logo
२०८१ मंसिर १२ बुधवार



टुँडिखेलका घोडचढी

विचार/दृष्टिकोण |




जीवनाथ धमला

अधिकांश राणा प्रधानमन्त्रीहरूले आम नागरिकका हित रक्षार्थभन्दा आफ्नै शासकीय शक्ति टिकाउन र भौतिक सम्पन्नता आर्जनका लागि आ–आफ्नो समय र सामथ्र्यको प्रयोग गरे । एक शताब्दीभन्दा लामो जहानियाँतन्त्रको नेतृत्वमा रहँदा उनीहरूले गरेका केही कार्य देशका लागि स्मरणीय रहेका पनि पाइन्छन् । सालिकले व्यक्तिको कर्म अनि उसले भोगेको समयलाई स्मरण गराउँछ । टुँडिखेलमा स्थापित केही सालिकहरूले राणा शासकहरूका शासकीय शक्ति, सम्भ्रान्तता र एक शताब्दीभन्दा लामो नेपालको इतिहासलाई स्मरण गराइरहेका छन् ।
राणा प्रधानमन्त्रीहरूका सालिकसम्बन्धी चर्चा गर्दा उनीहरूले गरेका कार्यको मोटामोटी विवरण उल्लेख गर्नु स्वाभाविक रहन्छ । राणाकालीन इतिहासबारे कैयाँै इतिहासकारले प्रशस्त कृति लेखेको पाइन्छ । इतिहासकार पुरुषोत्तमशम्शेर जबराले निरङ्कुश शासकहरूबारे केही पुस्तक लेख्नुभएको छ । सँगसँगै टुँडिखेलका सालिकसम्बन्धी उहाँले दिनुभएको विवरणबाट ती त्यहाँ कसरी स्थापित भए भन्ने थाहा पाउन सकिन्छ ।
जङ्गबहादुर राणा ः जङ्गबहादुर राणा १९०३ सालमा भएको कोतपर्वरूपी भारदारी हत्याकाण्डपछि शक्तिमा आए । यस काण्डपछि जङ्गबहादुर शासकीय शक्ति–प्रयोगमा निर्णायक व्यक्ति बन्न पुगे र १९३३ सालसम्म नेपालका श्री ३ महाराज तथा प्रधानमन्त्री बने । यिनले १९०६ सालमा बेलायत र अन्य केही युरोपेली देशको भ्रमण गरे । उनले वि.सं. १९१० मा मुलुकी ऐन जारी गरे । दरबार हाइस्कुल, वैद्यखाना, पुल, मन्दिरहरू आदिको निर्माण गराए । यिनले दक्षिणमा सीमास्तम्भ (जङ्गे स्तम्भ) राख्न सुरु गराएका थिए । यिनले राणा परिवारमा आफ्ना भाइ र छोराहरूका लागि रोलक्रमको व्यवस्था गरी जहाँनियाँतन्त्रलाई सुनिश्चित गर्ने प्रयास गरेका थिए ।
काठमाडाँैका सार्वजनिक स्थानमा ठूला आकारमा जङ्गबहादुरका दुइटा सालिक छन् । एउटा कालमोचन घाटमा छ । त्यसलाई जङ्गले १९३१ सालमा त्यहाँ स्थापित गराएका थिए । जङ्गबहादुरको अर्को अश्वारोही सैनिक मुद्रामा विशेष आकर्षक कलाका रूपमा निर्मित सालिक सुन्धारा–धरहराको पूर्वपट्टि सहिद गेटको पश्चिम, सडक छेउको कुनामा छ । इतिहासकार पुरुषोत्तम शम्शेर जबराका अनुसार यो सालिक निर्माणको पृष्ठभूमि बडो चाखलाग्दो छ ।
