डा. महेन्द्र विष्ट
नेपाल र विश्वमा पत्रकारिताको सुरुवात त छापा माध्यमबाटै भयो । त्यसपछि रेडियोको विकास भयो अनिमात्र टेलिभिजन पत्रकारिता सुरु भयो । अहिले न्यू मिडियाको विकास भएको छ । मान्छेको स्मृतिपटलमा दृश्य बढी समयसम्म टिकिरहन्छ । टेलिभिजन पत्रकारितामा दृश्य र आवाज दुवै हुन्छ । त्यसैले पनि स्मृतिपटलमा टिकिरहन्छ ।
नेपालमा टेलिभिजन पत्रकारिता सबैभन्दा पहिले नेपाल टेलिभिजनबाटै सुरु भयो । यसको गौरवपूर्ण इतिहास छ र वर्तमान सबैभन्दा सबल अवस्थामा छ । अहिले निजीक्षेत्रबाट पनि एकसयभन्दा बढी टेलिभिजन सञ्चालनमा छन् । तथापि विभिन्न स्वतन्त्र सर्वेक्षणका आधारमा पनि नेपाल टेलिभिजन नै सबैभन्दा विश्वासिलो रहेको तथ्याङ्क देखिएको छ । अहिले यो वर्ष हामीले प्रसारण दिनको उपलक्ष्यमा ३५ औं वार्षिकोत्सव यही १७ गते मनाउँदैछौँ ।
हरेक हिसाबले विश्वसनीय हुने भएकाले नागरिकको विश्वास टेलिभिजनप्रति बढी हुन्छ । टेलिभिजनमा मान्छे बोलेको प्रत्यक्ष देखिने, साक्षात्कार हुने हुनाले दर्शक, श्रोताले बढी विश्वास गर्छन् । टेलिभिजनमा हत्तपत्त छलछाम, ढाँट गर्ने अवस्था रहँदैन । अहिले प्रविधिको विकास धेरै भएको छ । त्यसैले मान्छेहरू पनि ‘डाइभर्ट’ भइरहेका छन् । तर यसलाई डिजिटल प्लेटफर्ममा जोडेर हेर्दा मिडियामा सबैभन्दा बढी भ्यूअर (दर्शक) अझै टेलिभिजनमै छन् भन्न सकिन्छ ।
पहुँचको आधारमा टेरेस्टियल केबलको त छँदैछ, भूउपग्रहको माध्यमबाट हेर्दा पनि विश्वको १४५ देशमा टेलिभिजन पत्रकारिताको पहुँच छ । सँगसँगै जहाँ इन्टरनेट त्यहाँ टेलिभिजन हुने अवस्था भइसकेको छ । हामीले नेपाल टेलिभिजनलाई टेलिभिजन स्क्रिन (पर्दा)भन्दा बाहिर डिजिटल प्लेटफर्ममा मोबाइल एप, लाइभ स्ट्रिमिङमार्फत अगाडि ल्याएका छौँ । नेपाल टेलिभिजनलाई यसअघि प्रविधिमैत्री बनाउनमा जोड दियौँ । रूपान्तरणको वर्षका रूपमा यसअघिको वर्ष मनायौँ । एचडीमा चारवटा च्यानललाई रूपान्तरण ग¥यौँ । छोटो समयमा प्रविधि रूपान्तरणमा फड्को मारेका छौँ । यो आर्थिक वर्षलाई विषयवस्तुमा सुधार, पहुँचमा विस्तार नाराका साथ अघि बढाएका छौँ ।
२०६२÷६३ को आन्दोलनले धेरै विषयमा परिवर्तन ल्यायो, लोकतन्त्र, गणतन्त्र, समावेशिता, सामाजिक न्यायलगायतको परिवर्तनको एजेण्डा स्थापित भए । जननिर्वाचित यो सरकार समृद्ध नेपाल र सुखी नेपालीको नारा सार्थक बनाउन अभ्यासरत छ । नेपाल टेलिभिजनले आफ्नो व्यावसायिकता मार्फत त्यस अभियानलाई सघाइरहेको छ । विषयवस्तुको आधारमा हामीले कार्यक्रमलाई प्रस्तुत गर्दा प्रोटोकल (मर्यादातह) को आधारमा होइन, विषयस्तुको आधारमा प्राथमिकीकरण गर्छौं । केन्द्रमा मात्र होइन, हरेक क्षेत्र, समाजिक समावेशीकरण, लैङ्गिक विविधतालाई ध्यान दिएका छौं । त्यसैले सबैको अपनत्वबोध हामीले महसुस गरेका छौँ । हामीले राजनीतिकभन्दा विकास निर्माण, शिक्षा स्वास्थ्य, जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयवस्तुलाई बढी प्राथमिकता दिने गरेका छौँ ।
