logo
२०८१ मंसिर १२ बुधवार



समाचारमा मध्यम आदरको प्रयोग

विचार/दृष्टिकोण |




प्रा.डा. सर्वराज आचार्य

केही समाचार प्रकाशन र प्रसारण गृहले आआफ्ना समाचार र कार्यक्रमहरूको प्रवाह गर्दा मध्यम आदर (तिमी, उनी, यिनी, तिनी जस्ता) र तिनले सङ्गति लिने मध्यम आदरका क्रियापद (गरे, भने, भनिन्, गरिन् जस्ता) प्रयोग गरेको देखिन्छ र सुनिन्छ । वर्तमान नेपाली भाषामा आदरार्थी मध्यम र उच्च गरी आदरार्थी दुईप्रकारका देखिन्छन् । यी दुईमध्ये उच्च आदर प्रयोग गर्ने समाचार प्रकाशन र प्रसारण गृहका प्रयुक्त भाषामा समान्यतः आदर प्रयोगसम्बन्धी विश्लेषण आवश्यक ठानिएन । मध्यम आदर प्रयोग गर्ने प्रकाशन र प्रसारण गृहका भाषालाई भने विभिन्न औपचारिक, व्याकरिणक, संवैधानिक र लैङ्गिक गरी चारवटा दृष्टिले विश्लेषण गर्न सकिने देखिन्छ ।
पहिलो औपचारिक भाषाका दृष्टिले मध्यम आदरको प्रयोग हेरौँ । यहाँ औपचारिक भनेर सभा, समारोह, गोष्ठी आदि औपचारिक कार्यक्रममा प्रयोग गरिने भाषालाई भनिएको हो । यस्ता कार्यक्रममा उच्च आदरको प्रयोग गरिन्छ, मध्यम आदरको प्रयोग गरिँदैन । त्यहाँ प्रयुक्त औपचारिक भाषा समाचार र सम्पादकीयमा समेत आइपुग्छ । सभाहरूमा जुन आदर र शैलीको भाषा प्रयोग गरिन्छ, त्यही आदर र शैलीको भाषामा गरिएको समाचार सम्प्रेषणको भाषा औपचारिक हुन्छ । हुन त औपचारिक र अनौपचारिक के–कस्तो भाषा प्रयोग गरेर समाचार र स्तम्भ लेखनमा एकरूपता दिने भन्ने निर्णय प्रकाशन वा प्रसारण गृह स्वयम् गर्दछन् । किन्तु अन्य स्तम्भमा भाषाको औपचारिक रूप अपेक्षित नठानिन सक्छ तर समाचार, अन्तर्वार्ता र सम्पादकीयमा भने औपचारिक भाषाको प्रयोग अपेक्षित ठानिन्छ ।
सभा र समारोह आदि कार्यक्रमकै औपचारिक भाषामा समाचार प्रसारण गरिएन र मध्यम आदरमा प्रसारण गरियो भने त्यो समाचारको भाषा अनौपचारिक हुन्छ । किनभने अनौपचारिक भाषामा कि आदरहरू मिश्रित पनि हुन्छन् । यसमा आदररहित शैली पनि प्रयोग भएको देखिन्छ । एकात्मक वा मिश्रित शैली नेपाली बोलीचालीको सामाजिक विशेषता हो । भाषिक समुदायका वक्तामा यो विशेषताको अन्तर्घुलन हुन्छ । यो अन्तर्घुलनबाट भाषिक समुदायका समाचार लेखक, समाचार वाचक, सम्पादक र अन्तर्वार्ताकारसमेत पृथक हुँदैनन् । औपचारिक कार्यक्रममा बोलिएको उच्च आदरको भाषाशैली मध्यम आदरमा मात्र होइन, मिश्रित आदर अन्तर्घुलन भएर समाचार आउनुलाई अनौपचारिक भाषा मानिन्छ  ।
