logo
२०८१ मंसिर १२ बुधवार



भ्रष्टाचार नियन्त्रणका लागि पत्रकारिता

विचार/दृष्टिकोण |





श्याम मैनाली

आजको युगमा सञ्चारमाध्यम अत्यन्त प्रभावकारी सावित भएका छन् । समाजमा भइरहेका क्रियाकलापलाई निरन्तर प्रचार–प्रसार गरी सुसूचित गर्ने र पारदर्शितामा मिडिया सशक्त माध्यमका रूपमा स्थापित भएको छ । सञ्चारमाध्यमले अन्तर्राष्ट्रिय सिमानालाई निष्प्रभावी बनाउँदै विश्वलाई नै सानो टोलका रूपमा रूपान्तरण गरिदिएको छ । सूचना सञ्जालमाथि नागरिकको अधिकार जति बढी स्थापित गर्न सकियो, त्यति बढी लोकतन्त्र सुदृढ भएको मानिन्छ ।
विकसित र विकासशील दुवैप्रकारका मुलुक भ्रष्टाचार, पद र अधिकारको चरम दुरुपयोगबाट आक्रान्त छन् । सञ्चारमाध्यमले यी समस्याको उजागर गरी समाजमा व्याप्त असमानता, अन्याय, पक्षपात एवम् गलत व्यवहारमा सुधार ल्याई सरकारी र निजी क्षेत्रमा सकारात्मक परिवर्तन गर्न प्रयत्नशील छ । यसले गलत क्रियाकलापका विरुद्ध निगरानीसमेत गर्दै आएको छ । आधुनिक जटिलताबाट गुज्रिएको समाजमा भ्रष्टाचार नियन्त्रणका दिशामा सञ्चारमाध्यम प्रभावकारी साधन प्रमाणित हुँदै आएको छ । भ्रष्टाचारमा संलग्न व्यक्ति स्रोत, साधन, शक्ति सबैको पूर्ण उपभोग गर्ने हुँदा वैभवशाली हुन्छ । यस्तो प्रतिष्ठित व्यक्तिविरुद्ध गरिने प्रचार–प्रसारले स्वतः समाजको चासो सिर्जना गरिदिने भएकाले सञ्चार साधनको प्रसारणलाई जनताले स्वीकार एवम् समर्थन गर्दछन् ।
पत्रकारिताले भ्रष्टाचारका आरोपीलाई कानुनी अनुसन्धान गर्ने होइन, आफैँ कारबाही गर्ने पनि होइन । अपराधविरुद्धको न्यायले कानुनी बाटो अवलम्बन गर्दछ । कुनै सार्वजनिक पदाधिकारीमाथि आरोप लाग्दछ, सञ्चारमाध्यमले त्यसलाई प्रचार–प्रसार गरिदिन्छ, लामो अन्तरालमा त्यस पदाधिकारीको जीवनस्तर रहनसहनको मूल्याङ्कन समाजले राम्ररी गरेको हुन्छ । त्यस पृष्ठभूमिमा आएका प्रसारणलाई स्वतः समाजले स्वीकार गर्छ । अभियुक्तले कानुनी आधारमा सफाइ पाउन सक्छ । तर, गलत व्यक्तिलाई सञ्चारमाध्यम र जनताले सधैँ शिर निहु¥याउने परिस्थिति बनाइदिन्छ । जसले गर्दा समाजमा बिस्तारै शुद्धीकरण आउन थाल्छ ।
भ्रष्टाचार रोकथामका लागि मिडियाको उल्लेखनीय योगदान रहने विषयमा सन्देह छैन । यद्यपि, सो क्षेत्रका आफ्ना समस्या नभएका होइनन् । पत्रकारका चाहना अत्यन्त निष्पक्ष हिसाबले अपराधकर्मीमाथि छानबिन तदारुकतासाथ होस् र त्यसको सूचना यथाशीघ्र उपलब्ध होस् भन्ने रहन्छ । तर, सार्वजनिक पद धारण गरेको व्यक्तिमाथि हुने छानबिन तथा अनुसन्धानमा कानुनसम्मत तरिकाले निजको इज्जत र मर्यादालाई पनि सोचमा राख्दा अनुसन्धानकर्ता र पत्रकारबीच यदाकदा विवादास्पद स्थिति बन्छ । मिडियाबीचको प्रतिस्पर्धाका कारण छिटोभन्दा छिटो समाचार सम्प्रेषण गर्ने होड चल्छ । यसले गर्दा पर्याप्त समय अमूक केसको तथ्य सङ्कलन र विश्लेषण गर्न सकिराखेको हुँदैन । यसबाट पर्न जाने अन्य प्रभावबारेमा सोच पु¥याउन सकिँदैन । भ्रष्टाचार अनुसन्धान एउटामा गर्दा एकभन्दा बढी मुद्दामा अनुसन्धान एवम् छानबिन गर्नुपर्ने थुप्रै अवस्था सिर्जना हुने गर्छ । भ्रष्टाचारविरुद्धको छानबिनका विषयमा पूरा गर्नुपर्ने प्रक्रिया र कानुनी सिद्धान्त एवम् मूल्य–मान्यताका विषयमा विशेषज्ञता प्रायः सबै पत्रकारसँग नहुँदा पनि मिडियाका प्रचार–प्रसार विषय कमजोर बन्दै गएका छन् । प्रचार–प्रसारले सार्वजनिक दबाबको स्थिति पैदा गर्छ, जसले गर्दा निर्णय प्रभावित बन्छ । यस सन्दर्भमा प्रचार–प्रसार गर्नुपूर्व पर्याप्त ध्यान जानु आवश्यक हुन्छ ।
