डा. सुरेश आचार्य
चीन कोरोना भाइरस (कोभिड १९) बाट प्रभावित भएपछि खासगरी यसको उद्गमस्थल वुहानमा रहेका नेपालीहरूमा एक खालको त्रास पैmलियो । रोग प्रभावित क्षेत्रबाट छिटै उम्किन पाए सुरक्षित भइन्थ्यो भनेर लाग्नु स्वाभाविक हो । उनीहरू र उनका अभिभावकहरूले छिट्टै स्वदेश फर्कन पाउने व्यवस्थाका लागि सरकारसँग आग्रह गरे । ठीक त्यही बेला वुहानमै रहेका एक नेपाली चिकित्सकको सुझाव आयो – नेपाल फर्कनुभन्दा चीन नै सुरक्षित हुनसक्छ । उनको यो सुझावमा तर्क थियो – सङ्क्रमणको रोकथामका लागि चीनले जति छिटो प्रयास गर्छ, त्यो नेपालमा सम्भव नहुन सक्छ । यदि नेपाल फर्कंदै गर्दा सङ्क्रमित भइसकेको अवस्था रहेछ भने उपचार असम्भव हुनसक्छ । अझ एउटै जहाजमा फर्कदा कोही सङ्क्रमित भएको रहेछ भने रोग अरूमा सर्ने खतरा रहन्छ । ती चिकित्सकले यो तर्क गरिरहँदा कोरोना भाइरसको उपचारका लागि चीनले ४८ घण्टाभित्र नयाँ अस्पताल बनाएर त्यो सम्भावनालाई पुष्टि गरेको थियो ।
यता मुलुकभित्र चीनमा रहेका नेपालीलाई तत्काल फर्काउने व्यवस्था गर्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको थियो । निर्देशन दिनु र कार्यान्वयन हुनु यहाँको सन्दर्भमा त्यति सहज कुरा होइन । सङ्क्रमित क्षेत्रबाट फर्कने नागरिकका लागि व्यवस्थापनको कार्य सरकारले दिने निर्देशन जति सहज नहुनु स्वाभाविक थियो तर त्योभन्दा पनि सरकारले जहाँ व्यवस्थापन गर्न खोज्यो त्यहाँका नागरिकले आफूसमेत सङ्क्रमित हुने खतरा देखे । र, सरकारको निर्णयका विरद्ध उत्रे । भोटको राजनीतिका लागि राजनीतिक दलले पनि नागरिकलाई साथ नदिनु प्रत्युत्पादक हुने ठाने । एउटा क्षेत्रीय दलले त चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिनुमा अमेरिकी साम्राज्यवाद देख्यो र चीनबाट फर्कने नेपालीहरूको व्यवस्थापनलाई विषयान्तर गर्न सकिन्छ कि भन्ने ठान्यो । मानवीय संवेदनाको विषयलाई राजनीतिको माध्यम बनाउने केही दल वा स्थानीय तहको प्रयास अन्ततः विफल भयो ।
कोरोना भाइरसबाट प्रभावित चीनको वुहानमा रहेका नेपालीहरूको उद्धारका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज शनिबार चिकित्सक, पाइलट, प्राविधिकसमेत १७ जनासहित त्यतातिर उड्यो र वुहान एयरपोर्टमा जम्मा भएका नेपाली लिएर फर्केको छ । विमानले १७० विद्यार्थी, दुई बालबालिका, दुई पर्यटक र एक कामदारसहित १७५ जनालाई ल्याएको छ । उनीहरूलाई १४ दिन भक्तपुरको खरिपाटीमा अवस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।
ती नेपाली चिकित्सकले भनेझैँ चीनले आफ्नो निरन्तर प्रयासपछि कोरोना भाइरसको सङ्क्रमण रोक्ने काममा तीव्रता दिएको छ । यो पूर्ण रूपमा नियन्त्रणमा नआए पनि प्रारम्भिक दिनहरूमा जस्तो आतङ्कको स्थिति अब छैन । चीनबाट नेपाल ल्याइएका नागरिकहरू पनि सङ्क्रमित छैनन् भन्ने अनुमान गर्न किन कठीन छैन भने उनीहरूले दुई साताभन्दा लामो समय आफूलाई सङ्क्रमणबाट सुरक्षित राख्न सकेका छन् । खरिपाटीमा सुरु भएको क्वारेन्टाइनले छिटै नै यो अनुमानलाई सही साबित गर्ने नै छ । त्रिभुवन विमानस्थल आएपछि गरिएको स्वास्थ्य परीक्षणमा कुनै व्यक्तिमा सङ्क्रमण भएको फेला नपर्नुले पनि उनीहरू सुरक्षित रहेको अनुमानलाई नै बल मिलेको छ । सरकारले क्वारेन्टाइनका लागि भवनबाहेक सबै नयाँ व्यवस्थापन गरिएको र त्यहाँ रहने हरेक व्यक्तिका लागि आवश्यक भौतिक सुविधा, औषधि र उपकरणहरू उपलब्ध गराएको बताएको छ । यसले क्वारेन्टाइनका क्रममा कुनै असुविधा नहुने आशा जगाएको छ ।
