प्रदीप नेपाल
समाजवाद त पुरानै शब्द हो नेपालमा चलेको । सन् १९३७ नेपालमा नेपाली काँग्रेसका सिद्धान्तकार, दिवंगत नेता विश्वेश्वरप्रसाद कोइरालाले समाजवाद शब्द प्रयोग गर्नुभएको रहेछ । तर अहिले उदारवादी पुँजीवादको नेता भएको नेपाली काँग्रेसका लागि यो समाजवादी विगत थोत्रो लुगा भएछ । यो मेरो निष्कर्ष होइन, सोसलिस्ट इन्टरनेसनलका महासचिवको हो । उनले अङ्ग्रेजीमा भनेका थिए, ‘बी.पी. कोइराला र गणेशमान सिंहको निधनपछि नेपाली काँग्रेस समाजवादी पार्टी रहेन ।’ तर पनि अहिलेको नेपाली काँग्रेसका नेताहरू प्रजातन्त्र, राष्ट्रियता र समाजवाद भनिरहनुभएको छ । यस्तो नचाहिँदो किन गर्नुभएको होला उहाँहरूले ? अहिले नेपाली काँग्रेसको सोलोडोलो सिद्धान्त बजार अर्थतन्त्र भएको छ । यही सत्यको घोषणा गरे नेपाली काँग्रेस नेपालका दलाल पुँजीपति र कहिल्यै सुध्रिन नचाहने नोकरशाहको सबैभन्दा ठूलो पार्टी बन्ने थियोे । कम्तीमा कित्ताकाट त हुने थियो ।
यता अहिले सबैभन्दा बलियो बनेको नेपाल कम्युनिस्ट पार्टी छ । ढुक्कको सरकार पनि बनाएको छ । राम्रा काम पनि गरेको छ । नेपालमा पनि काम हुँदोरहेछ है सन्देश दिएको छ र जनतालाई सपना देख्न मात्र होइन, देखेको सपना पूरा गर्न सक्ने पनि बनाएको छ । तर कति दिन ? या कति वर्ष ? पार्टी चल्न निश्चित सिद्धान्त चाहिन्छ । के हो अहिलेको नेपाल कम्युनिस्ट पार्टीको सिद्धान्त ? नेपाल कम्युनिस्ट पार्टीको ताल पनि नेपाली काँग्रेसको जस्तो हुँदै जालाजस्तो छ ।
किनभने पछिल्ला दिनमा यो पार्टी जनताको बहुदलीय जनवादप्रति गैरजिम्मेवार बन्न थाल्दैछ । हिजो हामीले जनताको बहुदलीय जनवादलाई नेपाली कम्युनिस्ट आन्दोलनको सिद्धान्त भनेका थियौँ । त्यो पनि महाधिवेशनको निर्णयबाट । नवौँ महाधिवेशनको निर्णयलाई काट्ने अधिकार कसले दियो हाम्रा आदरणीय नेताहरूलाई ? हामीले त दिएका थिएनौँ ।
गुनासोको कुनै अर्थ छैन भन्छन् हाम्रा नेताहरू नै । तर पनि बुझेको कुरो लेख्नैप¥यो । मलाई लाग्छ, हाम्रा शिरका स्वामी बनेर बस्ने नेताहरूले माक्र्सवाद पढनुभएको छैनजस्तो । ‘वाम’ कित्ताबाट आएका हामीले स्टालिनले लेखेको ‘लेनिनवादका आधारहरू’ भन्दा अरू पुस्तक शायद पढेका छैनौँ होला । त्योे लेनिनवादका आधार र कार्ल माक्र्सले लेखेको कम्युनिस्ट पार्टीको घोषणापत्रका बीच कुनै साइनो सम्बन्ध छैन । कार्ल माक्र्स कुनै पनि बुर्जुवा दार्शनिकभन्दा बढी स्वतन्त्रताका पक्षधर थिए । मैले कम्तीमा एक दर्जन लेखनमा स्रोतसहित यसको जानकारी गराएको छु । माक्र्स कहिल्यै अधिनायकवादी भएनन् भन्ने निष्कर्ष त नेपाली काँग्रेसका पाखा पारिएका प्रदीप गिरीले समेत भन्नुभएको छ ।
