प्रकाश सिलवाल
फ्रान्सको पेरिसमा सन् १८३५ मा चाल्र्स लुइस हवासले पहिलो समाचार संस्था ‘एजेन्सी हवास’को थालनी गर्दाका उद्देश्यहरू र अहिलेको बदलिँदो विश्व परिवेशका सन्दर्भमा समाचार समिति तथा पत्रकारिताको आवश्यकता र कार्यशैलीमा आमूल परिवर्तन आइसकेको छ । यस स्थितिमा नेपालमा पनि अनलाइन र रेडियो पत्रकारिताको व्यापकतासँगै छिटोछरितो र विश्वसानीय एवम् आधिकारिक समाचार सेवा प्रदन गर्नु राष्ट्रिय समाचार समिति (रासस) जस्ता संस्थाका चुनौती र जिम्मेवारी थपिएका छन् ।
अन्तर्राष्ट्रिय समाचार समितिसरहको मान्यता, स्रोत–साधन र प्रविधि नभए पनि नेपालको एकमात्र आधिकारिक समाचार समितिका रूपमा रहेको राससले विक्रम संवत् २०१८ देखि अविराम सेवा दिइरहेको छ । हरेक दिन न्युजलाइन सेवामार्फत बिहान ६ः०० बजेदेखि राति १०ः ३० बजेसम्म स्थानीयदेखि अन्तर्राष्ट्रिय विषयवस्तुका नेपाली समाचार, अङ्ग्रेजीमा अनूदित समाचार, अन्तर्राष्ट्रिय समाचार, आलेख, तस्बिर, अडियो सामग्रीलाई उत्पादन गरी राससले वितरण गरिरहेको छ । यसले अहिले एपी, एएफपी, यूएनआई, सिन्ह्वा, पीटीआईलगायत अन्तर्राष्ट्रिय समाचार संस्थाका समाचार आफ्ना ग्राहकलाई उपलब्ध गराउँछ भने बीबीसी नेपाली सेवालगायत कतिपय त्यस्ता विदेशी समाचार संस्थासँग आफ्ना सेवाको आदान–प्रदान पनि गरेको छ ।
केन्द्रीय र प्रदेश कार्यालयका साथै देशका ७७ वटै जिल्ला र विभिन्न स्थानीय तह वा क्षेत्र तथा विश्वका विभिन्न मुलुकमा समेत स्थायी, करार र स्थानीय समाचारदाता गरी सम्भवतः नेपालमा सबैभन्दा बढी प्रतिनिधि र पहुँच भएको रासस एकमात्र ठूलो सञ्चार गृह हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा यसले आफूलाई ‘राज्य र समाजका सूचना र समाचारको आधिकारिक स्रोत’का रूपमा थप स्थापित गर्नुको विकल्प छैन । निकट भविष्यमै भिडियो सेवाको थालनी, छिमेकी चीन र भारतमा स्थायी प्रतिनिधिको नियुक्ति, प्रदेशस्तरबाट बुलेटिन प्रकाशनको तयारी, समाचार बैङ्कका रूपमा रूपान्तरण, समाचारमा रोचकता, अनुसन्धान र गुणस्तरीयता वृद्धि गरी आलेख र तस्बिरहरूको सङ्ख्या बढाउने यसका प्राथमिकता रहेका छन् । अन्तर्राष्ट्रिय समाचार समितिसँगको सम्बन्ध विस्तार तथा आफ्ना भौतिक सम्पत्तिको व्यावसायिक प्रयोगको योजना बोकेको राससले आफूलाई एक्लो प्रतिस्पर्धामा सामयिक र प्रभावकारी बनाउने चुनौती उत्तिकै छ ।
