मानव स्वास्थ्य तथा जीवित सम्पदामा हानिकारक ठहर्ने रासायनिक पदार्थ विषादीको अवैज्ञानिक प्रयोग अल्पविकसित मुलुकका लागि समस्या बनेको छ । विषादीको प्रयोग गर्ने तथा सम्पर्कमा रहने व्यक्ति, विषादी छरिएका फलफूल, तरकारी, बालीका उपभोक्ता र विषादी परेको माटोमा बसोवास गर्ने जीव तथा जैविक तत्वमा यसको प्रयोग हानिकारक हुने गरेको छ । एउटा किसानले विषादी प्रयोग गरेर शत्रुजीव (कीरा तथा लाई) पराजित गर्दा कीरा खाने निर्दोष चरामात्र दण्डित हुने छैनन्, बारीमा विष छर्कने किसानको स्वास्थ्य स्वयं जोखिममा पर्ने गर्छ । बारीबाट टाढा रहने माछा र माटोमुनि बस्ने अन्य जीव पनि सङ्कटमा पर्ने गर्छन् । त्यतिमात्र होइन, उपभोक्ताको स्वास्थ्यप्रति गैरजिम्मेवार भएर प्रयोग गरिने विषादीले आफ्नै सन्ततिलाई हानि गर्छ र पनि यसको प्रयोग गरिएकै छ । वैज्ञानिक तरिकाले प्रयोग गर्दा विष आफैँमा विष नहुन पनि सक्छ । उचित व्यवस्थापनमार्फत विषादीको असर र प्रभावलाई मानवमैत्री बनाउन सकिनेछ । उपभोगका दृष्टिले नेपालमा विश्व वा दक्षिण एसियाकै तुलनामा कम मात्रामा विषादीको प्रयोग हुने गरेको छ तर विषादीको दुष्परिणाम नेपालमा उच्च पाइन सक्छ । नेपालमा विषादीको प्रयोगबारे वैज्ञानिक अभिलेखीकरण नभएकाले कति विषादी प्रयोग गरिएको छ भनेर यसको आयातबाट मापन गर्नुपर्ने अवस्था छ । आर्थिक वर्ष ०७४÷७५ मा पशुपन्छीका घाउ खटिरामा लगाउने, जुम्रा, जुका, लामखुट्टे मार्न प्रयोग हुनेबाहेक कृषिका लागि ७५ करोड रुपियाँ बराबरको छ सय मेट्रिकटन विषादी आयात गरिएकाले यति नै परिमाणको विषादी सो अवधिमा प्रयोग भएको अनुमान गर्नुपर्ने हुन्छ ।
धान, गहुँ, कोदो, मकै, फापरलगायतका खाद्यान्नमा प्रयोग गरिने विषादीको प्रयोग अवधि र उपयोग समयबीच धेरै अन्तर हुने भएकाले तिनमा विषादीको अवशेष कम हँुदै जाने गर्छन् तर तरकारी तथा फलफूल विषादी प्रयोग गरिएको एकदुई दिन वा घण्टाभित्रै उपयोगमा आउन सक्ने भएकाले यसमा बढी चुनौती रहन्छ । नेपालमा आयात हुनेमध्ये तरकारीमा ८५ र अन्य बालीमा १५ प्रतिशत विषादी प्रयोग हुने गरेको छ । यसरी हेर्दा नेपाली नागरिक खाद्यान्नबाट भन्दा तरकारीबाट विषादीको उच्च जोखिममा पर्ने गरेका पुष्टि हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा ल्याइएका तरकारीमा चालू आर्थिक वर्षको यस अवधिसम्ममा आर्थिक वर्ष २०७४÷०७५ र २०७५÷०७६ को तुलनामा विषादीको प्रयोग बढेको पाइएको छ । विषादी अवशेष द्रुत विश्लेषण एकाइका अनुसार चालू आर्थिक वर्षको पहिलो सात महिनामा एक हजार ४०२ वटा नमुना परीक्षण गरिएकोमा १२ वटा तरकारीमा खानै नहुने विषादीको मात्रा भेटिएको छ भने तीनवटा आठ÷दश दिन पर्खेर खान मिल्ने पाइएको छ । अधिक विषादी भेटिएका सिमीका प्रकारमध्ये एउटा भारतबाट ल्याइएको छ भने तीनवटा झापा, काभ्रे र सल्र्लाहीमा उत्पादित छन् । यस्तै काउली धादिङ र बारामा उत्पादन गरिएका छन् । यस्तो अवस्थामा नेपालले यहाँका खेतबारीमा प्रयोग हुने विषादी नियन्त्रण गरेर मात्र नहुने भएकाले भारतबाट आयात गरिने फलफूल तथा तरकारीलाई प्रवेश बिन्दुमै परीक्षण र नियन्त्रण गर्नुपर्ने देखिएको छ ।
नेपालमा विषादीको प्रयोग र त्यसको प्रयोगपछि तरकारी फलपूmल तथा खाद्यान्नको उपभोगबारे यथेस्ट जनचेतना विस्तार गरिएको छैन । विषादीका प्रकार र प्रभावअनुसार दुईचार दिनदेखि ३५–४० दिनपछि मात्र उपभोग योग्य हुनेछन् । कतिपयलाई केही घण्टा पोटास पानी, नुनपानी, खाली पानीमा डुबाएर प्राथमिक होसियारी गर्दा पनि विषादीको जोखिम न्यून गर्न सकिनेछ । कतिपय अवस्थामा रासायनिकको विकल्पमा प्राकृतिक विषादी प्रयोग गर्न सकिनेछ । विषादीको नियमन र नियन्त्रणमा सरकारले धेरै काम गर्नुपर्छ र ती काम केही मात्रामा भएका पनि छन् तर नागरिक मूलतः कृषकले आफूले प्रयोग गरेका विषादीले आफ्नै सन्तानको स्वास्थ्यमा नानाथरीका जोखिम त थोपरेको छैन भनेर कर्तव्यनिष्ठ हुनसकेमा यसको प्रभाव कम गर्न सकिनेछ । साथै विषादीको ओसारपसार र प्रयोगसम्बन्धी नियमन गर्न बनाइएका विद्यमान कानुनी प्रावधानको अक्षरशः पालना र समयानुकूल परिमार्जन गर्नु नितान्त आवश्यक छ । विषादी प्रयोग कानुनी र नैतिक दुवै सवाल भएकाले यसको नियमनमा सबै पक्षको जिम्मेवारी रहनेछ ।