रामेश्वरसिंह पाण्डे
बूढी, दूध दिएर थाकेका । रोगी गाईहरू तथा कृषि कार्यमा अनुपयुक्त बहर तथा गोरु अनुत्पादक मानिन्छन् । नेपालको कानुन तथा धार्मिक मान्यताअनुसार गाई–गोरुको वध गर्न वा निकासी गर्न पाइन्न । यस्तो अवस्थामा पशुपालकले दूध नदिने गाई वा काममा प्रयोग नहुने गोरुका लागि पनि बाँचुन्जेल चरिचरन, आहारा पानी, गोठको व्यवस्थापन तथा रोगव्याधी लागेमा औषधि उपचार गर्नुपर्ने हुन्छ तर थारो तथा अनुपयोगी बहरहरू मुख्यतः दूध तथा कृषिजन्य शक्तिको उत्पादनका लागि उपयुक्त नहुने भएकाले यस्ता गाईगोरुलाई अनुत्पादक पशुका रूपमा लिइन्छ । आफ्नो जीवनकालको उत्पदनशील अवस्थामा गाईले दूध तथा बहरलाई गोरु बनाएर हलोमा, गाडा तान्न वा अन्य कार्यमा प्रयोग गरिन्छ भने केहीलाई साँढे बनाएर गाईलाई बाली लगाउनसमेत उपयोग गरिन्छ । यसैले हिन्दु मान्यताअनुसार गाईलाई माता र गोरु गोवर्धनका रूपमा पुजिन्छ ।
नेपालमा पालिने पशुमा गाईगोरु, भैँसीराङ्गा, भेडाबाख्रा, याकचौँरी, घोडा खच्चड, सुँगुर–बङ्गुर आदि पालिन्छन् । यी पशुमध्ये गाईगोरुबाहेक सबै पशुहरू जीवनपर्यन्त कुनै न कुनै किसिमले मानिसका लागि उपयोगी हुन्छन् ।
नेपालमा कृषि तथा पशु विकास मन्त्रालय २०१७ को तथ्याङ्कअनुसार हाल ६४ लाख गाईगोरुमध्ये ५८ प्रतिशत (३७ लाख) बहर वा गोरु र बाँकी बाच्छी वा गाई छन् । कुल बाच्छी वा गाईको सङ्ख्याको केवल १५ प्रतिशत (१० लाख) मात्र दूध दिने अवस्थाका, १४ प्रतिशत (नौ लाख) तीन वर्षमुनिका बाच्छी र बाँकी १३ प्रतिशत (आठ लाख, ५६ हजार) थारो गाई छन् । कुल बहर वा गोरुमध्ये करिब २० प्रतिशत मात्र कृषि वा गर्भाधानका लागि प्रयोग गरिन्छन् बाँकी ३० लाख बहर र गोरु अनुत्पादक पशु हुन् । अर्को तीन लाख गाई बूढी र थारो अवस्थाका छन् ।
नेपालमा पालिने गाईमध्ये धेरै रैथाने जातका र केवल १३ प्रतिशत मात्र बढी दूध दिने विदेशी जर्सी तथा होल्स्टन जातका गाई छन् । एउटा गाईगोरुको औसत आयु १५–२० वर्षको हुन्छ । तीन वर्षको उमेरमा एउटा बाच्छीले पहिलोपटक बच्चा जन्माएर करिब १२ वर्षको उमेरसम्ममा सात–आठवटा बाच्छाबाच्छी जन्माउँछ । बच्चालाई हुर्काउन र पोषणका लागि गाईले करिब १० महिना जति दूध दिन्छ । बच्चा दिन थाकेपछि गाईले दूध दिन पनि छाड्छ । तर आहाराको व्यवस्था बाँचुन्जेल गर्नुपर्ने भएकाले कृषकका लागि आर्थिक बोझका रूपमा लिइन्छ । त्यस्तै कृषि वा प्रजननका लागि प्रयोग हुने बाहेक अन्य दूध छुटाएपछिका बाच्छो वा कृषिकार्यमा प्रयोग नहुने गोरु कृषकका लागि आर्थिक भारका रूपमा हुन्छन् ।
