रविनारायण खनाल
चिनियाँ यात्री हुयान साङ, मञ्जुश्री, सम्राट अशोक, हिलारी, जोन उड, टोनी हेगन, ह्याटसन र कर्कप्याट्रिकजस्ता चर्चित व्यतिmहरूले जिज्ञासा र आलेखहरूले नेपालाई विश्वसामु आलोकित गरेको छ । भारतका विख्यात लेखकद्वय एम भी पायली र राहुल सांकृत्यायनले पूर्वीय धर्मशास्त्रहरूमा स्वर्ग र वैकुण्ठ भनेको प्राचीन नेपालको जनकपुरदेखि कपिलवस्तुवरपर वैशालीसम्मको भू–भाग हुनुपर्छ भनी ठोकुवा गर्नुभएको छ । सन् २०१८ सीएनएन र बीबीसी र यस वर्ष अमेरिकी पत्रिका फोब्र्सले नेपाललाई संसारका १२ वटा गन्तव्य मुलुकको सूचीमा राखेको छ ।
कहिलेकाहीँ नेपाल प्राकृतिक र धार्मिक महŒवको मुलुक भनी प्रचार गरिन्छ तर यहाँ विकसित द्वन्द्व सम्पादन, राजनीतिक विचारधाराहरूको संश्लेषणसहित माक्र्सवादअन्तर्गत संविधानवाद, कानुनी राज्य, शक्ति पृथकीकरण, स्वतन्त्र न्यायपालिका, बालिग मताधिकार, कम्युनिस्टहरू संसदीय अभ्यास विश्वका लागि रोचक छ । कम्युनिस्ट मानवअधिकार, सम्पत्ति हक, फौजदारी कानुन र स्वतन्त्र व्यापारका विरोधी हुन् भन्ने प्रश्नको जवाफ नेपालमा भेटिन सक्छ । जङ्गल, ओढार र खोँचहरूमा वर्गमुक्तिको सपनाले लठ्ठिएर हतियारमा साँध लगाइरहेका कम्युनिस्टहरू यहाँ लोकतान्त्रिक धारामा प्रकट हुनु विश्व लोकतन्त्रकै लागि उल्लेख्य छ । राज्यका अवयवहरूमा जनजाति, मधेसी, पिछडिएको समुदाय र प्रदेशहरूको आरक्षण, महिला समावेशिता र प्रतिनिधित्व पनि असल अभ्यासका रूपमा छ । जहाँसम्म आदिवासीको संरक्षणको सवाल छ, अस्ट्रेलिया, क्यानडा आदि मुलुकहरूले आदिवासी समुदायको संरक्षणलाई उच्च प्राथमिकतामा राखेर पर्यटन उद्योगलाई समृद्ध तुल्याएका उदाहरणले हामीलाई पाठ मिल्नुपर्छ । राउटे, दनुवार, मुसहर, सतार, डुम र चेपाङजस्ता सीमान्तकृत समुदायका संस्कृति र संसारबाट विलुप्त हुँदै गएको संयुक्त परिवारका प्रणालीहरू पनि रोचक छन् । रजनीश क्याम्प, अद्वैत संस्था, वैदिक अनुष्ठान र बौद्ध गुम्बाहरूमा देखिने सामूहिक जीवन पद्धति सूचनाका खानीले ज्ञानका जिज्ञासुको तृष्णा मेट्न सक्छ । भाषाभाषिकाको उद्यान नेपाल भाषाशाास्त्रहरूका लागि पनि
रोचक छ ।
धार्मिक सम्प्रदायहरूबीचको अनौठो सहिष्णुता छ । पश्चिममा कानुनहरू बामे सर्दा हामीकहाँ मुन्धुम, मानव न्यायशास्त्र, महाभारत, रामायण, याज्ञवल्क्य, नारदस्मृति, सिन्धुभारतहरू प्रयोगमा थिए । सन् १९४८ मा मानवअधिकारको घोषणा नहुँदै पनि रामशाहको २६ स्विति, पृथ्वीनारायणका दिव्योपदेशहरू पर्यटनका लागि महŒवका छन् ।
