डा. टी.पी. धमला
योग सार्वकालिक, सार्वभौमिक एवं सार्वजनीन विषय हो । जीवनका समस्त पक्षमाथि क्रमशः विजय प्राप्त गराउने विधा हो योग । स्वयंलाई रूपान्तरित गरेर शुद्ध, बुद्ध र मुक्त बनाई वस्तुतः देवमानव तथा महामानव बनाउने साधनापद्धति नै योगपद्धति हो । योगको विधिवत् साधनाले मानिसलाई स्वाधीन, स्वावलम्बी एवं परम स्वतन्त्र बनाउँछ ।
योगको सुरुवात सृष्टिको विकाससँगै भएको मानिन्छ । वेद, उपनिषद्, स्मृति ग्रन्थलगायतका वैदिकग्रन्थमा विविध कोणबाट योगको चर्चा भएको पाइन्छ । परमात्माबाट उत्पन्न भएको योग ऋषिमुनिहरूका त्याग–तपस्या र ज्ञानबाट प्रकाशित भएको हो । प्राच्य दर्शनमा योग अति महìवपूर्ण विषय हो । आत्मदर्शन तथा समाधिदेखि लिएर कर्मक्षेत्रसम्म योगको व्यापक व्यवहार प्राच्य वाङ्मय (शास्त्र) मा भएको छ ।
योग परिचय
योगशब्द वेद, उपनिषद्, गीता एवं पुराण आदिमा सृष्टि कालदेखि प्रयोग हुँदै आएको पाइन्छ । योगदर्शनका उपद्रष्टा महर्षि पतञ्जलिले योग शब्दको अर्थ चित्तवृत्ति निरोध भनेर गर्नुभएको छ । चित्तका अवस्था
(क्षिप्त, मूढ, विक्षिप्त, एकाग्र र निरुद्ध), वृत्ति (प्रमाण, विपर्यय, विकल्प, निद्रा, एवं स्मृति) आदिलाई अभ्यास तथा वैराग्यादि साधनहरूले मनमा लय गराई मन द्रष्टा (आत्मा) को स्वरूपमा अवस्थित अथवा एकाकार भएको स्थितिमा योग हुन्छ । यसैगरी महर्षि वेदव्यासले योगको अर्थ समाधि भनी उल्लेख गर्नुभएको छ । व्याकरण शास्त्रमा युज् धातुमा ‘अ’ (घञ्) प्रत्यय लागी योग शब्दको व्युत्पत्ति भएको पाइन्छ । पाणिनिको व्याकरणअनुसार युज्–समाधौ धातु दिवादिगणमा (आत्मने पदमा), युजिर् – योगे धातु रुधादिगणमा (उभय पदमा) तथा युज्– संयमन धातु चुरादिगणमा
(परस्मै पदमा) संयम ‘युज’ धातु आउँछ । उक्त धातुले समाधि, जोड तथा संयमन भनी भिन्न–भिन्न अर्थ दिइएको पाइन्छ । संक्षेपमा भन्न सकिन्छ कि संयमपूर्वक साधना गर्दै आत्मालाई परमात्मामा जोडेर समाधिको आनन्द लिनु नै योगको अर्थ हो ।
उपर्युक्त ऋषिहरूको मान्यताअनुसार योगको तात्पर्य स्वचेतना र चेतनाको मुख्य केन्द्र परमचैतन्य परमात्माका साथ एकाकार हुनु हो । संस्कृत भाषाको युज् धातुबाट बनेको योग शब्दले तयारी (सन्नद्ध हुनु), उपाय, ध्यान, सङ्गम र युक्ति अर्थ बताएको कुरा अमरकोशबाट थाहा पाइन्छ ।
भाषिक प्रयोगमा योगका उक्त अर्थहरू प्रचलित छन् तर विशेष रूपमा योग शब्दले अध्यात्मगत पद्धतिलाई अथ्र्याउने रूपमा लिने गरिन्छ । त्यस किसिमबाट हेर्दा यागले ‘देहस्थैर्य’ अथवा शरीरलाई स्थिर राख्ने क्रियालाई पनि बताएको पाइन्छ । योगशब्दले निश्चित योगविधान र प्रक्रियाहरू बताउनाका साथै त्यसको अन्तिम लक्ष्य ‘जीव र परमात्माको संयोग’ लाई पनि अथ्र्याएको पाइन्छ ।
योगेश्वर श्रीकृष्णले योगलाई विभिन्न अर्थमा प्रयुक्त गरेका छन् । अनुकूलता–प्रतिकूलता, सिद्धि–असिद्धि, सफलता–विफलता, जय–पराजय जस्ता विविध भावहरूमा आत्मस्थ रही सम रहनुलाई योग भनिएको छ । द्रष्टा बनेर अन्तरको दिव्य प्रेरणाले प्रेरित भई कुशलतापूर्वक कर्म गर्नुलाई गीतामा योग मानिएको छ ।
