नेपालको अध्यागमन सुरक्षा प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउन विकास गरिएको ‘नेपाली पोर्ट’ सूचना प्रणाली शुभारम्भ गरिएको छ । यसबाट भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवा प्रदान गर्न सकिने छ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित १३ वटा अध्यागमन कार्यालयमा जडान गरिएको बायोमेट्रिक्स नेपाली पोर्ट सूचना तथा सुरक्षा प्रणाली (सफ्टवेयर) सोमबार शुभारम्भ गर्नुभएपछि यसको उपादेयता बढेको छ । यो प्रणालीको कार्यान्वयनले पासपोर्टमार्फत हुने अनियमितता रोकिने विश्वास गरिएको छ । नेपाली पोर्टबाट अध्यागमन सेवालाई छिटोछरितो, मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । सूचना प्रविधिको अधिकतम प्रयोगले अध्यागमन सेवालाई आधुनिक र पारदर्शी मात्र बनाउने छैन अध्यागमन सुरक्षा प्रणालीलाई सबल पनि बनाउने देखिछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रयोग गरिएको यो प्रणालीले स्वदेशी तथा विदेशी यात्रुलाई सहजता प्रदान गर्ने र अध्यागमन सूचना प्रणालीका लागि बहुपयोगी हुनेछ । अध्यागमनमा मात्र नभएर अत्याधुनिक सूचना प्रविधिको विकास र प्रयोगसँगै मुलुकको शान्तिसुरक्षा सुदृढ तथा प्रभावकारी बनाउने तथा प्रभावकारी सीमा सुरक्षाका लागि नेपाली पोर्ट (सफ्टवेयर) प्रणाली महŒवपूर्ण हुनेछ । यिनै उद्देश्यका साथ बायोमेट्रिक्स सूचना तथा सुरक्षा प्रणाली (सफ्टवेयर) स्थापना गरिएकाले यस दिशामा नेपालले नयाँ फड्को मारेको छ । स्थल, जल तथा हवाई यातायातका प्रस्थान र आगमन बिन्दुमा प्रयोग गर्न सकिने बायोमेट्रिक्स अध्यागमन सूचना प्रणालीमा आँखाको रेटिना, औँठाछाप (फिङ्गर प्रिन्ट) र फोटो रेकर्ड राख्ने व्यवस्था गरिएको छ । त्यस्तै नक्कली कागजपत्र
छुट्याउने फर्जी डिटेक्टिभ ल्याबको व्यवस्था गरिएकाले नक्कली कागजात प्रयोग गर्ने, अर्कोको पासपोर्टमा अर्कैको तस्बिर राखी गैरकानुनीरूपमा अध्यागमनबाट बाहिरिने तथा भित्रिने व्यक्तिको निगरानीलाई वैज्ञानिकीकरण गर्न सहज हुनेछ ।
यसका साथै यो प्रणालीको प्रयोगले हुलिया र कागजपत्र परिवर्तन गरी स्वदेश तथा विदेश आवतजावत गर्ने व्यक्ति वा इन्टरपोल प्रहरीले रेडकर्नर नोटिस जारी गरेकालाई पक्राउ गर्न सजिलो हुनेछ । यसको प्रयोगले नेपाल भ्रमणमा आउने प्रत्येक विदेशी नागरिकका गतिविधिलाई मोबाइल एप्लिकेसनबाट अनुगमन गर्न सकिने भएकाले अपराध अनुसन्धान तथा नियन्त्रणमा पनि सहयोग पुग्नेछ । नेपाल प्रहरी तथा इन्टरपोल प्रहरीले शङ्काको घेरामा राखेका वा पक्राउका लागि नोटिस जारी भएका तथा विगतमा अपराधका घटनामा संलग्न भई फरार व्यक्तिको पहिचान गर्न अध्यागमन सूचना प्रणाली सहयोगी हुने देखिएको छ । नेपालमा रहेका शङ्कास्पद गतिविधि सञ्चालन गर्ने विदेशीलाई नियन्त्रण लिन सहयोग पुग्नेछ । यही प्रणालीबाट राहदानी विभागबाट जारी हुने राहदानी, वैैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने एओसी र इन्टरपोलसम्बन्धी गोप्य सूचना हेर्न मिल्ने भएकाले यी क्षेत्रका काम कारबाहीलाई पारदर्शी, व्यवस्थित र अन्तरसम्बन्धित बनाउन सहयोग मिल्नेछ ।
अबका दिन विद्युतीय शासन (इ–गभर्नेन्स) को क्षेत्र तथा सम्भावना अझै बढ्ने भएकाले नेपालले यस्ता प्रणालीको विकासमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । नेपाली सूचना प्रविधि वैज्ञानिकले विश्वका कतिपय देशमा उल्लेख्य सफलता पाएका सन्दर्भमा नेपालभित्र यस्ता सफ्टवेयर विकासमा पर्याप्त साधन तथा स्रोत परिचालन गरी विद्युतीय प्रचलनलाई सुलभ र व्यापक बनाउन सकिनेछ । नेपाली युवालाई यस्ता कार्यमा संलग्न गराउन सकिएमा आगामी दिनमा नेपालले सूचना प्रविधिको बजारमा राम्रो सफलता प्राप्त गर्न सक्नेछ । दुईवर्षे अवधि र पाँचकरोड खर्च लाग्ने बताइएको अध्यागमन सूचना (सफ्टवेयर) प्रणाली नेपालीहरूले नै एक वर्षभित्रै ८० लाख रुपियाँमा निर्माण गरिएको सफलतालाई अन्य सन्दर्भमा पनि उदाहरण बनाउनु सकिनेछ । नेपालले बायोमेट्रिक्स प्रणालीको राष्ट्रिय परिचय कार्ड बनाउने तयारी गरिरहेकाले नेपाली पोर्टको सफलताले नेपाली वैज्ञानिकलाई हौस्याएको हुनसक्छ । निर्वाचन, बैङ्किङ, जग्गालगायतका व्यक्तिगत सूचनालाई एकीकृत गर्दै राज्यले सबल सूचना प्रणाली बनाउन सकेमा हाल भोग्नुपरेका कतिपय दोहोरो काम तथा खर्च कटौती गर्दै सरकारी अभिलेखलाई वैज्ञानिक र बहुउपयोगी बनाउन सकिनेछ । नेपाली पोर्टको विकासपछि नेपाली भिसाको दुरुपयोग तथा राजस्व चुहावटको सम्भावना अन्त्य हुने विश्वास गरिएकाले कर तथा राजस्वसँग सम्बन्धित निकायलगायत अन्य क्षेत्रमा पनि यस्तै प्रणालीको प्रयोग गर्न सकिए त्यहाँबाट हुन सक्ने राजस्वको चुहावट रोक्न सकिनेछ ।