जङ्गबहादुरले बेलायतबाट फर्कने क्रममा फ्रान्सको पनि भ्रमण गरे । त्यसबेला फ्रान्सका राष्ट्रपति प्रिन्स लुई नेपोलियन तृतीय थिए । वार्तालापका क्रममा प्रधानमन्त्री जङ्गसमक्ष राष्ट्रपति लुई नेपोलियनले “तपाईं यहाँ बसुञ्जेल मनोरञ्जनका निमित्त नाचगान, बल डान्स अरूअरू केही रमाइला कुराको इच्छा छ कि ?”(श्री ३ हरूको तथ्य वृत्तान्त) भनी सोध्दा प्रधानमन्त्री जङ्गले आफ्नो अरू केही इच्छा नभएको तर एक लाख सेनाले एकैपटक प्रस्तुत गरेको सामूहिक परेड (मार्चपास्ट) हेर्ने इच्छा रहेको बताएका थिए । विशिष्ट अतिथिको इच्छा पूरा गर्नका लागि नेपोलियनले १९०७ भदौ १० (१८५० सेप्टेम्बर १४) मा सैनिक परेड प्रदर्शनीको आयोजना गरे । जङ्गबहादुरलाई घोडामा चढेर एक लाख फ्रेन्च सैनिकद्वारा सर्टरीको मैदानमा गरिने विशाल परेड अवलोकन गर्न विशेष व्यवस्थाका साथ परेडस्थलमा निमन्त्रणा गरिएको थियो, जङ्गका लागि घोडा पनि विशेष क्षमतावान् छानियो । मार्च पास्ट सुरु भयो । जङ्गबहादुर सवार घोडा अरू सबैलाई उछिनेर निकै अगाडि बढ्यो । जङ्गले आफू सवार घोडालाई नियन्त्रणमा लिई अन्य सैनिकको जुलुस “कहाँ आई पुगेछ त ?” भनी पछाडि फर्केर हेरे । घोडचढी सैनिकको जुलुस निकै पछि थियो । अनेक खेल तमासा देखाई एक लाख फ्रेन्च सैनिकको परेड समाप्त भयो । यसरी फ्रेन्च सिपाहीको जुलुसलाई पछि फर्केर हेर्दाको संस्मरणस्वरूप त्यसकै झल्को आउने सैनिक मुद्रामा जङ्गले आफ्नो सालिक निर्माण गर्न आदेश दिए । जङ्गले सालिक निर्माणको आदेश वि.सं. १९३२ मा दिएका थिए । सालिकको निर्माण सकी काठमाडाँै ल्याइपु¥याउन समय लाग्यो । यसैबीच १९३३ साल फागुनमा जङ्गको निधन भयो । सालिक १९३४ साल असोजमा ल्याइपु¥याइयो । जङ्गको सालिक तत्काल सार्वजनिक गरिएन । जङ्गपछि प्रधानमन्त्री बनेका उनका भाइ रणोद्दीप सिंहले धरहरा पूर्वकै चौबाटोेनेर १९४२ साल असारमा उद्घाटन गरे ।
वरिष्ठ कलाकार ओम खत्रीले जङ्गको सालिक र जोन हेनरी फोलीद्वारा निर्मित कलकत्तास्थित हाल भिक्टोरिया पार्कमा रहेको लेफ्टिनेन्ट जनरल जेम्स अटरमको सालिकको बनावटमा प्रायः समानता रहेको उल्लेख गर्दै जङ्गको सालिकका मूर्तिकार टामस ब्रोक रहेको बताउनुभएको छ; “...यो मूर्ति (अटरमको प्रतिमा) र नेपालको जङ्गबहादुर राणाको मूर्तिको आकार, संरचना, घोडाको आकृति र मूर्तिपात्रको शारीरिक स्थिति हुबहु एकै किसिमको देखिन्छ । केवल मुहार र पोशाक मात्र फरक रहेका छन् ।”
