logo
२०८१ मंसिर १२ बुधवार



किन जाडो हुन्छ ?

विचार/दृष्टिकोण |




विष्णु पराजुली

कात्तिक मङ्सिरदेखि बढ्दै गएको जाडो पुस, माघमा ह्वात्तै चिसिन्छ । त्यहाँमाथि बादल र हावा लाग्यो भने सहिनसक्नु हुन्छ । बाक्ला लुगामाथि ऊनीका स्वीटर र ज्याकेट नलगाई बाहिर निक्लन सकिन्न । जाडोमा बूढाबूढी, केटाकेटी र बिरामीलाई विशेष हेरचाह गर्नुपर्ने हुन्छ । बच्चालाई तातोपानीले नुहाइदिएर घाममा राख्दा पनि काँडा उम्रिन्छ । दाँत कट्कटाएर बस्छन् । खोलानाला, तालहरूमा पानी जम्छ । बढी अक्षांशका युरोप, अमेरिकाका सहरहरूमा हिमपातले तहसनहस हुन्छ । जाडोले गर्दा नेपाल, भारत जस्ता देशमा बर्सेनि सयौँ मानिस मर्छन् । सूर्यबाट आउने ताप र प्रकाशको मात्राले पृथ्वीमा जाडो र गर्मी मात्र नभई वर्षा आर्द्रता हुरी बतास आदि अवस्था सिर्जना हुन्छ । यसले कृषि, वन, स्वास्थ्य शिक्षा, पर्यटन सडक आदि समग्र विकासका आयामलाई असर गर्दछ । वायुमण्डलमा रहेको तातोले समस्त जीव, वनस्पति जगत् नियन्त्रित छ । यद्यपि हरितगृह ग्यास वायुमा थपिँदै गएको कारणले भने ३०÷४० वर्षका अनुभवमा जाडोका दिनहरू छोटिँदै गएको छ ।
जाडो र विज्ञान
वस्तुको अणु तथा परमाणुहरूको कम्पन तथा चल शक्तिलाई हामी ताप भन्दछौँ । तातो, चिसो, वस्तुको चल शक्तिको सापेक्षिक अवस्था हो । जति अणु तथा परमाणुको कम्पन अर्थात् वेग बढ्छ उति वस्तु तातो हुन्छ । पृथ्वीमा दैनिक हुने सबैजसो तातो सूर्यको प्रकाश वा तापबाट प्राप्त हुन्छ । सूर्यमा हुने थर्मोन्युक्लियर रियाक्सन (परमाणु टुक्रिने अवस्था) बाट लाखौँ डिग्री ताप निक्लन्छ । यस्तो स्थितिमा सूर्यमा रहेको हाइड्रोजन ग्यास, हिलियम ग्यासमा परिणत हुन्छ र ताप, प्रकाश पृथ्वीमा फाल्छ । सूर्यको किरण ९० डिग्रीको कोण पारी ठाडो खस्दा तेज बढी हुन्छ र कोण घट्दै जाँदा तेज पनि घट्छ बिहान, बेलुकी तेर्सो किरण पर्दा घाम मधुरो भएको हामीले देखेका पनि छौँ ।
मुख्यतः आफ्नै अक्षमा घुम्ने पृथ्वी, सूर्यलाई वर्ष दिन लगाएर घुम्दा घुम्ने अक्षसँग सूर्यलाई साढे २३ डिग्री कोण पारी सूर्यतिर कोल्टिएर घुम्छ । फेरि सूर्यको वरिपरि ३६५१÷२ दिन लगाएर घुम्दा पूर्ण गोलाकार नभई चेप्टो वृत्तमा घुम्छ । यसरी घुम्दा एक फन्कोमा एकपल्ट एउटा भाग सूर्यतिर कोल्टिने र त्यो भाग सूर्य नजिक भई गर्मी महिना हुने र अर्कोपट्टि भाग सूर्यदेखि टाढा हुने हुँदा जाडो महिना हुन्छ । जाडो महिनामा हुने भागमा सूर्यको किरणले पृथ्वीमा बनाएको कोण कम अर्थात् किरण तेर्सोे पर्दै जान्छ । तेर्साे भाग उही किरण बढी ठाउँमा बाँडिँदा कम हुन जान्छ । सूर्यको तेज पूर्ण घाममा झण्डै ४६ प्रतिशत ताप ४० प्रतिशत प्रकाश र ८ प्रतिशत यू.भी. हुन्छ ।