योग पृष्ठभूमि
सनातन वा वैदिक सभ्यता र संस्कृतिमा योग शब्द व्यापक रूपमा प्रयोग गरिन्छ । सनातन सभ्यताभित्र विकसित अनेकौँ धार्मिक सम्प्रदायमा योगका भिन्नाभिन्नै रूप पनि प्रचलित पाइन्छ । त्यस्ता योगका मूल रूपहरू अथवा हाँगाहरूलाई राजयोग, हठयोग, ज्ञानयोग, कर्मयोग, भक्तियोग, लययोग, मन्त्रयोग, कुण्डलिनीयोग, नाथयोग आदि योगका रूपमा मान्न सकिने कुरा विभिन्न विद्वान्ले फरक प्रसङ्गमा व्यक्त गरेका छन् ।
दत्तात्रेय योगशास्त्र तथा योगराज उपनिषद्मा मन्त्रयोग, लययोग, हठयोग तथा राजयोगको रूपमा योगलाई वर्गीकरण गरी चार प्रकारका योगको उल्लेख गरिएको पाइन्छ । योगतद्वोपनिषद्मा उक्त चतुर्विध योगका लक्षण पनि बताइएको छ । गीतामा ध्यानयोग, साङ्ख्ययोग एवं कर्मयोगको विस्तृत वर्णन गर्दै पाँचौँ अध्यायमा सन्यासयोग र कर्मयोगको निरुपणको सन्दर्भमा कर्मयोगलाई श्रेष्ठ मानिएको छ भने महर्षि पतञ्जलिले अष्टाङ्गयोगलाई पातञ्जलयोगदर्शनमा १९५ सूत्रमा विस्तृत रूपमा चर्चा गरेको पाइन्छ ।
तारानाथ तर्कवाचस्पति भट्टाचार्यले वाचस्पत्यम् छैटौँ भागमा योगलाई हठयोग र राजयोग गरी दुई मान्नुभएको छ । हठप्रदीपिका ग्रन्थमा बताइएअनुसार हठयोग विशेष क्रियाद्वारा साध्य हुन्छ तथा राजयोग चाहिँ भावनाविशेषद्वारा सिद्ध गर्न सकिने हुन्छ भनी उल्लेख गरिएको पाइन्छ । उक्त हठयोग र राजयोगलाई एकअर्काका परिपूरक मान्दै दुवैको उद्देश्य परमात्मा साक्षात्कार गर्नु हो भनिएको छ ।
स्वामी सत्यानन्द सरस्वतीको विचारमा ‘तान्त्रिक सभ्यता’को एक अङ्गको रूपमा योग हिमाली पर्वतीय शृङ्खलाका साथै संसारभरि दश हजार वर्षभन्दा पहिलेदेखि विकसित भई आएको हो । उहाँको विचारमा भारतीय उपमहाद्वीपमा आर्यसभ्यता पहिलेको सिन्धुसभ्यताका हडप्पा र मोहन्जोदडोका अवशेषको उत्खननबाट पाइएका विभिन्न आसन र ध्यानमा मग्न शिव र पार्वतीजस्ता देखिने देवताका मूर्तिहरूबाट त्यसबेला योगको ज्ञान भएको बुझिन्छ । यसरी हेर्दा आम जनविश्वासमा पनि योगविद्याका संस्थापक भगवान् शिव र तिनकी पहिली योगशिष्या पार्वती रहेकी र तिनैबाट योगविद्याको प्रचार भएको हो भन्न सकिन्छ ।
वैदिक सनातन सभ्यताका मुख्य स्रोत वेदहरू पनि योगसाधना र समाधिको अवस्थामा ऋषिहरूलाई स्फुरण भएको भए पनि उपनिषद्हरूबाट मात्र योगविद्याको आरम्भ भएको मानिन्छ । कतिपय पुराना उपनिषद् ग्रन्थमा त योगविद्याको स्पष्ट विवरण पाइन्छ । उपनिषद्हरूमा योगविद्याको आरम्भ भएपछि ऐतिहासिक कालका गौतम बुद्धले पारम्परिक योगविद्यामा काँटछाँट गरेर आफ्नो किसिमको योगविद्या सुरु गरेको कुरा विभिन्न प्रामाणिक ग्रन्थको अध्ययनबाट थाहा पाउन सकिन्छ ।