आवाजविहीनको आवाज बाहिर आउनुपर्छ भन्ने हाम्रो चाहना हो । त्यहीअनुसार विषयवस्तुको प्राथमिकीकरण गरेका छौँ । बालबलिका, ज्येष्ठनागरिक, दलित, विपतमा परेका, पछाडि परेका, स्वस्थ मनोरञ्जनका विषय र सन्देशमूलक विषयलाई प्राथमिकता दिएर प्रशारण गरिरहेका छौँ । नेपाल टेलिभिजन प्रविधिको हिसाबले सबैभन्दा अग्रणी संस्था बनेको छ । पहुँच र विषयवस्तुको आधारमा पनि अग्रणी छ । सरकार मातहतको सञ्चार माध्यम भए पनि सरकारले अनावश्यक हस्तक्षेप गरेको छैन । हामी स्वतन्त्र र प्रतिस्पर्धी अवस्थामा काम गरिरहेका छौँ । समाचार निर्देशिका, समाचारको शैली पुस्तिका, ड्रेस कोड लगायतको व्यवस्था गरी स्वतन्त्ररूपमा काम गरिरहेका छौँ । हाम्रो समाचार कक्ष स्वतन्त्र छ, भाषा पनि सभ्य, सौम्य छ । सरकारको आलोचना पनि गर्छौं तर रचनात्मक ढङ्गले गर्छौं । समाचारमा सन्तुलन कायम गरेका छौं । विपक्षीलाई गाली गर्ने औजारका रूपमा हामीले टेलिभिजनको दुरूपयोग गरेका छैनौँ । विपक्षीको आवाजलाई पनि उत्तिकै स्थान दिएका छौँ । नकारात्मकतालाई हामीले धेरै स्थान दिँदैनौँ तर आलोचनालाई स्थान दिन्छौँ, स्वागत गर्छौं ।
प्रतिस्पर्धात्मक क्षमता विकास गर्न अझै आवश्यक छ । सरकारी ढाँचाको भएकाले काम गर्ने शैलीमा चुस्तता ल्याउन अझै जरुरी छ । कर्मचारीलाई उत्प्रेरणाको खाँचो छ । सामूहिकतालाई हामीले ध्यान दिएका छौँ । हाम्रो बजारको आधारमा अघिल्लो वर्षको तुलनामा अहिले धेरै राम्रो छ । आयको हिसाबमा हामी उल्लेख्य प्रगति गरेका छौँ । अझ विस्तार गर्दै जानेछौँ । अघिल्लो एक वर्षको काम अहिले छ महिनामै भएको छ । प्रविधिले नयाँ नयाँ प्रयोगका निम्ति जहिल्यै दबाब सिर्जना गरिरहेको हुन्छ । समयअनुसार हामीले प्रविधिलाई अपनाउँदै आएका छौँ । सरकारको स्वामित्वमा भएको सञ्चारमाध्यम भए पनि प्रतिस्पर्धी, सक्षम र जनता केन्द्रितरूपमा स्थापित गरेका छौँ । चुस्तता, शुद्धतालाई ध्यान दिएका छौँ । सत्यतथ्यलाई प्राथमिकता दिएका छौँ । समाचारमा सन्तुलन कायम गरेका छौँ । मिडियाको काम सूचना दिने, शिक्षा दिने, मनोरञ्जन दिने र विचारका निर्माण गर्ने हो । यसमा हामी दृढ छौं । हरेक व्यक्तिको हातमा अहिले मिडिया छ । सोसल मिडियाको विकासले त झन् मूलधारका मिडियालाई नियमित चुनौती दिइरहेको छ । आफ्नो मिडियाको प्लेटफर्ममा नागरिकलाई राख्ने चुनौती छ । त्यसैले भाषा सौम्य, शिष्ट सुसंस्कृत बनाएका छौँ । त्यसो नगर्ने मिडिया टिक्न सक्ने अवस्था अहिले छैन ।
सुधार्नुपर्ने विषय धेरै नै हुन्छन् । यो सधैँ रहिरहन्छन् । काम गर्ने शैलीमा चुस्तता सधैँ ल्याउनुपर्छ । सहभागितामूलक निर्णय प्रक्रियामा ध्यान दिएका छौँ । त्यसले पनि सबैले अपनत्वबोध गरिरहेको अवस्था छ । प्रविधिको विकास निरन्तर भइरहेको छ । बजारमा नयाँनयाँ प्रविधि भित्रिरहेका छन् । त्यसलाई हामीले अपनाउँदै जानुपर्ने अवस्था छ ।
सत्यको पक्षमा मिडिया जहिले पनि रहनुपर्छ । नेपाल टेलिभिजनको विषयवस्तुलाई हामीले त्यसमा ढालेका छौँ । विश्वमै सुनिने र देखिने मुलुकको रूपमा नेपाल स्थापित हुँदैछ । अहिले भिजिट नेपाल २०२० को अभियानमा हामी सबै छौँ । विश्वभर नेपालबारे उजागर गर्नुपर्ने छ । यो भिजिट नेपालले पनि सघाउ पु¥याउनेछ । प्रसारण माध्यमको तर्फबाट हामीले त्यसमा काम गरिरहेका छौँ । ‘एनटीभी वल्र्ड’ नयाँ च्यानलको परिकल्पनामा पनि हामी छौँ । स्रोत साधन जुटेमा त्यो चाँडै सञ्चालन गर्छौं । डिजिटल प्लेटफर्मलाई अझ प्रभावकारी बनाउँदै