तर त्यसरी ठोकुवा गरेर नेपाल कम्युनिस्ट पार्टीका नेताले बोलेको मैले सुनेको छैन । ‘स्वतन्त्र नागरिकले मात्रै समानताको समाज निर्माण गर्न सक्छ’ भन्ने कार्ल माक्र्सको निष्कर्षलाई पढेको भए नेपाल कम्युनिस्ट पार्टीको सरकार यति हुर्मतहारा हुने थिएन । नेपाली समाजको सबैभन्दा ठूलो शत्रु हो सामन्तवाद । यसको टाउकामा वज्र प्रहार गर्न नसकेको हुनाले, यो अहिलेको सरकारलाई दाह्रा ङिच्याएर जिस्क्याइरहेको छ । सामन्तवादले नेपालको हरक्षेत्रमा खुट्टा पसारेर हलो अड्काइरहेको छ ।
नेता भएपछि गीत पनि सुन्नुपर्छ, गाली पनि सुन्नुपर्छ । जनताले बुझेको बोल्ने हुन् । उनीहरूले बोलेको कुरा त्यस्तै छुराले काट्ने गरी जवाफ दिन मिल्दैन सरकारले । कुरो यही रडाको उठाउने एम.सी.सी. को हो । यही बहसको बीचमा मैले सुनेको शब्द हो । मलाई ज्ञान देऊ भनेर तीनपटक सामाजिक सञ्जालमा ‘पोस्ट’ गरेँ मैले । मैले परराष्ट्र मन्त्रालयलाई श्वेतपत्र जारी गरेर अन्योल समाप्त गर्नुस् भनेर मन्त्रालयकै नाममा फिराद गरेँ । बिरालाले बच्चा लुकाए जसरी लुकाउनुपर्ने के रहेछ भन्ने प्रश्नको भुमरीमा फन्फनिइरहेको बेलामा, एम.सी.सी. बारे दुई जना पीएचडी सरहरूको टिप्पणी पढेपछि यस्तो चर्को विरोध गरिनुपर्ने विषय त होइन रहेछ यो लाग्यो । दुर्भाग्यवश उहाँहरू दुवैजना नेपाली काँग्रेसप्रति आस्था राख्ने हुनाले मेरो टिप्पणीले राम्रै धुलाइ पनि खायो ।
मेरो एउटा मात्र अपेक्षा थियो र अहिले पनि छ । त्यो भनेको त्यो दस्तावेजबारे बेस्सरी छलफल होस् । तर प्रधानमन्त्रीले एम.सी.सी. माथि छलफलको आवश्यकता नभएको र दुई अध्यक्षको निर्णयबाट संसद्मा पेश गर्ने र पारित गर्ने खालको जानकारी दिएको पढेपछि एम.सी.सी. मेरो चिन्ता र चासोको विषय होइन रहेछ भन्ने लागेर मैले एम.सी.सी. लाई नमस्कार गरेँ ।
आखिर सङ्घीय लोकतान्त्रिक गणतन्त्र कसका लागि ल्याइयो ! तपार्इंहरू जे बोलिरहनुभएको छ त्यो व्यवहारमा उत्रिएको छ ? पालिका सरकारहरू भ्रष्ट भए, भएनन् भन्दिनँ म । भए, कति फटाहा भएरै भए, कति अज्ञानका कारण भए भने बाठाहरू त पछिल्लो सुनकाण्ड, हवाईजहाज काण्डको कुरो सुनेर पनि भए होलान् । मूल फोहोर भए पनि तल सङ्लो होस् भन्न त अलिक मिल्दैन होला ।
