पुरु रिसाल
दुर्गानाथ शर्मा आवाजका धनी र राम्रा विश्लेषक हुनुहुन्थ्यो । उहाँले पत्रकारिता गोरखापत्रमा प्रारम्भ गरे पनि पछि नेपाल टेलिभिज दृश्य माध्यममा पनि आफूलाई स्थापित गर्नुभयो । यहाँ उहाँको अर्को पाटो– भिडियो (वृत्तचित्र) निर्माण पक्षसामु पु¥याएको योगदानको चर्चा गर्ने जमर्को गरिएको छ ।
दुर्गानाथ, गोपाल चित्रकार र म एकताका गोरखापत्रमा सँगै काम गर्दथ्यौँ । हाम्रो मित्रता साह्रै गहिरो थियो । हामीलाई गुट गरेको भन्नेहरू पनि थिए तर त्यसले हामीलाई कुनै असर पर्दैनथ्यो । त्यो मित्रता हामीले एकसाथ अगाडि बढाउँदै जाँदा भिडियो बनाउने काममा लगायौँ । २०३९ सालतिर हेटौँडामा सिमेन्ट कारखाना बन्ने भयो । त्यसका महाप्रबन्धक रवीन्द्र रिमालसँग मेरो परिचय थियो र मैले उद्योगको शिलान्यासदेखि उद्घाटनसम्मको दृश्य चित्र बनाउने प्रस्ताव गरे । उहाँले सहजै स्वीकार गर्नुभयो । त्यसका लागि दुर्गा र गोपालसँग सल्लाह गरेर तीनजनाले भेट ग¥यौँ । दुर्गाजीको स्वर, गोपालको फोटोग्राफी, मेरो जनसम्पर्क र स्क्रीप्ट लेख्ने साझा प्रयासमा खोजेजस्तो भिडियो तयार गर्ने विश्वासमा हेटौँडा सिमेन्ट कारखानाको प्रारम्भदेखि नै भिडियोग्राफी थाल्यौँ । त्यतिखेर बारम्बार हेटौँडा जानुपथ्र्यो गोपालको घर ठिमी गठ्ठाघरमा थियो । अहिलेजस्तो बाक्लो बस्ती थिएन । एकपटक हेटौँडा जाँदा गोपालले रवीन्द्रजीको क्वार्टरमा पालिएको राम्रै जातको कुकुर लैजान पाए हुन्थ्यो भन्ने चाहना राख्दा रवीद्रजीले सजिलै स्वीकार गरेर कुकुर पठाइदिनुभयो । त्यसपछि गोपाललाई घरको सुरक्षाको चिन्ता हरायो । भिडियोको सम्पादन गर्ने स्टुडियो गोपालको पुस्तौली घर बागबजारको नजिकै थियो । सम्पादन गर्ने समय रात परेपछि मात्र मिल्थ्यो । राति अबेरसम्म दृश्य सम्पादन गर्न गोपाल एकनास सक्रिय रहनुहुन्थ्यो भने त्यसमा मिल्दो स्वर दिन दुर्गा एकनास लागि रहने गर्नुहुन्थ्यो । सामान्यत रातको काममा म उम्कन्थे ।
सिमेन्ट कारखानाको भिडियोले हामीलाई पछि थुप्रै त्यस्ता काम दियो । २०४२ साल पञ्चायती स्थापनाको २५ वर्षको अवसरमा सरकारले रजतजयन्ती मनाउने निर्णय ग¥यो । नेपाल टेलिभिजन भर्खर प्रसारणमा आएको थियो । पञ्चायत रजतजयन्ती पारेर सरकारी र अर्धसरकारी निकाय वृत्तचित्र बनाएर प्रसारण गर्न तँछाडमछाड गर्दै थिए तर भिडियोग्राफी गर्ने समुदायका मै थिए । हामी तीनजनाको समूह वृत्तचित्र निर्माणमा अगुवा नै थियो । गोपालको भिडियोग्राफी उत्कृष्ट मानिन्थ्यो भने दुर्गाको स्वरको कदर हुन्थ्यो । हेटौँडा सिमेन्ट कारखानाको शब्द रचना मैले गरेको थिए । त्यसको पहिलो दृश्यमा दुईटा केटाकेटी साना साना ढुङ्गा लिएर गट्टा खेलिरहेका हुन्थे, दृश्य बदलिएर दुईटा इन्जिनियर हातमा ढुङ्गा लिएर छलफल गर्दै देखाइयो । अनि शब्द रचना थियो– केटाकेटीको हातमा खेलौना बनेको ढुङ्गा इन्जिनियरको हातमा पुगेपछि सिमेन्ट बन्छ । पछि यो सुरुवातले नै अरूबाट वृत्तचित्र बनाउने काम बढ्दै गयो । त्यतिखेरका वाणिज्य विभागका निर्देशक