सञ्चारमाध्यम पनि दुरुपयोग हुन सक्तछ । प्रचार–प्रसारका माध्यमबाट व्यक्तिको सामाजिक प्रतिष्ठा र इज्जत धराशयी बन्न सक्छ । पत्रकारले पनि आफ्ना विवेक गुमाउन सक्छन् । तसर्थ, यसबाट समुच्च पत्रकारितालाई बचाउन प्रत्येक मुलुकले आफ्ना प्रकारका आचारसंहिता निर्माण गरेका हुन्छन् । जसले निर्वाध रूपमा व्यावसायिक क्रियाकलाप अधि बढाउन पाउने र त्यसो गर्दा नागरिकको मानवअधिकारको संरक्षण पनि गम्भीर बनी पत्रकारितालाई मर्यादित एवम् सर्वस्वीकार्र्य बनाउन प्रयत्न गरिएको हुन्छ । व्यक्तिगत रूपमा स्वार्थप्रेरित भई पत्रकारितालाई सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठामा आँच आउने हिसाबले बदलास्वरूप कलम चलाउने, पेसाको आडमा विभिन्नप्रकारका आर्थिक आर्जनलगायतका काम गर्ने विषयले पीत पत्रकारिता मौलाउँछ । समाजका विकृतिजन्य विषयमा सुधार ल्याउनुको सट्टा अझ बढी विकृति र विसङ्गति कायम गर्नमा सञ्चार जगत् नै उद्यत हुन सक्ने स्थिति बन्न सक्छ ।
सञ्चारमाध्यमले सामान्य विषयलाई अतिरञ्जित गरी व्यक्तिको अधिकारमाथि अतिक्रमण गरेका घटना पनि छन् । तसर्थ, पत्रकारिता जगत्ले कलम चलाउँदा अत्यन्त गम्भीर हुनुपर्छ । पत्रकारका लागि केही आचारसंहिता राज्यले निर्धारण गरी पालना गराउनुपर्छ । जस्तै पत्रकारले सूचना सार्वजनिक गर्दा कुनै पूर्वाग्रह राख्नुहुँदैन । सत्यमा आधारित भएर सम्प्रेषण गर्नुपर्छ । तथ्यमा आधारित भएर सूचना प्रवाह गर्न बढी मिहिनेत र समय लाग्ने गर्छ । प्रकाशनका तरिका अत्यन्त इमानदारीपूर्वक निर्वाह गरी अधि बढाउनुपर्छ । आफ्नो सूचना सम्प्रेषणबाट व्यक्ति संस्थामा पर्न सक्ने असरका बारेमा विश्लेषण जरुरी छ । सञ्चारमाध्यमप्रति सर्वसाधारणको धारणा सकारात्मक र नकारात्मक दुवै हुन सक्छ । तसर्थ, जिम्मेवारीसाथ कर्तव्य निर्वाह गर्नु जरुरी छ । आफूले मिहिनेत गरी प्राप्त सूचनालाई अन्तरआत्मा र विवेकको कसीमा उपयुक्त साबित भएपछि प्रचार–प्रसार गर्नु
उपयुक्त हुन्छ ।
समाजमा व्याप्त विकृति निराकरणमा सञ्चारमाध्यमले योगदान गर्न सक्नुपर्छ । विद्यमान सामाजिक, आर्थिक र मानवीय समस्याको पहिचान गरी निश्चित समाचार सम्प्रेषणबाट के–कस्ता प्रभाव आगामी दिनमा पर्न जान्छ, योगदानले थप मद्दत पु¥याउन सक्छ, सत्तैmन यस्ता समस्या समाधानमा दत्तचित्त रहनुपर्छ । विश्वव्यापी रूपमा मान्यताप्राप्त मौलिक हकको सम्मानका लागि र पूरै विश्वशान्ति सुरक्षा अमनचैनका विषयमा सोच राख्नुपर्छ । यसप्रकार अघि बढेमा मात्र सञ्चारमाध्यमले प्रतिष्ठा आर्जन गर्छ । यो जगत्को योगदान मानवमात्रको कल्याणका लागि हुन जान्छ । यही मूल मन्त्रमा रहेर प्रत्येक राष्ट्रले सञ्चार जगत्का लागि आचारसंहिता निर्धारण गर्नुपर्छ । यी सबै प्रक्रियाहरू र व्यवस्था भ्रष्टाचारसम्बन्धी छानबिन गरी सर्वसाधारणसमक्ष सुसूचित गराउने सन्दर्भमा लागू गर्नुपर्छ ।
