डा. सुमनराज ताम्राकार
किटाणु (व्याक्टेरिया), फङ्स (ढुसी), परजीवीजस्तै विषाणु (भाइरस) पनि एकप्रकारको सङ्क्रामक जीवाणु मानिन्छ । भाइरसलाई नेपालीमा विषाणु भनिनुपर्नेमा हामी भाइरस शब्दमै अभ्यस्त भइसकेका छौँ ।
सूक्ष्म परजीवी भाइरसमा प्रोटिनको आवरण र न्युक्लिइक एसिड हुन्छ । न्युक्लिइक एसिड प्रायसः आएनए (राइबोन्युक्लिइक एसिड) नत्र भने डीएनए (डिअक्सिराइबोन्युक्लिइक एसिड) हुन्छ । प्रोटिनबाट निर्मित क्याप्सिड नामको रक्षात्मक कवच हुने भाइरसमा कोरा वंशाणु अंश तŒव कहिलेकाहीँ यसमा कोरोना भाइरसमा जस्तै इन्भेलोप भनिने थप चुच्चायुक्त खोल पनि हुन सक्छ । भाइरस अति सूक्ष्म सङ्क्रामक एजेन्ट हो । यो कुनै पनि जीवाणुको जीवित कोषमा मात्र वृद्धि हुने गर्दछ । भाइरसले वनस्पति, जीवजन्तुलगायतका सबैखाले जीवलाई असर गर्दछ, व्याक्टेरियालाई पनि बाँकी राख्दैन । सन् १८९२ मा डिमित्री इभानोभ्स्कीले सङ्क्रमित पातबाट छुट्याएको तŒवलाई मार्टिनस बेइजेरिन्कले टोबाको मोजाएक भाइरस भनेर पहिलोपटक भाइरस भनिने जीवाणुको नामकरण गरेका थिए ।
भाइरस सम्भाव्य आतिथ्य जीवमा पसेर त्यसकै वंशाणु अंश अपहरित गर्दछ, त्यसैले यसलाई अवसरवादी जीवाणुभन्दा फरक पर्दैन । भाइरस कसरी मर्छ, कुनै जवाफ छैन किनकि आफैँमा वंशाणुतŒव भए पनि अन्य जीवित कोषको सहायताबेगर भाइरस आफैँ बाँच्न सक्दैन । भाइरस परजीवी हो पनि, होइन पनि । परजीवी किन हो भने यो जीवन निर्वाहका लागि अन्य जीवमा भर पर्ने पर्दछ अर्थात् आफैँले खाना बनाउन सक्दैन । परजीवी किन भन्न मिल्दैन पनि भने अन्य परजीवीले आश्रय कोषको वंशाणु तŒवमा दख्खल अन्दाजी गर्दैन र अन्य परजीवी आफैँमा केही दिन बाँच्न सक्छ ।
भाइरसले बिफर, विभिन्नखाले रुघा, दादुरा, हाँडे, ठेउला, जनैखटिरा, हेपाटाइटिस, पोलियो, रेविज, इबोला, चिकन्गुन्या, डेङ्गीलगायतका अनेकथरिका सङ्क्रमण मानिसमा गराउन सक्छन् । कुनै पनि सङ्क्रामक जीवाणुविरुद्ध मानव शरीरभित्र पसेपछि प्रतिरोधात्मक क्षमता विकसित गरी रोग वा सङ्क्रमणलाई नियन्त्रणमा राख्छ । तर, भाइरल सङ्क्रमणको हकमा मानव शरीरले बनाउने यस्तो प्रतिरोधात्मक क्षमता अन्य जीवाणुमा जस्तै भाइरससम्मै पुग्न सक्दैन । यसको अलावा भाइरस सङ्क्रमित कोषलाई नै प्रभावहीन बनाइदिन्छ । तर, भाइरस वृद्धि हुने बखत यसले प्रभावित कोषको सतहमा परिवर्तन आउनाको कारण मानव शरीरको कतिपय प्रतीरक्षात्मक कोषले पहिचान गरी भाइरल सङ्क्रमित कोषलाई नै निलेर निमिट्यान्न पारिदिन्छ । आतिथ्य कोषको वंशाणु अंश अपहरित गरी आतिथ्य कोषको वृद्धिलाई नै माथ ख्वाइदिन्छ । यसक्रममा भाइरसले आतिथ्य