ऐतिहासिक क्रममा वेद र उपनिषद्मा योगको जस्तो विवरण पाइए पनि ऋषि पतञ्जलि योगको निश्चित रूप दिने कुरामा पहिला व्यक्ति देखिन्छन् जसले योगसूत्र ग्रन्थमा योगको विवरण सूत्ररूपमा प्रस्तुत गरेका छन् । पतञ्जलि ऋषिले योगको प्राचीन रूप राजयोगबारे आफ्नो सूत्रग्रन्थलाई सीमित गरी पातञ्जल योगदर्शनका नामले वर्तमान रूपमा जान्न सकिन्छ ।
बौद्धयोग
इस्वी पूर्व छैटौँ शताब्दीमा भएका गौतम बुद्ध प्रसिद्ध योगाभ्यासी थिए तर उनको योगज्ञानको सम्बन्ध कुन स्रोतसँग थियो मूल्याङ्कन गर्न गाह्रो छ । पतञ्जलिको योगसूत्र गौतमबुद्धभन्दा धेरै पछि तयार पारिएको भन्ने विद्वान्हरूको मान्यता हुनाले यस्तो प्रश्न उठाउनुपरेको हो । तर परवर्ती कालका बौद्ध योगीहरूमा प्रचलित योगपद्धतिमा राजयोग र हठयोगसित धेरै समानता रहेको मानिएको छ ।
साङ्ख्य र योगसित सम्बन्ध
साङ्ख्यलाई ज्ञानयोग र योगलाई कर्मयोग मानिएको छ । सृष्टितत्व आदिका बारेमा योगदर्शनले साङ्ख्यदर्शनकै सिद्धान्त मान्दछ । साङ्ख्यमा २५ तत्व मानिन्छ तर योगदर्शनमा २६ औँ ईश्वरतत्व थपिएको हुन्छ । साङ्ख्य निरीश्वर हो र त्यस्तो अवस्थाबाट बच्न योगदर्शनमा ईश्वरको आवश्यकता उल्लेख गरी योगदर्शन वर्णित छ । माथि चर्चित ज्ञानयोग नै राजयोग भएको र कर्मयोग नै हठयोग भएको विद्वान्हरूको मत विशेष रूपमा पाइन्छ ।
चित्तवृत्तिनिरोध
पतञ्जलिको योगसूत्रमा ‘योगश्चित्तवृत्तिनिरोधः’ सूत्रबाट सबै विषयमाथि अन्तस्करणको वृत्तिलाई रोक्ने भन्ने अर्थ गरिएको पाइन्छ । चित्तवृत्तिनिरोधका उपायमा राजयोग र हठयोग पर्छन् । राजयोग वैदिक र हठयोग तान्त्रिक प्रक्रिया मानिएको पाइन्छ । विशेष गरेर चित्तवृत्तिनिरोधका दुई पद्धति मानिएका छन्, ती हुन् ः राजयोग र हठयोग । राजयोग पतञ्जलिले बताएका छन् भने हठयोगको वर्णन स्वयं शिव, मत्स्येन्द्रनाथ, गोरखनाथ हुँदै स्वात्मारामबाट सङ्ग्रहित भएको पाइन्छ । जसलाई तन्त्रशास्त्रमा भएका कुरा पनि बताइएको देखिन्छ ।
हठयोग
राजयोगले भावनाविशेषले साध्य हुने भन्ने पतञ्जलिले बताएको योगपद्धतिलाई अथ्र्याउँछ भने प्राणायामादि क्रियाको अभ्यासबाट चित्तवृत्तिनिरोध गरेर परमात्माको साक्षात्कार गर्ने पद्धतिलाई हठयोग भनिन्छ । जुन क्रियाविशेषसाध्य स्वभावको हुन्छ भन्ने परिभाषा पाइन्छ । उक्त क्रियाविशेष साध्यको रूपमा ‘षट्कर्म’, ‘आसन’, ‘मुद्रा’, ‘प्राणायाम’, ‘नाद’, ‘चक्र’, ‘कुण्डलिनी’, ‘नाडी’ आदि विशेषलाई लिइएको पाइन्छ । हठयोगमा प्राणायामद्वारा शरीरका नाडी, अङ्ग–प्रत्यङ्ग र इन्द्रियहरूलाई नियन्त्रित गरेर शरीरलाई रोगव्याधि तथा दैवी शक्तिबाट मुक्त गर्ने उद्देश्य पनि हुन्छ ।
योग सृष्टिसँगै चल्दै आएको विश्वास भए पनि प्रयोगका हिसाबले योग कुनै समयमा प्रचारित हुने र कुनै समयमा लुप्त जस्तै देखिने रूपमा विकसित हुँदै आएको पाइन्छ । वर्तमान सन्दर्भमा योगको चर्चा परिचर्चा नेपाल, भारतलगायत विश्वमा हुँदै गएको छ । नेपाल योगको मूल भूमि रहेकाले यहाँबाट नै योगको उत्पत्ति र विकास भई संसारभरी फैलिएको मान्न सकिन्छ ।
(लेखक योगमा विद्यावारिधि हुनुहन्छ ।)