विजय सन्तोषी राई
राज्यको बेवास्ताका कारण शहीद परिवार आँसुमा डुबेका छन् । जनअधिकार र प्रजातन्त्रका लागि आफ्नो जीवन दान दिएका शहीदको न सम्मान भयो न त तिनका परिवारकै रखवारी । राज्यले प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आए तापनि कहिल्यै शहीद परिवारमा खुशियाली छाएन । प्रजातन्त्र पुनःस्थापना भएको लगभग ४० वर्ष बितिसक्दा पनि प्रजातान्त्रिक आन्दोलनमा सहादत प्राप्त योद्धाहरूका परिवार अहिले पनि आँसुमा नै डुबेर बसिरहेका छन् ।
तत्कालीन पञ्चायती व्यवस्थाको अन्त्य र गणतन्त्रको स्थापनाका लागि आन्दोलनको क्रममा धनकुटा जिल्लामा ८४ जना योद्धाले शहादत प्राप्त गर्नुभएको र आठजना बेपत्ता पारिनुभएको थियो । अहिलेसम्म पटकपटक गरी २७ जनालाई मात्र सरकारले शहीद घोषणा गरेको छ । बाँकीको कसैले वास्ता गरेका छैनन् ।
जहानियाँ राणा शासनका विरुद्ध २००७ को आन्दोलनमा धनकुटा जिल्लाका बखतजङ्ग पापो लिम्बू र हर्षध्वज राई (चैनपुरे कान्छा) ले जीवन उत्सर्ग गर्नुभएको थियो । एकदलीय पञ्चायती व्यवस्थाविरुद्ध र प्रजातन्त्रको पुनर्बहालीको आन्दोलनको क्रममा धनकुटा राजारानीका नारायणप्रसाद नोगु लिम्बूलाई रघुवा खोलामा गोली हानी हत्या गरिएको थियो । धनकुटा भेडेटार धारापानीका प्रजालाल राईलाई ओखलढुङ्गाको टिमुरबोटे काण्डमा गोली हानी हत्या गरियो । धनकुटा नगरपालिका वडा नं. ७ का रामकृष्ण श्रेष्ठले २०३० चैत ३ गते तत्कालीन राजा वीरेन्द्र र उनका परिवारको विराटनगर सवारीक्रममा बम प्रहार गर्दा शहादत प्राप्त गर्नुभएको थियो । धनकुटा नगरपालिका वडा नं. ६ का भीमनारायण श्रेष्ठलाई उक्त बमकाण्डको प्रमुख दोषीका रूपमा पाँच वर्ष कठोर जेल यातना दिँदै २०३५ माघ २६ गते कोशीटप्पुमा गोली हानी हत्या गरिएको थियो ।
यसैगरी चर्चित छिन्ताङ हत्याकाण्डमा धनकुटा छिन्ताङका गोपाल आनन्द राई, गङ्गाबहादुर तुप्प्रिहाङ राई, लाखमान साधु राई, झगेन्द्र राई, धनवीर दर्जी, गङ्गाबहादुर विक, गम्भीरमान दर्जी, रणध्वज पुमा राई, गणेश विक, पुत्रमान राई, भैरव खालिङ राई, केशरमान राई, बलहादुर खत्री, चन्द्रबहादुर दमाई, हाङखिमा साइँली राई, रामकुमारी राईलाई गोली हानी हत्या गरिएको थियो ।
तत्कालीन नेकपा माओवादीले २०५२ देखि सुरु गरेको जनयुद्धको क्रममा धनकुटाको चौबिसे गाउँपालिकाबाट मौनाबुधुकका डगलसिंह लिम्बू, राजारानीका कविबहादुर चेम्जोङ, झप्टमान खतिवडा, सन्तोष विक, झष्टबहादुर बस्नेतले शहादत प्राप्त गर्नुभएको थियो । यसैगरी धनकुटा नगरपालिका भीरगाउँका दीपक दाहाल, बेलहाराका गङ्गाप्रसाद जोशी, धनपा वडा नं. ४ का पदमबहादुर