसम्मको राजनीतिसँग जोडेर पुनरवलोकन गर्दा तस्बिर आफैँ बोल्छ ।
जिल्लादेखि केन्द्र तह र शीर्ष नेतृत्वले पार्टीमा पूर्णकालीन हुँदाको जीवनदेखि राजकीय पदमा पुग्दासम्मको जीवनलाई पारदर्शी बनाउनुपर्छ ।
आजको समयमा समाज विकास बुझ्न कुनै नागरिकले पनि नेताले घर बनायो, गाडी चढ्यो, ठूलो होटलमा खायो भनेर आलोचना गरेको छैन र गर्दैन पनि । तर जब नेता ठेकेदार, दलालको प्रभावमा पर्छ र उसका निर्णय तीद्वारा प्रभावित हुन्छन् भने स्वाभाविक रूपमा नेताप्रति प्रश्न उठ्छन् । पैसा र पहुँचका आधारमा जब पार्टी र सरकारका निर्णय प्रभावित हुन थाल्छन्, प्रश्न त्यहाँ उठ्छ । जब शीर्ष नेतृत्वले पार्टीमा आफ्ना समकालीनले गरेको त्यागलाई बिर्सेर लोभ वा दबाबमा पार्टीप्रति अलिकति पनि जवाफदेही नभएको व्यक्तिलाई लाभको पदमा पु¥याउँछ, प्रश्न त्यहाँ उठ्छ ।
आचारसंहितालाई अनुशासन ठानेर स्थायी समिति, केन्द्रीय कमिटी, प्रदेश हुँदै तल्ला कमिटीसम्मका नेता र कार्यकर्ताले पहिला आफूले पालना गर्ने हो भन्ने ठान्दा यो कार्यान्वयन हुनसक्छ । नेतृत्वमाथि उठाइने जायज प्रश्नलाई निषेध वा नियन्त्रण गर्न यसको दुरुपयोग हुने खतरा पनि उत्तिकै छ । माथिबाट पालना भएमा त्यसको प्रभाव तलसम्म पर्छ । होइन भने पार्टी चलायमान देखाउन बेलाबेला ‘फण्डा’ का रूपमा यो आइरहन्छ र अहिले पनि आयो भन्नेमै सीमित रहन्छ ।
(लेखक गोरखापत्र संस्थानका सम्पादक सल्लाहकार हुनुहुन्छ ।)