दोस्रो व्याकरिणक दृष्टिले समाचारमा देखिने मध्यम आदरलाई हेरौँ । सामान्यतः असल आचरण, स्वभाव र कार्य गर्ने व्यक्ति र जुनसुकै पदमा आसिन व्यतिm वा सामान्य व्यक्तिका निम्ति उच्च आदरको प्रयोग हुन्छ । झन् प्रजातान्त्रिक व्यवस्थामा व्याकरिणक दृष्टिले पनि भाषाभित्र समानता जनाउन उच्च आदरको प्रयोग आवश्यक ठानिन्छ । तर, केही प्रकाशन र प्रसारणले उच्च आदरको प्रयोगबाट समानता जनाउन चाहेको पाइन्न । मध्यम आदरलाई औपचारिकता र समानता जनाउने शैली बनाउन खोजेको पाइन्छ । यो व्याकरणिक दृष्टिले प्रयोगमा असमान र अनौपचारिक हुन पुगेको छ । सभा–समारोहमा प्रयुक्त उच्च आदरका औपचारिक भाषामा लिङ्ग व्यवस्था हुन्न तर प्रकाशन र प्रसारणको भाषाको मध्यम आदरका भाषामा लिङ्ग व्यवस्था हुन्छ । व्याकरणले औपचारिक भाषाभित्र राष्ट्रपति, मन्त्री, सभामुख, उपसभामुख, अध्यक्ष, वकिल, शिक्षक, प्राध्यापक, पत्रकार आदिको लिङ्गलाई स्त्रीलिङ्ग र पुलिङ्ग भनेर चिन्दैन । अर्थात् व्याकरणले औपचारिक भाषाको प्रयोग गर्दा यस्ता नामसँग लिङ्ग नछुट्टिने क्रियापदको प्रयोग गर्छ । अनौपचारिक भाषाको प्रयोग गर्दा व्याकरणले यस्ता शब्दको लिङ्ग चिन्दछ । समाचारमा लिङ्ग छुट्टिने भाषाशैलीको प्रयोग व्याकरणिक दृष्टिले
औपचारिक मानिन्न ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्राध्यापक, वकिल, सचिव आदि पदको पछाडि व्यक्तिवाचक नाम राखेर पनि समाचारमा मध्यम आदर प्रयोग गरिएको देखिन्छ । यस्ता व्यक्तिवाचक नाममा मध्यम आदरको प्रयोग गर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्राध्यापकजस्ता औपचारिक पद गौण बनेका हुन्छन् । गौण नहुँदा यस्ता व्यक्तिवाचक नाम टाँसिए पनि उल्लिखित पदहरू स्त्रीलिङ्गी वा पुलिङ्गी हुन्नन् । औपचारिक भाषामा व्याकरणले राष्ट्रपति र मन्त्रीजस्ता आदरार्थी पदको मात्र होइन, व्यक्तिवाचक नामको पनि लिङ्ग चिन्दैन ।
तेस्रो संवैधानिक दृष्टिले मध्यम आदरको प्रयोग हेरौँ । नेपालको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा हुनेछ भनिएको छ । यसको धारा १८ को उपधारा २ र ३ मा कानुनको प्रयोगमा लिङ्गका आधारमा भेदभाव गरिने छैनसमेत भनिएको छ । तर समाचार, सम्पादकीय र अन्तर्वार्ता आदि स्तम्भ र विद्युतीय कार्यक्रममा लिङ्गका आधारमा पुरुष र महिलाबीच भेदभावयुक्त अर्थात् असमान क्रियापद प्रयोग गरेको देखिन्छ  । त्यसैले औपचारिक भाषा उपयोग गर्नुपर्ने समाचार, अन्य स्तम्भ र कार्यक्रमका भाषामा अनौपचारिक भाषा प्रयोग गर्दा संवैधानिक दृष्टिले मौलिक हक उल्लङ्घन भएको छ । अर्थात् व्याकरणले लिङ्ग चिन्न सक्ने मध्यम आदरमा औपचारिक समाचार सम्प्रेषण गर्दा यो मौलिक हक उल्लङ्घन हुन पुगेको छ ।
चौथो लैङ्गिक आधारमा मध्यम आदरको प्रयोग हेर्न सकिन्छ । यहाँ लैङ्गिक भनेर महिला र पुरुषलाई भनिएको हो । औपचारिक प्रयोगमा नारी र पुरुष छुट्टिने अभिव्यक्ति लैङ्गिक दृष्टिबाट उपयुक्त मानिन्न । लैङ्गिक दृष्टिले उपयुक्त मानिने औपचारिक समाचार उच्च आदरबाट प्रसारण गर्न सकिन्छ । तर, अहिले मध्यम आदरलाई औपचारिक बनाउन खोज्दा समाचार प्रसारणको भाषाले नारी र पुरुषमा विभेद देखाएको छ । अनौपचारिक प्रयोगमा नेपाली भाषाले यस्तो विभेद देखाउन सक्छ तर औपचारिक भाषिक प्रयोगमा नेपाली भाषाको व्याकरणले लैङ्गिक विभेद देखाउँदैन । त्यसकारण समाचार प्रसारणको औपचारिक अभिव्यक्तिमा लैङ्गिक समानता देखाउन छोडेर लैङ्गिक असमानता देखाउनु प्रजातान्त्रिक र शिक्षित समाजले गौरव गर्ने विषय होइन ।