श्रेष्ठ, राजेश थापामगर, धनकुटा नगरपालिकाकै डम्बरबहादुर भट्टराई, महेन्द्र नेपाल, नगेन्द्र बाँस्तोला, दीपक तिवारी, नैनबहादुर तामाङ र शिवकुमार राईले शहादत प्राप्त गर्नुभयो । महालक्ष्मी नगरपालिकाबाट चन्द्रबहादुर घिसिङ, मनोज बानियाँ, शम्भु विक, प्रेमप्रसाद शर्मा सापकोटा, भीष्म पौडेल, केदार लिम्बू, भीमबहादुर कार्की, पदमप्रसाद सुवेदी, दिलबहादुर मखरा, दिलबहादुर रायले जीवन उत्सर्ग गर्नुभएको थियो । पाख्रिवास नगरपालिकाका उत्तमकुमार न्यौपाने, फत्तबहादुर तामाङ, रामजी थापा, लालबहादुर रानामगर, हुकुम थापा, गीता विक, रामलाल मोक्तान, भक्तबहादुर तामाङ, हुकुम थापा, झमक राई, राजन भट्टराई, लालबहादुर पिठाकोठे, मानबहादुर रानामगर, भूपाल भण्डारीले शहादत प्राप्त गर्नुभएको थियो । त्यस्तैगरी साँगुरीगढी गाउँपालिकाका मोहन लिङ्खा, जयबहादुर राई, श्यामकुमार राई, नरजित राई, श्यामबहादुर राई, केशबहादुर राई, बुद्धिलाल राई, राजेन्द्रकुमार इवाहाङ, केशबहादुर राई, मनकुमार राईले जनयुद्धमा शहादत प्राप्त गर्नुभएको थियो । यसैगरी शहीदभूमि गाउँपालिकाबाट नगेन्द्र राई, तीर्थ राई, आशबहादुर राई, तिलक राई, प्रकाश थापा, दलबहादुर राई, लक्षुप्रसाद राई, चित्तकुमार राईलगायतले जीवन उत्सर्ग गर्नुभएको हो । धनकुटा जिल्लाको छथरजोरपाटीका गणेश सुवेदी, रुद्रबहादुर लिम्बु, डिकबहादुर तामाङ र इन्द्रबहादुर लिम्बुले बलिदान दिनुभएको थियो ।
धनकुटा जिल्लाबाट प्रजातन्त्र स्थापना तथा गणतन्त्रको स्थापनाका लागि शहादत प्राप्त गर्नुभएकामध्ये २०७२ फागुन १९ गते पहिलोपटक तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा रहेको सरकारले भीमनारायण श्रेष्ठलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले २०७४ माघ ३ गते छिन्ताङ हत्याकाण्डमा १६ जना प्रजातान्त्रिक योद्धा रामकृष्ण श्रेष्ठ, डगलसिंह लिम्बू, नारायणप्रसाद नोगु, प्रजालाल राई, बखतजङ्ग पापो, चैनपुरे कान्छा, गङ्गाप्रसाद जोशी, दीपक दाहाल, गोविन्द्र वालिङलगायतलाई राष्ट्रिय शहीद घोषणा गरेको थियो । लोकतन्त्रका लागि जीवन दान दिएर पनि शहीद घोषणा गर्न बाँकी रहेका साहसिक योद्धालाई पनि राष्ट्रिय शहीद घोषणा गर्नुपर्ने परिवारजन र सरोकारवालाले निरन्तर माग गरिरहेका छन् ।