धार्मिक र प्राकृतिक स्थलहरू, हिमाल, पहाड र तराईका वनस्पतिमा पाइने विविधता, दुर्लभ प्रजातिका पशुपक्षी, नदी, ताल, गुफा र पत्थरहरू अन्वेषणका निम्ति सम्पदा हुन् । दसवर्षे जनयुद्धको क्यानभास रोल्पा, रुकुम र म्याग्दी जिल्लाहरू युद्ध सङ्ग्रहालयका रूपमा र युद्धका अवशेष र स्मृतिका डोब इतिहासका साक्षी छन् ।
अतिथिलाई देवतुल्य ठान्ने र साँझमा आउने पाहुनालाई भोको नराख्ने हाम्रो महान् संस्कृति र सभ्यता पर्यटन उद्योगका लागि उपयोगी छ । पर्यटकहरू शान्तिका दूत हुन्, तिनले हाम्रो गौरवलाई दूरदराजमा फैलाउनेछन् । ती फर्कंदा बुद्धजस्ता ब्यानर, स्टीकर तथा राजा जनक, तेन्जिङ, सीता र भृकुटीका चित्राङ्कित पोस्टकार्डहरू दिलाउन सके पर्यटन वर्ष फलदायी हुनेछ । पशुपति, स्वयम्भू, भद्रकाली, मायादेवीको मन्दिर, हिमाल (सर्वोच्च शिखर सगरमाथा, माछापुच्छ«े, अन्नपूर्ण, कञ्चनजङ्घा आदि), पहाडी झरना, हिमनदी झल्कने मैन वा कच्चा पदार्थका आकृतिहरू जुटाउनु सबै सरकार र उद्यमीहरूको कर्तव्य पनि हो । केही अर्थविद्का सुझाव पर्यटकहरू मितव्ययीभन्दा खर्चालुलाई प्राथमिकतामा दिनुपर्दछ भन्नेछ । यसले अर्थतन्त्रलाई उकास्न मद्दत गर्ने तिनको मत छ । सुझाव कति व्यावहारिक छ, समयले बताउला तर घरमा आएका पाहुनाहरू जुन स्तरका भए पनि तिनमा विभेद भने देखिनुहँुदैन । खर्चालु दुई दिनका पाहुना हुन भने दिगो पर्यटनका धरोहर बिर्सनुहुँदैन ।
यहाँ जलसम्पदाको उपयोगिता बुझ्न पनि लगानीकर्ताहरू आउने छन् । हाम्रो न्यानो आतिथ्यताले तिनको मन जित्नु छ । प्रविधि र पुँजीको हाम्रो भोक सम्बोधित हुने सम्भावनालाई छाड्नुहुँदैन । नेपालका गाउँ, बस्ती, होमस्टेलायक छन् । आफ्नो प्रदेशमा उपलब्ध पर्यटन स्थलको सूची सार्वजनिक गरी अनिवार्य आन्तरिक पर्यटनको अभियानमा लागेको गण्डकी प्रदेश सरकारका कदमहरू प्रभावकारी देखिएका छन् । बाँकी प्रदेश र सरकारहरूले पनि यस नारालाई अघि बढाउँदा पर्यटन सार्थक हुनेछ । पर्यटकलाई विविध भाषाका दोभाषे र निर्देशक (गाइड)हरूको आवश्यकता छ । निर्वाचनता खडा गरिने म्यादी प्रहरीको दरबन्दीझैँ पर्यटन वर्षको परिचालनका निम्ति अल्पकालीन दरबन्दी आवश्यक छ । यही सेवामा जीवन गुजार्न चाहनेको करिअर पनि यहीँबाट हुने कानुन निर्माण गरिनुपर्दछ । पर्यटक सम्बद्ध सरोकारवाला निकायहरूले कानुन, नियम र निर्देशिकालाई बहुभाषामा तयार गरी सार्वजनिक बोर्ड, भवन र भित्ताहरूमा टाँस्नुपर्दछ । प्रदेश वा पालिकाहरूले प्रत्येक सेन्टरमा पर्यटक डेस्क (गुनासो अधिकृत) मार्फत निःशुल्क स्वास्थ्य, कानुनी र प्रशासनिक सेवा उपलब्ध गराउनुपर्छ । मोबाइलमा एप्स अपलोड गरेर त्यसमार्फत भूगोल, संस्कृति र इतिहासको सूचना प्रवाह गर्न सकिन्छ ।