यी दुई मूर्तिका सिर्जनाकार गुरु–शिष्य रहेको कुरा पनि कलाकार खत्रीले उल्लेख गर्नुभएको छ; “कलकत्ताको मूर्तिको मूर्तिकार जोन हेनरी फोली थिए भने जङ्गबहादुरको मूर्तिका मूर्तिकार टामस ब्रोक थिए । टामस ब्रोक हेनरी फोलीका शिष्य थिए ।” जङ्गबहादुरले छोरा तथा भाइ भारदारका लागि रोलक्रमको जुन व्यवस्था गरिदिएका थिए पछि गएर त्यही सत्ता सङ्घर्षको कारण बन्यो । टुँडिखेलस्थित जङ्गको सालिकले जिज्ञासुहरूलाई उनीद्वारा शासित नेपाल र त्यो समयलाई बुझ्न उत्सुकता जगाइरहेको छ ।
रणोद्दीपसिंह ः जङ्गबहादुरको मृत्युपछि वि.सं. १९३३ फागुनमा उनका साइँला भाइ रणोद्दीपसिंह नेपालका श्री ३ तथा प्रधानमन्त्री भए । जङ्गलाई शक्तिमा पु¥याउन उनका भाइले कोत तथा भण्डारखाल पर्वमा रगतको होली नै खेलेका थिए । शक्तिका लागि पारिवारिक सङ्घर्ष यिनकै पालामा सुरु भयो, जसको शिकार यिनी स्वयं भए । यिनका पालामा १९४२ सालमा, तत्कालीन भारतको रावलपिण्डीमा आयोजना गरिने सैनिक प्रदर्शनीका लागि भाइ धीरपुत्र वीर शम्शेरलाई पठाउने निर्णय भयो । त्यसक्रममा वीर र अरू भाइ मिली १९४२ साल कात्तिकमा रणोद्दीप सिंहको हत्या नारायणहिटी दरबारमा गरियो । यस काण्डमा जङ्गद्वारा घोषित रोलक्रममा रहेका जङ्गकै छोरा जगतजङ्ग र जगतजङ्गका छोरा युद्धप्रतापजङ्गको पनि हत्या गरियो । जहानियाँ शासनमा शक्तिका लागि यस वंशहत्याको परिणामस्वरूप धीर शम्शेरका छोरा क्रमशः प्रधानमन्त्री बनिरहे लामो समयसम्म । रणोद्दीप सिंहले भारतीय सिपाही विद्रोह दमन गर्न आफू जाँदाको स्मृतिस्वरूप सालिकको निर्माण गर्न लगाएका थिए । रणोद्दीप सिंहको सालिकका मूर्तिकार पनि टामस ब्रोक नै थिए (खत्री) । टुँडिखेलमा स्थापित अन्य सबै घोडचढी सालिक बेलायतमा नै निर्मित थिए । तिनका मूर्तिकारको नाम जानकारीमा छैन । रणोद्दीप सिंहको सालिकमा युद्धरत रहँदाका हतियारका भग्न चिह्नहरू पनि देखाइएको छ । यो सालिक प्रारम्भमा बागबजार र हाल रत्नपार्कको बीच चौबाटोमा स्थापना गरिएको थियो । यसको उद्घाटन स्वयं प्रधानमन्त्री रणोद्दीप सिंहले १९४२ साल असारमा गरेका थिए । त्यसको झण्डै चार महिनापछि उनको हत्या भयो ।
धीर शम्शेर ः धीर शम्शेर जङ्गबहादुरका कान्छा भाइ थिए । श्री ३ तथा प्रधानमन्त्रीको रोलक्रममा पनि थिए । तर यिनको मृत्यु १९४१ सालमै भयो । यिनका अनेक श्रीमतीबाट जन्मेका १७ भाइ छोरा थिए, तीमध्ये ५ जना प्रधानमन्त्री पनि भए । धीर शम्शेरले रानीपोखरीदेखि त्रिपुरेश्वरसम्मको विशाल टुँडिखेलको निर्माण गराएका थिए । वीर शम्सेरले शक्ति हत्याएपछि बेलायतमा आफ्नो र बाबु धीर शम्शेरको सालिक बनाउन लगाएका थिए । वि.सं. १९५० फागुनमा धीर शम्शेरको सालिकको स्थापना भयो । यसलाई त्यसबेला हाल नयाँ सडकको प्रवेशद्वार पूर्वपट्टि चोकमा स्थापना गरिएको थियो । धीरको प्रतिमा अहिले सैनिकमञ्चको पश्चिमपट्टि छ ।