सञ्चारमाध्यमबीचको प्रतिस्पर्धा, सूचना प्रविधिको पहुँच, सामाजिक सञ्जालको व्यापकताबीचमा पनि रासस एक भरपर्दाे र विश्वसनीय समाचार स्रोतका रूपमा रहनु यसको विशेषता हो । यो विशेषता नेपालको समाचार समितिले मात्र होइन विश्वभरका समाचार समितिले पाएका हुन्छन् । यसको अर्थ अरू सञ्चारमाध्यम विश्वसनीय हुँदैनन् भन्ने होइन तर समाचार समिति ती सञ्चारमाध्यमका लागि पनि स्रोत हुने भएकाले उसको विश्वसनीयता खुकुलो हुनुहुँदैन । हतारो वा कुनै नियतवश समाचार समितिका समाचारमा कुनै तथ्य वा सूचनामा फरक पर्न गएमा वा पूर्वाग्रह झल्किएमा त्यस्ता सामग्री प्रयोग गर्ने ग्राहक माध्ममलाई समेत अप्ठ्यारो पर्नुका साथै कहिलेकाहीँ कानुनी झमेलासमेत भोग्नुपर्ने हुन्छ भने श्रोता वा पाठकले सही र सन्तुलित सूचना र समाचार पाउनबाट वञ्चित हुनुपर्नेसमेत हुन सक्छ ।
राजा महेन्द्रले विसं. २०१७ पुस १ गते सत्ता हातमा लिएपछि पत्रकारिता क्षेत्रलाई कस्दै जाने नीति लिए र उनले स्वदेश तथा विदेशका सत्य–तथ्य, आधिकारिक एवम् निष्पक्ष समाचार सङ्कलन, सम्पादन तथा सम्प्रेषण गर्ने उद्देश्यले निजी क्षेत्रबाट २०१६ साल पुस १ गते स्थापित नेपाल संवाद समिति (नेसस) र २०१७ साल वैशाख ३० गते स्थापित सगरमाथा संवाद समिति (ससस) लाई गाभेर २०१८ साल फागुन ७ गते सरकारी सञ्चारमाध्यमका रूपमा राष्ट्रिय संवाद समिति (रासस) को स्थापना गराए । पछि राष्ट्रिय समाचार समितिको नामकरण गरियो । यस राससका संस्थापकहरू रामराजा पौडेल, गोविन्द वियोगी र मणीन्द्रराज श्रेष्ठ हुनुहुन्थ्यो । राससले लोकतान्त्रिक आन्दोलनताका र त्यसपछिका बहुदलीय शासन प्रणालीमा सरकारको मात्र नभई, आमजनता र समाचारको सूचनाको स्रोतको भूमिका निर्वाह गर्दै आएको छ । स्थापनाको ५९औँ वार्षिकोत्सव मनाउँदै गरेको यो संस्था नेपाली पत्रकारिताको एक पाठशालाकै रूपमा स्थापित छ । समाचार समिति पत्रकारिता क्षेत्रमा पुरक कि मुहान संस्था भन्ने सैद्धान्तिक छलफल चल्दै आएको छ, यसको व्याख्या परिस्थिति र आफूअनुकूल पनि हुने गरेको छ तर यो निर्विकल्प हो भन्नेमा विवाद देखिँदैन । स्वामित्व र संरचनाका दृष्टिले विश्वका समाचार समितिहरू सरकारी, निजी, सरकारी र निजीको साझेदारी, ट्रस्ट आदि विभिन्न ढाँचामा चलेका पाइन्छन् । लोकतन्त्रमा सरकारी लगानी वा मातहतमा सञ्चारमाध्यम चल्नुहुन्न भन्ने मान्यता विकसित भए पनि धेरै लोकतान्त्रिक मुलुकका कम्तीमा राज्यको एक आधिकारिक समाचार समिति अस्तित्वमा रहेकै पाइन्छ । यो केवल व्यावसायिक नाफाका लागि मात्र नभई राज्यको आधिकारिक सूचना र विश्वसनीय समाचार स्रोतको अङ्गका रूपमा रहेको पाइन्छ । सीमित बजारमा समाचार समितिबीचकै प्रतिस्पर्धा वा सूचनाको आम पहुँचको सन्दर्भमा समाचार समितिको भविष्य कमजोर भएको मान्नेहरू पनि छन् तर राज्यको समाचार समितिको विकल्पमा अहिलेसम्म त्यस्तो उपयुक्त संस्था खडा भएको देखिँदैन तर निर्विकल्प ठानेर आफूलाई समयसापेक्ष र प्रतिस्पर्धी नबनाउने छुट समाचार समितिलाई छैन ।
