डा.कुन्दन अर्याल
व्यक्ति–व्यक्तिबीच हुने कुराकानी वा व्यक्तिको अभिव्यक्तिका प्रसङ्गमा अस्ट्रियन मूलका अमेरिकी मनोवैज्ञानिक तथा दार्शनिक पाउल वाट्जलविको भनाइ उल्लेखनीय छ । उहाँको सञ्चारसम्बन्धी सिद्धान्तका पाँच–ठहरहरूमध्ये पहिलोमै भनिएको छ, कुनै पनि व्यक्ति आफूलाई अभिव्यक्त नगरी वा सञ्चार नगरी बाँच्नै सक्दैन । बिहान उठेदेखि राति आराम गरुञ्जेलको दिनभरिको समयमा हामी प्रत्येक व्यक्ति केही न केही अभिव्यक्ति गरिरहेका हुन्छौँ । दैनिक जीवनमा धेरैजस्तो अभिव्यक्ति बोलीमै हुने गर्दछ । बोलीसँगसँगै हामीले जानेर वा अञ्जानमै कैयौँ सङ्केतहरूको सहायताले अभिव्यक्तिलाई प्रभावकारी बनाउन खोजिरहेका हुन्छौँ । विशेष अवस्थामा लिखित रूपमा हामी सञ्चार गर्दछौँ । त्यसैले अत्यन्त आधारभूत ढङ्गले भन्ने हो भने कुनै सन्देश एक जनाबाट अर्को जनामा पु¥याइनु वा एक जनाबाट केही वा असङ्ख्य मानिससम्म पु¥याइनु नै सञ्चार हो । त्यसरी हेर्दा सञ्चारका तहहरू हुन्छन्, अन्तरवैयक्तिकदेखि समूहगत हुँदै आमसञ्चारसम्म ।
जनताको सार्वजनिक जीवनसँग जोडिने जुनसुकै कार्यका लागि आमसञ्चार अत्यावश्यक हुन्छ । ठूला–ठूला व्यापार व्यवसाय, राजनीतिक अभियान वा दल आमसञ्चार विना सफल हुन सक्दैन ।
सामान्यतः सञ्चारबाट सन्देशहरू आदानप्रदान हुन्छन् तर सँगसँगै सञ्चारले व्यक्तिहरूबीच वा संस्था र उपभोक्ता वा जनताबीचको सम्बन्धको छनकसमेत दिन्छ । अन्तरवैयक्तिक वा समूहगत सञ्चारका सन्दर्भमा कसले कसरी बोल्यो, सुन्नेले कसरी जवाफ फर्काए भन्ने विश्लेषण गरेर सम्बन्धको अन्दाज गर्न सकिन्छ । आमसञ्चारका सन्दर्भमा पनि सन्देशको भाषा र अन्तर्वस्तुका आधारमा संस्था र जनता वा उपभोक्ताबीचको सम्बन्धको अनुमान गर्न सकिन्छ । साधारणतः सम्बन्धले पनि मानिसको आग्रह वा सोचलाई आकार प्रदान गर्दछ । त्यसैले आफ्ना कुराहरू बोधगम्य मात्र होइन स्वागतयोग्य र अरुका लागि ग्रहणशील समेत बनाउन कुशल सञ्चारकहरू विशेष मेहनत गर्दछन् ।
आफ्नो कालजयी भाषण ‘मेरो एउटा स्वप्न छ’ को तयारीका लागि मार्टिन लुथर किङ जुनियरले झण्डै रातभरजस्तो साथी–सहयोगीसँगको परामर्शमा बिताउनुभएको थियो । बिहान चार बजेतिर सुत्न जाँदा उहाँले साथीहरूसँग भन्नुभएको थियो, तपाईंहरूसँगको परामर्शका आधारमा एउटा खाका बनाइयो, अब म आफ्नो भगवानसँग परामर्श गर्दै आराम गर्न जान्छु । बोल्नु वा अन्य कुनै तरिकाले आफूलाई अभिव्यक्त गर्नु एउटा कुरा हो । जसलाई सम्बोधन गरिएको हो उसले