त्रिचन्द्र प्रतीक्षा
नेपालमा रहेका विभिन्न सांस्कृतिक पर्वमध्ये वसन्तपञ्चमी पनि नेपालीको महìवपूर्ण पर्व हो । विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी ।
यस दिनमा ऋतु पूजा, विद्या पूजा, श्री (लक्ष्मी) पूजा, विष्णु पूजा, श्रीकृष्ण पूजा, प्रकृति पूजा, हलोको पूजा र विद्याकी देवी सरस्वतीको प्रतिमा बनाई पूजा गरिन्छ । सरस्वतीको प्रसादले प्रशन्न श्रीकृष्णले वरदान दिई वसन्त पञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको मानिन्छ ।
सरस्वतीको महिमा वेदले पनि सर्वत्र गाएको पाइन्छ । सरस्वती श्रुति अर्थात् वेदभन्दा पनि महान् छिन्, सरस्वतीले हाम्रो यश कीर्तिलाई बढाउन् भन्ने वैदिक ऋचाबाट पनि सरस्वतीको महिमा कति छ भन्ने स्पष्ट हुन्छ । उपनिषद्, पुराण, देवीभागवत् आदिले पनि भगवती सरस्वतीको विशेष महिमा गान गरेका छन् । यस्तै, मार्कण्डेय पुराणमा सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएका शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात् देवी महासरस्वती हुन् भनी वर्णन
गरेको पाइन्छ ।
पुराण शास्त्रहरूमा उल्लेख भएअनुसार सरस्वतीदेवी ब्रह्माजीको मुखबाट उत्पन्न भएकी हुन् । प्रत्येक देवीको आ–आफ्नै वाहन भएअनुसार यिनको चाहिँ मिसिएको दूधपानी छुट्याउन सक्ने निरक्षीर विवेकीको संज्ञा र वरदान पाएको राजहाँस हो । राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन् । उनी सधैँ मन्द मुस्कानमा हुन्छिन् ।
प्रकृतिको सम्पूर्ण फूल, रुख, घाँस आदि सुकेर गइसकेपछि पुनः वसन्त ऋतुमा फेरि नयाँ जीवन लिएर पालुवा पलाउने गरिन्छ । छवटा ऋतुमध्ये वसन्त ऋतु साह्रै रमाइलो हुने भएकाले ऋतुराज पनि भन्ने गरिन्छ । ऋतुराज वसन्तको आगमनको खुसीमा माघ शुक्ल पञ्चमीमा ‘वसन्तपञ्चमी’ पर्व मनाइन्छ । हुन त वसन्त ऋतु चैत–वैशाखमा पर्छ तर किन माघ शुक्ल पञ्चमीमा मनाइन्छ भन्ने प्रश्न उठ्नु जायज हो । यस सन्दर्भमा पुराणकर्ताहरूले रोचक कथा उनेका छन्, एकपटक पाँचवटा ऋतु मिलेर स्वेच्छाले आफ्ना राजा ‘वसन्त’को अभिनन्दन गरे । उक्त अभिनन्दनमा आ–आफ्नो अवधिबाट आठ दिन उपहारस्वरूप ऋतुराज वसन्तलाई अर्पण गरे । यसरी पाँचवटा ऋतुबाट अर्पित आठ–आठ दिनलाई जोड्दा चालीस दिन हुन जान्छ । अतः चैत कृष्ण प्रतिपदाभन्दा चालीस दिनपूर्व अर्थात् माघ शुक्ल पञ्चमीमा वसन्तपञ्चमी मनाइन्छ । यसलाई ‘मघिया पञ्चमी’ वा श्रीपञ्चमी
पनि भन्छन् ।
यस दिन स्वयम्भू डाँडाको पश्चिममा स्थापित महामञ्जुश्री चैत्यमा ठूलो मेला लाग्ने गर्दछ । विशेषगरी बौद्धमार्गीहरूले महामञ्जुश्रीलाई बोधिसत्व मानेर पूजा गर्दै आइरहेको पाइन्छ भने बुद्ध धर्ममा सरस्वतीलाई आर्यसरस्वती वज्रबीना सरस्वती, वज्रशारदा आदि नामकरण गरेको पाइन्छ । यस दिन दर्शनार्थीले त्यहाँ उच्चारण गरेको ‘नमो वागिश्वराय’ शब्दले वातावरणलाई ज्ञानमय बनाएको पाइन्छ ।