वीर शम्शेर ः वीर शम्शेर १७ भाइमध्येका जेठा थिए । यिनी रणोद्दीपसिंहको हत्यापछि नेपालका श्री ३ महाराज तथा प्रधानमन्त्री बने । वीर शम्शेर शक्तिमा आएपछि नयाँ रोलक्रम बनाए र आफ्ना भाइहरूको प्रधानमन्त्री बन्ने क्रमलाई सुनिश्चित गरे । यिनले तत्काल एसियाकै विशाल मानिने सेतो दरबारको निर्माण तथा फोहोरा दरबार, लाल दरबार आदिको निर्माण गराए । नारायणहिटी दरबार राजपरिवारलाई छुट्याए । वीर अस्पताल, घण्टाघर, वीर पुस्तकालय, वीरधारा आदिको निर्माण गराए । चिठीमा टिकट टाँस्ने चलन यिनले चलाए । अङ्ग्रेज सरकारलाई गोर्खा भर्तीकेन्द्र खोल्ने इजाजत यिनैले दिए । हिन्दु–मुसलमानबीच भाइचारा बढाउन आफ्नो दरबार अगाडि मस्जिद बनाउन लगाए ।
वीर शम्शेरको सालिक वि.सं. १९५० मा काठमाडाँै ल्याइपु¥याइए पनि लामो समयसम्म जमल–कमलाक्षी बीचको चोकमा छोपेर राखियो । वीरले आफ्नो सालिकको अनावरण गरेनन् । निकै पछि १९६४ साल चैतमा चन्द्रशम्शेरले यसको अनावरण गरे । २०१७ सालपछि यसलाई सैनिकमञ्चको पूर्वतिर स्थानान्तरण गरियो ।
चन्द्र शम्शेरः वि.सं. १९५८ असारमा दाजु देव शम्शेरलाई लखेटेपछि चन्द्र शम्शेर प्रधानमन्त्री बने । यिनी छैटौँ धीरपुत्र थिए । शक्तिमा आएपछि यिनले आफ्ना लागि विशाल सिंहदरबारको निर्माण गराई १९६० सालमा थापाथलीबाट सिंहदरबार सरे र तुरुन्तै नेपाल सरकारलाई बेचे पनि । यिनले आफ्ना छोराहरूका लागि अनेकौँ दरबार बनाए । चन्द्रले १९६४ सालमा बेलायत, फ्रान्स आदि युरोपेली देशको भ्रमण गरे । यिनकै पालामा नेपालमा पहिलोपटक बिजुलीबत्तीको प्रबन्ध भयो । यिनले राणा भारदारहरूलाई ए.बी.सी. वर्गमा विभाजन गरे । यसबाट पारिवारिक असन्तुष्टि बढ्न थाल्यो । यिनकै समयमा भएको प्रथम विश्वयुद्धमा लाखाँै नेपाली युवा अङ्ग्रेजको सहायतार्थ पठाइए । चन्द्रले राष्ट्रिय ढुकुटीबाट विदेशी बैङ्कमा नेपालको असङ्ख्य रुपियाँ जम्मा पारे । सतीप्रथा, दासप्रथा आदि परम्परालाई अन्त्य गरे पनि यिनी अन्य सामाजिक सुधारका विरोधी थिए । १९८० सालमा यिनकै पालामा नेपालले बेलायतबाट ‘नेपाल एक स्वतन्त्र राष्ट्र’ को रूपमा मान्यता प्राप्त ग¥यो ।