वा उनीहरूले सन्देशको मर्म सञ्चारकले जस्तै गरी बुझ्नु अर्को कुरा हो । यो एकदमै जटिल प्रक्रिया हो । त्यसैले फिनल्याण्डका एक मानव सञ्चारका ज्ञाता अस्मो वीबो भन्नुहुन्छ, सामान्यतः सञ्चार विफल नै हुन्छ, कुनै दुर्घटना बाहेक । उहाँले सञ्चार कुनै संयोगले मात्र सफल हुन्छ, अन्यथा आमरूपमा जे भन्न खोजिएको हो, त्यही बताउन सकिँदैन किन भन्नुभयो ? उहाँले सञ्चारको जटिलतालाई प्रष्ट्याउन त्यसो भन्नुभएको हो । उहाँको सिद्धान्त मानव सञ्चारको क्षेत्रमा मर्फीको नियमका रूपमा प्रचलित छ । मर्फीको नियमलाई बुझ्न हाम्रो सन्दर्भमा ‘हुने हुनामी टारेर टर्दैन’ भन्ने गरिएको सम्झिन सकिन्छ ।
यसरी सञ्चारको सहायताले अरूलाई आफ्नो कुरा बताउन सहज नभएकै हुनाले सयौँ वर्षदेखि राजकाजको मामिलामा यससम्बन्धी प्रयोगहरू हुँदै आएका छन । अन्तरवैयक्तिक वा समूहगत सञ्चारका प्रसङ्गमा छलफल विधिबाट कुराहरूलाई प्रष्ट्याउन सकिन्छ । तर शासकहरूले आमजनतालाई सम्बोधन गरिरहेको प्रसङ्गमा दोहोरो संवाद हुँदैन । त्यसैले त्यस्तो अवस्थामा के गर्ने भन्ने विषयमा २३ सय वर्ष पहिले एरिस्टोटलले सुझाव दिनुभएको छ । ‘रेटोरिक अफ एरिस्टोटल’ मा उहाँले आममानिसलाई अभिप्रेरित गर्न चाहने वक्ताले तीनवटा पक्षमा ध्यान दिनुपर्छ भन्नुहुन्छ । पहिलो, इथोज अर्थात् वक्ताको परिचय, विश्वसनीयता वा आधिकारिकता । दोस्रो, पेथोज अर्थात् हार्दिक, संवेदनायुक्त अनि अभिप्रेरित गर्ने किसिमको अभिव्यक्ति । र तेस्रो, लोगोज अर्थात् औचित्यपूर्ण र तर्कसङ्गत अभिव्यक्ति । यसरी त्यही बेलाका बौद्धिकहरूले शासन र युद्ध जस्ता यथार्थसँग साक्षात्कार गर्नुपर्ने राजकाजका नेतृत्वकर्ताहरूको सञ्चार–आवश्यकतालाई ध्यानमा राखेका थिए । केही सय मानिसका अगाडि ठूलो स्वरले कराएर अभिप्रेरणा जगाउन त्यही बेला यसरी सोचिन्थ्यो । यन्त्रको सहायताले व्यापक आमसञ्चारको परिवेश निर्माण गरिएको आजको सन्दर्भमा सन्देशका बारेमा गम्भीरतापूर्वक सोच्नैपर्दछ । त्यसरी सोचिएको खण्डमा उपभोक्ता वा जनतामा हाम्रो काम र कृतिको सकारात्मक सन्देश किन गएन भन्दै गरिने चिन्ताको ओखती फेला पर्न सक्छ । व्यापारिक कम्पनीका लागि जनता उपभोक्ता हुन्, राजनीतिक संस्थाका लागि मतदाता । जनता उही हुन्, वक्तै उपभोक्ता, वक्तै सेवाग्राही, वक्तै मतदाताका रूपमा परिभाषित गरिन्छन् ।
