logo
२०८१ मंसिर १२ बुधवार



चन्द्रवीरको अनुकरणीय काम (सम्पादकीय)

विचार/दृष्टिकोण |




समाजमा धर्म तथा सामाजिक सेवा प्रवृत्त व्यक्तिले आफूलाई भिन्नरूपले उदाहरणीय बनाएका हुन्छन् । यद्यपि कतिपय उनीहरूलाई आफू उदाहरणीय बन्दै गरेको याद हुँदैन र अपेक्षा गरेका पनि हुँदैनन् । यस्तै अहेतुकी कार्यलाई नै समाज सेवा वा धर्म भनिन्छ । हेतुनिर्दिष्ट व्यक्तिगत मनसाय राखेर गरिएका काम त्यसैले न त धर्म हुन्छन् न त समाजसेवा  । नेपाली समाज धर्म निर्देशित मात्र होइन धार्मिक मान्यताले दीक्षित छ । समाज कल्याणका कार्यलाई धर्म वा सेवा जुनसुकै दृष्टिकोणले व्याख्या गरिए पनि त्यसलाई असल कार्यका लागि पे्ररित गर्ने तत्वका रूपमा लिन सकिन्छ । बाटो, चौतारो, धर्मशाला, पाटीपौवा, सत्तल, घाट बनाउनु, सर्बत पानी खुवाउनु, पाहुनालाई देवतासरह स्नेह र सम्मान गर्ने परम्परा नेपाली संस्कृति मानिन्छ । आधुनिकीकरणले धार्मिक मूल्यमान्यतामा परिवर्तन, भौतिकवादी र आत्मकेन्द्रित प्रवृत्तिको स्थापना, पापपुण्यको विश्वास विघटन, धार्मिक तथा सामाजिक कार्यहरू नितान्त देखावटी तथा औपचारिक बन्न पुगेका पनि छन् । तर समाजमा उदाहरणीय व्यक्ति नै छैनन् र प्रशंसनीय कार्य नै हुँदैनन् भन्ने पनि होइन । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गबाट उत्तर–पूर्व अवस्थित खमारी गाउँका चन्द्रवीर वलीले
अप्ठ्यारो र कठिन पहाड फोडेर गाउँसम्म तीन किलोमिटर सडक पु¥याउने एक्लो अभियानमा सफलता पाउनुभएको छ । उहाँको एउटै उद्देश्य थियो– गाउँमा बाटो पु¥याउनु । घडेरी बेच्न वा व्यक्तिगत लाभका लागि होइन । केवल समाज सेवाका लागि । उमेरले ७५ वर्षीय उहाँले पाँच वर्ष एक्लैले खनेर गाउँसम्म सडक पु¥याउनुभएको हो । गाउँसम्म पुग्ने गोरेटो बाटोसमेत नभएकाले भीरबाट लडेर धेरैका हातखुट्टा भाँचिएको अनुभव उहाँसँग छ । आफ्नो परिवारका १३ जनामध्ये नौ सदस्य दृष्टिविहीन रहेकाले पनि उहाँलाई पुण्यार्थ यस्तो कार्यमा संलग्न हुन अन्तरहृदयले पे्ररित गरेको हुनसक्छ । बाटो खन्न पहल थाल्दा गाउँघरका कतिपय जान्नेसुन्ने वलीको कामलाई असम्भव भन्थे तर ‘शनैः पन्था शनैः पन्था शनैः पर्वतलङ्घनम्, शनैः वित्त शनैः विद्या पञ्चैतानि शनैशनैः’ भन्ने मान्यतालाई पुष्टि गर्दै आफूले थालेको काम उहाँले सम्पन्न गरिछाड्नु भयो ।
बिहानबेलुकी बाटो खन्न र बनाउनमै रमाउने चन्द्रवीरलाई परिवार पाल्नुपर्ने चुनौती छँदैछ । तुलसीपुर उपमहानगरपालिकाले बाटो फराकिलो बनाइदिन र ह्युमपाइप सहयोग गरेको छ । यसबाट नागरिकको असल कार्यमा स्थानीय तहले ध्यान दिन्छन् भन्ने पनि देखिएको छ । विकास कार्यमा उपभोक्ताले स्वामित्व लिन नसक्दा त्यस्ता विकास दिगो नभएका उदाहरण विगतले पुष्टि गरिसकेको अवस्थामा चन्द्रवीर र उहाँजस्ता अन्य समाजसेवी तथा स्थानीय तहको पहलमा विकासका नयाँ स्थानीय मोडल बनाउन सकिनेछ । चन्द्रवीरको माग अनुसार नै तुलसीपुर उपमहानगरपालिकाले सडक फराकिलो बनाउने प्रक्रिया थालेकाले चन्द्रवीरले बनाउनुभएको बाटो पक्की सडक हुने विश्वास गर्न सकिनेछ । यसैगरी चन्द्रवीरले स्थानीय पर्यटकीय स्थल चमेरे गुफासम्म पुग्ने तीन किलोमिटर सडक पनि बनाउन लाग्नुभएको छ । उहाँलाई यस्ता सत्कार्यमा सबैको सद्भाव र सहयोग जुट्नुपर्छ ।
बिरामी पर्दा खटियामा बोकेर गाडी चढ्ने ठाउँसम्म पु¥याउने बाटो पनि नभएको गाउँमा आफ्नै पहलमा खनिएको बाटोबाट एम्बुलेन्स गुड्न थालेको अवस्थालाई आफ्नो सफलता मान्नुहुने चन्द्रवीरलाई राज्यका विभिन्न निकायले सहयोग र सम्मान गरेर पुस्तालाई रचनात्मक कार्यका लागि उत्प्रेरित गर्न सक्छन् । अहिलेको आवश्यकता समुदायको विकास मात्र नभएर विकासमा समुदायको सहभागिता पनि हो । चन्द्रवीरले खन्नुभएको बाटो उहाँका नाममा दर्ता गरेर वा त्यसको स्तरोन्नतिमा सम्बन्धित स्थानीय तहले विशेष ध्यान दिनु आवश्यक छ । यससँगै व्यक्तिगत रूपमा यसरी सडक खन्दै जाँदा अराजकता पनि आउन सक्ने पाटोलाई पनि ध्यान जानुपर्छ । बाटोको आवश्यकता, त्यसको प्राविधिक र वातावरणीय पक्षमा ध्यान दिनैपर्छ । कहिलेकाहीँ असल परिणामका लागि गरिने काम वा उद्देश्य पनि कानुनी वा प्राविधिक रूपमा अनुपयुक्त हुनसक्छ । यस्ता सन्दर्भमा चन्द्रवीरजस्ता सामाजिक अभियन्तालाई जानकारी र सहयोग उपलब्ध गराउँदै उत्साहित गर्नुपर्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?