logo
२०८१ मंसिर १२ बुधवार



जनताको जनवाद कि ‘जबज’

विचार/दृष्टिकोण |




डा. बेदुराम भुसाल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिले जनताको जनवाद र जनताको बहुदलीय जनवाद (जबज) को बारेमा चर्चा हुने गरेको छ । पार्टी केन्द्रीय कमिटीको गत महिना सम्पन्न दोस्रो पूर्ण बैठकमा पनि उक्त विषयमा राम्रै गरी कुरा उठेको थियो र त्यसलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले “जनताको जनवादको अर्थनीति, राजनीति र संस्कृतिका बारेमा अहिले अध्ययन तथा बहस छलफल गर्दै जाने र महाधिवेशनमा टुङ्गो गर्ने हो, हाललाई भने पार्टी एकता गर्दा निर्माण गरिएका विधान र राजनीतिक प्रतिवेदनअनुसार नै चल्ने हो” भन्ने निष्कर्ष प्रस्तुत गर्नुभएको थियो । बैठकपछि जारी गरिएको अन्तरपार्टी निर्देशनमा पनि “हामीले मूर्तढङ्गले जनताको जनवादका राजनीतिक, आर्थिक तथा सामाजिक विशेषताहरू अघि सार्न जरुरी छ” भनेर छलफल गर्दै जानेतर्पm सङ्केत गरिएको छ । त्यसैले यो विषय अहिले छलफलको सान्दर्भिक छ ।
जनताको जनवाद
सामन्ती शासन व्यवस्थाको अन्त्यपछि स्थापित हुने शासन व्यवस्थालाई जनवाद (डेमोक्रेसी) भन्ने गरिएकोमा रुसको अक्टुबर समाजवादी क्रान्ति (सन् १९१७) पछि केही फरक विश्लेषण हुनथाल्यो । उक्त क्रान्तिपश्चात् विश्वमा दुई प्रकारका शासनव्यवस्था प्रचलित भए । एउटा पहिलेदेखि चलिआएको संसदीय व्यवस्था र अर्को सोभियत शासनव्यवस्था । दुईमध्ये कुन व्यवस्था आँगाल्ने भन्ने बहस पनि चल्यो । त्यसैबीच दोस्रोे विश्वयुद्धका क्रममा पूर्वी युरोपका विभिन्न मुलुकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा स्थापित शासनव्यवस्थालाई राष्ट्रिय चरित्रको जनताको जनवाद (नेशनल पिपुल्स डेमोक्रेसी) भनियो ।
यसरी जनवादको भाष्यमा केही परिवर्तन भयो । चिनियाँ जनवादी क्रान्तिको बेला माओत्सेतुङले जनवादलाई नयाँ र पुरानो भनी विभाजन गरे । दुईखाले जनवादमध्ये पुरानो जनवादमा पुँजीपति वर्गको नेतृत्व हुन्छ भने नयाँ जनवादमा सर्वहारा श्रमजीवी वर्गको नेतृत्व हुन्छ; पुरानो जनवादले पुँजीपति वर्गको पक्षपोषण र सेवा गर्दछ भने नयाँ जनवादले श्रमजीवी वर्गको पक्षपोषण र सेवा गर्दछ; पुरानो जनवादले साम्राज्यवादको विरोध नगरी सामन्तवादको मात्रै विरोध गर्दछ भने नयाँ जनवादले सामन्तवादको मात्रै होइन, साम्राज्यवादको समेत विरोध गर्दछ ।
पुरानो जनवादले प्रजातान्त्रिक समाजवाद भन्दै पुँजीवादको चरम विकासका निम्ति योगदान गर्दछ र वर्ग समन्वयको बाटोमा हिँड्छ भने नयाँ जनवाद वर्ग सङ्घर्षको माध्यम या बाटोबाट वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्छ भन्ने विश्लेषण गरियो । अतः जनताको जनवाद भनेको जनवादलाई नयाँ र पुरानो भनी विभाजन गर्नुभन्दा पहिले प्रकट भएको राष्ट्रियता, जनवाद र जनजीविकाप्रति प्रतिबद्ध शासन व्यवस्था हो ।
नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्दा पूर्वी युरोपमा भएकोजस्तै व्यवस्था ल्याउने भनियो तर त्यसलाई नाम दिँदा जनताको जनवाद नभनी नवजनवाद भनियो । पार्टीको प्रथम महाधिवेशनमा जनवाद मात्र भनियो । दोस्रो महाधिवेशनबाट कार्यक्रमको पूर्ण रूप पारित नै गरिएन । तेस्रो महाधिवेशनमा रष्ट्रिय प्रजातन्त्र अर्थात् राष्ट्रिय जनवाद भनियो ।