जनतामा आफ्नो कुरा स्थापित गराउने होडमा पहिलो र दोस्रो विश्वयुद्धमा प्रोपागाण्डा भन्ने प्रचारको एउटा विधि प्रचलित भयो । त्यस्तो विधिले एउटा व्यक्तिलाई व्यापक प्रचार वा प्रोपागाण्डामा यसरी डुबुल्की मार्न प्रभावित तुल्याउँछ, व्यक्ति निर्माण गरिएको सत्यलाई अङ्गीकार गर्न पुग्छ । अरूले बनाइदिएको परिवेशमा आश्रित हुन पुग्छ मानिसको दैनिक जीवन । प्रोपागाण्डाले कुनै एउटा सोचलाई विना कुनै बहस र छलफल शिरोपर गर्न सिकाउँछ । प्रोपागाण्डाले असहमतिका स्वरहरू थुनेर एकोहोरो धुन बजाउँछ । मेरा धारणा पनि परीक्षण गरेर मात्रै पत्याऊ भन्ने बुद्धले २५ सय वर्ष अघि नै दिनुभएको शिक्षाजस्तो होइन, मेरो कुरा मात्रै ठीक भन्ने परिवेश निर्माण प्रोपागाण्डाको ध्येय हुन्छ । प्रोपागाण्डाले प्रोपागाण्डा गर्नेहरू बाहेक अन्य राजनीतिक पक्षहरूको सहभागितालाई निस्तेज गर्दछ । यसरी प्रोपागण्डा एकोहोरो संवाद हो, जसले खुला प्रश्न र विमर्शलाई निरुत्साहित गर्दछ तर आफ्ना कुराहरू मात्र प्रवाहित गर्दै आफ्नो वर्चस्व कायम गराउन आजपर्यन्त विश्वमा कुनै न कुनै रूपमा प्रोपागाण्डाको अस्तित्व छ । कोही हिटलरले गरेजस्तो कालो प्रोपागाण्डा पो गर्नुहुँदैन, आममानिसको हितका लागि हामीले जस्तो सेतो वा ध्वाँसे प्रोपागाण्डा त जरुरी हुन्छ भन्ने गर्दछन् । त्यस मतका मानिसहरू झर्कोलाग्दो ढङ्गले आफ्ना कुरा दोहो¥याइरहन्छन् ।
तर प्रोपागाण्डाको प्रसङ्ग जोडेर मानवजीवनमा सञ्चारको महìवलाई नकार्नुहुँदैन । बरु समाजका अत्यावश्यक र महìवपूर्ण संस्थाहरूको आमसञ्चार पद्धति र प्रक्रियाको समीक्षा गर्दै सञ्चारका अवरोधलाई पन्छाउनुपर्दछ । संस्थाहरूले आमसञ्चारका माध्यममार्फत अमाजनतासँग गर्ने संवाद ती संस्थाहरूको आन्तरिक संवादको अवस्थाबाट निरपेक्ष हुँदैन । संस्थाको आन्तरिक सञ्चार व्यवस्था कस्तो छ, बाह्य त्यही अनुसारको हुन्छ । आन्तरिक सञ्चारको अव्यवस्था कायम राखेर बाह्य सञ्चारमार्फत उपयुक्त सन्देश प्रवाहित गर्न सकिँदैन । संस्थाका लागि आन्तरिक र बाह्य सम्बन्ध कायम गर्न सौहार्दपूर्ण दोहोरो संवादको आवश्यकता पर्दछ । संवादको अभावमा हामी आफ्नै बारेमा पनि त्यस्ता कुरा देख्न असमर्थ हुन्छौँ, जो अरूले देखिरहेका हुन्छन् । जसले हामीलाई प्रगतिको बाटोमा जानबाट रोक्छ । सञ्चारविना न केही सिक्न सकिन्छ, न नयाँ सिर्जना गर्न सकिन्छ ।