कोषमा टाँसिने, छिर्ने, परिमार्जन, जैविक निर्माण, वयस्क हुने, ध्वस्त पार्न थाल्ने गरी छ चरण पार गर्दछ । आतिथ्य कोषमा पसेपछि भाइरसमा काँचुली फेर्ने विशेष गुण हुन्छ । त्यसैले त बेलाबेलामा पैmलिने महामारी बर्डफ्लु र स्वाइन फ्लुका सङ्केत फेरिन्छ । एचवानएनवानबाट नामकरण सुरु भएका यी सङ्क्रमण प्रत्येकपटक बाहिरी आवरणमा आउने परिवर्तनका कारण पछिल्लो समय सङ्केत नम्बर माथि पुगिसकेको छ ।
प्रायसः भाइरल सङ्क्रमणमा औसत शारीरिक तापक्रमभन्दा निकै बढ्ता ज्वरो आउँछ । यसका साथै सबैजसो भाइरल सङ्क्रमणमा रुघा लाग्ने, पातलो सिँगान बग्ने, खोकी लाग्ने, वाकवाकी आउने, थकान महसुस हु्ने, जिउ दुख्ने हुन्छ । भाइरस शरीरमा हुन्जेल असर बाँकी रहन्छ । यस्तो लक्षण धेरैजसो केही दिनदेखि दुई हप्तासम्म मात्र रहन्छ । त्यस कारण पनि अहिले कोरोना सङ्क्रमितलाई पनि कम्तीमा दुई हप्तासम्म छुट्टै राखेर उपचार गर्नुपर्छ भनिएको हो । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार ज्वरो हराएपछि पनि घरमै कम्तीमा २४ घण्टा आराम गर्नुपर्दछ ।
भाइरल सङ्क्रमणमा प्रायसः लाक्षणिक उपचार नै गरिन्छ । भाइरल सङ्क्रमणमा ज्वरो कम हुने, दुखाइ कम गर्ने पारासिटामोल औषधि बहुगुणी छ । एकखाले भाइरस भए पनि समय–समयमा काँचुली फेरिराख्ने कारण एकपटक बनाएको औषधि वा खोप अर्कोपटकका लागि काम लाग्दैन । त्यसो भएर कोरोना भाइरसजस्तै नयाँखाले भाइरस देखिनेबित्तिकै उपयुक्त उपचार पत्ता लगाउन स्वास्थ्यकर्मीहरूको टाउको दुखाइ हुन्छ । निकै समय लगाएर कतिपय भाइरल सङ्क्रमणविरुद्ध खोप (हेपाटाइटिस बी, रेविज) विकसित गरे पनि व्याक्टेरियाका लागि एन्टिबायोटिक औषधि जस्तै ठेट औषधि भने विकसित हुन सकेको छैन । भोड्का, रम पिएपछि भाइरल सङ्क्रमण अस्थायी तवरमा निको अनुभूति गराए पनि यस कार्यले जलवियोजन गराउन सक्ने हुनाले लक्षण चिह्न झन् लम्बिन सक्छ ।
भाइरस पनि अनेकथरिका हुन्छन् । अन्को भाइरस (जस्तै ह्युमन पापिलोमा भाइरस) ले क्यान्सर गराउँछ । इब्स्टेन बार भाइरसको सङ्क्रमण ¥यालबाट सर्ने भएकाले किसिङ डिजिज भनिन्छ, जसले गर्दा किशोर–किशोरीले चुम्बन गर्नै पाउँदैनन् । इबोला भाइरल सङ्क्रमणमा मृतकको शवबाट पनि सर्न सक्ने भएकाले मलामीसहितलाई धौ–धौ परेको थियो । एचआईभी सङ्क्रमणका कारण मानिसले सर्वाधिक रुचाउने यौनसम्पर्क राख्नै सोचनीय बनाएको छ । बर्डफ्लु, स्वाइनफ्लु सङ्क्रमणका बेला मानिसलाई सर्वप्रिय ‘चिकेन’, ‘पोर्क’ परिकार खानै डराउनुपर्ने अवस्था आउँछ । रेविज सङ्क्रमणका कारण कुकुर, बिरालो पाल्न मन भए पनि सोच्नुपर्ने अवस्था छ । गर्भवती