डा. भोला थापा
नेपालको धातु, वास्तुकला र शिल्पको इतिहास के छ ? जीवनयापनका लागि गरिने कृषि, त्यसका लागि आवश्यक औजार, सिँचाइ, भण्डारण आदि सीप मात्रै थिए कि ती प्रविधिका रूपमा स्थापित थिए ? विगतको विकास किन दिगो हुन सकेन ? किन हाम्रा ज्ञानहरू लिपिबद्ध हुन सकेनन् र पूर्वजका त्यस्ता उपलब्धि पुस्तौँसम्म सहज र सरल ढङ्गले हस्तान्तरण र स्थानान्तरण हुन सकेनन् ?
यी सबै प्रश्नको कारण के हो भने हामी पहिलेदेखि नै आधुनिक विज्ञान र प्रविधिका तालिम र शिक्षामा पछि पर्दै गयौँ, केही विधामा त पत्याउनै नसक्ने गरी ढिलो भयाँै । नेपालमा आधुनिक शिक्षाको विकाससँगै विज्ञान र प्रविधिको तालिम तथा शिक्षाको पनि सुरुवात भयो तर इञ्जिनियरिङ शिक्षा चाहिँ धेरै ढिलो भयो । पूर्वाधार विकासमा इञ्जिनियरको आवश्यकता महसुस गरिए पनि त्यसको उत्पादनमा महìव दिइएन । राणाकालमै केही नेपालीले इञ्जिनियरिङ शिक्षा लिएर भवन, जलविद्युत्, रोपवे, सुरुङ आदिको निर्माण र विकासमा उल्लेख्य योगदान गरेका थिए । पञ्चायतकालमा इञ्जिनियरिङ शिक्षा गर्भमै रह्यो । काठमाडौँ विश्वविद्यालयको स्थापनापछि मात्रै नेपालमा इञ्जिनियरिङ शिक्षाले नयाँ मोड लिएको हो । हालको अवस्था नियाल्दा इञ्जिनियरिङ शिक्षामा सङ्ख्यात्मक प्रगति भए पनि गुणात्मक विकासमा धेरै काम गर्न बाँकी छ ।
नेपालमा इञ्जिनियरिङ शिक्षालाई पहिल्याउँदै जाँदा प्रविधिसम्बन्धी औपचारिक कार्यक्रमको बीजारोपण सन् १९३० मा प्रारम्भ भएको टेक्सटाइल टे«निङ स्कुललाई लिन सकिन्छ । त्यसलाई आधार मान्दा प्राविधिक शिक्षा सुरु भएको ९० वर्ष भइसकेको छ । औपचारिक शैक्षिक कार्यक्रम भने त्यही स्कुलले एसएलसी उत्तीर्ण गरेका युवाका लागि सन् १९४२ मा सुरु गरेको दुईवर्षे सिभिल ओभरसियरलाई लिन सकिन्छ । सन् १९५० मा त्यस स्कुलको पढाइ त्रिचन्द्र कलेजमा भएको र सन् १९६६ मा मात्र नेपाल इञ्जिनियरिङ इन्स्टिच्युट नामक संस्था स्थापना भएर पुल्चोक आनन्द निकेतनमा सारिएको इतिहास छ । सन् १९७८ मा पुल्चोक क्याम्पसमा २४ विद्यार्थी भर्ना गरी सिभिल इञ्जिनियरिङमा स्नातकको सुरुवातलाई नै आधुनिक इञ्जिनियरिङ शिक्षाको स्थापनाकाल मान्न सकिन्छ । काठमाडौँ विश्वविद्यालय, नेपाल इञ्जिनियरिङ कलेज र पुल्चोक क्याम्पसमा अन्य विषयमा समेत एकै वर्ष सन् १९९४ मा विस्तार भयो । तसर्थ सन् १९९४ लाई नेपालको इञ्जिनियरिङ शिक्षाका लागि स्वर्णवर्षका रूपमा लिन सकिन्छ । इञ्जिनियरिङ शिक्षाको द्रुत विस्तार हुँदै हाल ५१ वटा संस्थामा नौ हजार जति विद्यार्थी भर्ना क्षमता देखिन्छ भने उत्पादित इञ्जिनियर र शिक्षाको गुणस्तर अनुगमन, मूल्याङ्कन र नियमन गर्न सन् १९९९ मा मात्र नेपाल इञ्जिनियरिङ परिषद्को स्थापना भयो ।
