कान्ति सुवेदी
काठमाडौँ उपत्यका देशको राजधानी, पूर्वजले निर्माण गरेका गौरवमय संस्कृति तथा सम्पदाको धरोहर पनि हो । कुल ५७० वर्गकिलोमिटरको क्षेत्रफलमा फैलिएको यो उपत्यका प्राचीनकालमा हरियाली तथा उर्वर भूमिका रुपमा प्रख्यात थियो ।
सर्वप्रथम गोपालवंशीहरूले काठमाडौँमा राज्य गरेका थिए । उनीहरूलाई महिषपालवंशीले युद्धमा पराजित गरेर शासन गरेका थिए । त्यसपछि पनि उपत्यकामा विभिन्न वंशले शासन गरेका थिए । त्यसमध्येको मल्लकाललाई कला र संस्कृतिका हिसाबले स्वर्णयुग नै मानिन्छ । त्यसबेला यहाँ धेरै देवी देवताको मन्दिरको निर्माण अत्यन्त कलात्मक तरिकाले भएको थियो । आफ्नै मौलिकता झल्कने कलाकृतिका रुपमा निर्माण गरिएका ती मन्दिरहरू आकर्षक मात्र नभएर सुन्दर पनि थिए । अहिले जति पनि विदेशी पर्यटक नेपाल आउँछन् ती सबैले यी प्राचीन धरोहरको अवलोकन गरेकै हुन्छन् । यहाँ मनाइने विभिन्न जात्रा, चाडपर्व र रीतिथितिलाई लिएर विज्ञले यस क्षेत्रलाई खुला सांस्कृतिक सङ्ग्रहालय पनि भन्ने गरेका छन् ।
आजभोलि यही ऐतिहासिक उपत्यका दिनपर दिन कुरुप र अव्यवस्थित बन्दै गएको छ । काठमाडौँ सहरको विभिन्न ठाउँमा “हाम्रो काठमाडौँ सुन्दर काठमाडौँ” भनेर लेखिएका बोर्ड देखिए पनि यो भनाइ भने नारामै सीमित छ । महानगरले पनि ठूलाठूला कुरा सुनाउने तर सहर सुन्दर बनाउन चाहिने न्यूनतम काम पनि नभइरहेको देखिन्छ ।
अलिकति ठूलो पानी पर्नेबित्तिकै सहरका कतिपय स्थान डुबानमा पर्छन्, नगरवासीले आवतजावतको कठिनाइ भोग्नुपर्दछ । प्लास्टिकजन्य पदार्थ प्रयोग गरी जथाभावी फाल्नाले वातावरण प्रदूषित भइरहेको छ । सहरी क्षेत्र भएर बग्ने नदीे यही प्लास्टिकजन्य वस्तुका कारण अति दुर्गन्धित भएका छन् । प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने वातावरण मन्त्रालयको ठूलो बजेटको कार्यक्रम प्रभावकारी हुुन सकेको छैन । यसका लागि प्रयोग निरुत्साहित गर्नेभन्दा प्रतिबन्ध नै लगाउँदा प्रभावकारी हुन्छ ।
काठमाडांँका कैयौँ सडकको अवस्था यति दयनीय छ कि पानी पर्दा हिलो र घाम लाग्दा धुलाम्मे हुन्छ । कालोपत्रे गरिएको हो कि होइन ? छुट्याउनै मुस्किल पर्दछ । सडकको यस्तो दुरवस्था हुनुको मुख्य कारण, जताततै जोडिएका तर पक्की नगरिएका सहायक बाटो हुु्नाले नै हो । यी बाटोबाट आएका सवारी साधनको चक्कामा टाँसिएर आएको हिलो माटो पक्की सडकमा जम्मा हुँदा धुलोको मात्रा बढाएको हो । सहरका कतिपय ठाउँमा वर्षातको पानी घरको छतबाट सीधै तल सडकमा खसालिएका कारणले पैदलयात्रीलाई असुविधा भएको छ । पसल घर सफा गरेर सडकमा ल्याएर फोहोर फाल्ने प्रवृत्तिले पनि सडक फोहोर भएको छ । आत्मकेन्द्रित यस्तो सोचाइले पनि सडक जस्ता सामुदायिक संरचना खराब हुन पुगेका छन् । नागरिकहरूमा सुविधा उपभोग गर्ने तर जिम्मेवार नहुने यस्तो चरित्रमा सुधार हुनु जरुरी छ ।