प्रजातन्त्रको स्थापनापछि जिल्ला विकास समिति धनकुटाले शहीद भीमनारायण श्रेष्ठको धनकुटा वडा नं. ६ स्थित सिरानबजारमा सालिक निर्माण गरी शहीद भीमनारायण चोक नामकरण गरेको छ । छिन्ताङ हत्याकाण्डका १६ जना शहीदको सम्मानमा छिन्ताङको पञ्चकन्या डाँडामा शहीद स्मृति पार्क निर्माण गरेर १६ जना योद्धाको सालिक राख्यो । त्यसपछि वर्षैपिच्छे सालिकमा माला लगाउने र उनीहरूका परिवारजनलाई दोसल्ला ओढाउने काम मात्र भइरहेको छ । धनकुटाका नेता रकम चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री भएको समयमा छिन्ताङलाई नमुना गाउँ घोषणा गरेर शहीद पार्कलाई व्यवस्थित बनाउनका लागि छिन्ताङको पातल जङ्गलको डाँडामा शहीद पार्कलाई स्थानान्तरण गर्नका लागि निर्माण भइरहेको छ । छिन्ताङ काण्डमा मारिएका योद्धाहरूको सम्मानमा धनकुटा जिल्लाका राजनीतिक दलहरूको सहमति र सहकार्यमा स्थानीय तहको निर्माण गर्ने क्रममा खोकु छिन्ताङ, आँखिसल्लालाई समेटेर गाउँपालिका निर्माण गरी त्यसको नाम शहीदभूमि गाउँपालिका राखिएको छ ।
मुक्तिसेना धनकुटाका कमाण्डर २०१५ सालका एमपी दगल सेन लिम्बू, प्रजातान्त्रिक योद्धाहरू रामकृष्ण श्रेष्ठ, प्रजालाल राई, नारायण प्रसाद नोगु, बखतजङ्ग पापो, डगलसिंह लिम्बूको चौबिसे शहीद स्मृति पार्क हात्तीटार डाँडाबजारमा नेपाली काँग्रेस धनकुटाका पूर्व सभापति जनक सेन लिम्बूको सक्रियतामा सालिक निर्माण गरी राखिएको छ ।
छिन्ताङ हत्याकाण्डको नाममा जनगायक किशोर थुलुङले गाउनुभएको ‘खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा, अन्धकारमा गोली चल्यो’ भन्ने गीत चर्चित र लोकप्रिय छ भने पत्रकार गोपाल ब.राईले निर्माण गरेको कालरात्रि फिल्म र पत्रकार जसकुमार राईले निर्माण गर्नुभएको डकुमेन्ट्री (वृत्तचित्र) पनि देश विदेशमा लोकप्रिय भएको छ ।
पटकपटक व्यवस्था परिवर्तन भयो पटकपटक नेता तथा सांसद मन्त्रीहरू फेरिए । कैयौँ नेताले त छिन्ताङ हत्याकाण्डको नाम लिएर नै टिकट पाए । निर्वाचन जिते तर शहीद परिवार र शहीद भूमि, खोकु, छिन्ताङ, आँखिसल्ला जस्ताको तस्तै छन् । समयअनुसार अरूजस्तै विकास भए पनि राज्यले विशेष ध्यान दिएको छैन ।
कम्युनिस्ट पार्टीको नाममा सङ्गठित भएर किसान विद्रोह गर्ने अभियानमा छिन्ताङ हत्याकाण्डमा मारिएका ती वीर योद्धालाई प्रजातन्त्रको स्थापनापछिदेखि नै बारम्बार राष्ट्रिय शहीद घोषणा गरी सम्मान गर्न तिनका परिवार र सबै राजनीतिक दलले माग गर्दै आएका छन् । जनयुद्ध र २०६२÷२०६३ सालको लोकतान्त्रिक आन्दोलनमा बलिदान दिनुभएका योद्धाहरूलाई विगतका सरकारले पनि घोषणा गरेन, अहिलेको सरकारले पनि शहीद घोषणा गर्न कञ्जुस्याइँ गरिरहेको छ । शहीद घोषणा गरेकाहरूका परिवारजनलाई पनि पटकपटक राहत दिने घोषणा गरे तापनि सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट अहिलेसम्म राहत उपलब्ध गराइएको छैन ।
(लेखक शहीद स्मृति प्रतिष्ठान धनकुटाका महासचिव हुनुहुन्छ ।)