logo
२०८१ मंसिर १२ बुधवार



शहीदका सपना

विचार/दृष्टिकोण |




निर्मलकुमार आचार्य

विगत वर्ष झैँ यसपालि पनि शहीद दिवस मनाइयो । ज्ञात, अज्ञात शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै हरेक साल माघ १६ गते औपचारिक रूपमा मनाइने शहीद दिवस यो वर्ष पनि फरक रहेन, कैयन् प्रश्न पहिले झैँ अनुत्तरित नै रहे ।
शहीद र शहादतका सम्बन्धमा प्रष्ट परिभाषाको अभावले परिवर्तित राजनीतिक परिवेशलाई पनि पिरोलेको छ । मुलुक र मुलुकवासीका निम्ति जीउज्यान अर्पण गर्ने शहीदकै सम्बन्धमा पृथक् दृष्टिकोण रहनुले शुभसङ्केत गरेको छैन । शहीदलाई व्यवस्थागत हिसाबमा हेर्ने, दलगत वा समूहगत कसीमा जोख्ने वा क्षेत्रीय, वर्गीय साँघुरो घेरामा राख्ने प्रवृत्तिले मुलुकमा राणाकालीन शहीद, पञ्चायतकालीन शहीद, दशवर्षे द्वन्द्वकालीन शहीद, मधेशवादी शहीद लगायत थरीथरीका वर्गीकरण देखिएका छन् ।
सडक दुर्घटनामा, पारिवारिक वा सामाजिक हिंसामा अथवा भवितव्यवश मृत्युवरण गर्न पुगेकालाई समेत बलात् शहीद घोषणा गराउने र सरोकारीले पनि तत्कालको समस्या टार्न सहमति जनाइहाल्ने परिपाटीले मुलुकमा शहीदको सङ्ख्या ह्वात्तै बढाएको मात्र होइन, शहीदकै गरिमामा समेत गहिरो चोट लगाएको कटुसत्य कसैबाट अविदित छैन ।
जुनसुकै कार्य, कारणले निधन भएकालाई समेत शहीदको पङ्क्तिमा विराजमान गराइदिने अल्पदृष्टियुक्त बेहोराका कारण आज शहीद दिवसको महत्व ओझेलमा परेको हो । को वास्तविक शहीद हुन् र को अवास्तविक शहीद हुन् ? छुट्याउने कार्यमा यसैगरी विलम्ब भइरहने हो भने मुलुक र मुलुकवासीका लागि साँच्चै प्राण अर्पण गरेका बलिदानीका हकमा सरासर अन्याय हुनजानेछ । यसर्थ राज्य नै अघि सरेर शहीदको पुनः परिभाषा गरी शहादतको उच्च मूल्याङ्कन हुने हिसाबमा अग्रगति अँगाल्न ढिलाइ भइरहेको छ ।
सही र बेसही शहीद नै नछुट्याइएमा सच्चा शहीदको अवमूल्यन भइरहने र तिनका परिवारले समेत कुनै कदर नपाउने अवस्था रहिरहनेछ । शहीदका परिवारले पाउने सरसुविधा, राहतकै पक्ष पनि वास्तविक हकदारले लिइरहेका छन् कि बेहकवालाको रजाइँ चलिरहेको छ, हेर्न चुक्नु सर्वथा अनुचित छ । शहीदप्रति सम्मान, शहीदका परिवारका लागि यथोचित प्रबन्ध तथा जिउँदा शहीदका रूपमा रहेका घाइतेको उपचार एवं पेटपालोतर्फ समयमै ध्यान दिनेतिर विलम्ब हुनुहुँदैन ।
लखन थापा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा लगायत कैयन् ज्ञात, अज्ञात वीर, वीराङ्गनाको बलिदानमा टेकिएको मुलुकमा शहीदको सम्मान अपरिहार्य छ । ‘हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए । बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।।’ प्रगतिवादी कवि भूपि शेरचनले भनेजस्तै मुलुकलाई अन्धकारयुगबाट उज्यालोको यात्रामा लैजान केही वीर, वीराङ्गनाका शहादत आवश्यक हुन्छ नै तर यहाँ केही जना होइन, हजारौँ शहीद भएको अवस्था चिन्ताजनक छ ! अबका दिनमा कम्तीमा शहीद हुनुपर्ने परिस्थिति सिर्जनै हुन नदिनेतर्फ व्यापक प्रयास अपेक्षित छ ।
