विगत दुई दशकदेखि बन्द हेटौँडा–काठमाडौँ रज्जुमार्ग (रोपवे) पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । बागमती प्रदेश सरकारले सम्भाव्यता अध्ययन थालेपछि रज्जुमार्ग सञ्चालनको सम्भावना बढेको छ । भारतबाट आयात गरिएका तथा नेपालकै तराई–मधेस क्षेत्रबाट विभिन्न सामान काठमाडौँ ल्याउने र यताबाट उता ढुवानी गर्ने भरपर्दो साधनका रूपमा रहेकोे रज्जुमार्ग कुनै बेला ढुवानीको प्रभावकारी साधन मानिन्थ्यो । अमेरिकी सरकारको सहयोगमा २०१६ देखि २०२० सालसम्म उक्त रोपवे निर्माण गरी सञ्चालनमा ल्याइएको थियो । ३६० डब्बा रहेको रज्जुमार्ग दैनिक दस घण्टा सञ्चालनमा रहँदा हेटौँडाबाट काठमाडौँँसम्म २२० टन मालसामान ओसाथ्र्यो । पूर्ण रूपमा सञ्चालित रोपवेले करिब एक हजारजनालाई रोजगारी दिएको र चार घण्टामा हेटाँैडाबाट काठमाडौँ सामान पु¥याउन सकिन्थ्यो । करिब ४२.२ किलोमिटर लामो रज्जुमार्ग २०५६ सालमा बिग्रेपछि तत्कालीन सरकारले २०५९ सालमा यसलाई औपचारिक रूपमा खारेज गरेको थियो ।
विकासको मापनमा विकल्पको प्रयोगलाई उच्च महŒव दिइन्छ । जहाँ धेरै विकल्पको प्रयोग गर्न सकिन्छ, त्यहाँ उच्च भौतिक विकास भएको मानिन्छ । नेपालजस्तो पहाडी मुलुकमा बाढीपहिरोले यातायात र ढुवानीमा बर्सेनि व्यवधान उत्पन्न गर्ने गरेकाले सडक यातायातको विकल्पमा रज्जुमार्गको प्रयोगले ढुवानीलाई मात्र नभई, मानव जीवन सहज बनाउनसमेत योगदान दिन सक्छ । सरकारले जनकपुर–जयनगर आधुनिक रेल सञ्चालन प्रक्रिया प्राथमिकतासाथ कार्यान्वयन गर्दै छ । सन् २००१ सम्म नेपालको बिजलपुरादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको रेलपछि जयनगर–जनकपुरमा सीमित भयोे । अमलेखगन्ज–रक्सौलबाट र झुम्का–धरान–वराहक्षेत्रमा गुड्ने रेल इतिहास बनिसकेका छन् । यसले नेपालको सडक यातायातको विकल्प साँघुरो बनाउँदै ल्याएको छ । त्यसो त, भारतको जोगबनीबाट विराटनगरसम्म रेल ल्याउन सम्भव देखिएको छ । भारतको सहयोगमा काठमाडौँसम्म रेल तयारी गरिएको छ । यसैगरी, चीनबाट नेपालमा रेल ल्याउन अध्ययनको थालनी गरिएको छ । चीनको सहयोगमा रसुवागढी, काठमाडौँ, लुम्बिनी र पोखरासम्म रेलमार्ग बन्ने सम्भावना रहेको बताइएको छ । यसैगरी, नेपाली पानीजहाजको सञ्चालन र हवाई यातायातको विस्तारलाई वर्तमान सरकारले उच्च महŒव दिएको छ । यसरी आगामी केही वर्षमा नेपालले स्थल, जल तथा हवाईमार्गका अधिकतम विकल्पको प्रयोग गर्दै यहाँको सार्वजनिक यातायातलाई गुणस्तरीय बनाउन सक्नेछ । यातायातमध्ये सडक यातायात नेपालमा मात्र नभएर विश्वभर नै प्रचलित छ । सडकको विश्व सञ्जाल बनाउने विश्व रणनीति बनेका छन् । यस्तो अवस्थामा नेपाललले पनि स्वाभाविक रूपमा सडक यातायातमा अधिक ध्यान र लगानी गर्नुपर्छ तर भूबनोट, छरिएका गाउँबस्ती, भौगोलिक विकटताजस्ता कारण नेपालले केबलकार र रज्जुमार्गजस्ता यातायातका विविध विकल्पको पनि विकास र उपयोग गर्नु आवश्यक देखिन्छ । पछिल्ला वर्ष केबलकार नेपालीबीच लोकप्रिय बनेको छ, यद्यपि यो प्रविधि आममानिसको जीवन सहज बनाउन भन्दा पनि मनोरञ्जनात्मक कार्यमा सीमित छ । आधुनिक प्रविधिको प्रयोगमा केबलकार र रज्जुमार्गलाई आमउपयोगको यातायात बनाउँदै नेपालले एकातिर बाढीपहिरोले अवरुद्ध हुने सडक समस्याको व्यवस्थापन गर्न सक्छ भने अर्कोतिर सडक खन्दा हुने वनविनाश रोक्न सहयोग गर्नेछ । नेपालमा जलविद्युत् उत्पादनको प्रचुर सम्भावना रहेकाले केबलकार र रज्जुमार्गको अत्यधिक प्रयोगले करोडौँ विदेशी मुद्रा खर्च गरेर किन्नुपर्ने पेट्रोलियमको खपत घटाउन सकिनेछ, जसले राष्ट्रिय अर्थतन्त्रका सूचकमा सकारात्मक परिवर्तन ल्याउनेछ ।
बाग्मती प्रदेश सरकारले नेपालको यातायातको इतिहाससँग जोडिएको हेटौँडा–काठमाडौँ रज्जुमार्ग पुनः सञ्चालनमा ल्याउन अध्ययन सुरु गरिएको जानकारी दिएको छ । साथै इतिहासको संरक्षण र पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण रहेकाले उक्त रज्जुमार्ग पुनः सञ्चालनको तयारी गरेको जनाएको छ तर केबलकार तथा रज्जुमार्गमा लगानी, प्रतिफल र उपभोक्ताको उपभोग्य क्षमता तथा मूल्य तिर्ने तत्परता अनुकूल पनि हुनुपर्छ । इतिहास र विगतले यस्ता साधनको उपयोग बढाउन सम्भव छैन । इतिहास भावनासँग जोडिने अमूर्त नाता हो जब कि भौतिक वस्तुको उपयोगमा मूल्य, सुविधा र सहज उपलब्धता निर्णायक हुने भएकाले नेपालले यहाँको भूगोल र बस्ती संरचनाअनुसार यातायातका साधन विकासमा विशेष मोडल अवलम्बन गर्न सक्छ ।