सन् १९९० भन्दा अगाडिको शैक्षिक अवस्था हेर्ने हो भने त्रिचन्द्र कलेज र त्रिवि हुँदै विकास भएको उच्चशिक्षाको मुख्य उद्देश्य साक्षरता वृद्धि गर्नु देखिन्छ । हालै नेपाल सरकारले प्रतिपादन गरेको राष्ट्रिय शिक्षानीति २०७६ ले नीतिको दूरदृष्टि ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्ति, सामाजिक न्याय, रूपान्तरण र समृद्धि’ राखेको छ भने सबै तहको शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री, रोजगारमूलक र उत्पादनमुखी बनाई देशको आवश्यकताअनुरूपको मानव–संसाधन विकास गर्ने लक्ष्य राखेको छ । उपर्युक्त नीतिको उच्चशिक्षा कार्यनीतिमा गुणस्तरको सुनिश्चतता तथा प्रत्यापन, मापदण्ड निर्धारणलगायतका कार्य गर्न संस्थागत विकास गर्ने उल्लेख गरिएको
छ । हाल लिइएको लक्ष्य २५ वर्षअगाडि सुरु गरिएको काठमाडौँ विश्वविद्यालयको दूरदृष्टि र उद्देश्यसँग मेल खाने छ ।
काठमाडौँ विश्वविद्यालयले लिएको दूरदृष्टि ‘नेतृत्वका लागि गुणस्तरीय शिक्षा’ हो । त्यसको प्राप्तिका लागि इञ्जिनियरिङ शिक्षा सुरु गर्दाका उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छन् । सामान्यतया शिक्षा समुन्नत जीवनयापनका लागि भए पनि काठमाडौँ विश्वविद्यालयले आफ्ना कार्यक्रम प्राकृतिक स्रोत–साधन र जनशक्तिको समुचित सदुपयोग गर्न त्यसैको सेरोफेरोमा रहेर बनाएको थियो । समग्र उद्देश्यभित्रै रहने गरी इञ्जिनियरिङ शिक्षाका निम्न उद्देश्यहरू प्रतिपादन गरिएका थिए । ती हुन्– (क) अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने उच्च गुणस्तरको शिक्षा र अनुसन्धान, (ख) विज्ञान, इञ्जिनियरिङ र व्यवस्थापनको सशक्त अन्तर्सम्बन्ध र अध्यापन तथा अनुसन्धानमा बहुविधाको उपयोग, (ग) वर्तमान र भविष्यका लागि अत्यावश्यक इञ्जिनियरिङ, विज्ञान र प्रविधिको अध्यापन तथा अनुसन्धान, (घ) विद्यार्थीलाई नतिजामुखीका साथै रचनात्मक बनाउने, (ङ) विद्यार्थीलाई पेसागत ज्ञानका साथै निजी तथा सरकारी क्षेत्रलाई योगदान दिन सक्ने क्षमतावान् बनाउने, (च) विद्यार्थीहरूलाई नवप्रवर्तनका ज्ञान विकास गरी आफ्नै व्यवसाय स्थापना गर्न प्रेरित गर्ने, र (छ) विद्यार्थीहरूलाई आचारसंहिताको निरन्तर ज्ञान दिँदै पेसागत अभ्यास गर्न प्रेरणा दिने ।
२५ वर्ष पहिले प्रतिपादन गरिएका उद्देश्य हाल पनि महìवपूर्ण छन् र हालको शिक्षानीतिको लक्ष्य पूर्ति गर्नसमेत उपयोगी छन् । ती उद्देश्य पूर्ति गर्न सुरुका वर्षमा विज्ञानका आधारभूत विषय अध्यापन गराउनुका साथै इञ्जिनियरिङ विधाको सीप र अभ्यासमा पर्याप्त स्थान दिइन्छ भने पछिल्ला वर्षमा विषयसँग सम्बन्धित विशेषता भएका कोर्स र प्रोजेक्ट तथा स्वरोजगारको उद्देश्य पूर्ति गर्न व्यापारोन्मुखी ज्ञान र सीप उपलब्ध गराइन्छ । व्यवस्थापन र