त्यसपछि पार्टी विभाजन भएर बनेका विभिन्न समूहले विभिन्न नामका कार्यक्रम अँगाले । २०७५ जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्दा जनताको जनवाद भनिएको छ र त्यसमा रहने मुख्य अन्तर्वस्तुको रूपमा पार्टी विधानको प्रस्तावनामा निम्नानुसार राखिएको छ ः “संविधानको सर्वोच्चता, विधिको शासन, मानवधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा ।”
जनताको बहुदलीय जनवाद
जनताको बहुदलीय जनवाद नेपालमा माक्र्सवादको प्रयोग गर्ने सन्दर्भमा अगाडि सारिएका विभिन्न विचार÷सिद्धान्तमध्ये एक हो । यसका केही विशेष प्रस्थापना छन् । तत्कालीन नेकपा (एमाले) को आठौँ महाधिवेशन (२०६५) बाट पारित गरिएको राजनीतिक प्रतिवेदनमा “जबज हाम्रो पार्टीको कार्यक्रम र सिद्धान्त मात्र नभएर यो हाम्रो पार्टीको वैचारिक, सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक प्रणाली पनि हो । यसले अब उपर्युक्त प्रणालीको रूपमा विकास गरेको छ । त्यसैकारण यो हाम्रो मार्गदर्शक सिद्धान्त पनि हो” भनिएको छ । यस निष्कर्षका आधारमा हेर्दा जबजमा दुई पक्ष छन् । एउटा सैद्धान्तिक पक्ष र अर्को कार्यक्रमिक पक्ष । जबजका सैद्धान्तिक पक्षमा चार प्रकारका अन्तर्वस्तु छन्ः दार्शनिक, राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक । कार्यक्रमिक पक्ष तीन प्रकारका छन्ः राजनीतिक, आर्थिक र सामाजिक–सांस्कृतिक ।
दार्शनिक अन्तर्वस्तु :
द्वन्द्वको नियम सार्वभौम नियम भएकाले राजनीतिमा पनि लागू हुन्छ; कुनै पनि वस्तु एवं घटनाको अन्तर्वस्तु एवं सारपक्ष प्रधान हुन्छ र रूप पक्ष गौण एवं सापेक्ष हुन्छ; क्रान्ति मनोगत प्रक्रिया नभई वस्तुगत प्रक्रिया हो; श्रमजीवी वर्गको पक्षपोषण गर्ने र उत्पादक शक्तिको मुक्तिमा जोड दिने; सङ्घर्षका रूप सापेक्ष हुन्छन्; राज्यसत्ता सधैँ अधिनायकवादी हुँदैन; कुनै पनि वस्तु वा घटनामा गुणत्मक परिवर्तन हुँदा अस्तित्वको पुरानो रूपका केही गुण नयाँ रूपमा आउँछन् ।
राजनीतिक अन्तर्वस्तु :
नयाँ जनवादी र समाजवादी चरणमा समेत एकदलीय तानाशाही शासनसत्ता नभएर मौलिक हक, मानव अधिकार, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, संविधानको सर्वोच्चता, कानुनको शासन र शक्ति पृथकीकरणको सिद्धान्त जस्ता आधुनिक लोकतन्त्रका विश्वव्यापी मान्यतासहितको शासनप्रणाली अवलम्बन गर्ने ।
आर्थिक अन्तर्वस्तु :
सम्पूर्ण रूपमा राज्यनियन्त्रित आर्थिक प्रणाली नभएर मिश्रित आर्थिक प्रणाली अवलम्बन गर्ने; सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्था निर्माण गर्ने, राष्ट्रिय पुँजीलाई औद्योगिक विकासमा संलग्न गर्ने गरी संरक्षण, प्रोत्साहन र विकास गर्ने र राष्ट्रिय हितलाई ध्यानमा राखेर वैदेशिक पुँजी एवं प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने ।
सामाजिक–सांस्कृतिक अन्तर्वस्तु : 
बन्द र नियन्त्रित समाज होइन, बहुलवादी खुला समाजको सिद्धान्त अवलम्बन गर्ने र जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक आदि सबै प्रकारका विभेदको अन्त्य गर्ने तथा शिक्षा, साहित्य र संस्कृतिका क्षेत्रमा रहेको सामन्ती एवं साम्राज्यवादी कुप्रभाव र कुरीति एवं अन्धविश्वासलाई हटाएर प्रगतिशील, राष्ट्रिय र जनवादी संस्कृतिको विकास गर्ने ।
