कमल सुवेदी
आधा शताब्दीभन्दा पनि छोटो जीवन बँचाइरह्यो शङ्कर लामिछानेको यस धर्तीमा । औसत रूपमा १५ वर्षसम्मको अवस्थिति विशेष अपवादबाहेक केटौली अवस्था हो र यो १५ वर्ष कटाउँदा उहाँले ३३ वर्ष सार्वजनिक जीवन बाँच्नुभएछ निजी जीवनका अतिरिक्त । काठमाडौँको जैसिदेवलमा विक्रम संवत् १९८४ मा जन्मनुभएका लामिछाने विसं २०३२ माघ २४ गते बित्नुभयो । औपचारिक अध्ययन आईएस्सीमात्र मात्र रह्यो उहाँको किनकि विज्ञानका नीरस सूत्रहरूसित उहाँको लगाव पटक्कै रहेन, उहाँ त उन्मुक्त भएर जीवन र दर्शनको पत्रपत्र र केस्राकेस्रा उधिन्न चाहनुहुन्थ्यो । अम्बर गुरुङका अभिन्न अभियन्ता शङ्कर दर्शनमा जति निर्लिप्त हुनुहुन्थ्यो जीवन र गार्हस्थ व्यवहारमा त्यत्तिकै असफल । घरेलु शिल्पकलाको जागिरबाट पलायन, जनसेवा सिनेमाको मेनेजर, क्युरियो पसले, तथा शङ्कर ट्राभल्स एन्ड टुर्सका प्रबन्धक आदि के हुनुभएन शङ्कर ? सबै भए तर स्थायित्व कतै पनि रहेन । स्थायित्ययुक्त पात्र त उहाँ हुनुभयो, जीवन दर्शनको पत्रपत्र केलाउने निबन्धकार– एब्स्ट्राक्ट लेखक र लेखनभित्र जीवन खोज्ने एब्स्ट्राक्ट कलाकार ।
निबन्धमा पाँच थान कृति पस्कनुभयो शङ्करले– एब्स्टाक्ट चिन्तन प्याज (२०२४), गोधूलि संसार (२०२७), विम्बप्रतिविम्ब (२०२८) लगायत अन्य । कथामा गौँथलीको गुँडमा नै चित्त बुझाउनुभयो । जीवन दर्शन, राजनीति, विज्ञान तथा इतिहास र संस्कृतिलाई मूल विषय बनाएर लेख्ने शङ्करले विविधताहरू थुप्रै पस्कनुभयो तर उहाँको अमूर्तताभित्रको जीवन दर्शन पूर्णतः लोकप्रिय रह्यो ।
जीवनका उतारचढावहरूलाई वैयक्तिकता दिएर प्रयोगधर्मितालाई नवीन सोचका रूपमा प्रयोग गर्ने लामिछानेको मसिना विषयहरूलाई विशिष्ट प्रस्तुतिद्वारा शब्द बुन्ने शैली बडो ईष्र्यालाग्दो छ । सूत्रबद्ध लेखनभित्र चेतनप्रवाह बगाउँदै विचार तर्क र चिन्तनलाई एकत्रित गरी भावनामा पोख्ने लामिछानेले देवकोटा र भैरवका अतिरिक्त नेपाली निबन्धमा शङ्कर प्रवृत्तिको स्थापना गर्नुभएको छ भन्दा अत्युक्ति हुँदैन ।
जीवन गोधूलि क्षणको वास्तविकता हो भन्ने गोधूलि संसारको केन्द्रीय भाव र जीवन अनेक भोगाइमा यत्रतत्र पत्रपत्र समाहित भएको हुन्छ भन्ने एब्स्ट्राक्ट चिन्तन प्याज निबन्धले शङ्करलाई ‘माइलस्टोन’ लेखक बनायो । भावक अभियानका अभियन्ता प्रकाश सायमीले उहाँलाई निबन्ध शिरोमणि बनाए पनि नबनाए पनि शङ्कर आफैँ भन्नुहुन्थ्यो– मेरो लेखन आजभन्दा ५० वर्षपछिका लागि हुनेछ भनेर । ग्यालरीमा एक दिन, आभा गार्देको सौन्दर्यशास्त्र, अपोलो आठ र साहित्य तथा औपन्यासिक पात्र जीवनको खोजीजस्ता निबन्ध रचनाले यसको पुष्टि पनि गरेको देखिन्छ । आज मुलुकको लम्बिँदो सङ्क्रमणकाल तथा दिन र रातबीचको गोधूलि संसारलाई नकारात्मक अर्थमा पर्गेल्दा उस्तै–उस्तै लाग्छन् । उहाँको यो निबन्धको रचनाकाल र आजको मुलुकको सन्दर्भका बीच कत्तिको तारतम्य मिल्न पुगेको छ त्यो सोचनीय छ । यसरी हेर्दा उहाँ सुदूरभविष्यद्रष्टा लेखकका रूपमा समेत रहेको प्रमाणित हुन्छ ।
