रामप्रसाद गौतम
पछिल्ला वर्ष नेपालमा सडक निर्माण, सडक सुधार, सुरुङ निर्माणमा अति नै धेरै काम भएको छ । आगामी तीन वर्षभित्रमा नेपालमा धेरै सडक नयाँ बन्दै छन् र धेरै पुराना सडकको पुनःनिर्माण हुँदै छ । दिनानुदिन सडक सुधारका खबरहरू आम भएका छन् । बुटवलबाट भैरहवा जाने बाटो, कोटेश्वरबाट कलङ्की र सूर्यविनायक, कोहलपुरबाट नेपालगन्ज पुग्ने बाटाहरू विगतभन्दा धेरै आधुनिक र राम्रा बनेका छन् ।
सडक व्यापार, व्यवसाय, उद्यमशिलता, सहज आवतजावत, विकेन्द्रीकरण, समाजिक, साँस्कृतिक अन्तरघुलन, सङ्घ, प्रदेश, स्थानीय तह सम्बन्ध विस्तारको सबैभन्दा गहन सहयोगी हो । वास्तवमा राम्रो सडक देशको आत्मा हो । यहाँ नदीकिनारमा सभ्यता बस्छ भने सडकछेउमा व्यापारको सहजताका कारणले विकास र आधुनिकता बस्दछ । त्यसैले सडकलाई पूर्वाधारको राजा मानिन्छ । त्यसैले सडकलाई केवल ओहोरदोहोरको माध्यममात्र नबनाएर धेरै काममा जोड्न सकिन्छ ।
आधुनिक नेपालको पहिलो सडक विम्ब महेन्द्र राजमार्गको १०२७ किलोमिटरमध्ये तीन सय किलोमिटरलाई चार लेनको बनाइएको छ । बाँकी ७२७ किलोमिटरलाई पनि चार लेन बनाउन ८५ मिटर चौडाइलाई १०४ फिट बनाउने काम भइरहेको छ । जुन ठाउँमा चार लेन बनाइयो, त्यो ठाउँमा हरियालीपूर्ण र सुन्दर फूलबारी बनाउने काम पनि भएको छ ।
यसैगरी, नेपालको सबैभन्दा पहाडी विकास रेखा मध्य पहाडी लोकमार्गको एक हजार दुई सय किलोमिटरमध्ये ७०० किलोमिटर कालोपत्रे भइसकेको छ । मध्य पहाडी लोकमार्गले नेपालको अर्थतन्त्र एकप्रकारको चमत्कार ल्याउन सक्नुपर्छ किनभने यसले सुर्खेत बाग्लुङ, खोटाङजस्ता पहाडी सहरहरूलाई जोड्नुुको साथै पहाडी जीवनलाई आधुनिकतातर्फ लैजान सहयोग गर्छ । यसबाहेक अन्य केही तरिकाले पनि यो सडकलाई प्रयोगमा ल्याउन सकिन्छ भने यसबारेमा एउटा नयाँ बहस वा सोचाइ लिन आवश्यक देखिन्छ ।
मध्य पहाडी लोकमार्ग, महेन्द्र राजमार्गलगायत कोरला सुनौली मार्गको बीचमा नदीहरू पर्दछन् । ती नदीबाट सडकछेउमा पाइप बिच्छ्याएर अर्को कुनै ठाउँमा सिँचाइ गर्न सकिन्छ । त्यसैगरी, नागढुङ्गाको तलबाट सुरुङमार्ग बनाइन्छ भने सिस्नेखोलामा कुनै खोलाबाट पानी ल्याएर त्यो पानी सुरुङछेउबाट ठूला पाइप राखेर काठमाडाँै उपत्यकामा ल्याउनेबारे किन छलफल नगर्ने ? सुरुङमा खर्च हुने नै भएपछि उपत्यकामा लाखौँ लिटर पानी ल्याउन सकिन्छ । अबको विकास बहुमुखी हुनुपर्छ । विद्युत्को काम बत्तीमात्र बाल्ने र गहुँको काम रोटीमात्र खाने भनेको भए इन्टरनेट र चाउमिन कसरी बन्थ्यो होला । त्यसैले जब देशले सडकमा लगानी गर्न परिरहेको छ भने त्यसैमा अलिकति तरिका मिलाउने हो भने सडकबाट अरू उपलब्धिमूलक काम पनि गर्न सकिन्छ ।
नागढुङ्गा नौबिसे सुरुङमार्गलाई जापानको हाज्मा आन्दो कर्पोरेसनले ३५ महिनामा पूरा गर्ने लक्ष्य लिएको छ । यदि हामीहरूले अलिकति थप छलफल गरेको भए आजको तीन वर्षमा उपत्यकामा मेलम्चीजत्तिकै महŒवपूर्ण तरिकाले पानी भित्रिन सक्छ । त्यो पानीले कङ्ंकीसम्मको समस्यामात्र भए पनि पूरा गरेमा उपत्यकामा अहिले अन्धाधुन्द जमिनमुनिबाट पानी झिक्ने गरिएको कामलाई रोक्न सकिन्छ । यसैले विकासको सर्वव्यापकताको विषयमा सोचौँ । काठमाडौँ निजगढको ७२ किमि लामो द्रुतमार्गमा साइकल लेनको पनि सोच राख्नुको साथै बन्ने अनुमान गरिएको चित्लाङ थानकोट सुरुङमार्गबाट र टोखा–छहरे सुरुङमार्गबाट काठमाडौँमा गाडीमात्र नआउने भई अन्य फरक पक्षका विषयमा परिकल्पना गर्न सकियो भने सडकहरू बढी उपयोगी हुन्छन् ।