सङ्घीय संसद् र सङ्घीय सरकार, दुवैले सङ्घीयको मर्म बुझ्नुभएको छैन भन्ने मेरो विश्वास पहिलेभन्दा बलियो भएको छ । सुरुमा सङ्घीयको विरोधमा कलम चलाउँदा मैले यही पक्षमा बढी जोड दिएको थिएँ । हाम्रो समाज सामन्तवादको शिकार भएको छ र यो एउटा मगन्ते मुलुक हो । मगन्ते मुलुकमा सङ्घीयता उसै पनि हास्यास्पद कुरा हो । समाज सामन्तवादको चेपुवामा भएको हुनाले तत्काल सङ्घीयमा जानु भनेको ‘महेन्द्रपथीय सङ्घीय’ मात्र हुनेछ भनेर लेखिएका टिप्पणी जताततै पढ्न पाइन्छ । अहिले त्यस्तै भयो भनेर म खुशी भएको छैन । जे नहुनुपथ्र्यो त्यही भएकोमा चिन्ता लागेको जनाउ मात्र दिएको हुँ ।
सकियो, अब खत्तम भयो, सङ्घीय गणतन्त्रले पनि जनतालाई केही दिएन भन्ने गुनासा बोकेर हिँड्नेले झोला बोकेर पशुपतिनाथको मन्दिरमा गएर घण्टा बजाएर बसे पनि हुन्छ । गति तपाईं र ममा मात्र छैन ।त्यो गति मूलरूपमा प्रकृतिमा छ । सङ्घीयताबाट फर्किने भनेको मृत्युघण्टा बोकेर बहुलाउनु मात्र हो । जीवन छ, त्यसैले समस्या पनि छन् । मान्छेको काम भनेको समस्यासँग जुध्दै निरन्तर अघि बढिरहने हो । यो नै जीवन हो । यो प्रकृतिसम्मत छ ।
मभन्दा माथिको पुस्तासँग तलकालाई सम्मान गर्ने संस्कार छैन । मेरो पुस्ताको बहुमत पनि लोकतान्त्रिक छैन । निर्बाध स्वतन्त्रता भनेको कानुनको शब्द देखाएर अल्मल्याउने काम होइन । संविधानमा नलेखिएका र विकास निर्माणसँग जति पनि काम छन्, सप्पै काम पालिका सरकारलाई जिम्मा लगाइयोस् र तिनले गरेका कामहरूको मूल्याङ्कन अनुगमन गर्ने काम सोही तहको पार्टी कमिटीलाई दिइयोस् ।
अहिल्यै यो काम गर्न त्यति सजिलो नहोला तर जति असहज भए पनि हामीले यो काम गर्नैपर्छ । माथिकाले दिएको अधिकार पनि लागू गर्न त्यसलाई माथितिर पठाउने प्रदेश नम्बर ३ को जस्तो नकाम कसैले नगर्नुहोस् । प्रदेश सभामा अल्पमत बहुमत गर्नुहुँदैन भन्ने सोचलाई फ्याँकिदिनु होस् । किनभने अब पार्र्टीलाई दुई पुस्ता तल झार्नुपर्छ । अध्यक्ष ५०–६० बीचको, महासचिव ४०–५० बीचको हुन सकेनन् भने कुनै पनि पार्टीले सामन्तवाद र दलाल पुँजीवादको बाघे पञ्जाबाट जनतालाई बाहिर निकाल्न सक्दैन । पहिले नेकपा एमालेले रौसको भरमा उमेरहद लगाएको थिएन । मान्छेले काम गर्ने उमेरको हेक्का राखेर कार्यकारी नेताको उमेर हद ७० वर्ष, ८० वर्षसम्म सल्लाहकार अन्त्यमा मानको लागि ज्येष्ठ कम्युनिस्ट मञ्च । एकताले यो राम्रो विधिलाई किन फ्याँकेको ? अहिले पनि मैले बुझ्न सकेको छैन ।
(लेखक नेकपाका नेता हुनुहुन्छ ।)