सूर्यबाट आउने तातो सूर्य र पृथ्वीको दूरी, अक्षांश, हावाको चाप, वायुमा भएको धुलोको कण, ढाकिएको बादलको मात्रा, नजिकै समुद्र, दिनको लम्बाइ आदिमा भर पर्दछ । हाम्रो देशमा समुद्र सतहदेखि नजिकैमा रहेको तराई, महाभारतको पहाडी भाग, हिमाल र उपत्यकामा बस्तीहरूमा छरिएको हुँदा जाडोका मात्रा तराईमा एकैचोटि शीतलहरसँगै आउँछ । उच्च पहाडी भागमा हिमपातले ढाकिन्छ । हिमाली भागबाट जाडोमा बेँसीतिर सर्नुपर्ने बाध्यता छ ।
हाम्रो शरीर श्वासप्रश्वास, रक्तसञ्चालन प्रक्रियासहित बाहिरको चिसो सिरेटो, ओस, बदली, धुप छायाँसँग प्रभावित हुन्छ । शरीरले बाहिरको वातावरणसँग प्रभावित हुने गरी हामीले खाना खानेकुराबाट ऊर्जा उत्पादन गर्दछ । जसबाट हामी तातो चिसोसँग जुध्छौँ र शरीर हेरी शरीरले दैनिक ६ हजार किलो जुल ऊर्जा खर्चिन्छ । यस्तो ऊर्जामा आन्तरिक अवयव सञ्चालन गर्न ८० प्रतिशत र बाँकी बाहिरी काममा लगाउँछ । अटोमेटिक केटलझै शिरस्थानमा रहेको सानो अङ्ग हाइपोथल्मसले, शरीरको ताप स्थिर राख्छ । चिसोले, छालामा हुने स्नायु प्रणालीमा तरङ्ग पैदा गरेर दिमागमा सञ्चार गर्छ । स्नायु प्रणालीमार्फत नै चिसोको सूचना पाएपछि मांसपेशीलाई छिटो चल्न निर्देशन दिन्छ, शरीरका सबै मांसपेसी छिटो चल्ने हुँदा काँप छुट्छ । अनि आफैँ ऊर्जा उत्पादन गरेर शरीर तताउँछ । यतिखेर हावाद्वारा बग्ने तातो रोक्न र ऊ पनि ठडिन्छ । बढी सतहबाट ताप बढी नहोस् भनेर शरीरलाई करक्क परेर बस्न निर्देश गर्दछ । जाडोमा ओढ्ने पुगेन भने गँुडुल्किएर बस्ने कारण पनि यही हो ।
शरीरको एक दिनमा खर्च हुने ऊर्जा दर माथि चिसो सहने गुण निर्भर गर्दछ । ज्यादै चिसो स्थितिमा सञ्चालन (कन्डिसन) संवाहन (कन्भेक्सन र विकिरण (रेडियसन) पद्धतिबाट शरीर बाहिर नोक्सान हुने तातोलाई न्यानो लुगाले छोपेर कम गर्न सकिन्छ तर श्वास फेर्दा निक्लने तातोले भने शरीरलाई बढी असर गर्दछ । बाहिरी आद्र्रता बढी भएको बेला छालाबाट हुने वाष्पीकरण दर बढ्छ र शरीर बढी चिसिन्छ किनकि पानीमा हावाभन्दा ताप बढी सर्छ । हावा कम लाग्दा र आर्द्रता कम हुँदाको चिसो आर्द्रता बढी हुँदाको भन्दा बढी सहनशील हुन्छ ।