महिलामा हेपाटाइटिस ‘ई’को सङ्क्रमण त प्राणघातक साबित हुन सक्छ । कुनै भाइरल सङ्क्रमणले जिउमा जनैखटिरा त कुनै भाइरलले ओठको कुनामा पानी भरिएका स–साना फोका निकाल्ने, मुख अनि अनुहारको आधा भाग नै बाङ्गो बनाइदिने हुन्छ । प्रथम विश्वयुद्धलगत्तै ग्रेटफ्लुका कारण सन् १९१८ मा प्रथम विश्वयुद्धमा भन्दा बढी मानिसको ज्यान (करिब चार करोड) गएको थियो ।
भाइरल सङ्क्रमणले पहिले–पहिले पनि महामारी नमच्चाएको होइन । धेरै टाढा नजाउँ, बीसौँ शताब्दीमा सन् १९१८ देखि १९२० मा स्पेनिस फ्लु, सन् १९५७–५८ मा एसियन फ्लु, १९६८–६९ मा हङकङ फ्लु, १९७२–७३ मा लन्डन फ्लु, १९७४ मा भारतमा बिफर, १९६० बाट एचआईभी एड्स, १९९८–९९ मा निपाह भाइरस सङ्क्रमण, सन् २००० मा मध्य अमेरिकामा डेङ्गी सङ्क्रमण महामारीका रूपमा फैलिएको थियो ।
त्यसैगरी, एक्काइसौं शताब्दीको सुरुवातीतिर (सन् २००२–२००४) नै हङकङ र चीनमा सार्स (सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम), २००४ मा इन्डोनेसियामा डेङ्गी, २००४ मै सुडानमा इबोला, २००५ मा सिङ्गापुरमा डेङ्गी, २००६ मा भारतमा डेङ्गी र चिकन्गुन्या, २००६ मै पाकिस्तान र फिलिपिन्समा डेङ्गी, २००७ मा नाइजेरियामा पोलियो, मेक्सिकोमा डेङ्गी, युगान्डामा इबोला, २००८ मा ब्राजिल, फिलिपिन्स र कम्बोडियामा डेङ्गी, २००९ मा बोलिभियामा डेङ्गी, भारतमा हेपाटाइटिस ‘बी’, अस्टे«लियामा डेङ्गी, विश्वभर हाँडे, कङ्गोमा दादुरा (अहिले सम्म), २०११ मा पाकिस्तानमा डेङ्गी, २०१२ देखि २०१५ विश्वभर मर्स (मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम), २०१३ देखि २०१६ पश्चिमी अफ्रिकामा इबोला, २०१३ देखि २०१५ अमेरिकामा चिकन्गुन्या, २०१४–२०१५ मा भारतमा हेपाटाइटिस ‘ई’ र ‘ए’, इन्फ्लुएन्जा, २०१५–१६ मा जिका भाइरस, २०१८ मा भारतमा निपाह भाइरस, २०१९ देखि अहिलेसम्म अफ्रिकी मुलुकहरू टोँगा, साम्पामा दादुरा सङ्क्रमणले महामारी मच्चाएको थियो भने पछिल्लो समय चीनमा नोबल कोरोना भाइरल सङ्क्रमणले त्रासदी पैmलाइरहेको छ ।
पछिल्लो समय हवाई तथा रेल यातायातका कारण मानिसको मोबिलिटी (चलायमान) बढी भएको तथा मानिस घुमफिरमा निस्कने गरेकाले यो सङ्क्रमण अन्यत्रतिर पनि सर्ने बढी सम्भावना छ । यसरी विश्व सानो गाउँमा परिणत भएबाट विगतमा डेङ्गी, बर्डफ्लु, स्वाइनफ्लुजस्तै यो कोरोना भाइरसको सङ्क्रमण पनि नेपालमा छिट्टै देखापरेको छ । मानिसको बढ्दो मोबिलिटीसँगै यो सङ्क्रमण अन्यत्र पनि छिटो फैलिन सक्ने भएकाले विश्व स्वास्थ्य सङ्गठनले ‘ग्लोबल पब्लिक हेल्थ इमर्जेन्सी’ घोषणा गरिसकेको छ ।
किन कोरोना भनिएको ?