सरकारले क्वारेन्टाइनका लागि गरेको व्यवस्था सुन्दा आसपासका नागरिक त्रशित हुनुपर्ने अवस्था देखिँदैन । सरकारले दिएको जानकारी अनुसार दुईवटा स्वास्थ्य टोलीले चौबीसै घण्टा सेवा दिने छन् । नेपाली सेनाका क्याप्टेन डा. नवीन फुँयालको नेतृत्वमा नर्ससमेतको स्वास्थ्य टोली क्वारेन्टाइनभित्र रहने छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीसहितको संयुक्त चिकित्सक टोली तयारी अवस्थामा बाहिर रहने छ । कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सीधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिने छ । जाँच शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेको एम्बुलेन्सले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल तथा सशस्त्र प्रहरी अस्पतालमा अविलम्ब स्थानान्तरण गर्ने छ । सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ । आसपासका नागरिकको सुरक्षाका लागि संयुक्त सुरक्षा निकायका चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले प्रत्येक दिन खरिपाटी घुमाउनेस्थित सामुदायिक भवनमा स्थानीय बासिन्दाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरणसमेत गर्ने भएको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण नभएका स्वस्थ व्यक्तिलाई ल्याएर १४ दिन क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच प्रमाणित भएपछि घर फर्काउने भएकाले नआत्तिन र त्रासमा नरहन आग्रहसमेत गरेको छ ।
सरकारले सुरुमा भनिएका नेपाली चिकित्सकको समेत विश्वास गरेर केही समय पर्खिएको हो वा नयाँ व्यवस्थापन गर्न समय लागेर दुई साता समय व्यतीत भयो । सौभाग्यवश चीनमा रहेका कुनै नेपालीमा आशङ्का गरिएजस्तो सङ्क्रमण भएन र उनीहरू सुरक्षित स्वदेश फर्किएका छन् । एउटा अभिभावकको कोणबाट हेर्दा सरकारले समयमा ध्यान नदिएको जस्तो लाग्नु पनि स्वाभाविक हो । यस्तो बेलामा हरेक अभिभावकका लागि हरेक सेकेन्डको अर्थ रहन्छ । सरकारले चीनका सबै उडानहरू रद्द भएका अवस्थामा आफ्नै जहाज पठाएर उनीहरूको उद्धार गरेको छ र क्वारेन्टाइनसमेतको व्यवस्थापनका लागि राज्यकोषको छ करोड रुपियाँ खर्च गरेको छ । त्यसैले ढिलै भए पनि नागरिकप्रतिको दायित्व पूरा गर्न सरकार सफल भएको छ ।
सरकारका पक्षमा यति शब्दहरू खर्च गरिरहँदा दुईटा पक्षमा भने फेरि पनि प्रश्न गर्नुपर्ने अवस्था कायमै छ । चीनमा रहेका नेपालीहरू आफ्नै दिदीबहिनी, दाजुभाइहरू नै थिए । उनीहरूको जीवन रक्षामा सरकारले गरेका प्रयत्नमा स्थानीय नागरिक र स्थानीय सरकार सकारात्मक हुनुपर्ने थियो तर त्यो अवस्था देखिएन । स्थानीय सडकदेखि संसद्सम्म यसको विरोध भयो । राजनीतिक रूपमा बुझ्न सकिने कुरा के हो भने दलहरू र स्थानीय सरकारमा रहनेहरूले भोटको राजनीति गरे तर स्थानीय नागरिकहरू राज्यले दिएका आश्वासनप्रति आश्वस्त हुन सकेनन् । राज्यका सूचना संयन्त्र र निजी क्षेत्रका मिडियाले समेत सरकारको काममा विश्वास दिलाउन सकेनन् । कतिपयले त आगोमा घिउ थप्ने प्रयत्न गरे । एउटा संवेदनशील विषयमा देखिएको संवेदनहीनतामाथि प्रश्न गर्ने कुरा आफ्ना ठाउँमा छ तर एउटा जननिर्वाचित सरकारले गरेका निर्णयप्रतिको नागरिक अविश्वास उसका लागि एउटा चुनौती हो ।
अर्को प्रश्न, क्वारेन्टाइनमा खट्ने चिकित्सकहरू केबल सुरक्षा निकायमा काम गर्नेहरू देखिए । के सरकारका अरू स्वास्थ्य प्रतिष्ठानमा काम गर्ने वा निजी क्षेत्रका अस्पतालमा काम गर्नेहरूले सरकारलाई असहयोग गरेका हुन् ? वा जुन खालको रोगका विषयमा क्वारेन्टाइन हुँदैछ, उनीहरू त्यसका जानकार वा विज्ञ नभएर हो ? सरकारले सुरक्षा निकायका विज्ञसँग मात्र विश्वास गरेको हो ? यो चासो आम नागरिकमा भने जीवितै छ ।
सरकारले फेरि पनि विश्वास दिलाउन आवश्यक छ कि क्वारेन्टाइनमा रहेका व्यक्तिबाट त्यस आसपासका नागरिकमा सङ्क्रमणको कुनै गुञ्जायस रहँदैन । सरकारले यो सूचना प्रवाहका लागि संयन्त्रको अधिकतम प्रयोग गर्न
आवश्यक छ ।
(लेखक नेपाल पत्रकार महासङ्घका पूर्वसभापति हुनुहुन्छ ।)