जाडोले गर्दा शरीरले उत्पादन गर्ने तातोभन्दा शरीरबाट बाहिर जाने तातो बढी हुने स्थितिलाई हाइपोथर्मिया भनिन्छ । यस्तो हुँदा शरीरमा काँप छुट्छ । रक्तसञ्चार कम हुन्छ । नाडी (पल्स) कम चल्छ । श्वासप्रश्वास कम हुन्छ । साथै छाला नीलो हुने, आंँलाहरू नचल्ने हुन्छ । बुढापाका, बिरामी केटाकेटीलाई घरभित्रै पनि यसले सताउँछ । यस्तो बेला सुतीको लुगाले पसिना लिने हुँदा उनीका लुगा लगाउनुपर्छ । हातखुट्टा कठाङ्ग्रिएको बेला हातखुट्टाभन्दा भित्री शरीर तताउनुपर्छ । शरीर चिसो र हातखुट्टा पहिले ताते हृदयाघातको सम्भावना हुनसक्छ । बढी जाडोमा हाइपोथर्मिया भएका बेला तन्दुरुस्तलाई शरीर तताएर ठीक भए पनि होसियारी गर्न नसके बूढा र बालकलाई भने मृत्युमा पु¥याउन सक्छ । आन्तरिक अङ्गहरू ठीक हुन धेरै दिन लाग्न सक्छ । त्यसैले अस्पताल पु¥याउनु बेस हुन्छ ।
बुढापाकालाई उमेर बढ्दै जाँदा रक्तनलीको लचकता कम हुने, छालाको मुन्तिरको सतहमा बोसो पातलिने भएर ताप कम संरक्षण गर्न सक्ने हुन्छन् । फेरि उनीहरूको आन्तरिक ऊर्जा उत्पादन (मेटाबोलिजम) दर पनि कम हुन्छ । बुढेसकालमा जाडो हुने कारण यो पनि हो ।
रक्तमा भिटामिन बी. १२ र फलामको कमी हुँदा पनि जाडो बढी हुन्छ । रक्त कोशिकाहरूको कम भई अक्सिजन सञ्चारको कमीले हातखुट्टा बढी चिसो हुन्छ । यसैले नाक पनि बढी चिसो हुन्छ । थाइराइड ग्रन्थी कमजोर हुनेहरूलाई पनि बढी जाडो महसुस हुन्छ । खास त हाम्रो शरीरले दुई डिग्री सेल्सियस मात्र तापक्रमलाई आन्तरिक ऊर्जाद्वारा तल माथि गर्न सक्छ ।
हावा नलाग्दा हावाका अणु सेकेण्डमै ५०० मिटर दौडने हुँदा र हावाले शरीरको तातो टिपेर लाने हुँदा जाडोमा सुरक्षित हुन न्यानो ऊनीका लुगाले शरीर, हात, खुट्टा अनुहारलाई ढाक्नुपर्दछ । हामीले उपभोग गर्ने वस्तुमा सबभन्दा कम तातोे सार्ने ऊन हो । ऊनको कार्पेटमा टेकेर जाडोमा झ्यालको ग्रिल समात्यो भने ग्रिल र कार्पेट उही तापक्रम भए पनि, ग्रिल (फलाम) ले हजार गुना छिटो शरीरको तातो टिप्छ र हात खुट्टाभन्दा चिसो हुन्छ ।
जाडोमा घाम ताप्दा पनि हावाको ओत पारेर ताप्नुपर्छ । जाडो र सिरेटोे लागेको बेला बाहिरफेर यात्रामा निक्लन हुँदैन । घरका सिसाका झ्यालमा बाक्ला पर्दा राख्नुपर्छ । जाडो र ओसिलो हावामा भाइरल जीवाणु सक्रिय हुने हुँदा ठूलो भिडभाडमा कमै बस्ने, हाच्छ्युँ गर्दा हातको प्रयोग नगरी टिस्यु या रुमाल प्रयोग गर्नुपर्छ ।
मार्बलभन्दा माटोको भुइँ कम चिसो हुन्छ । त्योभन्दा काठ झन् चिसो कम हुन्छ । त्यसैले बस्ने सतहको प्रयोगमा कम चिसो आउने सतह छान्नुपर्दछ । जाडो हुने ठाउँमा जस्तापाताभन्दा माटोको भित्ता, टायलको छाना न्यानो हुन्छ । भुइँमा सतरञ्जाभन्दा गुन्द्री सुकुल न्यानो हुन्छ ।
(लेखक शिक्षण पेशासँग आबद्ध हुनुहुन्छ)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?