‘द लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स’ को हालैको अध्ययन ‘द फ्युचर अफ नेसनल न्युज एजेन्सिज् इन युरोप २०१९’ ले ‘प्रतिस्पर्धी बजारमा साना प्रकारका राष्ट्रियस्तरका समाचार समिति टिक्नका लागि ती समाचार समितिहरू नवप्रवर्तनात्मक, रचनात्मकतालाई आत्मसात् गर्ने क्षमता विकास गरी आफ्ना सेवा र उत्पादनलाई सुधार्न तत्पर हुुनुपर्ने’ भनी औँल्याएको छ । सन् २०१४ मा इटलीको ‘मेडिटेरियन जर्नल अफ सोसियल साइन्सेज्’ मा डा. कनात कुल्सामानभद्वारा लिखित ‘न्युज एजेन्सी इन द एरा अफ ग्लोबलाइजेसन एन्ड न्यु च्यालेन्जेज अफ रियालिटी’ मा आधुनिक परिवेशमा समाचार समितिका समाचार प्रतिलिपि अधिकारको हनन गरी चोरी हुनु, ह्याकरको आक्रमणमा पर्नु, आर्थिक सङ्कट हुनु, समाचार स्रोतको अपर्याप्तता, अनुसन्धात्मकताको अभाव आदि समस्या दर्शाइएको छ, जुन नेपालको समाचार समितिले पनि अहिले भोगिरहेको छ । रासस सरकारी स्वामित्वको भनिए पनि कतिपय यस्ता उच्च सरकारी निकाय छन्, जसले राससको संरचना र कार्यप्रकृतिलाई नबुझेर ‘रासस कुन बार निस्कन्छ ?’ जस्ता असान्दर्भिक प्रश्न पनि गर्न पुग्छन् । यसरी समाचार समितिलाई जानअन्जानमा मान्यता नदिइँदा ती निकायकै समाचार र सूचना प्रवाहमा कठिनाइ उत्पन्न भएका हुन सक्छन् । यसको प्रत्यक्ष, अप्रत्यक्ष असर ती निकायका लक्षित वर्गका उपभोक्ता वा सेवाग्राहीलाई समेत पर्न सक्नेछ ।
राससलाई सरकारी, सहकारी, गुठी वा साझेदारी कस्तो संरचनामा सञ्चालन गर्ने भन्ने बहस पनि बेलाबेलामा चल्ने गरेको छ । सञ्चारसम्बन्धी विभिन्न उच्चस्तरीय कार्यदलले राससको औचित्य कायम रहेको औँल्याए पनि यसको संरचना र दिगोपनाबारे स्पष्ट सुझाव दिएका छैनन् ।
सञ्चार क्षेत्रमा कानुन र संरचनाहरूको नवनिर्माणको चरणमा मुलुक अघि बढिरहेको सन्दर्भमा ‘राष्ट्रिय समाचार समिति ऐन २०१९’ लाई विस्थापन गरी नयाँ ऐन ल्याउनेक्रममा यस्ता विषयले छलफलको गहिराइ प्राप्त गर्न सक्नेछन् । नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर सार्वजनिक प्रसारण संस्थाका रूपमा विकासित गर्ने तयारी हुँदा सरकारी स्वामित्वका रासस र गोरखापत्र संस्थानको नयाँ स्वरूपका विषयमा पनि संसद्, सरकार, रासस व्यवस्थापन र सरोकार भएका पक्षबीच छलफल हुनुपर्ने देखिन्छ । अरू सञ्चारमाध्यममा विज्ञान आम्दानी एक प्रमुख स्रोत हुने तर समाचार समितिमा विज्ञापनको स्थान नहुने स्थितिमा पनि समाचार समितिलाई अरू सरहको मूल्याङ्कन गरी ‘सेतो हात्ती’ वा ‘घाटाको व्यापार’ का रूपमा हेरिनुहुँदैन । समाचार समिति पत्रकारिताका नयाँ आयाम विकास गरी राससको निर्विकल्प उपस्थितिलाई प्रभावकारी बनाउनुको विकल्प छैन ।
(लेखक राससका पत्रकार हुनुहुन्छ ।)