logo
२०८१ मंसिर १२ बुधवार



पर्यटन र पर्यावरण प्रदूषण

विचार/दृष्टिकोण |




डा. लाल–श्याँकारेलु रापचा

समृद्धि र सुखको एक कडी मानिएको पर्यटन वर्ष २०२० सुरु भएको छ । यसै मेसो पारेर अलार्म (एकेडेमिक एण्ड लर्निङ एचिभ्मेन्ट थु्र रियल मेनेज्मेन्ट) नेपाल संस्थाको सौजन्यमा प्रिन्सिपलहरूको ‘रिक्रिएसन प्रोग्राम’मा गत पुस २५–२७ गते सौराहा, चितवनमा आन्तरिक पर्यटक बनियो । परन्तु, समृद्धि र सुखको सपनामा हाम्रैमुनि उल्लेख भएका कुर्बानीले तुषारापात गर्ने प्रायः निश्चित छ । किनभने स्थलगत भ्रमणका क्रममा हामी, हाम्रा पर्यटक र स्थानीय सेवाप्रदायकद्वारा हाम्रो पर्यावरणमा के कस्ता हेलचेक्र्याइँ भएका छन् भन्ने तथ्यप्रति हामी अनभिज्ञ छैनौँ ।
वास्तविक विपना
बाटैभरिको धुलो, फोहोरमैला र धमिलो खोलानालाले डा. डोन हकिन्सले पर्यटनको बारेमा १९८२ तिरै निकालेको निष्कर्षको सम्झना गरायो । डा. हकिन्सले त्यसैबेला पर्यटन भन्ने चिज समृद्धिका लागि सुनको फुल पार्ने कुखुरी मात्रै नभएर यसले आफ्नै गुँड पनि फोहोर गर्दछ भन्ने कुरामा सचेत गराएका थिए । साँच्चै उनले त्यसबखत भनेको कुरो आज हाम्रो सन्दर्भमा भयावह रूपमा देखापरिरहेको हामी सबैले भोगिरहेकै छौँ ।
पुलपुलेसो र बाटोघाटोभरि नै चुरोटका ठुटा, प्लास्टिक÷मापसेका बोतल, कुरकुरे, गुट्काको खोल, चकलेट, बिस्कुट, वाइवाई, रारा चाउचाउ आदि पत्रु खाना (जङ्क फूड) का खोलैखोल । यस्ता कुर्बानीले लाग्छ – अबको केही वर्षमै हाम्रा सडक, बाटाघाटा र पुलपुलेसा टनका टन प्लास्टिकको डङ्गुर वा डम्पिङ साइटमा परिणत हुनेछन् । वातावरण कुरूप र प्रदूषित पारिसकेका हुनेछन् । जतिजति वाहन त्रिशूली नदीको किनारैकिनार हुइँकिन्थ्यो त्यति नै बाग्मती, विष्णुमती, टुकुचा, धोबीखोला, नक्खु खोला र कटुवाल दहका ऐँठनी दृश्यहरू आँखैभरि नाचिरहन्थे । नाकैभरि ह्वासह्वास्ती दुर्गन्ध ओइरिन्थे । यस्तो पर्यावरण विनाशको सशक्त बयान वातावरण पत्रकार चेरिल कोलोपीले आफ्नो कृति ‘डर्टी, सेक्रिड रिभर्स ः कन्फ्रन्टिङ साउथ एसियाज वाटर क्राइसिस’ (इ. २०१२) मा गरेकी छन् । पर्यावरण प्रदूषणले दन्किरहेको जलवायु परिवर्तनको भुङ्ग्रोमा तेल थप्ने कार्य गरिरहेको छ । सहरदेखि गाउँ नै यो सङ्कटको चपेटामा छ ।