‘नेपालको संविधान– २०७२’ घोषणा गरिएपछि अधिकांश नेताले अब कसैले पनि शहीद हुन नपर्ने धारणा व्यक्त गरेको यतिखेर स्मरणीय छ । अब कुनै पनि नेपालीले शहीद हुन नपर्ने भनाइलाई व्यावहारिक माला पहि¥याउन के कस्ता कदम, कस, कसले के कति चाल्नुपर्ने हो र ती कदम चालिएका छन् कि छैनन् ? अहिले आत्मसमीक्षाको समीक्षाको विषय बनेको छ । निश्चय नै कुनै पनि नेपालीले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, स्वतन्त्रता, लोकतन्त्र, मानव अधिकार, गाँस, बास, कपास, लगायतका विषयमा शहादतको बाटो रोज्ने अवस्था आउनै दिनुहुँदैन । यो आदर्श हो, यस आदर्शको मूल्य, मान्यतालाई स्थापित तुल्याउन सरोकारी सबै पक्ष गम्भीर, इमानदार तथा सक्रिय हुनैपर्छ ।
शहीद र शहादतका सम्बन्धमा विभिन्न शब्दकोश पल्टाउँदा कुनै बेला केवल धर्मयोद्धा मात्रै शहीद कहलाएको देखिन्छ । शहीद र शहादत अरबी शब्द हुन् । शहादतको अर्थ– ईश्वरको मार्गमा शहीद हुनु, गवाही, साक्ष्य, धर्मयुद्धमा भिड्दै मारिनु, देश र जनताको अस्तित्व तथा स्वतन्त्रताका निम्ति बलिदान दिनु आदि रहेका छन् भने शहीदको अर्थ– ईश्वरको मार्गमा धर्मका लागि लडाइँ गर्दागर्दै मारिने व्यक्ति, देशका लागि, कर्तव्यका निम्ति आफ्नो बलि दिने, कुर्बानी दिने (व्यक्ति) आदि छ । नेपाली शब्दकोशमा ‘आफ्नो देश, संस्कृति तथा अस्तित्वको संरक्षण र स्वतन्त्रताका निम्ति आफ्नो प्राणोत्सर्ग गर्ने’ व्यक्तिलाई शहीद भनिएको पाइन्छ ।
शहादत तथा शहीदसँग सम्बन्धित केही शब्द, जुन नेपाली शब्दकोशमा छैनन्, यतिखेर ध्यातव्य देखिएका छन् । शहादतगाह ः शहीद हुने स्थान । शहादतनामा ः त्यो किताब, जसमा इमान हुसैनको शहादतको वर्णन छ÷ कपडामा लेखिएका शहादतका ‘कलमा’ (इस्लाम धर्मको मूलमन्त्र÷ ला इलाह इल्लिल्लाह मुहम्मदुर्रसूलिल्लाह), जसलाई मुसलमान कफनमा राख्छन् । शहादतहक्का ः सच्चा बलिदान÷सत्यका लागि कुर्बानी÷ सच्चा गवाही । शहीदे इश्क ः प्रेमका लागि प्राण उत्सर्ग गर्ने व्यक्ति । शहीद मर्द ः त्यो व्यक्ति, जो खुदा (ईश्वर) को बाटोमा, धर्मका नाममा युद्ध गर्दै मरेको व्यक्ति । शहीदे वतन ः देशका लागि प्राण न्यौछावर (अर्पण) गर्ने व्यक्ति । शहीदी ः शहीद हुन तयार । शहीदजत्था ः शहीद हुन तयार भएकाको जत्था ।
