वर्तमान सरकारको दुईवर्षे कार्यकाल पूरा भएको छ । यसबीच नेपाली राजनीतिमा भरोसायोग्य सङ्केत देखिएका छन् । पहिलो कुरा त मुलुकले राजनीतिक स्थायित्व पाएको छ । संविधान जारी, निर्वाचन सम्पन्न, दुईतिहाइको सरकार गठनबाट सुरु भएको स्थायित्वको यात्रा वर्तमान सरकारको नेतृत्वमा सङ्घीयता कार्यान्वयन, मौलिक हकको प्रत्याभूति, आर्थिक समृद्धिको लक्ष्य प्राप्तिको उध्र्व गतिमा संवाहित छ । विकास र समृद्धिको राष्ट्रिय सङ्कल्पमा प्रतिबद्ध केपी शर्मा ओली नेतृत्वको सरकारले आगामी विकासका खाका स्पष्ट देखाएको छ । सुशासन र विकासलाई तीव्रता दिँदै समृद्धिमा पुग्ने लक्ष्य निर्धारण गरेको सरकारले पहिलो वर्षलाई संविधाननिर्दिष्ट कानुन निर्माण, ठूला विकासका कानुनी तथा भौतिक पूर्वाधार, लगानीमैत्री वातावरण सिर्जना र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयन आधार निर्माणमा केन्द्रित ग¥यो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय सङ्कल्पसहित सरकारले दोस्रो वर्षमा पूर्वाधार निर्माणमा तीव्रता दिन राष्ट्रिय पुँजी तथा अन्तर्राष्ट्रिय स्रोत परिचालन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार, भ्रष्टाचार नियन्त्रण, शान्तिसुरक्षामा सुधारजस्ता महìवपूर्ण उपलब्धि हासिल गरेको छ । यसबीच राज्यका स्रोतसाधनको न्यायपूर्ण वितरण र भौतिक विकासमा सरकारले उल्लेख्य सफलता पाएको छ । सामाजिक सुरक्षाको दायरा र दरमा भएको वृद्धिले सामाजिक न्याय तथा संविधानका मौलिक हकको कार्यान्वयन मात्र गरेको छैन, प्रजातन्त्रको स्थानीयकरण गरेको छ । प्रजातन्त्रको प्रतिफललाई ज्येष्ठ, एकल, अपाङ्गता भएका व्यक्ति, पिछडिएको क्षेत्र तथा समुदाय लक्षित गर्दै सामाजिक न्याय विस्तार गरिएको छ । विकासको केन्द्रीकरणलाई भङ्ग गर्दै ग्रामीण विकासमार्फत सन्तुलित भौगोलिक तथा सामाजिक विकासको मूलप्रवाहबाट किनारामा परेका समुदाय तथा क्षेत्रलाई समेट्ने प्रयासले गति लिएको छ । जनताका भौतिक आवश्यकता तथा आकाङ्क्षा सम्बोधन गर्ने क्रममा वर्तमान सरकारको नेतृत्वमा जलविद्युत्, सिँचाइ, सुरुङमार्ग, रेलमार्ग, जलमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल, अन्तरदेशीय विद्युत् प्रसारण लाइन, पेटोलियम पाइपलाइन, सडकमार्ग, सूचना र प्रविधिको क्षेत्रमा देशभर फोरजी र ब्रोडब्यान्ड सेवा विस्तार, मौलिक हकको कार्यान्वयनलगायत पूर्वाधार विकासमा गौरवपूर्ण योजना आरम्भ भएका छन् । सुखद प्राप्तिका लागि स्पष्ट यात्रा अर्थात् प्रस्थान सुरु भएको छ । यसलाई प्रस्थान र प्राप्ति उन्मुख दुई वर्ष भन्न सकिन्छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएजस्तै मुलुकबाट गरिबी, अशिक्षा, निरक्षरता, पछौटेपन, रोग, भोक हटाउन सक्छौँ भन्ने स्पष्ट विश्वास यी दुई वर्षबाट देखिएको छ । मानिस आकाङ्क्षा र पहलको योग पनि हो । जनतासँग अथाह आकाङ्क्षा थिए, छन् । ती आकाङ्क्षा पूरा गर्न सरकारले अभिभावकीय पहल गर्दैछ । मानिसका सबै आकाङ्क्षा पूरा हुँदैनन् तर आकाङ्क्षा पूरा हुँदै जाँदा विकास हुन्छ, संस्कृति निर्माण हुन्छ र सभ्यताको जग बस्छ । विकास कुनै स्थुल वस्तु होइन जसको आयाम र आयतनको औसतलाई अङ्कमा व्यक्त गर्न सकियोस् । सारा विकासको आधार र अन्त्य कुनै एक व्यक्ति वा सरकारले गर्न सक्दैन । कुनै देश एकै रातमा विकसित भएका पनि छैनन् । तीव्र आकाङ्क्षाले विकास र समृद्धितिर डो¥याउँछ तर बिर्सन हुँदैन– अमूर्त र अव्यावहारिक आकाङ्क्षाले विनाश र विकृतितिर धकेल्छ । आजका आजै सबै आकाङ्क्षा पूरा हुनुपर्छ भनियो भने त्यो व्यावहारिक हुँदैन ।
सरकारका काम कारवाहीलाई चुनावी घोषणापत्रका आधारमा मात्र मूल्याङ्कन गर्न न्यायोचित हुँदैन । विश्वका कुन घोषणापत्र एउटै पुस्ताले पूरा गरेको छ ? घोषणापत्र स्वाभाविकरूपमा मार्गदर्शक दस्तावेज हुने भएकाले यसले धेरै देख्छ, देख्नुपर्छ । घोषणपत्रले निष्र्दिष्ट गरेको मार्गमा सरकार तथा मुलुक गएका छन् कि छैनन् भन्ने विश्लेषण महìवपूर्ण हुन्छ । किलो वा तराजु लिएर कुनै पनि विकासको मूल्याङ्कन गर्न सकिँदैन । आग्रहमुक्त भएर परिस्थितिको विश्लेषणले मात्र विकासलाई मापन गर्नुपर्छ । विगतमा भन्दा वर्तमानमा हुने सकारात्मक परिवर्तन नै विकास हो भन्ने विकासको सामान्य परिभाषालाई आत्मसात् गरेमा ‘केही भएन’ भन्ने आग्रहपूर्ण मनोविज्ञानबाट मुक्त हुन सकिनेछ । धेरै भएको छ, अझ धेरै गर्न बाँकी छ । विकास समयको निरन्तरता पनि भएकाले समय र परिस्थिति निरपेक्ष भएर विकासको अपेक्षा गर्नुलाई आकाङ्क्षा होइन, अतिआकाङ्क्षा भन्नुपर्छ । ‘अति सर्वत्र वर्जयेत्’ नीतिले भनेको छ ।