श्रीपञ्चमीको महìवबारे स्वयम्भू पुराणमा बुद्ध वचन भनेर यस दिनमा कसैले पनि मञ्जुश्रीको स्तुति गरेर, जप, तप, पाठ, पूजा, श्रद्धा भक्ति गरे भने मानिस अज्ञानी भए पनि ज्ञानी हुने, दरिद्र भए पनि धनी हुन्छ भनेर लेखेको पाइन्छ । यस्तै गान्धर्व पुराणमा श्रीपञ्चमीको बेला सरस्वती पूजा गरेर अक्षर चिन्न सुरु गरे भने ज्ञानी गुणी भएर सर्वसिद्धि प्राप्त गर्छ भनेर लेखेको पाइन्छ । त्यसैले अभिभावकहरू सरस्वतीको मन्दिर वरपर ‘ओम् नमो वागिश्वराय’ शब्दले वातावरण हृदयस्पर्शी गराउँदै आफ्ना बालबालिकाको हात समातेर ओम् नमो वागिश्वराय लेख्न लगाउँछन् ।
बौद्ध धर्मावलम्बीहरूको पौराणिक कथनअनुसार, स्वयम्भू ज्योति दर्शन गर्नका लागि श्रीपञ्चमीको अघिल्लो दिन मञ्जुश्री ल्हासाबाट नेपाल आइपुगेको भनिन्छ भने मञ्जुश्रीले चोभार डाँडालाई काटेर उपत्यकाको पानी बाहिर पठाएर बस्ती (बाग्मती र विष्णुमतीबीचको जमिनमा एउटा सहर खडा गरे जसमा काठमाडौँको केही भाग पनि पर्छ, अरू भाग आधुनिक विस्तार हो । मञ्जुश्रीले बनाएको राजधानी मञ्जुपत्तन उनैको खड्ग आकारको थियो भनी मानिसहरू गौरव गर्छन् । मञ्जुश्री महाचीन फर्के भनिन्छ । उनको योगदानलाई मध्यनजर गर्दै स्वयम्भूको पश्चिम डाँडामा मूर्ति स्थापना गरेर मेला सुरु गरेको भनाइ रहेको छ ।
यस दिन सरस्वतीका प्रसिद्ध पीठमध्ये काठमाडौँ उपत्यकामा जयवागेश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको चाँगु र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरमा विशेष भीड लाग्ने गर्दछ । तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । नेपाली संस्कृतिमा ठूलो महìव रहेको यस सरस्वती पूजादेखि नै गुरुङ समाजको प्रसिद्ध धार्मिक नृत्य ‘घाट’ प्रारम्भ हुन्छ भने बलामी जातिमा त यसै दिनमा मात्र परम्परागत विवाह गर्ने चलन छ भने बौद्धमार्गीहरू पुस्तक दान गर्दछन् । मनश्री दोभानको कुण्डको जल बालबालिकालाई पिलाउनाले चाँडै वाक्य फुट्दछ भन्ने विश्वास लिन्छन् ।
श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । लिच्छविकालीन गोकर्णको अभिलेखमा ‘शुक्लपञ्चमी’ को उल्लेख धार्मिक रूपमा भएबाट लिच्छवि शासकहरूबाट पनि वसन्तोत्सव मनाइन्थ्यो भन्ने प्रमाणित हुन्छ । यस्तै मल्लराजाहरूबाट पनि श्रीपञ्चमीका दिनमा कामदेवको पूजा गरी वसन्तोत्सव मनाइन्थ्यो भन्ने तथ्य अभिलेखहरूबाट प्रमाणित भइसकेको छ ।
नेपाल सरकारले पनि श्रीपञ्चमीलाई ‘वसन्तपञ्चमी’ राष्ट्रिय पर्वका रूपमा मनाउँदै आइरहेको छ । वसन्त ऋतु प्रारम्भ हुने दिनमा हनुमानढोका दरबारमा ऋतु धुन वसन्त श्रवणको कार्यक्रम हुन्छ । यस दिन कुनै पनि शुभकार्य गर्न साइत हेर्नु पर्दैन भन्ने जनविश्वास छ ।
(लेखक संस्कृतिका जानकार हुनुहुन्छ । )