अङ्गे्रजीमा शहीदलाई ‘मार्टिअर्’ भनिन्छ । यसको अर्थ पनि धर्मका लागि आफ्नो बलिदान दिने, महान् उद्देश्यका निम्ति प्राण दिने व्यक्ति, राष्ट्रका निम्ति प्राण दिने व्यक्ति, शहीद, हुतात्मा उल्लेख पाइन्छ । शहीद तथा शहादतका सम्बन्धमा ‘मार्ट अर्’ का पनि विविध रूप रहेका छन् । ‘मार्टिअर्’ कै अर्को अर्थ शहीद बनाउनु, आत्म वलिदान दिनु, पीडा दिनु, यातना दिनु पनि हो । मार्टर्डम् ः शहादत, प्राणोत्सर्ग, यातना, पीडा । मार्टराइ(इ)जेशन् ः आत्म बलिदान, प्राणाहुति । मार्टराइज् ः प्राणोत्सर्ग गर्नु, आफ्नो प्राण दिनु । मार्टराइलजिस्ट ः शहीदको इतिहास लेख्ने व्यक्ति, शहीद– इतिहासकार । मार्टरलोजी ः शहीद विज्ञान, शहीदको इतिहास, आत्मबलिदानको वृत्तान्त । मार्टरी ः शहीदको सम्झनामा बनाइएको मन्दिर, शहीद स्मारक ।
माथिका शब्द तथा तिनका अर्थका आधारमा शहीद, शहादत तथा मार्टअर्का व्यापक अर्थ रहेको प्रष्ट हुन्छ । यद्यपि हाल राजनीतिक क्षेत्रका आत्मबलिदानीलाई नै शहीद र तिनका कुर्बानीलाई शहादत भनिएको पाइए तापनि मुलुक र मुलुकवासीको हितका निम्ति कुनै पनि क्षेत्रमा जिउज्यान अर्पिएर लागिपरेका व्यक्ति शहादतका बाटामा छन् भने त्यसरी मृत्युवरण गर्नपुग्ने व्यक्ति स्वतः नै शहीद हुन् भन्नसकिन्छ । यस्ता ज्ञात, अज्ञात शहीद पनि यहाँ कम छैनन् । समग्रमा शहीद र शहादतको मूल मर्म पहिल्याई शहीदप्रति सच्चा श्रद्धाञ्जलि व्यक्त गर्ने हिसाबमा हामी सबैको ध्यान केन्द्रित हुनु जरुरी छ ।
शहीदका सपना साकार हुनुपर्नेमा दुईमत छैन । थरीथरीका हजारौँ शहीद र अनेकखाले सपनाका बीचमा मूलभूत सपना पर्गेली अघि बढ्नसके मात्र क्रमैसँग भए पनि शहीदका आत्माले शान्ति पाउने छन् । भोजन, आवास, जीविका, शिक्षा, स्वास्थ्य, विभेदरहित परिपाटी, विधिको शासन जस्ता आधारभूत पक्ष सबै शहीदका सपना हुन् । ती सपना पूरा गर्ने नारा, भाषण, नीति, योजना, कार्यक्रम तथा निकाय पनि कम छैनन् । देशको मूल कानुन ‘संविधान’ मै शहीदका सपनालाई बिपनीमा सार्थक तुल्याउने प्रत्याभूति पनि छन् । संवैधानिक प्रत्याभूतिको व्यावहारिक धरातलमै सुन्दर अनुवाद हुन सके मात्र शहीदका आत्माले शान्ति पाउनेछन् ।
शहीदका सपना पूरा गर्ने, गराउनेतर्फ अगुवा वर्गको के कति कर्तव्यपरायणता रह्यो, रहेन भन्ने विषय कागजी प्रतिवेदनमा होइन, गरिबका मुहारमा प्रतिविम्बन हुनुपर्छ । राष्ट्रको अस्मिता, अखण्डता र सुरक्षाका निम्ति रत्ति चुक भएमा पनि शहीदका आत्माले शान्ति पाउने छैनन् । राष्ट्रिय स्वाधीनताका निम्ति दृढताको परिचय दिन सकिएन भने शहीदको आत्मा छटपटाइरहनेछ । देशभित्र रहेका गरिबी, रोग, भोक र शोकजस्ता शत्रु नाश गर्न सकिएन र नेपालको सीमा, राष्ट्रिय अस्तित्वमाथि कुदृष्टि राख्नेका आँखा मोड्न सकिएन भने शहीदका आत्माले कहिल्यै शान्ति पाउने छैन ।
(लेखक गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?