सञ्चार प्रणालीले समाजमा प्रभाव विभिन्न किसिमले पार्ने गर्दछ । यसका लागि जनताका अधिकार पूर्ण रूपमा उपभोग गर्न सक्ने परिस्थिति निर्माण त्यतिखेर सम्भव हुन्छ, जब सूचनामा आमजनताको पहुँच निर्वाध र सरल रूपमा हुने गर्छ । यसले आफ्ना अधिकारप्रति सचेतना जागृत गराउँछ । सार्वभौम अधिकारको प्रयोग आत्मविश्वाससाथ गर्न सक्तछन् । यसैगरी, सार्वजनिक चासोका विषयमा खुलेर आलोचना गर्ने र विकल्प प्रस्तुत गर्न सक्षम बन्छन् । यसका लागि सञ्चार सुविधाको पूर्ण प्रयोग गर्न जरुरी हुन्छ । प्राप्त सूचनाको विश्लेषणबाट नागरिकले आफ्ना इच्छा आकाङ्क्षाको गन्तव्यमा पुग्ने अवसरको आँकलन राम्ररी गर्न सक्ने हुन्छन् । यदि गन्तव्यका लागि यात्रा सुगम छैन भने यसका लागि थप प्रयासतर्पm अभिमुख हुन्छन् । समग्रमा सूचनाबाट आत्मविश्वास बढ्छ । क्षमतामा अभिवृद्धि हुन्छ । कमीकमजोरीको लेखाजोखा एवम् विश्लेषण राम्ररी गर्न सकिन्छ । समस्याको पहिचानबाट उपयुक्त सम्बोधन गरी लक्ष्यतर्पm अभिमुख हुन सकिन्छ । यसर्थ, सूचनाको भरपूर प्रयोगबाट राष्ट्र« एवम् समाज समृद्ध बन्न सक्छ । समाजमा विद्यमान विकृति र विसङ्गतिको निराकरणका लागि रामवाण साबित हुन सक्छ । तसर्थ, सञ्चारमाध्यमको सुद्धृढीकरण राष्ट्रिय प्राथमिकतामा पर्नुपर्छ ।
सञ्चारको प्रभावकारी प्रयोगद्वारा कानुनी कारबाही ढिलो हुंँदाहुँदै पनि समाजले तुरुन्तै प्रतिक्रिया दिन थाल्छ । भ्रष्टाचारीका टीका–टिप्पणी, सामाजिक विभेद सामाजिक अस्वीकार्यताजस्ता अवस्था सिर्जना हुने गर्दछ । राजनीतिज्ञहरू आफ्ना मतदाताबाट बहिष्कृत हुन पुग्छन् । यसर्थ, पत्रकारको कलम सेनाको गोलीभन्दा धेरै गुणा शक्तिशाली हुने गर्छ । तर, समस्या यसको सतही छानबिन र विश्लेषणमार्पmत सूचना प्रवाह हुनुमा छ । उदाहरणका लागि सञ्चारमाध्यमले कुनै व्यक्तिविशेषविरुद्ध भ्रष्टाचारका आरोप लगाइरहँदा उसको सामाजिक प्रतिष्ठा र व्यक्तिगत जीवन अस्तव्यस्त हुन्छ । अभियुक्त चरम मानसिक यातनाबाट पीडित हुन पुग्छ । निर्दोष व्यक्तिमाथि यस्तो आरोप लागेमा आत्महत्यासमेत गरिएका घटनाहरू छन् । यसरी मिडियामार्फत लगाइएको अभियोग कानुनी रूपमा गलत साबित भएका र यसरी निर्दोष प्रमाणित भएपश्चात् पनि समाजले अभियुक्तउपर गरेको व्यवहारबाट पुग्न गएको नोक्सानीको पूर्ति पुनः हुँदैन । यो परिस्थिति निर्माण हुनु भनेको सबैका लागि दुःखपूर्ण हो ।
समाजलाई सुधार गर्नेक्रममा सञ्चार साधनको भूमिका अत्यन्त महŒवपूर्ण हुन्छ । यसै सन्दर्भको स्मरण गर्दा स्वच्छ पत्रकारिता गर्दा इमानदार पत्रकार अपराधी समूहको निशाना बनेका पनि छन् । पीत पत्रकारिताबाट केही इमानदार व्यक्तिको चरित्रहत्या भएको पनि छ । बेलाबखत सञ्चार आतङ्कको चर्चा पनि सुन्ने गरिएकै छ । यिनै पृष्ठभूमिमा केन्द्रित रहेर कलम चलाइँदा पत्रकारिता पेसा अत्यन्त मर्यादित हुनेछ । यसले राष्ट्र र समाजलाई सही मार्गनिर्देश गर्नेछ । स्वच्छ पत्रकारितामार्फत समाज र राष्ट्रलाई अघि बढाइनु नै वर्तमानको माग हो । सञ्चार जगत्लाई सबै क्षेत्रको सहयोग जरुरी छ । जसले गर्दा स्वच्छ र निष्पक्ष पत्रकारितालाई प्रोत्साहन मिल्ने वातावरण बन्छ ।
(लेखक नेपाल सरकारका पूर्वसचिव हुनुहुन्छ ।) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?