जुनारबाबु बस्नेत
विश्वव्यापीकरणका कारण विश्वको कुनै एउटा कुनामा भएको घटनाले बाँकी विश्वलाई प्रभाव पार्नु स्वाभाविक हो । विगत दुई÷तीन दशकमा विश्वव्यापीकरणको प्रभाव अझ सघन हुँदै गएको छ । सूचना प्रविधि र आवतजावतले यसमा तीव्रता दिएको छ । खासगरी आकस्मिक रूपमा आउने घटना परिवेशले विश्व अर्थतन्त्रमा तत्कालै प्रभाव देखिने प्रवृत्ति सुरु भएको छ । रोजगारी, आय र उत्पादनमा प्रतिकूल असर परिरहेको पाइन्छ । चीनमा हाल देखिएको नोबल कोरोना भाइरस अहिले संसारभर चिन्ताको विषय बनेको छ । यसले अर्थतन्त्रमा पार्ने प्रभावहरूको विवेचना भइरहेको छ । चीनको वुहानमा डेढ महिनाअघि देखिएको कोरोना भाइरस चीनभर तथा अन्य देशमा पनि फैलिएपछि चिन्ता बढेको छ । अर्थतन्त्रलाई थल्याउने खतरा बढेको छ ।
कारोना भाइरसले आइतबारसम्ममा विश्वका २८ देशमा प्रभाव पारिसकेको छ भने सङ्क्रमित र मर्नेको सङ्ख्या निरन्तर बढिरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आपतकालकै घोषणा भरिसकेपछि विश्वभर यसलाई सजग रूपमा हेरिनु अस्वाभाविक होइन । कोरोना भाइरसको उपचार र नियन्त्रणका लागि चीनले भगीरथ प्रयास गरिरहेकै छ । वैज्ञानिकहरू यसको उपचारका लागि औषधि आविष्कार गर्न तल्लीन छन् । चीनले चाँडै कोरोना भाइरसबाट मुक्ति पाउने उद्देश्यसहित काम गरिरहेको जनाएको छ । विगतमा भएका गल्ती–कमजोरीहरूलाई आत्मसमीक्षा समेत गर्दै अगाडि बढे पनि वाञ्छित रूपमा अझै कोरोना भाइरसको विस्तारमा नियन्त्रण गर्न सकिरहेको छैन ।
कोरोना भाइरसको सङ्क्रमणको यो नाजुक अवस्थामा पनि चिनियाँ अर्थतन्त्रमा दीर्घकालीन असर नपर्ने विश्लेषण चिनियाँ सञ्चारमाध्यमहरूको छ । अर्थशास्त्री तथा अर्थविद्हरू भनाइ उद्धृत गर्दै ग्लोबल टाइम्सले चालु आर्थिक वर्षका पहिलो चौमासिकमा पाँच प्रतिशत आर्थिक वृद्धि झर्न सक्ने आँकलन गरेको छ । पहिलो चौमासिकमा पाँच प्रतिशतको आर्थिक वृद्धिदर भए पनि सन् २०२० मा भने चीनको आर्थिक वृद्धि छ प्रतिशत हाराहारीमै हुने ठहर गरिएको छ । खासगरी ठूला परियोजनाहरूका काममा कुनै अवरोध नहुने भन्दै बेल्ट एन्ड रोड परियोजनाका कार्यक्रमहरू निरन्तर अगाडि बढिरहेको दाबी गरिएको छ । चिनियाँ केन्द्रीय बैङ्कले पनि यो पहिलो चौमासिकमा आर्थिक वृद्धिदर घटे पनि दीर्घकालमा कुनै असर नपर्ने गरी योजनाहरू अगाडि बढ्ने भनेको छ ।