हाल विदेशी जातका जुरो नभएका गाईको व्यावसायिक पालन, कृत्रिम गर्भाधान र कृषिमा यान्त्रिकरणको प्रयोग बढ्दै गएको हुँदा बहरको उपयोगिता कम हुँदैगएको छ । हाल नेपालमा करिब ३३ लाख गाईगोरु अनुत्पादक अवस्थामा छन् । यी अनुत्पादक पशुको लालनपालमा हुने आर्थिक भार तथा श्रमबाट बच्न कृषकले दूध छुटाएका बाच्छा तथा बहर, बूढी गाईलाई निर्दयीपूर्वक गोठबाट धपाएर छाडा छाडिदिन्छन । यद्यपि यसरी छाडा छाड्नु गैरकानुनी हो । यी छाडा गाईगोरु बहरहरू बाटोमा हिँड्ने, पसल, होटल तथा घरबारीका फलफूल, बिरुवा खाने आदिले गर्दा सडक दुर्घटना तथा बालीनालीको ठूलो क्षति हुने गर्दछ ।
छाडा पशुको नियन्त्रण तथा दुरुत्साहन गर्न सरकारी निकाय तथा सम्बन्धित नगरपालिकाले समातेर काञ्जीहाउसमा राख्ने, बिगो तिराउने प्रावधान पनि छ । तर पनि ठूलो सङ्ख्यामा यस्ता छाडा पशु बाटोघाटो, सडक, चौर, फोहोर फाल्ने स्थान आदिमा देख्न सकिन्छ ।
छाडा गाईबस्तुका लागि सम्बन्धित नगरपालिकाले काञ्जीहाउस बनाएका हुन्छन् । जहाँ बेवारिसे पशु चौपायालाई थुनेर राखिन्छ । कतै कतै सामाजिक सङ्घसंस्थाले गौशाला पनि बनाइदिएका छन् तर यी काञ्जीहाउस तथा गौशालामा स्रोतसाधनको कमी भएको हुँदा समुचित आहारा, पानी, गोठघरमा स्थान तथा बिरामी पशुको औषधोपचारका लागि समुचित सुविधा उपलब्ध हुनसकेको छैन ।
गाईगोरुप्रति धार्मिक आस्था, विद्यमान ऐननियम तथा पशुजन्य अधिकारको संरक्षणका लागि पनि गाईको बुढेसकाल तथा बहरको बेकारीको अवस्थामा पनि बाँच्न पाउने अधिकारको सुनिश्चितताको रक्षा गर्दै न्यूनतम सुविधिा उपलब्ध गराई हेरविचार तथा आहारपानीको व्यवस्था गरिनुपर्छ । छाडा तथा बेवारिसे अवस्थामा छाड्नु हुन्न तर धेरैजसो नगर क्षेत्रका वरिपरि सञ्चालनमा रहेका व्यावसायिक गाई फार्मले दूध छुटाएका बाच्छा र बूढी तथा थारो गाईलाई गोठबाट धपाई छाडा छाडिदिन्छन् । केही वर्षको तथ्याङ्कअनुसार काठमाडौँ महानगरपालिकाले बाह्र सय छाडा गाईलाई सडकबाट समाएर लिलाम गरेको थियो । अन्य नगरपालिकाले पनि समय समयमा यस्ता छाडा गाईगोरुको समस्याबाट मुक्ति पाउन लिलामका साथै अन्य उपायको अवलम्बन गरिरहेका छन् ।
एक अध्ययनले यस्ता बेसहारा अनुत्पादक गाई बहरलाई गोबर, गहँुत तथा मरेपछि पाइने हाडछालाबाट पनि आर्थिक रूपमा मनग्य फाइदा लिन सकिने तथ्याङ्क देखिएको छ । गाईको गोबर तथा गहुँत बालीनालीका लागि आवश्यक पोषण प्रदान गर्ने २४ भन्दा बढी थरिका पोषकतत्वहरू पाइन्छन् । जसमा नाइट्रोजन, फस्फोरस र पोटास मुख्य हुन् । गोबरबाट बायोग्यास बनाएर खाना पकाउने इन्धन र घरायसी उपकरण प्रयोगका लागि ऊर्जाको आवश्यकता पूरा गरिरहेको छ । नेपालमा १५ लाखभन्दा बढी गोबरग्यास प्लान्ट स्थापना गर्न सकिने सम्भावना रहेको छ । हाल करिब सवा लाख गोबरग्यास प्लान्ट स्थापना भएका छन् ।