इतिहासकार राणाका अनुसार चन्द्रले आफ्नो सालिक निर्माणका लागि बेलायती कलाकारलाई आदेश दिएका थिए । बेलायतबाट नेपाल ल्याउने क्रममा सालिक समुद्रमा खस्यो । सालिकको बीमा गरिएको थियो । यसको पुनर्निर्माण भई काठमाडाँै ल्याइएपछि यसलाई वीर अस्पताल र सैनिक अस्पतालको बीच चोकमा राखिएको थियो । चन्द्रको देहान्तपछि १९८६ सालमा भीम शम्शेरले यसको उद्घाटन गरे । २०१७ सालपछि यसलाई भद्रकाली मन्दिरको अगाडि दाहिनेतिर टुँडिखेलमा सारियो ।
जुद्ध शम्शेर ः वि.सं. १९८९ मा भीम शम्शेरको मृत्युपछि धीरका १७ भाइ छोरामध्ये १५औँ छोरा जुद्ध शम्शेर प्रधानमन्त्री बने । यिनी प्रधानमन्त्री भएलगत्तै १९९० साल माघमा नेपालमा महाभूकम्प गयो जसका कारण हजाराँैको ज्यान गयो । क्षति भएका भौतिक संरचनाको पुनर्निर्माणका लागि जुद्धले आर्थिक कोषको व्यवस्था गरे । काठमाडाँैको पुनर्निर्माण भयो । उनले जुद्ध सडक (हाल नयाँ सडक) को निर्माण गराए । त्यहाँ आफ्नो पूर्णकदको सालिक राख्न लगाए । जुद्धकै पालामा जहानियाँतन्त्र विरुद्धको सङ्गठनात्मक अभियान प्रारम्भ भयो । यिनी आफ्ना पूर्वजझँै सामाजिक राजनीतिक परिवर्तन विरोधी थिए । अङ्ग्रेज सरकारको सहायतार्थ यिनले द्वितीय विश्वयुद्धमा असङ्ख्य नेपाली युवालाई पठाए । यिनले नेपालमा बैंकिङ प्रणाली, नेपालबाटै प्रवेशिका परीक्षा दिने व्यवस्था, वारुणयन्त्रको स्थापना, चिडियाखानाको निर्माण आदि काम गरे । २००२ सालमा यिनले पदत्याग गरे । यिनले देशको ठूलो धनराशी विदेश पु¥याए ।
जुद्ध शम्शेरको सालिक भद्रकाली मन्दिरको पश्चिमपट्टि सैनिक मुख्यालयको परिसरमा छ । यसको निर्माण उनकै शासनकालमा भएको थियो । जुद्धको सालिक २००५ सालमा अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरले उद्घाटन गरेका थिए । काठमाडाँै टुँडिखेलका कुनामा स्थापित छवटा सालिकमध्ये धीर शम्शेरको बाहेक अन्य पाँचवटा राणा प्रधानमन्त्रीका हुन् । पद्म, भीम, देवका सालिकहरू अन्यत्रै छन् । अन्तिम राणा प्रधानमन्त्री मोहन शम्शेरको सालिक सार्वजनिक स्थानमा कतै भएको जानकारी पाइँदैन । यी सबै सालिक धातु (ढलौट) बाट निर्मित हुन् ।
यी सालिकहरू तत्कालीन राजकीय सैनिक पोशाकमा निर्मित छन् । यिनले पश्चिमी आधुनिक मूर्तिकलाको स्वरूपलाई विम्बित गरेका छन् । कलाका रूपमा ती दर्शनीय पनि छन् । चरम सामन्ती युगका सर्वशक्तिमान् नायकले यस राष्ट्रको एक सय वर्षभन्दा लामो समयलाई ती घोडाहरूले भुइँ कुल्चेसरी नै कुल्चिरहे ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?