कुनै पनि सङ्क्रमक रोगले विगतमा पनि असर भने नपारेको होइन । सन् २००३ मा सार्स रोगका कारण ७७४ जनाको मृत्यु भएको थियो । विश्व अर्थतन्त्र खासगरी पर्यटन अर्थतन्त्रलाई झन्डै वर्षभरि नै सार्स रोगले त्यतिबेला प्रभावित तुल्याएको थियो । सार्सभन्दा पनि डरलाग्दो देखिएको छ, कोरोना भाइरस । यसले हालसम्म त्यतिखेर सार्सले लिएकोभन्दा बढी ज्यान लिइसकेको छ । आइतबारसम्ममा चीनलगायतका देशमा कोरोना भाइरसबाट ८०३ जनाको ज्यान गइसकेको छ । डब्लुएचओले कोरोना भाइसरविरुद्ध अनावश्यक हल्ला नफैल्याउन र ट्रोल नबनाउन चेतावनी पनि दिएको छ । सचेतना फैलाउन र कोरोना भाइरसको महामारी नफैलियोस् भनेर आपतकाल लगाइएको पनि डब्लुएचओले स्पष्ट पारेको छ ।
चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो र चिनियाँ वस्तु विश्वभर नै निर्यात भइरहन्छन् । चिनियाँ वस्तु र सेवा कम लागतमा उत्पादन हुने हुँदा विश्वभरका मानिसलाई उपयोग गर्न पनि सहज हुँदै आएको थियो । विगत तीन दशकमा विकासशील मुलुकमात्र होइन, युरोप र अमेरिकाका बजारमा पनि चिनियाँ समानले प्रशस्तै ठाउँ ओगटेको थियो । तर, यताका दिनमा कतिपय प्रान्तहरूमा औद्योगिक उत्पादनमा प्रतिकूल असर परिरहेको छ । मानिस घरबाहिर निस्कन सकेको छैन । उद्योग कलकारखानामात्र होइन, विद्यालय तथा निजी क्षेत्रका कार्यालयहरू बन्द छन् । अति जरुरी अवस्थामा बाहेक घरबाहिर निस्कन निधेष गरिएको छ । ती सबै काम नागरिकका सुरक्षाका लागि गरिएको हो । वुहानमा प्रहरीले घरघरैमा गएर सङ्क्रमितहरूको खोजिनिती गरिहेको छ ।
कतिपय अन्तर्राष्ट्रिय माध्यमहरूले अस्पतालमा मात्रै आएका सङ्क्रमितहरू तथ्याङ्कमात्र बाहिर आएको भन्ने रिपोर्टिङ गरेपछि चिनियाँ प्रशासनको क्रियाशीलता अझ बढेको हो । भाइरसको सङ्क्रमण चिसो मौसममा बढी विस्तार हुने हुँदा तापमान केही बढेपछि कोरोना सङ्क्रमण केही कम हुने अपेक्षा पनि गरिएको छ । दीर्घकालीन असर नपर्ने भनिए पनि तत्काललाई भने चिनियाँ अर्थतन्त्रसँगै विश्व अर्थतन्त्र नै केही न केही प्रभावित हुन थालेको छ । सबैभन्दा बढी विमान सेवा उद्योगमा यसको प्रतिकूल प्रभाव परेको छ । विश्वभर नै आवतजावतमा कमी आउन थालेको छ ।
विश्वमा चिनियाँ अर्थव्यवस्थामा आएको उभारले पर्यटन अर्थतन्त्रमा चीनको हिस्सा प्रभावी बन्दै गएको थियो । नेपाली पर्यटन उद्योगमा छिमेकी चीन र भारतका पर्यटकबाट आसलाग्दो आम्दानी हुन थालेको थियो । नेपाल भ्रमण वर्ष २०२० थालनी हुनासाथै चीनमा कोरोना भाइरसको सङ्क्रमण हुन थालेपछि नेपाली पर्यटन बजारमा पनि प्रतिकूल असर पर्न सक्ने समाचारहरू आउन थालेका छन् । पर्यटकीय नगरी पोखरामा चिनियाँ पर्यटकहरू सङ्ख्या घटिरहेको खबर आइरहेको छ । चीन सरकारले नै अत्यावश्यक र सुरक्षितबाहेक अनावश्यक विदेश भ्रमण नगर्न आफ्ना नागरिकहरूलाई सुझाव दिएको छ । बुकिङ गरेको टिकटहरू पनि फिर्ता गर्न विमान कम्पनीहरूलाई आग्रह गरेको छ ।