मलेखुको पल्लोछेउ त्रिशूलीकै किनारामा वाहन घ्याच्च रोकियो । केही मिनेटमै ‘ब्रेकफास्ट’ टिपेर नदीलाई नजिकबाट नियाल्न दौडेँ । उही ऐँठनी प्लास्टिक दृश्यहरू किनारैभरि असरल्ल छरिएका थिए । नदीका कतिपय छेउछाउमा प्लास्टिकसहितका फोहोरमैलाका रास थिए । ती ऐँठनी दृश्यहरू क्यामेरा फोटो, भिडियो र मोबाइलमा कैद भए । हुन त यस्तो व्यथा त्रिशूलीको मात्रै नभएर देशभरिका नदीनालाका हुन् । तिनको बेहाल हुँदैगरेको तथ्य सुनकोशी, भोटेकोशी, इन्द्रावती, ब्रह्मायणी, कालीगण्डकी आदि नदी किनारमा विकसित बस्ती, बजार तथा व्यापारिक क्षेत्रबाट निस्केका फोहोरमैला र शौचालयका ढल सीधै नदीमा मिसाइँदा प्रमाणित गर्छ । हाम्रा सारा नदीको भविष्यको मार्गचित्र उही बाग्मती र विष्णुमतीभन्दा फरक हुने छाँटकाँट छैन । लेखिका कोलोपीको पनि त्यही निचोड छ ।
अपवाद बाहेक प्राकृतिकरूपले वर्षायाममा मात्रै धमिलिने हाम्रा नदीनाला केही दशक यता बाह्रैमास बाह्रैकाल धमिलिने भएका छन् । परिस्थितिवश जथाभावी क्रसर उद्योग सञ्चालन, डोजर प्रयोग र नदीजन्य पदार्थको उत्खननको मारमा मानव, बोटबिरुवा लगायत प्राणीजगत (थलचर र जलचर) को जीवनाधार पानीको स्रोत कुवा, धारा एवं नदीनाला धमिलिने र सुक्ने सँघारमा छन् । विनाशको यस्तो चरणलाई मरुभूमिकीकरण भनिन्छ । यसको ज्वलन्त उदाहरण केन्द्रीय एसियाको अराल सागर सङ्कटलाई लिन सकिन्छ ।
त्रिशूलीको तुलनामा बेनीघाटपारि त्रिशूलीसँग मिसिने बूढीगण्डकीको पानीको रङ्ग भने केही आशलाग्दो अवस्थामा छ । तथापि त्रिशूलीमा बग्ने लेदोसँग मिसिनुपर्दा बूढीगण्डकीको स्वच्छ पानीजस्तो पानी पनि लेदो नै हुँदोरहेछ । तर अब ५८ हजार रोपनी जग्गामा फैलिने बुढीगण्डकी जलविद्युत् आयोजनाले स्वच्छ पानीजस्तो पानीको शान पनि बदलिने नै छ । यसलाई राष्ट्रिय गौरवको आयोजना भनिएको छ । दूधकोशी परियोजना पनि उही श्रेणीमा छ । मुग्लिङमा मिसिन आइपुग्ने मस्र्याङ्दीको पानीको गुण पनि दिनप्रतिदिन
खस्कँदो छ ।
देवघाटमा सङ्गम हुने नारायणी र कालीगण्डकी दोभानलाई धार्मिक दृष्टिकोणमा तीर्थराज भनिएको छ । तीर्थराजको वारिपारि दुवै किनारा नियाल्ने हो भने तीर्थाटनमा पुग्ने सहस्र तीर्थालुले जतासुकै छोडेका प्लास्टिकलगायत फोहोरमैलाका थुप्राहरू हृदयविदारक हुँदारहेछन् । स्वर्गवासको इच्छामा अग्निकुण्डमा होमिएका पार्थिव शरीरबाट निस्कने धुवाँको मुस्लोले वायु प्रदूषण तथा खरानी, प्लास्टिक साथै फोहोरमैलाबाट भएको जलप्रदूषणबारे सोच्ने फुर्सद अन्ध–पुँजीवादी मनुवाहरूमा कहीँ कतै देखिँदैन । बरु चितवनमा भएभरका होटल तथा लजहरूको धोबीघाट नै नारायणी नदी पो रहेछ । चौधरी ग्रुप (सिजी) फाउण्डेसनको शाश्वत धाम, गैँडाकोटतर्फको यात्राक्रममा नारायणी नदीको पुलमाथिको दृश्यबाट त्यही देखिन्थ्यो र बुझिन्थ्यो । पुलको उँभो–उँधो किनाराभरि नै सेता कपडैकपडा सुकाइएका थिए । हजारौँ–लाखौंका प्रत्यक्ष लुगा धुने नारायणी, डुँगा (फेरी) चल्ने नारायणी, माछाका लागि जालहारी नारायणी, सहस्र तीर्थालु नुहाउने नारायणी । बिचरी नारायणी ! सप्तगण्डकी हुँदै गङ्गामा मिसिँदा पहेँलो लेदोमा परिणत भएको वास्तविक आख्यान लेखिका कोलोपीले लेखेकी छन् ।
