logo
२०८१ मंसिर १२ बुधवार



विदेशी कमाइको सदुपयोग (सम्पादकीय)

विचार/दृष्टिकोण |




मादक पदार्थ सेवन तथा जुवातास, बाजी लगाउनेजस्ता अवाञ्छित आर्थिक क्रियाकलाप लामो समयदेखि नेपाली समाजमा देखिएका प्रवृत्ति हुन् । यी प्रवृत्ति राष्ट्रिय, सामुदायिक र व्यक्तिगत समस्या हुन् भने यसको समाधान पनि यिनै पक्षले मात्र गर्न सक्छन् । पैसा बचाउनु पनि कमाउनुसरह हो । कतिपय नेपाली आर्थिक समस्याले भारतको अनौपचारिक क्षेत्रमा काम गर्न पुग्छन् र फर्कंदा लुटिन्छन् । बाँकी पैसा लिएर घर आइसकेपछि त्यो पैसा मादक पदार्य, जुवातास बाजीमा खर्च गर्छन् । सुदूरपश्चिम पहाडका अधिकांश घरका सदस्य भारतमा मजदुरी गर्न जाने र कमाएर ल्याएको रकम मदिरा पिएर सक्ने गरेका गुनासो उनीहरूका पारिवारिक सदस्यले गर्ने गरेका छन् भने कतिले त सबै कमाइ मदिरा पिएर उतै सिध्याउने गरेका अनुभव ती क्षेत्रका प्रहरी कार्यालयसँग छ । भारतबाट केही रकम कमाएर ल्याउने र घरमा आएर मदिरा पिएर सिध्याउने प्रवृत्ति नियन्त्रण गर्न सामाजिक जागरणको खाँचो देखिएको छ । साथै, यी उदाहरण थोरधेर रूपमा मुलुकभरकै समस्या भएकाले यसको हानि नोक्सानी र अवस्थाबारे राज्यका निकाय जानकार हुन आवश्यक हुन्छ । यी सामाजिक समस्याका पछाडि विभिन्न कारण हुन सक्छन् तीमध्ये खुलेआम रूपमा तास खेल्न पाउनु, जाँडरक्सीको सहजै उपलब्धता पनि प्रमुख कारण हुन सक्छन् । बिहान बेलुकी हातमुख जोड्न समस्या हुने तर जाँडरक्सी खान जसरी पनि पैसाको जोहो गर्नु र मात्तिनुलाई सामान्य समस्या भन्न सकिँदैन । त्यसमा मूलतः पुरुषहरूका कारण समग्र परिवार र विशेषगरी महिलाहरू बढी प्रताडित हुने गर्छन् । यसमा पुरुषवादी समाज र पितृसत्ताको धेरै अवगुण देख्न सकिन्छ । मदिरा सेवनबाट सिर्जित घरेलु हिंसा तथा अपराधमा बढी जसो महिला र बालबालिका प्रभावित भएका पाइएका छन्  । पुरुषले मदिरा खाएका अधिकांश घरमा झगडा हुँदा महिला र बालबालिका सबैभन्दा प्रभावित हुने गरेका र अधिकांश घरेलु हिंसाका घटना मदिराकै कारण हुने गरेको पनि प्रहरी सङ्गठनको बुझाइ छ । मदिरा सेवन गरेर घरका ठूला मान्छेले झैंझगडा गर्ने गरेमा त्यसले घरको बालमैत्री वातावरणमा बिगार्न सक्छ ।
मदिराका कारण उत्पन्न हुने समस्या दृष्टिगत गर्दै बाजुराको बडीमालिका नगरपालिकाले मदिरा पसललाई वार्षिक पाँच हजार रुपियाँ शुल्क लगाएपछि सो निर्णयको निकै विरोध भएको थियो । यस्तो करले रक्सीको उपलब्धता र गुणस्तरमा केही नियमन गर्न सक्छ तर व्यक्ति आफू प्रभावित हुने प्रकरणमा आफैँ संवेदनशील हुन नसक्दासम्म यस्ता पहललाई स्वाभाविक मानिँदैन । दुःख गरेर कमाउनु पर्ने, गुणस्तर र सीमारहित मदिरापान गर्ने, स्वास्थ्यको ख्याल नगर्ने अनि उनीहरू रोगाएपछि राज्यले उपचार गरिदिनु पर्ने प्रवृत्तिले पनि यस्ता समस्यालाई बढवा दिएका छन् । दुई खिल्ली चुरोटले एउटा अण्डा आउन सक्छ । एक दिनको रक्सी खाने पैसाले परिवारमा महिनामा एकपटक मासु खान पुग्छ । त्यसैले गरिबी भनेको स्रोतको कमी मात्र होइन, त्यसको सदुपयोग र उचित वितरण हुन नसक्दा पैदा हुने समस्या पनि हो भनेर बुझ्नु पर्छ ।
कमाएको पैसाको सदुपयोगका लागि व्यक्तिको भूमिका महìवपूर्ण हुन्छ भने राज्यले पनि नियमित बचत तथा सानोसानो लगानीको वातावरण बनाइदिएर उत्प्रेरणा दिन सक्छ । बडीमालिका नगरपालिकाका पसलमा बेलुका ६ देखि ९ बजेसम्म मात्र बिक्री गर्ने नियम बनाइएको जस्तै अथवा बूढीगङ्गा र गौमुलमा सबै प्रकारका मदिरा प्रवेशमा रोक लगाइएजस्तै मदिरा नियन्त्रण गर्न सकिन्छ । यसैगरी हाताहाती तलव÷पारिश्रमिक भुक्तानी दिने प्रचलनलाई बैङ्क वा वित्तीय संस्थामार्फत प्रदान गर्ने हो भने पनि कमाएको पैसा हराउने वा जहाँ जतिखेर पनि मदिरा तथा तास खेल्ने बानी नियन्त्रण गर्न सकिने छ । व्यक्तिलाई जिम्मेबार बनाउन उसले गर्ने खर्चलाई परिवार लक्षित बनाउने विधि बनाउन सकिन्छ । कतिपय संस्कार र परम्पराका नाममा पनि रक्सीको उपयोगलाई वैध मान्न सकिएला तर कुनै पनि धर्म वा संस्कृतिले अनियन्त्रित मदिरा सेवन तथा समाजप्रति अनुत्तरदायी हुन प्रेरित गर्दैन । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो योगदान छ । ज्यान हत्केलामा राखेर कमाएको पैसाको सदुपयोग हुन सकेन भने त्यसका लागि बगाएको पसिनाको औचित्य पनि रहँदैन । विदेशको कमाइ मदिरामा होइन, उत्पादनमूलक काममा लगाउने प्रेरणा, वातावरण र विधि प्रवद्र्धन गरिनुपर्छ ।


 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?