नेपाल विकसित अर्थतन्त्रहरूबीच अवस्थित छ । दुवैतिर विशाल जनसङ्ख्याबीच केही नोक्सानी भए पनि यसबाट भरपुर फाइदा उठाउनुपर्दछ । हाम्रो आजसम्मको पर्यटनलाई हेर्दा चीन, जापान, मङ्गोलिया, थाइल्यान्ड, म्यान्मार, भियतनाम, कम्बोडिया, श्रीलङ्का आदिका नागरिक लुम्बिनी, बौद्ध र स्वयम्भूतिर र भारतीय नागरिक पशुपति, जनकपुर, गढीमाई, दक्षिणकालीजस्ता हिन्दु मन्दिरहरूको दर्शनमा आउने गरेको देखिन्छ । भर्खरै माघेसङ्क्रान्तिमा भारतीय दर्शनार्थीहरू विमान चार्टर गरेर देवघाट दर्शनार्थ आएका थिए । खुला बोर्डरका केही जटिलताहरूको बाबजुद पनि कुशल रणनीति अवलम्बन गर्न सके पर्यटन हाम्रा लागि वरदान सिद्ध हुनेछ । निर्वाचनमा नियुक्त म्यादी प्रहरीको सेवा प्रभावकारी र पे्ररक थियो । यसरी नै पर्यटन क्षेत्रमा पनि अल्पसमयका लागि युवा खटाइनुपर्दछ । सरकार र निजी क्षेत्रमा कानुनी दरबन्दी सिर्जना गरी रोजगारी पनि हुने र पाहुनाको भलाइ पनि एकसाथ हुने देखिन्छ । एक्काइसौँ सदीको इ–प्रविधि र इ–सीपको मद्दतले सेवासँगै रोजगारी वा स्वरोजगारी सम्भव बनाउन सकिन्छ । ओलम्पिक खेलले कोरिया, भारत, दक्षिण अफ्रिका र चीनलाई आधुनिकीकरण गरेझैँ पर्यटनमार्फत बिदेसिएका नेपालीलाई मुलुक फर्कन अनुदान र प्याकेजसहित आह्वान गर्नुपर्दछ । मातृभूमिलाई अब भाडाको कोख बनाएर राख्नुहँुदैन । स्वाधीन र आत्मनिर्भर अर्थतन्त्रमार्फत श्रम शक्तिलाई स्वदेशमै खपत गर्नुपर्दछ । पहाडी तथा ग्रामीण पर्यटनबाटै उकासिएको युरोपको स्वीस मोडल हामीलाई उपयोगी हुन सक्छ । पर्यटनलाई प्राथमिकतामा राखेर अमेरिका, सिङ्गापुर, चीन, नर्वे र भारत आज विश्व अर्थतन्त्रका मसिहा बन्न पुगेको तथ्यलाई मनन गर्नुपर्दछ ।
शताब्दीयाँैदेखिको जहानियाँ निरङ्कुशता र द्वन्द्वको जाँतोमा पिल्सिनुपर्दा समाज आक्रान्त थियो । यसका अतिरिक्त तलदेखि माथिसम्मका निर्वाचनहरू अवरुद्ध हुँदा श्रमशक्ति पलायन भई मुलुक तरलताबाट गुज्रिरहेको थियो तर आज जनताका आँगनमा सरकारहरू छन्, घरदैलाका सरकारहरूले आफैँ बजेट पारित गर्न र विकासका योजनाहरू बनाउन सक्छन् । हिजो हल्काराको झैँ घिस्रेका गाउँ, टापुहरू अब कार्यकारी हैसियतमा बदलिँदा परिस्थिति भिन्न छ, आशाप्रद छ । जुजुभिसाको खोजीमा बिदेसिएका आफ्ना नागरिकलाई पर्यटन वर्षमा निम्नतम एकचोटि गाउँ फर्कन पे्ररित गर्नुपर्दछ । घर सङ्लिए मन सङ्लिने उखान छ । बाहिर हुनेमा अपवादबाहेक हरेक नेपाली स्वदेश फर्कने सपनामा डुबेको हुन्छ र मनमनै गाउँ विकासको सपना बुनिरहेको प्रतीत हुन्छ । यही मनोविज्ञानलाई नागरिक समाज, उद्योगी र अधिकारीहरूले बुझ्न सके हाम्रो भाग्यरेखा बदलिन सक्छ ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)