नारायणी मात्र कहाँ हुन्थ्यो र ! गैँडाकोट सिजीको सास्वत धामको पश्चिमतिरको खोल्सो पनि टुकुचाजस्तै प्लास्टिक र फोहोरयुक्त दमदार बास्नावाला रहेछ । ठाउँ–ठाउँका नहर पनि उस्तै । कोलोपीलाई हल्का सम्पादन गर्नुपर्दा ‘डर्टी, सेक्रिड वाटर्स’ । सौराहाको चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदी भने तुलनात्मकरूपमा प्रदूषणमुक्त नै मान्नुपर्छ । जलक्रीडा र जलयात्राका लागि सुरक्षितजस्तो देखिन्छ ।
प्रदूषणको असर
हाम्रो जीवनपद्धति (इकोसिस्टम) चक्रमा मुख्य भूमिका वायु र जलको नै हुन्छ । स्वच्छ वायु भनेको अक्सिजन हो । पृथ्वीबाहेक अन्य ग्रहमा आजसम्म अक्सिजन र जीवन अप्राप्य छ । जीवन अवधिको हिसाबमा मानवलगायत थलचर, जलचर र बोटबिरुवाका लागि पहिले अक्सिजन अत्यावश्यक छ । अनि स्वच्छ जल आउँछ । हाम्रो जीवन र खानाको चक्र पानीसँग जोडिएको छ । ७५५ रोग पानीबाटै सर्दछ । जस्तै आर्सनिकयुक्त र प्रदूषित जल । प्रदूषित नदीनालाको माछा, प्रदूषित जलद्वारा सिञ्चित रसायनयुक्त खाना आदि खतरनाक रोगका कारखाना हुन् । प्रदूषित जल पिउन, जलयात्रा, धार्मिक पर्यटन, सिँचाइ आदि प्रयोजनको लागि अनुपयुक्त हुन्छ । प्रदूषित जलमा जलचरका प्रजातिहरू बाँच्ने सम्भावना नै कम हुन्छ । त्यसैले मानव, थलचर, जलचर र बोटबिरुवाको जीवन सङ्कटमा पार्दछ ।
हालै सुनकोशी र कालीगण्डकीको पानी लिफ्ट गरेर पिउने प्रयोजनका लागि वितरण गरिएको परिप्रेक्ष्यमा मानव स्वास्थ्यमा त्यसको दीर्घकालीन असर देखिन बाँकी छ । काठमाडौँ उपत्यकावासीको पिउने पानीमा मिसिएको कोलिफर्म, नाइट्रेट, अमोनिया, ब्याक्टेरिया, आर्सनिक आदि तत्वले मानव जीवनलाई पु¥याउने क्षति दुर्दशाको महामारी सुनामी नजिकिँदै छ ।
प्रदूषण न्यूनीकरण कदम
निश्चय पनि पर्यटनलाई हामीले समृद्ध र सुखी सपनाको कडी बनाउने हो भने पर्यावरण प्रदूषण न्यूनीकरणको उत्प्रेरक हामी आफैँ हौँ । उत्प्रेरक हामी आफैँ बन्नु नै सकारात्मक विकल्प हुन्छ । आपत्कालीन अवस्थालाई छाडेर सकेसम्म पत्रु खानाको अन्धउपभोक्ता बन्नुहुँदैन । भइहालेमा त्यसको प्लास्टिकको खोल, ठुटा, बोतल आदि आफ्नै गोजी र झोलामा राखी घर लगेर उचित व्यवस्थापन गर्नुपर्छ । तर कसैगरी पनि आगो भने नलगाउने किनभने धुवाँधुलोले विष सरहको मोनो कार्बनडाइअक्साइड ग्यास वातावरणमा बढी मात्रामा नै मिसिन पुग्छ । त्यसको शिकार