जानुपर्नेछ । कन्टेन्ट (विषयवस्तु) मा राष्ट्रको वास्तविकता र परिवर्तनको मुद्दालाई समेट्नुपर्छ । मुलुकमा केही भएको छैन, एकदम खत्तम छ भन्ने जुन नकारात्मक सन्देश प्रवाह भइरहेको छ, त्यो गलत छ । सङ्घीयताले नयाँ अवसर पनि सिर्जना गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तहमार्फत जनप्रतिनिधिले काम गरिरहनुभएको छ । त्यसलाई मिडियाले प्राथमिकता दिनुपर्छ । मिडियाले आशाको सञ्चार गर्नुपर्छ । यथार्थ भएका विकास निर्माण र समृद्धिका विषयलाई उजागर गर्नुपर्छ । अनावश्यक आलोचना मात्रै गरेर जनतालाई भ्रममा राख्ने काम गर्नुहुँदैन ।
यही वार्षिकोत्सवबाट एनटीभी इटहरी नयाँ च्यानल सुरु गरिरहेका छौँ । यसले पूर्वका विषयवस्तुलाई केन्द्रमा राखेर प्रसारण गर्नेछ । यसअघि एनटीभी कोहलपुर पनि प्रसारण गरिसकेका छौँ । यसले प्रदेश ५, कर्णाली र सुदूरपश्चिमको विषयलाई प्राथमिकतामा राखेको छ । प्रसारण माध्यममा नेसनल ब्रोडकाष्टरको रूपमा हामी अघि बढेका छौँ । सार्वजनिक सेवा प्रसारणका रूपमा नयाँ विधेयक संसद्मा जाने क्रममा छ । त्यो विधेयकले नयाँ नीतिगत व्यवस्था गर्नेछ । यसले संरचनागत परिवर्तन गर्नेछ । त्यसको पर्खाइमा हामी सबै छौँ । पीएसबी (पब्लिक सर्भिस ब्रोडकास्टिङ) मा जाँदा कुन स्वरूपमा जाने तयारीमा हामी छौँ ।
नेपालको सञ्चारमाध्यममा बढी नकारात्मक ‘ट्रेन्ड’ छ । नकारात्मक विषयवस्तु बढी पस्किरहेको छ मिडियाले । यो राम्रो होइन । हामी व्यावसायिक राष्ट्रको माध्यमका रूपमा एनटीभीलाई अगाडि लग्ने अभियानमा छौँ ।
नेपालमा पत्रकारिताको प्रशिक्षणका निम्ति राम्रा संस्था छैनन् । एकदिनेदेखि सातदिने तालिम सामान्यतः चलिरहेको हुन्छ । विभिन्न सङ्घसंस्थाले तालिम प्रशिक्षण त दिएका छन् तर गुणात्मकता ल्याउने गरी प्रशिक्षण तालिम दिने संस्थाको अभाव छ । नेपाल प्रेस इन्स्टिच्युटबाट केही महिने तालिम र कलेजबाट पत्रकारिता पढाइ भइरहेको छ तर तालिम प्रशिक्षणको निम्ति राम्रो संस्था छैन । कक्षाकोठा र समाचार कक्षमा धेरै फरक हुन्छ । त्यसलाई जोड्ने तालिम र प्रशिक्षणले नै हो । त्यसका लागि ‘ट्रेनिङ इन्स्टिच्युट’ नै चाहिन्छ । म नेपाल पत्रकार महासङ्घको अध्यक्ष पदमा रहँदा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनका निम्ति प्रयास गरेको थिएँ । सञ्चारनीतिमा पनि त्यो परेको छ तर स्थापना हुन सकिरहेको छैन । त्यो गठन भएमा धेरै पत्रकारलाई प्रशिक्षित गर्न सहयोग पुग्नेछ ।
पत्रकारको सेवा, शर्त र सुविधामा बढी ध्यान दिनुपर्छ । यसले पत्रकारलाई पेशामा टिकाइराख्न सहयोग गर्छ । महिला, दलित, आदिवासी जनजाति, पछाडि परेका वर्गको पत्रकार टिकाउन अझ चुनौती छ । त्यसमा सञ्चार गृह तथा सरकारले पनि ध्यान दिनुपर्छ । नेपाल टेलिभिजनको कुरा गर्दा पत्रकारको सेवा सुविधा राम्रो छ । विज्ञापन खोल्दा धेरै पत्रकार एनटीभीतिर आकर्षित रहेको देखाउँछ । त्यसअनुसार प्राथमिकताको क्षेत्रमा मिडिया रहोस्, अझ एनटीभी रहोस् भन्ने हाम्रो चाहना हो । पूर्वाधार निर्माणमा हाम्रो पहल निरन्तर रहनेछ ।
(नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टसँग गोरखापत्रका उपसम्पादक लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित ।)