उही मुलाको सिन्की, उही मुलाको अचार भनेझैँ उही सुरुङ, सडक उही सुरुङलाई पाइप नहर बनाउनैपर्छ । चीनको दुःखको उपमा पाएको ह्वाङ्हो नदीको बाटो फेरर पूरै मध्य चीन हुँदै बेइजिङसम्मका खेतमा सिञ्चाइ गरिएको छ । त्यहाँ सडक बनाइएको छ र बर्षेनि विश्वकै सबैभन्दा लामो मानवनिर्मित नदी हेर्न पर्यटकको भीड लाग्छ । नेपालमा कुल ९२ हजार किलोमिटर गाडी गुड्न सक्ने सडक निर्माण भएको छ । त्यसमध्ये १८ प्रतिशत कालोपत्रे भएको छ, २१ हजार किलोमिटर ग्राबेल भएको छ भने बाँकी ५२ हजार किलोमिटर सडक कच्ची छ । त्यसैले अब सडक बनाउँदा वा स्तरोन्नति गर्दा त्यसबाट यातायातबाहेक अन्य कस्ता–कस्ता काम गर्न सकिन्छ भन्नेबारे योजना बनाआँै । यदि बहुप्रयोग हुँदैन भने अनावश्यक रूपमा डाँडापाखा खनेर वातावरण समाप्त पार्ने कामलाई नियन्त्रण गर्नुपर्छ ।
आजसम्म झोलुुङ्गे पुलको जिल्ला भनेर बाग्लुङलाई चिनिन्थ्यो तर सबैभन्दा अग्लो, लामो भोलुङ्गे पुल बनाएर पर्वत जिल्लाले आन्तरिक पर्यटकलाई आकर्षित गरेको छ । यो सरल र सहज सोच हो । यसैगरी गुल्मीको दौवा भन्ने ठाउँबाट जोहाङको मोहरिया गाउँमा झोलुङ्गे पुल अहिलेको प्रविधिभन्दा अलि आधुनिक र वैज्ञानिक तरिकाले बनाउने हो भने दुई अलग गाउँपालिकालाई जोड्ने सबैभन्दा आश्चर्यजनक उपलब्धि हुनेछ । यसबाट जोहाङ मा रहेका १७ वटा काँक्रोका चिराजस्ता डाँडाहरू हेर्न पर्यटको घुँइचो लाग्न सक्छ । जोहाङ गाउँपालिकाको माथि चिरा परेका डाँडाहरू छन् । त्यस्ता चिरा अन्यत्र कतै पनि देखिँदैन । वर्षात्को पानीले गर्दा भल बगे । त्यहाँ चिरा परेका बताइन्छ । विश्वका लाखौँ डाँडाहरूमा त्यस्ता चिरा किन परेनन् ? पानी जताततै आउँछ, भल जता पनि बग्छ तर चिराको स्पष्ट खाका किन जोहाङमा मात्र देखियो, अनुसन्धानको विषय छ । यिनै गहनताभित्र रहेर दीर्घकालीन पर्यटकीय सोच विस्तार गर्न सक्नुपर्छ । यदि दौवा मोहरिया गाउँ पुल र जोहाङका डाँडाको मनोरमलाई मिलाउन सक्ने हो भने बुटवल–तानसेन–रिडी–वामीटक्सार बन्दै गरेको कालीगण्डकी कोरिडोर नेपालको सबैभन्दा व्यस्त सडक बन्नेछ ।
ऐतिहासिक र साँस्कृतिक महŒवका कारणले आउने पर्यटकहरूले खर्च कम गर्दछन् तर दुई पहाड जोड्न पुल र क्युकम्बर कट हिल
(काँक्राचिरेडाँडा) हेर्न आउने पर्यटकले खर्च पनि बढी गर्छन् । एक हजार ७९२ किलोमिटरको हुलाकी राजमार्ग विभिन्न नदीबाट सिँचाइयोग्य जलप्रवाहको माध्यम बन्नैपर्छ । विकास मौलिक हुन्छ र मौलिकतामा ध्यान दिनुपर्छ । पर्यटकलाई भौगोलिकको साथै अलिकति मानवनिर्मित संरचनाले पनि आकर्षित बनाउन सकिन्छ । त्यसैले सडक, पुल, पहाड आदि ठाउँलाई अलिकति लगानी गरेर फरक तरिकाले प्रस्तुत गर्नेतर्फ योजना बनाउन जरुरी छ ।
(लेखक शिक्षण पेसामा संलग्न हुनुहुन्छ ।)