(महानिर्देशकको पद सिर्जना भएको थिएन) दामोदर गौतमले बनाउने टीम नपाएको रहेछ । तर, दुर्गानाथको स्वरमा प्रभावित रहेछन् । मेरो चिनजान उहाँसँग थियो, भेट्न नपाउँदै उहाँले वृृत्तचित्र बनाउने जिम्मा दिनुभयो । अपेक्षाकृत दुर्गा र गोपाल काममा बढी खटिनुहुन्थ्यो, म काम ठग्थे भनौँ । दुईजनाको निरन्तर प्रयासले वृत्तचित्र समयमा तयार भयो र नेपाल टेलिभिजनबाट प्रसारित भयो ।
हामीले ४० हजारको अपेक्षा गरेका थियौँ– उहाँले समयमा राम्रो काम भयो भनेर बजेटमा छुट्याएको रकम ६० हजार हामीलाई दिन लेखामा अ¥हाउनुभयो । लेखा त्यस्तै न हो– धेरै दिन अलमल्याएपछि एकाउन्टेन्टको नियत बुझेर गोपालले एउटा चाँदीको करुवा उपहार दिएर रकम निकाल्नुभयो । त्यसरी दुर्गानाथको वृत्तचित्र निर्माणको पाटो राम्ररी उजागर हुन्छ । त्यसैले दुर्गानाथका बारेमा चर्चा गर्दा छापा पत्रकार, रेडियो पत्रकार र टेलिभिजन पत्रकारभन्दा भिन्दैको क्षेत्र वृत्तचित्र पनि मौलिक योगदानभित्र पर्दछ ।
दुर्गानाथको सञ्चार क्षेत्रको योगदानबाहेक सहयोग र सहृदयी अर्को पक्ष पनि विशेष उल्लेखनीय छ । मलाई पनि धेरै सहयोग प्राप्त भएको छ– दुर्गाजीबाट । म एकताका थापाथलीमा एउटा कोठा भाडामा लिएर बसेको थिएँ । दुर्गाको डेरा पनि बाग्मती पुलको उत्तरतर्फ माइला दाइकोमा थियो । आतेजाते हँुदै गर्दा एक दिन दुर्गाकी श्रीमती अम्बुले दाइ एक्लै बस्नुहुन्छ खाना असजिलो होला– खाना खान यही आउनुहोस् न भन्दा दुर्गाजीले मैले यसबारे सोचिन छु भन्नुभयो । पछि मेरो नियमित खाना दुर्गाजीकोमा भयो ।
खानाको खर्चबारे कहिल्यै कुरा उठेन, मेरो विवेकले जे देख्दथ्यो त्यही दिन्थे, सायद पर्याप्त थिएन होला । थापाथलीकै सङ्गतको क्रममा दुर्गाजीको ससुरा इतिहासका विद्वान् ढुण्डीराज भण्डारीसँग चिनजान भयो । समयसन्दर्भमा भण्डारीजी तत्कालीन जाँचबुझ आयोगको सदस्य हुनुभयो– उहाँले ताप्लेजुङसम्मको भ्रमण गरेर त्यहाँबाट राष्ट्रिय पञ्चायतको सदस्य रहेका विजय थेबेको सट्टा अर्के उचित व्यक्ति छनोट गर्नु थियो, दरबारले जसलाई जिताउन खोज्ने उसैले जित्ने निश्चित थियो । ताप्लेजुङमा प्रभावशाली अर्का नेता हुनुहुन्थ्यो– सूर्यमान गुरुङ । तर, उहाँले काँगे्रसप्रतिको सद्भावना छाडेर पञ्चायतमा प्रवेश गर्न अस्वीकार गर्नुभयो र विष्णु मादेन, विजय थेबे, विकल्पमा आउनुभयो ।
त्यस भ्रमणमा बुवा (म बुवा भनी बोलाउँथे) भण्डारीले मलाई साथ लिएर जानुभयो, दुर्गानाथकै सिफारिसमा । मैले पूर्वी नेपाल बुझ्ने मौका पाएँ । यसका कारण दुर्गानाथ नै हुनुहुन्थ्यो । साह्रै नजिकको सम्बन्धमा हामी थियौँ– पारिवारिक सम्बन्ध । अम्बुले मलाई दाजुकै स्नेह दिएर सम्मानपूर्ण व्यवहार गर्नुहुन्छ । एउटा असल मित्र हितैषी र आफन्तको निधनको पीडा सहनै गाह्रो हुने रहेछ । दुर्गानाथका दुई न उघ्रिएका विषय–वृत्तचित्र निर्माणमा अगुवाइ र सहयोगमा पछि न हट्ने व्यवहार यही हो ।
(लेखक पत्रकार हुनुहुन्छ ।)