विश्वको सर्वोच्च शिखर सगरमाथासहित छवटा हिमालको यसै वर्ष (भ्रमण वर्ष) भित्र पूर्ण सफाइ गरिने छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमाल तीन चरणमा एकैपटक सफा गरिने कार्यक्रम अघि सारिएको छ । हिमाल आरोहण गर्ने आरोही तथा उनीहरूका सहयोगीले प्रयोग गर्ने सड्ने तथा नसड्ने फोहोरले हिमाली सौन्दर्य र वातावरण सङ्कटमा पर्दै गएको अवस्थामा सरकारले ल्याएको कार्यक्रमले हिमाललाई पुनर्जीवन दिनेछ । यसअघि सगरमाथा क्षेत्रको सरसफाइ गरिएको भए पनि अन्य हिमाली क्षेत्रमा थुप्रिएका फोहोर व्यवस्थापन गरिएको थिएन । ‘नेपाल भ्रमण वर्ष २०२०’ का अवसरमा हिमाल सफाइ गरी हिमालको सौन्दर्य, पर्यटक तथा ती क्षेत्रका नागरिकको स्वास्थ्य, ती क्षेत्रमा वातावरणीय संरक्षणको त्रिकोणीय कार्य सम्पन्न गरिएमा विश्वभर नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन सकिनेछ । स्वदेश तथा विदेशमा नेपालका हिमालमा फोहोर तथा प्रदूषण बढेको टिप्पणी आउँदै गरेकाले अत्यधिक पर्यटक आउने हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन गर्नु नितान्त आवश्यक थियो । यस्तो पहलबाट हिमाल र हिउँको संरक्षणसँगै वातावरण प्रवद्र्धनमा सहयोग पुग्ने भएकाले पनि अभियानको सान्दर्भिकता उच्च छ ।
हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ । यसअघि वातावरण विभागलाई दिइएको हिमाल सफाइको जिम्मा विभागसँग जनशक्तिलगायतका पूर्वाधार अभावका कारण नेपाली सेनालाई दिइएको बताइएको छ । तर यस कार्यमा वातावरण विभागसहित अन्य सरकारी निकायको सहयोग र समन्वयात्मक भूमिका आवश्यक हुन्छ । नेपाली सेनाले कार्यतालिकासहित हिमाल सफाइ गर्ने कार्यक्रम तय गरिसकेको छ भने वातावरण मन्त्रालयले नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयलाई आवश्यक बजेट उपलब्ध गराइसकेको छ । सफाइको पहिलो चरणअन्तर्गत फागुन ३ गते जनशक्तिको प्रारम्भिक छनोट, फागुन ८ गते समूह संयोजकको छनोट र फागुन २२ गते सहयोगी सङ्घ संस्था तय गरिने छ । फागुन २६ देखि चैत २६ गतेसम्म तालिम चल्ने र चैतको २० गते हिमाल सरसफाइका लागि छवटै टोली परिचालन गरी नयाँ वर्ष २०७७ को वैैशाख ३ गतेदेखि डेढ महिनासम्म एकैपटक हिमाल सरसफाइ अभियान चल्नेछ । यसरी योजनाका साथ सगरमाथासहित छवटा हिमालबाट करिब ४५ हजार किलो फोहोर सङ्कलन गरिने कार्यतालिका बनेकाले भ्रमण वर्षभित्रै नेपालका प्रमुख हिमालको काया कञ्चन हुनेछ ।
सफाइलाई छ हिमालबाट क्रमशः सबै हिमालतिर बढाउनु आवश्यक छ । कुनै एक अवधि र वर्षमा मात्र सफाइ गरेर मात्र हिमाल सफा राख्न सकिँदैन । हिमाल सफा राख्नु भनेको त्यस क्षेत्र र हिमालको तल्लो तटीय क्षेत्रको पर्यावरण सुरक्षित राख्नु हो । त्यसैले हिमालमा जाने आरोहीलाई पनि हिमाल सफाइमा जिम्मेबार बन(ाउनुपर्छ । आफूले प्रयोग गरेका सामग्री निश्चित स्थानसम्म ल्याएर विसर्जन गर्नुपर्ने विधि उनीहरूलाई पालना गराउनु आवश्यक हुन्छ । चिसोमा कुहिने वस्तु पनि सहजै कुहिँदैनन् । त्यसमाथि नकुहिने फोहोर त खातका खात लागेका आरोहीको अनुभव छ । हिमाल आरोहणमा जानेले अक्सिजनका सिलिण्डर, टेन्ट, टिनका बट्टा, मट्टीतेलका जर्किन, स्टोभलगायतका सामग्री हिमाली क्षेत्रमा नै छाडिदिने भएकाले सफाइमा चुनौती देखिएको छ । हिमाल आरोहण दस्तुर तिर्नुको अर्थ हिमाली क्षेत्रमा फोहोर छाड्न पाइन्छ भन्ने मानसिकताबाट पर्यटकलाई मुक्त गराउनु पनि सफाइ अभियानको अर्को पाटो हो भन्ने बिर्सन हुँदैन । अनुभवीका अनुसार पहिलोपटक सगरमाथा आरोहण गरिएदेखिका फोहोर त्यहाँ थुप्रिएका छन् । यसअघि पनि सगरमाथा सरसफाइ अभियानमा सहभागी नेपाली सेनाको नेतृत्वमा हुने सफाइ अभियान पूर्णतः सफल हुने अपेक्षा गर्न सकिन्छ । यस्तो अभियानमा निजीक्षेत्रको पनि उत्तिकै सहभागिता र सहयोग आवश्यक हुन्छ । यसअघि सगरमाथा सरसफाइ अभियानमा कोकाकोला कम्पनीले ठूलो सहभागिता जनाएको थियो । ‘क्लिन आवर प्राइड’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानमा खुम्बु पासाङ ल्हामु गाउँपालिका, नेपाल पर्वतारोहण सङ्घ, सगरमाथा सरसफाइ अभियान, विभिन्न सङ्घ–संस्था, सरकारी निकायको संलग्नता थियो । सगरमाथा सरसफाइ अभियान, २०१९ को अनुभवका आधारमा पनि आगामी अभियानलाई सफलीभूत बनाउन सकिनेछ ।