गाईको सुक्खा गोबरमा तीन प्रतिशत नाइट्रोजन, दुई प्रतिशत फस्फोरस र एक प्रतिशत पोटास पाइन्छ । यदि गाईभैँसीबाट उत्पादन हुने गोबर तथा गहुँतलाई मलका रूपमा राम्ररी सदुपयोग गर्ने हो भने नेपालमा रासायनिक मलको आवश्यकता हुँदैन । उदाहरणका लागि एक वयस्क गाईले वर्ष दिनमा पाँच हजार ४७५ किलो गोबर र एक हजार ४६० लिटर गहुँत दिन्छ । जसबाट तीन हजार किलो नाइट्रोजन अर्थात् छ हजार ५०० किलो युरिया बराबरको रासायनिक मल उत्पादन हुन्छ । जसको हालको बजार मूल्य करिब एक लाख रुपियाँको हुन्छ । यसरी एउटा थारो गाई वा बहरले वर्ष दिनमा दिने गोबर र गहुँतको मूल्य हिसाब गर्ने हो भने करिब एक लाख बराबर हुनजान्छ ।
यसरी गोबर र गहुँतका लागि पनि यस्ता छाडा अनुत्पादक गाई तथा बहरपालन गरेमा पनि यस्तो व्यवसायबाट राम्रो आर्जन गर्न सकिन्छ । उदाहरणका लागि छाडा गाई बहरलाई बढीमा पाँच हजार गोटाको दरले खरिद गर्न सकिन्छ । यस्ता दूध नदिने गाई बहरलाई पराल र केही हरियो घाँस खान दिएर पालेमा वर्ष दिनमा बढीमा चालीस हजारभन्दा बढी खर्च हुन्न । अन्य खर्च थप पाँच हजार परे पनि यस्ता छाडा गाइगोरुबाट वर्ष दिनमा पचास हजार प्रतिगाईगोरु बचत गर्न सकिन्छ । यदि रैथाने जातका गाईको गहुँत सङ्कलन गरी गौमूत्रको रूपमा धार्मिक तथा औषधिका रूपमा बजारीकरण गर्ने हो भने आन्तरिक बजारका साथै निर्यात पनि गर्न सकिन्छ । हाल भारतमा केही व्यवसायीले गौमूत्र तथा गोबरको गुइँठा धार्मिक कार्यका लागि अमेरिका तथा युरोपमा निर्यात गरिरहेका छन् ।
छाडा तथा अनुत्पादक गाईगोरुको व्यवस्थापनको अर्को विकल्प छाडा गाईगोरुका लागि सामुदायिक वन वा ऐलानी जग्गामा बहुवर्षीय घाँस लगाएर प्राकृतिक आरक्षणको व्यवस्था गर्न सकिन्छ । जहाँ यी पशु बाँचुन्जेल स्वछन्द रूपमा जीवनयापन गर्न पाउँछन् । बूढा थारा गाई तथा काम नगर्ने बहर गोरु कृषकका लागि आर्थिक भार मात्र हुन् । सरकारी तथा गैरसरकारी निकाय तथा सामाजिक सङ्घसंस्थाका साथै निजीस्तरका व्यवसायीले प्रत्येक नगरपालिकामा कम्तीमा एक गौशाला स्थापना गरी गोबर र गहुँतको प्राङ्गारिक मल कारखाना, बायोग्यास प्लान्ट वा गौमूत्र, गुइँठा प्रशोधन कारखाना स्थापना गरी आर्थिक लाभ लिन सकिन्छ ।
(लेखक पशु विकास तथा आहाराविज्ञ हुनुहुन्छ ।)