उल्लिखित विश्लेषणअनुसार समाचार प्रकाशन र प्रसारणमा विभिन्न वाक्य लेखिएका र बोलिएका सुनिन्छन् । किन यस्तो हुन्छ भने प्रसारण र प्रकाशन गृहमा काम गर्नेमाथि नेपाली सामाजिक भाषिक विशेषता प्रकाशन र प्रसारण गृहको दबाब परिरहेको हुन्छ । यहाँ स्थापित पत्रिकाको नाम उल्लेख नगरीकन साङ्केतिक रूपमा यस्ता उदाहरण उद्धृत गरिएका छन् । जस्तै ः
(क) राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको सुरुवात गरेकी हुन् । राष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् ।
(ख) संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समृद्धिको आधार भ्रमण वर्ष रहेको बताए । उनले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।
(ग) नेपाली काँगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँदिल्ली प्रस्थान गरेका छन् । थप उपचारका लागि नयाँदिल्ली जानुभएको उहाँका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
माथिका (क) देखि ‘ग’ सम्मका उदाहरणमा सङ्गति सापेक्ष अनौपचारिक भाषाका वाक्य छन् । किनभने औपचारिक भाषाका वाक्यमा कर्ता र क्रियापदबीच लिङ्ग सङ्गति निरपेक्ष हुन्छ । यी उदाहरणहरूमध्ये नम्बर ‘ग’ मा मध्यम आदर र उच्च आदर (उहाँ) मिश्रित प्रयोग देख्न सकिन्छ । यहाँ राष्ट्रपतिलाई स्त्रीलिङ्ग, मन्त्री र वरिष्ठ नेतालाई पुलिङ्ग बनाइएको छ, जब कि नेपाली व्याकरणले यस्ता शब्दहरूलाई पुलिङ्ग वा स्त्रीलिङ्ग भनेर चिन्दैन । यिनका पछाडि मानवीय लिङ्ग बुझाउने व्यक्तिवाचक नाम छन् तर अनौपचारिक प्रयोगमा मात्र व्याकरणले पुलिङ्गी र स्त्रीङ्लिगी क्रियापद चिन्छ ।
उदाहरणमा प्रयुक्त भाषाप्रति वर्तमान नेपालको संविधानको धारा १८ आकर्षित भएको छ । यहाँ देवनागरी लिपिमा लेखिएका माथिका ‘क’ मा स्त्रीलिङ्गका आधारमा तथा ‘ख’ र ‘ग’ मा
पुलिङ्गका आधारमा भेदभाव जनाउने अलग–अलग भाषिक क्रियापद प्रयुक्त छन् । यी उदाहरणलाई लैङ्गिक दृष्टिले पनि हेर्न सकिन्छ । यस दृष्टिले नारी र पुरुष दुवैलाई समान भाषा प्रयोग गर्नुपर्ने आग्रह राख्छ । अहिलेको औपचारिक जगत्मा पुरुष र नारी जनाउने अलग–अलग शब्दहरू बहिष्कृत हुँदै गएका छन् । तर, माथिका उदाहरणमा नारीलाई छुट्टै र पुरुषलाई छुट्टै क्रियापद प्रयोग भएका छन् । तसर्थ, यस्तो मध्यम आदरको प्रयोगले लैङ्गिक वा नारीवादी दृष्टिकोणलाई सम्मानसमेत गर्न सकेको देखिन्न ।
(लेखक प्राध्यापन पेसामा संलग्न हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?