राजनीतिक कार्यक्रम :
दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको सत्ता तथा उनीहरूको शोषण उत्पीडन समाप्त गरी मजदुर किसान तथा सामन्तवाद–साम्राज्यवाद विरोधी सम्पूर्ण जनवादी, देशभक्त र न्यायपे्रमी जनसमुदायको संयुक्त जनवादी राज्यसत्ता कायम गर्ने । नेपाललाई स्वतन्त्र, सार्वभौम, धर्मनिरपेक्ष जनताको जनवादी गणतन्त्र घोषित गर्ने । सामन्तवाद दलाल–नोकरशाही पुँजीवाद र साम्राज्यवादको शोषण उत्पीडनका सम्पूर्ण अवशेषलाई कानुनसम्मत ढङ्गले निर्मूल गर्ने ।
आर्थिक कार्यक्रम ;
सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद, वैदेशिक एकाधिकार पुँजीवाद तथा साम्राज्यवादका शोषण, उत्पीडन र प्रभुत्ववादका सबै आधार र अवशेषलाई अन्त्य गरी जनवादी अर्थ व्यवस्थाको निर्माण गर्ने । सामन्ती भूस्वामित्वको पूर्णरूपमा उन्मूलन गरी अर्धसामन्ती शोषणका सम्पूर्ण रूपको अन्त्य गर्ने । क्रान्तिकारी भूमिसुधार लागू गरी आमरूपमा सामन्तहरूको हदभन्दा बढी जमिन बिना मुआब्जा जफत गरी जोताहा, भूमिहीन वा गरिब किसानलाई वितरण गर्ने । क्रान्तिको पक्षमा लाग्नेहरू तथा धनी र मध्यम किसानको हदभन्दा बढी जमिन जफत गर्दा क्षतिपूर्ति दिन सकिने । उद्योगको क्षेत्रमा रहेको साम्राज्यवाद, वैदेशिक एकाधिकार पुँजीवाद र दलाल नोकरशाही पुँजीवादको प्रभुत्व, नियन्त्रण र शोषणलाई समाप्त पार्ने । राष्ट्रिय पुँजीलाई उद्योग विकासमा संलग्न गर्ने गरी संरक्षण र प्रोत्साहन गर्ने । राष्ट्रिय पुँजीपति वर्ग र तिनका उद्योगधन्दाको विकास गर्ने । राष्ट्रिय अर्थतन्त्रमा अनुकूल असर पार्ने सीमा निर्धारण गरी विदेशी पुँजी र प्रविधिलाई देशभित्र ल्याउन अनुमति दिने र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पुँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गर्ने । व्यापार, ऊर्जा तथा जलस्रोत, यातायात, सञ्चार, पर्यटन र स्थानीय एवं क्षेत्रीय विकासलगायतका क्षेत्रमा रहेका समस्याको समाधान गर्दै आर्थिक विकासका अभियान सञ्चालन गर्ने ।
सामाजिक–सांस्कृतिक कार्यक्रम :
शिक्षाक्षेत्रमा रहेको सामन्ती, नवउपनिवेशवादी र साम्राज्यवादी कुप्रभाव अन्त्य गरी आधुनिक, प्रगतिशील र उच्चकोटीको गुणात्मक शिक्षा–व्यवस्था कायम गर्ने । साहित्य र संस्कृतिमा रहेको सामन्ती एवं साम्राज्यवादी कुप्रभाव र सामाजिक कुरीति एवं अन्धविश्वासलाई हटाएर प्रगतिशील, राष्ट्रिय र जनवादी संस्कृतिको विकास गर्ने । जाति, भाषा र धर्मका आधारमा गरिने सबैखाले भेदभावको अन्त्य गर्ने । जाति, भाषा र भेषभूषाको एकाधिकार रहन नदिने । धार्मिक स्वतन्त्रता र समानता प्रदान गर्ने । लैङ्गिक विभेदको अन्त्य गर्ने । पैत्रिक सम्पत्तिमा छोरा र छोरीको समान हक स्थापित गर्ने । महिला–पुरुषबीच समान कामको समान ज्याला लागू गर्ने । जातपात र छुवाछूत प्रथाको प्रभावकारी रूपमा अन्त्य गर्ने ।
अबको बहस
उपर्युक्त सैद्धान्तिक अन्तर्वस्तुको सान्दर्भिकता छ कि छैन ? कार्यक्रमहरू कति कार्यान्वयन भए कति हुन बाँकी छन् ? र कार्यान्वयन हुन बाँकी कार्यक्रमलाई कुन रूपमा प्रस्तुत गर्ने ? अबको बहस यिनै प्रश्नमा केन्द्रित हुनेछ ।
(लेखक नेकपाका स्थायी कमिटी सदस्य हुनुहुन्छ । ) 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?