राजनीति छैन शङ्करका निबन्धमा तर राजनीतिले पैदा गरेका असङ्गतिहरू त्यहाँ व्याप्त छन् । बौद्धिकताको गहिराइ छोएका उहाँका रचनामा प्रयोगवादलाई प्रविष्टि दिएपछि नै हाम्रो निबन्धले सीमित घेराबाट मुक्ति पाएको हो । अमूर्त चिन्तनलाई जीवनका यावत् पक्षसित समन्वय गर्ने उनको दर्शनले जीवन भन्नु विविधताको समष्टिगत रूप ठान्छ । कुनै अन्य सर्जकको जीवन र सिर्जनामाथि विचार पस्केर निबन्ध लेख्ने प्रथम प्रयोक्ता पनि लामिछाने नै हुनुहुन्छ । यो उहाँको अर्काे चिनारी हो । भूपी तथा रिमालको काव्यिक “आइकन” रहेझैँ निबन्धका एउटा ‘टे«न्ड सेटर’ शङ्कर विसं २०१८ सालदेखि नै निबन्धमा प्रवेश गर्नुभयोे ।
जीवन वृत्तका विविध अनुभवहरूलाई आफ्नो लेखनीमा उन्दै जीवनको सार्थकता खोज्नुलाई आफ्नो आनन्दको क्षण ठान्नुभयो । एब्स्ट्राक्ट चिन्तन प्याजले मदन पुरस्कार आफ्नो पोल्टामा पारेपछि उहाँको ख्याति अझ चुलियो तर पारिवारिकलगायत अन्य थुप्रै कारणले निधनको २८ वर्षपछि मात्र उहाँका बाँकी निबन्धहरूको सङ्ग्रह निस्कन सक्यो शङ्कर लामिछानेका निबन्धहरू शीर्षकमा शिव रेग्मीको सम्पादनमा । यो पनि त एउटा विडम्बना नै हो ।
जीवन जति नै बहुआयामिक र सकसपूर्ण छ– शङ्करका निबन्धहरू त्यस्तै बहुअर्थी छन् । गौँथलीको गुँड कथासङ्ग्रह निकाल्नुभयो उहाँले, त्यहाँ पनि नैबन्धिक शैलीको पूरापूर प्रत्यारोपण गर्नुभएको छ । विज्ञानलाई साहित्यमा प्रयोग गर्नुभयो उहाँले– त्यसो त विज्ञान साहित्यका प्रथम प्रयोक्ता पनि उनी नै हुन् । भीमदर्शन रोक्काका प्रशंसक शङ्करले चोरीको आरोप पनि सहनुप¥यो, त्यसमा सत्यता छ छैन, त्यो जाँचकी र विश्व साहित्यका ज्ञाताहरूले बताउलान् तर यो अवश्य भन्न सकिन्छ शङ्कर ५० वर्षअघि जन्मनुचाहिँ उहाँका लागि अभिशाप नै रहेछ । किनकि आज लेख्नु र लेखिनुपर्ने कुरा उहाँले ५० वर्षअघि नै लेख्नुप¥यो ।
शङ्कर–देवकोटा–भैरव नेपाली निबन्धका त्रिमूर्ति नै यिनै हुन् । अम्बर गुरुङ्लाई पात्र बनाएर निबन्ध लेख्दा अम्बर कालिम्पोङमै हुनुहुन्थ्यो– आज अम्बर हाम्रो सङ्गीतको सर्वाेच्च स्थानमा त हुनुहुन्छ, राष्ट्रले दिएको त्यो क्षेत्रको सर्वाेच्च जिम्मेवारीमा पनि हुनुहुन्छ । वाङ्देललाई पनि पात्र बनाएर लेख्नुभयो उहाँले– वाङ्देल पनि अम्बरकै झैँ सम्मान पाई दिवङ्गत हुनुभयो । एब्स्ट्राक्ट चिन्तन प्याजमा वाङ्देललाई पात्रीकरण गर्दा शङ्करको पनि केही धोको त थियो नै होला तर क्रूर समयको नियतिका कारण आधा शताब्दी नै नपुगी उहाँको भौतिक चोला उठ्यो र नेपाली निबन्धको एउटा युगको पटाक्षेप भयो ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)