चिनियाँ तथा चीन भएर यात्रा गर्न पनि कतिपय मुलुकले रोक लगाएका छन् । चीनका विमान कम्पनीहरू यसबाट नराम्ररी प्रभावित भएका छन् । पाकिस्तानले भने केही दिन आफ्ना चीनतर्फको उडान रोके पनि पुनः सञ्चालन गरेको छ । विश्वका कतिपय मुलुकहरू ट्राभल्स एड्भाइजरी नै जारी गरेर चीन भ्रमण नगर्न सुझाव दिएका छन् । यो अवस्थामा बेइजिङले पश्चिमा मुलुकले अनावश्यक त्रास फैलाउने काम गरेको भन्दै चीन कोरोना भाइरसमाथिका नियन्त्रणका लागि गम्भीर रूपमा जुटेको स्पष्ट गरेको छ । चिनियाँ राष्ट्रपति सी चिङफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग यो मामिलामा टेलिफोन संवाद नै गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले चीनले तत्काल नै अस्पताल निर्माण गरेर कोरोना भाइरसविरुद्ध नियन्त्रण प्रयास गरेको भन्दै सराहना गर्नुभएको छ ।
विश्व अर्थन्त्रमा तत्काललाई कोरोना भाइरसको प्रभाव पर्न थालेको स्वीकार गरिएको छ । यो लुकाएर लुक्ने कुरा रहेन । खासगरी पर्यटन अर्थतन्त्रमा प्रतिकूल प्रभाव पर्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्षको आरम्भमै केही धक्का लागेको बताइसक्नुभएको छ । अन्तर्राष्ट्रिय व्यापारमा यसको असर पर्नेछ भने चीनबाट आपूर्तिमा समस्या भएपछि कतिपय वस्तु अब विश्वबजारमा महँगा हुनेछन् । उपभोक्ताले थप पैसा बेहार्नुपर्नेछ ।
कोरोना भाइरसको अर्थतन्त्रमा कसरी असर न्यून पार्न सकिन्छ ? यो नै अबको चासो र चिन्ताको विषय हो । चीनले भगीरथ प्रयास गरिरहे पनि अन्य देशमा पनि यो सरुवा रोग फैलिसकेको परिवेशमा कोरोनाविरुद्ध एकीकृत रणनीतिले काम गर्नुपर्ने देखिको छ । यतिबेला चीनलाई सबैको साथ र सहयोगको पनि जरुरी छ । भौतिक तथा नैतिक सहयोग जरुरी छ । नेपालले पनि एक लाख मास्क चीनलाई प्रदान गरेको छ । सानै भए पनि सहयोगी मित्रलाई सङ्कटको बेला दिएको साथको बेग्लै महŒव हुनेछ । कम्बोडियाका प्रधानमन्त्री हुनसेन बेइजिङमै पुगेर कोरोना भाइरसविरुद्ध साथमा रहेको सन्देश दिनुभएको छ । कोरोना भाइरसको प्रभाव न्यूनीकरण, नियन्त्रणसँगै अर्थतन्त्रमा कम असरमात्र पार्नेगरी नीति र योजना बनाई सहकार्य गर्नु यतिबेलाको मूल कार्यभार हो । नेपालको पर्यटन अर्थतन्त्रमा पनि वैकल्पिक नीति र योजना अगाडि सार्न ढिला गर्नुहुन्न ।
(लेखक गोरखापत्रका कार्यकारी सम्पादक हुनुहुन्छ ।)