आजकल कुकुर पाल्ने सौख पनि मानिसमा बढ्दै गएको छ । यो राम्रो हो ः कुकुरले घरको सुरक्षा र साथीको काम गर्दछ तर कुकुरलाई सडकमा ल्याएर मल–मूत्र त्याग गराउने चाहिँ एकदमै नराम्रो कार्य हो । विदेशमा यस्तो काम दण्डनीय हुन्छ तर हामीकहाँ धनीमानीको रवाफजस्तो भएको छ, कुनै सङ्कोच छैन । हालै मात्र महानगरले कुकुरको फोहोरको व्यवस्थापन कुकुरधनी आफैँले गर्नुपर्ने, सडकमा ल्याएर गराउन नपाइने भनी परिपत्र गरेको छ । क्षति हुन्छ कि भन्ने डरको कारण मात्र कानुन पालना गर्ने समाजमा अटेरीलाई दण्डित गर्न नसक्ने हो भने परिपत्र मात्रैले केही गर्न सक्दैन ।
सहरलाई फोहोर र दुर्गन्धित बनाउन पैदलयात्रीको व्यवहार पनि जिम्मेवार छ ः खानेकुरा खाएपछि काममा नआउने खोल, बट्टा, बोतललगायतका अवशेष सडक पेटीमा यत्रतत्र फालिएको देखिन्छ । स्वास्थ्यका लागि हानिकारक चुरोट, खैनी, गुट्का जस्ता चिज जहाँ पनि किन्न पाउने भएकाले पनि यस्ता वस्तुको खोल सर्वत्र छरिएको देखिन्छ । त्यस्तै देख्दा सभ्यजस्तै लाग्ने व्यक्तिले पनि सडकमा सिँगान खकार फाल्न धक मानेको देखिँदैन । यस्ता गतिविधि नियन्त्रणका लागि चेतनामूलक सन्देशहरू राख्नुपर्दछ । सहरलार्ई कुरुप बनाउने जतासुकै फुटपाथको उपयोग गर्न खुलेका पसल पनि हुन् । फुटपाथ पैदलयात्रीका लागि मात्र हो, त्यसकारण यस्ता पसललाई हटाउनुपर्दछ ।
बाटो काट्न बनेका आकासे पुलहरूमा पनि पसल नै राखेर बसेको देखिन्छ जसले गर्दा पैदलयात्रीलाई हिँड्न असुविधा भएको छ । महानगरले यसमा विशेष ध्यान दिनुपर्दछ । उसले फुटपाथमा पसल राख्नेलाई कारबाही त गर्दै आएको छ तापनि अाँखा छलेर पसल फैलाउने आदतमा भने कमी आएको छैन । त्यस्तै साना ठूला जस्ता पसल पनि विना दर्ता खोल्न नपाइने नियम कडाइका साथमा लागू गर्नुपर्दछ । दर्तालाई खाली राजस्व तिर्ने विषय मात्र बनाउनु हँुदैन दर्ताका मापदण्ड जनस्वास्थ्य अनुकूल तोक्ने र त्यसको अनुगमन गर्ने काम पनि गर्नुपर्दछ । घरैपिच्छे पसल खोल्ने अनि पसलबाट निस्केको फोहोर लगेर सडकमा थुपार्ने प्रवृत्तिले सहरी बासिन्दालाई किनमेलमा सुविधा त भएको छ तर सहर फोहोर भएको