यो नयाँखाले भाइरसलाई ‘२०१९ एनसीओभी’ वैज्ञानिक नाम दिइएको भए पनि अति प्रभावकारी माइक्रोस्कोपबाट हेर्दा यो भाइरस मुकुटजस्तो देखिएका कारण कोरोना (ल्याटिन भाषामा मुकुटलाई कोरोना भनिन्छ) नामकरण गरिएको हो । त्यसो त अहिलेसम्म योपटकको कोरोना भाइरल सङ्क्रमण मानिसबाट मानिसमा सर्दछ भनेर निक्र्यौल गरिसकिएको छैन । तर, यो भाइरल सङ्क्रमण भएकाले हाच्छ्युँ गर्ने, खोक्नेक्रममा निस्किने ¥याल, सिँगानको कण (ड्रपलेट) मा प्रशस्त मात्रामा भाइरस हुन सक्छ ।
त्यसो भएर खोक्ने, हाच्छ्युँ गर्ने बेलामा हात होइन कुइना, हाते रुमाल होइन टिस्यु पेपर प्रयोग गरेलगत्तै फ्याँक्नुपर्दछ । यस सङ्क्रमणबाट बच्न पटक–पटक हात धुने गर्नुपर्दछ । खोक्दा, हाच्छ्युँ गर्दा प्रयोग गरेको टिस्यु पेपर फालेपछि, प्रभावित व्यक्तिलाई स्याहार गरेपछि, दिसा–पिसाब गरेपछि, पशुपक्षी छोएपछि, घर फर्किनेबित्तिकै हात धुने गर्नुपर्दछ । यसैगरी अन्य व्यक्तिको मोबाइल चलाएपछि, कार्यालय वा विद्यालयका झ्याल, ढोकाका ह्यान्डल वा चुकुल छोएपछि, धेरैजसोले चलाउने, प्रयोग गर्ने सामान छोएपछि पनि हात धुनुपर्दछ । रुघाखोकी लागेका व्यक्तिसँग टाढै बस्ने, मासु एवम् पशुपन्छीजन्य परिकार राम्ररी पकाएरमात्र खाने गर्नुपर्दछ । हात धुनुको सट्टा हात निर्मलीकृत गर्ने ह्यान्ड स्यानिटाइजर पनि प्रयोग गर्न सकिन्छ । हात मिलाउनुभन्दा नमस्ते गरेर सत्कार आदान–प्रदान गर्नु बुद्धिमानी हुन्छ ।
पहिले पनि कोरोना भाइरसबाट सङ्क्रमण हुन्थ्यो । तर, धेरैजसो कोरोना भाइरस हानिकारक नभए पनि यसपटकको नयाँखाले (नोबल कोरोना भाइरस) ले कडाखालको निमोनिया गराउन सक्ने र यसको सङ्क्रामक दर, गाम्भीर्य दर र मृत्यु गराउने सक्ने दर धेरै भएकाले पनि बढ्ता सजगता आवश्यक हुन्छ । र, विश्वकै उच्च जनसङ्ख्या भएको चीनबाट सुरु भएको यो सङ्क्रमणको स्थितिलाई अलि भयावह हुन सक्ने आँकलन गरिएको छ । त्यसैले सुरुमा सामान्य देखिए पनि अवस्था तुरुन्तै गम्भीर हुन सक्ने भएकाले शङ्का लाग्नेबित्तिकै आवश्यक चेकअपका लागि जानु राम्रो हुन्छ ।
(लेखक वरिष्ठ चिकित्सक हुनुहुन्छ ।)