विषयसँग सम्बन्धित कोर्स बीचमा समावेश गरिएको छ । विभिन्न कोर्स आवश्यकताअनुसार राख्ने र झिक्ने भइरहे पनि समग्रमा सुरुवाती दर्शन हालसम्म कायम नै छ । काठमाडौँ विश्वविद्यालयको इञ्जिनियरिङ कार्यक्रमको दर्शनलाई देश विदेशका अन्य विश्वविद्यालयका पाठ्यक्रमसँग तुलना गर्दा अझै पनि हाम्रा कार्यक्रममा प्राविधिक विषयहरू हावी भई सामाजिक विषयहरू कम भएको पाइन्छ । त्यसैले प्राविधिज्ञ तयार गर्दै गर्दा समाजोपयोगी अभियन्ता निर्माण गर्न चाहिँ हामी पछि पर्न सक्छौँ ।
सरकार र अन्तर्राष्ट्रिय दातृ निकायको सहभागितामा त इञ्जिनियरिङ शिक्षा कार्यक्रम गर्न असम्भव भइरहेको बेलामा काठमाडौँ विश्वविद्यालयमा मेकानिकल, कम्प्युटर, इलेक्ट्रिकल–इलेक्ट्रोनिक्स, जियोमेट्रिक, सिभिल, केमिकल र आर्किटेक्चर विषयहरूको विकास र विस्तार स्नातकदेखि विद्यावारिधि तहसम्म नै भइसकेको छ । यसका आधारमा सन् १९९४–१९९८ स्नातक युग, सन् १९९८–२००२ स्नातकोत्तर युग, सन् २००२–२००६ अनुसन्धान युग, सन् २००६–२०१० भौतिक विकास युग र सन् २०१० देखि आजसम्म नवप्रवर्तन र व्यवसाय विकास युगका रूपमा वर्गीकरण गर्न सकिन्छ ।
इञ्जिनियरिङ शिक्षाका लागि प्रतिपादन गरिएको लक्ष्य, त्यसलाई पूर्णता दिन लिइएको रणनीति र विकास गरिएका स्रोत–साधनहरूको उपयोग गर्न काठमाडौँ विश्वविद्यालयले फरक अध्यापन तरिका प्रयोगमा ल्यायो । विश्वविद्यालयलाई सुरुदेखि नै पढाउनेभन्दा सिक्ने स्थानका रूपमा विकास गरियो । विद्यार्थीमाथि ज्ञानको भारी थोपर्नुभन्दा समस्या समाधान गर्न सक्षम बनाई उत्तर दिनेभन्दा उपयोगी प्रश्न गर्न सक्ने बनाउन प्रयास गरियो । आफैँ समस्या पहिचान गर्न सक्ने, समस्या समाधानार्थ आफैँ प्रश्न गर्न सक्ने र ती प्रश्नको उत्तर खोजी समस्या समाधान र विकास गर्ने प्रणाली अवलम्बन गरियो । अध्यापनका लागि सफल सिद्ध भएका सिकाइका आधार यसप्रकार छन्– (क) कार्यान्वयन (परफरमेन्स बेस्ड लर्निङ), (ख) सहभागिता (पार्टिसिपेसन बेस्ड लर्निङ), (ग) प्रोजेक्ट (प्रोजेक्ट बेस्ड लर्निङ), (घ) समुदाय (कम्युनिटी बेस्ड लर्निङ), (ङ) रुचि (प्यासन बेस्ड लर्निङ), (च) व्यवसाय (प्रोफेसन बेस्ड लर्निङ), (छ) प्रमाण (इभिडेन्स बेस्ड लर्निङ) र (ज) सूचना–प्रविधि (डिजिटल बेस्ड लर्निङ) मा आधारित सिकाइ पद्धतिहरू । काठमाडौँ विश्वविद्यालयको इञ्जिनियरिङ शिक्षाको विकासक्रम, यसको उद्देश्य, कार्यक्रमको कार्यान्वयन रणनीति र अनुभवबाट नेपालका अन्य शैक्षिक संस्थाले पनि जान्ने र सिक्ने अवसर प्राप्त गर्न सक्छन् । मानव तथा प्राकृतिक स्रोत–साधनको उपयोग गरी विकासको गति अघि बढाउन इञ्जिनियरिङ शिक्षा अत्यन्त उपयोगी छ ।
(लेखक काठमाडौं विश्वविद्यालयमा मेकानिकल इञ्जिनियरिङका प्राध्यापक हुनुहुन्छ )