काठमाडौँ उपत्यकाका बढी मात्रामा सवारीसाधन आवागमन हुने सडक छेउ र सडक घुम्तीमा रहेका पेट्रोलपम्पहरू हटाइने भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकाका सडकछेउका १८ वटा पेट्रोलपम्प हटाइन लागिएको हो । हटाइने पेट्रेल पम्पमा काठमाडौँका १२ र ललितपुरका छवटा छन् । यस कार्यका लागि मन्त्रिपरिषद् कार्यालयले नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार गरेर नै निर्देशन दिएको थियो । यही निर्देशनबमोजिम पेट्रोलपम्पहरूको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान गरेका पेट्रोलपम्प हटाइनेछ । पम्प हटाउन वा सार्न प्रक्रिया सुरु गर्न पेट्रोलपम्पलाई समयावधि दिइसकिएको छ । समयावधिभित्र सम्बन्धित पेट्रोलपम्पहरूले कहाँ कुन ठाउँमा सर्ने हो, सोको आयल निगमको अनुसूचीबमोजिम विवरण भर्नुपर्छ । त्यसपछि निगमले सो ठाउँबारे जाँचबुझ गरी थप प्रक्रिया अगाडि बढाउनेछ ।
पेट्रोलपम्प अति प्रज्वलनशील पदार्थ कारोबार गर्ने स्थल हो । यस्तो स्थल सुरक्षाको दृष्टिले संवेदनशील हुन्छ । सानो हेलचेक्र्याइँले पनि ठूलो मानवीय र भौतिक क्षति हुन्छ । यो क्षति व्यवसायीको मात्र नभई, पेट्रोलपम्पवरपर रहेका बस्ती तथा व्यापारिक क्षेत्रले पनि भोग्नुपर्ने हुन्छ । नाफा भयो भने व्यवसायीको मात्र हुने तर कथम् कदाचित दुर्घटना भयो भने पेट्रोलपम्पवरपरकाले पनि भोग्नुपर्ने हुन्छ । त्यसैले विगतमा बस्ती विस्तार नभएका बेला वा बस्ती घना भइनसकेको समयमा सडकछेउमा स्थापना गरिएका यस्ता पेट्रोलपम्पलाई हटाउनु सुरक्षाको दृष्टिले उपयुक्त छ । यसैगरी, जनसङ्ख्या र सवारीसाधनको तीव्र वृद्धिले गर्दा हिजो स्थापना गरिएका पेट्रोलपम्पहरू आज सुरक्षाको दृष्टिले मात्र नभई, सहरी सौन्दर्य र ट्राफिक व्यवस्थापनका लागि पनि अवरोधक बन्न पुगेका छन् । हिजोको सानो बाटोले आजको सवारीसाधनको चाप धान्न सक्दैन । बाटो ठूलो बनाउनैप¥यो । बाटो ठूलो बनाउँदा त्यसवरपर रहेका घरसँगै पेट्रोलपम्प पनि हटाउनैप¥यो । त्यसमाथि पेट्रोलपम्पमा तेल हाल्ने सवारीसाधनको लामले सडक नै अस्तव्यस्त बनिदिन्छ । यो अस्तव्यस्तताले ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपिदिन्छ । यस्ता चुनौती व्यवस्थापनका लागि पनि सडकछेउ र सडक घुम्तीमा परेका पेट्रोलपम्प हटाउनु अवश्यक छ ।
हिजो टिनमा मट्टीतेल बेचेजसरी पेट्रोल र डिजेलको कारोबार पनि हुन्थ्यो । सवारीसाधन थोरै थिए । सहरीकरणमा पनि तीव्रता आइसकेको थिएन । पेट्रोलपम्पवरपर बस्ती पनि घना थिएन । अहिलो त्यो अवस्था रहेन । अनि समयक्रमसँगै सरोकारी निकाय आयल निगमले पेट्रोलपम्पका लागि मापदण्ड नबनाएको पनि होइन । तर, यी मापदण्ड अक्षरशः लागू हुन सकेका पनि छैनन् । अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने सहरीकरणको तीव्र विकाससँगै पेट्रोलपम्पलाई सहरभन्दा टाढा राख्नुपर्छ । यस्ता नियम पालना गराउन त हामीलाई अभैm कति वर्ष कुर्नुपर्ने होला । हामीकहाँ त सडकछेउ र घुम्तीमा परेका पेट्रोलपम्पलाई हटाएर अर्को ठाउँमा सार्ने भनिएको छ । सहरभित्र सञ्चालित पेट्रोलपम्पलाई के गर्ने भन्ने नीति तय हुनै बाँकी छ । यस्तै देशका ठूला राजमार्ग र सहरमा सञ्चालित कतिपय पेट्रोलपम्प पनि बस्तीमा छन् । पर्याप्त सुरक्षा व्यवस्था अपनाइएको छैन । यसलाई पनि व्यवस्थित गर्न ध्यान जानुपर्ने देखिन्छ ।
हुन त नेपालमा सुविधासम्पन्न पेट्रोलपम्पका लागि ‘नमुना पेट्रोलपम्प’को अवधारणा अगाडि नआएको होइन । यसले सुरक्षाको पाटोलाई धेरै हदसम्म विश्वसनीय बनाउँछ । तर, अहिलेसम्म उपत्यकामा एउटा पनि यस्ता पेट्रोलपम्प स्थापना हुन सकेका छैनन् । त्यसैले अव्यवस्थित पेट्रोलपम्पलाई व्यवस्थित गर्ने र ‘नमुना पेट्रोलपम्प’ खोल्न व्यवसायीलाई उत्प्रेरित गर्ने कार्य सरोकारवालाको हो । साथै, ट्राफिक व्यवस्थापन, सुरक्षा र सहरी सौन्दर्यका लागि सरकारले लिएको यस कदममा व्यवसायीको साथ र सहयोगको आवश्यकता पनि यहाँ भुल्न सकिँदैन ।