छ । अझ कतिपय ग्राहक त पसलबाट खानेकुरा किनेर खाने अनि खोल निर्धक्क बाटोमा फाल्ने पनि गर्दछन् । त्यस्ता ग्राहकको व्यवहारमा पनि सुधार गर्नुपर्दछ । विश्वमा जहाँ पनि राजधानी सहर मह‘गो हुन्छ । राजधानीमा जस्तोसुकै हैसियतको मानिस टिक्न सक्ने हुँदैन । यसबाट सहरी जनसङ्ख्या स्वतः नियन्त्रण भएको हुन्छ तर काठमाडौँ सहर व्यवस्थित हुन नसकेको कारण जुनसुकै हैसियतका मानिस अटाएका छन् । सानो ठाउँमा धेरै मानिस बस्ने, नदी किनारलगायतका जहाँसुकैका खाली सार्वजनिक ठाउँमा टहरा ठड्याएर बस्ने आदि कारणले यो दिनप्रतिदिन कुरुप र प्रदुषित बन्दै गएको छ ।
सहरलाई अव्यवस्थित र फोहोर बनाउने सडक पेटीमा छरपस्ट अवस्थामा रहेका निर्माण सामग्री पनि हुन् । सडक सार्वजनिक सम्पत्ति हो । यसलाई व्यक्तिगतजस्तो प्रयोग गर्न मिल्दैन । सडकमा निर्माण सामग्री धेरैबेर राख्न हुँदैन । कुनै पनि संरचना निर्माण गर्दा निस्कने फोहोर वस्तुको व्यवस्थापन गर्ने दायित्व निर्माणकर्ताको नै हुन्छ । सडक छेउमा घर बनाउने अनि निर्माणको क्रममा निस्केको फोहोरलाई लगेर सडक छेउमा थुपार्ने कार्यलाई दण्डनीय बनाउनुपर्दछ ।
काठमाडौँ सहरलाई बिजुली, टेलिफोन तथा केबलका तारले पनि कुरुप बनाएका छन् । पोलैपिच्छे देखिने तारको गुजुल्टो तिलस्मी मात्र छैनन्, भद्दापनका पर्याय पनि भएका छन् । गैरजिम्मेवारीपनका कारण सडकमा लत्रिएका तार दुर्घटनाको कारण पनि भएका छन् । कतिपय ठाउँमा बिजुलीका पोल ढल्किएका, मक्किएका, खिइएको अवस्थामा छन् तर त्यसको मर्मतसम्भारको काम लामो समयसम्म पनि भएको देखिँदैन । तार र पोलहरूको उचित व्यवस्थापन अति नै आवश्यक छ ।
यो जमानामा पनि काठमाडौँ सहरका कतिपय फुटपाथ तथा आकासे पुलमा मानव मलमूत्र देख्नुपर्दछ । भएका सार्वजनिक शौचालयको अवस्था पनि ठीक छैन । यो अति नै लज्जास्पद विषय हो । यसको समाधानका लागि भनेको ठाउँ ठाउँमा सार्वजनिक शौचालयको व्यवस्था हुनुपर्दछ । शौचालय बनाएर मात्र पनि हुँदैन त्यसको उचित र नियमित सरसफाइमा पनि विशेष ध्यान दिनुपर्दछ । यसका लागि न्यूनतम शुल्क उठाउनु अन्यथा हुँदैन । सहर सफासुग्घर राख्न नागरिकमा जिम्मेवारी बोध हुनु जरुरी छ । अरूले सफा गर्ने हो, मैले होइन भन्ने धारणा रहेसम्म सहर सफा हुनैसक्दैन । नागरिकमा जिम्मेवारीको बोध गराउन जनचेतनामूलका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसका लागि सामाजिक सङ्घ सस्थालाई परिचालन गर्न सकिन्छ ।
(लेखक सामाजिक शिक्षक हुनुहुन्छ ।)