नवप्रवद्र्धनका लागि सञ्चारको भूमिका महìवपूर्ण हुन्छ । खुला सञ्चारले नवप्रवद्र्धन र नयाँ सोचतर्फ डो¥याउँछ । एउटा कम्पनीको रोजगारीमा रहेकाहरूले आफ्नो संस्थाका लागि के आवश्यक छ भन्ने थाहा पाए भने आफूलाई सुधारका लागि केन्द्रित गर्न सक्छन्, आगामी दिनमा सफलता कसरी हासिल गर्न सकिन्छ भन्ने पत्ता लगाउन सक्छन् । जब कर्मचारीले आफ्ना धारणाको सुनुवाइ हुन्छ, सञ्चालकहरू खुला हृदयका साथ प्रदत्त पृष्ठपोषणको वास्ता गर्ने खालका छन् भन्ने ठान्छन्, उनीहरू आफ्ना सोचहरू अभिव्यक्त गर्न प्रोत्साहित हुन्छन् । राम्रो सञ्चार प्रवाह कायम भएको संस्था नै नवप्रवद्र्धनात्मक दिशामा अग्रसर हुन सक्छ ।
संस्थाहरूको सूचनाको वितरण त अखबार, रेडियो, टेलिभिजन र अनलाइन माध्यमहरूले गर्दछन् तर संस्थाको हित गर्ने सूचना वा सन्देशको व्यापक प्रसार अन्तरवैयक्तिक वा समूहगत सञ्चारबाटै हुन्छ । कुनै काम, घटना वा समारोह आफैँमा सञ्चार हो । माध्यमहरूले त्यस्ता विषय वा घटनाले दिने सन्देशलाई अझ फैलाउँछन् । त्यसैले चाहे व्यापारिक कम्पनी होस्, चाहे गैरमुनाफामुखी वा राजनीतिक संस्था, आफैँविरुद्ध प्रचार युद्ध छेडिएको भान हुन्छ भने सबैभन्दा पहिले आफूबाट जान–अञ्जानमा प्रसारित सन्देशको समीक्षा गर्नुपर्दछ ।
आन्तरिक रूपमा सञ्चारमा व्यवधान भोगिरहेको संस्थाले आफ्नाबारेमा बाह्य जगत्मा सकारात्मक सन्देश प्रवाह गर्न वा प्रभावकारी संवाद कायम गर्न सक्दैन । यो कुरा व्यापारिक, मुनाफारहित र राजनीतिक संस्थाहरूमा समेत लागू हुन्छ । संस्थाका तहहरूबीच सूचनाको प्रसार वा ज्ञान, सोच, विश्वासको आदानप्रदान औपचारिक वा अनौपचारिक दुवै ढङ्गले हुन सक्छन् । मूल कुरा वातावरण कस्तो छ भन्ने नै हो । सुस्पष्ट, दोहोरो, मर्यादित र औचित्यपूर्ण आन्तरिक संवादलाई निरन्तर कायम गर्ने संस्थाले मात्र आफ्ना उद्देश्य, अनुभव, उपलब्धि र सोचका बारेमा बाह्य जगत्लाई पनि बताउन सक्छ । आमजनतासँग संवाद कायम गर्न नसकेको अवस्थामा राजनीतिजस्तो समाजको अपरिहार्य क्षेत्रका नेतृत्वकर्तामा कहिलेकाहीँ आक्रोश उत्पन्न भएको पनि देखिन्छ । किनकि कुनै कुरा अभिव्यक्त गर्न त सजिलो छ तर ज–जसलाई सम्बोधन गरेर अभिव्यक्त गरिएको हुन्छ, उनीहरूले पनि सन्देशलाई त्यही रूपमा सहजै ग्रहण नगर्न सक्छन् । ग्रहण गरे पनि उनीहरूले त्यो कुरा पत्याए कि पत्याएनन् भन्ने वास्ता नगर्ने हो भने त्यस्तो सम्बोधनको अर्थ हुँदैन । सञ्चारलाई लोकतन्त्रसँग जोडेर हेर्ने हो भने सार्वजनिक अभिव्यक्तिमा अन्तरनिहित सन्देशको समीक्षा सम्बन्धित संस्था वा व्यक्तिले नै गर्नुपर्दछ ।
(लेखक त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पत्रकारिता विभागसँग आबद्ध हुनुहुन्छ ।)