मान्छेसँगै प्राणी जगत पनि हुन्छ । कुनै पनि रूपमा धूमपान, गुट्खा, मादकपदार्थ सेवन नगर्नु राम्रो हुन्छ । यस्तो सुबानी असल र स्वस्थ नागरिकको पहिलो पहिचान हो । जतिसुकै कर तिरे पनि अस्वस्थ नागरिकको हैसियत रोगीमात्रै हो । रोगी नागरिक घरपरिवारको मात्रै नभएर राष्ट्रकै बोझ हो । “मेरै बाउको सम्पत्ति खा’को हुँ” भन्ने घमण्ड र कुविचारलाई त्याग्ने किनभने सभ्य समाजको निर्माता हामी नै हौँ ।
जाति विशेष सांस्कृतिक महìवका मादक पदार्थ उपभोग गर्दा त्यसको दुरूपयोग रोक्नु सकारात्मक विकल्प हुन्छ । धार्मिक महìवका पूजा–अर्चना र पार्थिव शरीर विसर्जनमा धार्मिक दृष्टिकोणलाई विज्ञानसम्मत सोचमा ढाली सकारात्मक हुनुपर्छ । सकारात्मक सोच भएको असल नागरिकले आफ्नो शरीरको प्रत्येक रगतको थोपालाई झैँ पानीको थोपा र नदीनालालाई प्रदूषण गर्दैन । मृत्युपश्चात् “खोला र नदीकै किनारामै जल्न पाउँ र अस्तु गङ्गामै सेलाउनू” भन्दैन । “म मरेर गए पनि हाम्रा शाखा सन्ततिलाई स्वच्छ नदीनाला नासोको रूपमा सुम्पेर जान्छु” भन्ने वैज्ञानिक धरातलमा अडिग रहन्छ । नुहाउनु, लुगा धुनुपर्छ तर खोला–नदीमै नुहाउनु, धुनु अवैज्ञानिक छ । त्यसको तात्पर्य “सर्वजन हिताय” मा हुँदैन । नदीदेखि हजार वा पाँचसय मिटर टाढासम्म सो सुकार्य गर्नु उचित विकल्प हुन्छ । साथै डिजेल र पेट्रोलको वैकल्पिक छनोटमा सौर्य वा विद्युतीय ऊर्जा उचित हुन्छ ।
हाम्रो पर्यावरण बिग्रने गरी अविवेकपूर्ण रूपमा क्रसर उद्योग सञ्चालन, डोजर प्रयोग, नदीजन्य पदार्थको उत्खनन र बाटोघाटोमा धुलो उडाउने कुकार्य बन्द नै गर्नुपर्छ । राष्ट्रिय गौरवको जलविद्युत् आयोजना सञ्चालन गर्दा जलप्रदूषण न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । सडक लगायतका निर्माणकार्य गर्दा धुलोमैलोलाई वायु र जलमा नमिसिने गरी काम गर्नु राम्रो हुन्छ । यो बाध्यकारी परिस्थिति पनि हो । नदीनालामा सोझै ढल नमिसाई ‘वाटर ट्रिटमेन्ट प्लान्ट’ बाट उपचारपछि मात्रै नदीनालामा पानी छोडिदिने अन्तर्राष्ट्रिय अभ्यास हो । विश्व नागरिकको हैसियतमा यसको पालन गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । फोहोरमैला जथाभावी फाल्नु, जल स्रोत र डम्पिङ साइटमा थुपार्नुको सट्टा ग्यास उद्योग स्थापना गरी ग्यास तथा प्राङ्गारिक मल उत्पादनलाई बजारीकरण गर्दै समृद्धितिर लम्कनु आवश्यक छ । भ्रमण वर्ष २०२० को सफलता, समृद्ध नेपाल र सुखी नेपालीको मन्त्र यसैमा निहित छ ।
(लेखक हुम्बोल्ट फेलो र नाट जिओ एक्सप्लोरर हुनुहुन्छ ।)  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?