आज माघ १६ गते अर्थात् शहीद दिवस । प्रजातन्त्र बहालीका लागि प्राणको आहुति गर्ने शहीदहरूको त्यागको संस्मरण र सम्मान गर्ने दिन । जहानियाँ राणा शासनविरुद्ध नागरिक स्वतन्त्रताको आन्दोलनका क्रममा वि. सं. १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचली, १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ तथा दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए । माघ १० देखि १६ गतेसम्मका शहादतपूर्ण दिनलाई समग्रमा हृदयतः शहीद सप्ताह तथा माघ १६ गतेलाई शहीद दिवस मनाइँदै आइएको छ । पञ्चायत कालमा प्रजातान्त्रिक आन्दोलनका धेरै सपुतको हत्या गरिएको थियो । सङ्घीय लोकतान्त्रिक आन्दोलनका विभिन्न काल खण्डमा पनि धेरै नेपालीको निधन भएको छ । उहाँहरू सबैको संस्मरण र सम्मान पनि यसै हप्तामा गर्न सकिन्छ । ज्ञात–अज्ञात उहाँहरू सबैको बलिदानले प्राप्त वर्तमान राजनीतिक परिवेशलाई जनताको हितमा केन्द्रित गरी उनीहरूको अधिकार, सम्पन्नता र समृद्धिका लागि माघ १६ को फराकिलो सन्देश र प्रेरणालाई सबैले ग्रहण गर्नुपर्छ ।
वर्तमान नेपालले समावेशी सिद्धान्तका आधारमा ‘साझा फूलबारी’को लक्ष्यका साथ सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक विधिलाई शासकीय स्वरूप बनाएको छ । यही विधिमार्फत जनताको उच्चतम हित गर्न सकिन्छ भन्ने नेपालको विश्वास रहेको छ । शहीदले कल्पना गरेको समतामूलक नेपालको यात्रा जारी छ । त्यसो त कुनै पनि राजनीतिक पद्धतिको निश्चित गन्तव्य हुँदैन जहाँ पुगेर यात्रा रोकियोस् । शहीदका कल्पना पूरा गर्न अझ धेरै पहल वर्तमान पुस्ताबाट हुनुपर्छ र आगामी पुस्तालाई पनि देश विकास निम्ति प्रतिबद्ध गराउनु छ । आवश्यकताले मानिसका कर्म निर्धारण गर्छन् । आवश्यकता परिपूर्ति गर्ने क्रममा संस्कृतिको निर्माण हुन्छ । वर्तमान आवश्यकता भौतिक शहादतको होइन । मनसा, वाचा, कर्मणा मुलुकको हितमा समर्पित हुनु हो । समर्पित हुने संस्कृति स्थापना गर्नु हो । हिजो एउटा निश्चित राजनीतिक पद्धतिका लागि मुलुकले केही सपुतको भौतिक शहादत मागेको थियो । उहाँहरूले आफूलाई बलिवेदीमा चढाउनुभयो । आज मुलुकले समृद्ध नेपाल निर्माण र देशको हितमा समर्पित लाखौँ युवाको समर्पण खोजेको छ । यो जिम्मेवारी पूरा गरेर महान् शहीदहरूप्रति कृतज्ञता अर्पण गर्नुपर्छ ।
कुनै पनि शहीदले वर्षमा एक दिन आफ्ना संस्मरण वा सम्मान गरिएला भन्ने हेतुवश शहादत दिनुभएको थिएन । यसरी हेर्दा शहीद सप्ताह वा दिवस औपचारिक र परम्पराको निरन्तरता लाग्न सक्छ तर विशिष्ट योगदान र समर्पणको सम्मानले आगामी पुस्तालाई असल कार्यका लागि प्रेरणा दिनसक्ने सत्य पनि यस सन्दर्भमा भुल्न हुँदैन । नेपालले शहीदहरूको सम्मानार्थ विभिन्न सार्वजनिक स्थानलाई शहीदको नामबाट नामकरण गरेको छ । उहाँहरूको इतिहास र योगदानलाई विभिन्न कोणबाट सम्मान गर्दै आएको छ । नेपाल सरकारद्वारा २०६४ जेठ ११ गतेको निर्णयअनुसार काठमाडौँ गोकर्णेश्वरमा राष्ट्रिय शहीद स्मारक निर्माण गरिएको छ । त्यहाँ पुग्ने जो कसैले शहीदलाई स्मरण गर्नेछ । शहीदका सपना भनेर अमूर्त भावनामा बहकिनुभन्दा यस्तै भौतिक संरचना, औपचारिक पढाइ, अध्ययन अनुसन्धानका कार्यलाई बढावा दिएर उहाँहरूको योगदानलाई अक्षुण्ण गर्न सकिने छ । साथै शहीदका परिवारलाई राज्यले गर्नुपर्ने सम्मान तथा संरक्षणमार्फत योगदानको उच्च सम्मान गर्न सकिनेछ ।
मुलुकमा राजनीतिक मुद्दा करिब टुङ्गिएको छ, यद्यपि राजनीति स्वयंमा अभ्यास र साधन भएकाले साध्य प्राप्तार्थ यसमा परिमार्जन हुँदै जानु विज्ञानसम्मत सत्य हो । त्यसैले वर्तमान नेपाल विगतमा जस्तो राजनीतिक आन्दोलनमा नभएर आर्थिक समृद्धिमा केन्द्रित भइरहेको छ । अधिकांश सम्पन्न मुलुक राजनीतिक आन्दोलनको बाटो हुँदै आर्थिक समृद्धिको गन्तव्यमा पुगेको विश्व इतिहासअनुसार जनताको हितमा सबै पक्षको सक्रियता रहनुपर्नेछ । विचार, आस्था वा क्षेत्र, समुदाय कुनै पनि धरातलमा नेपालमा राज्यका कुनै पनि अङ्गमा कसैले बहिष्कृत हुनुपर्ने छैन । मुलुकको मूलप्रवाहमा सबैको बराबरी सहभागितामार्फत देश विकासको अभियानमा आफूलाई समर्पण गर्न अब कुनै पनि छेकबार नरहेकाले सबैले देशका लागि समर्पित गरेर शहीदले सुम्पेका अभिभारा पूरा गर्न आआफ्नो ठाउँबाट प्रण गर्नुपर्छ । वर्तमान नेपालले प्राण होइन प्रण मागेको छ ।