प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाका विद्युत् प्रसारणका तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने कार्यको सोमबार शुभारम्भ गर्नुभएको छ । अब लामो समयदेखि प्रतीक्षा गरिएको विद्युतीय तारको भूमिगतीकरण कार्य प्रारम्भ भएको छ । हालको प्रसारण प्रणालीले शहरको सौन्दर्यमा ह्रास ल्याएको र विद्युत् वितरण असुरक्षित हुनुका साथै पूर्वाधार विकासमा समस्या देखिएकाले प्रसारण तार भूमिगत गर्ने योजना ल्याइएको हो । विद्युत् प्रणाली क्षमता अभिवृद्धि गर्न पनि तार भूमिगत गर्नुपर्ने आवश्यकता देखिएको थियो । अहिलेको विद्युत् मागलाई वर्तमान ओभर हेड विद्युत् प्रसारण प्रणालीले थेग्न नसक्ने भएकाले तार भूमिगत गर्नु उपयुक्त हुनेछ । एसियाली विकास बैङ्क (एडीबी) को ऋण सहयोगमा तार भूमिगत गर्न लागिएकाले समयमा नै उक्त कार्य सम्पन्न हुने अपेक्षा छ । तार भूमिगत गर्न एडीबीको परामर्शदाताले अध्ययनसमेत गरिसकेको र प्रारम्भिक सम्झौता भइसकेकाले आगामी दिन क्रमशः काठमाडौँ उपत्यका तारको जञ्जालबाट मुक्त हुनेछ । नेपालको सन्दर्भमा आमरूपमा तार भूमिगत गर्नु नयाँ अनुभव हुनेछ र काठमाडौँको अनुभव अन्य सहरमा पनि विस्तार गर्न सकिनेछ । नेपालको राजधानीलगायतका सहर विद्युतीय तारको तान्द्राङतुन्द्रुङ नदेखिने अवस्थामा पक्कै पनि यिनको सौन्दर्य बढ्नेछ ।
उपत्यकामा विभिन्न चरणमा सम्पन्न गरिने कार्यमा पहिलोपटक रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तार भूमिगत गरिनेछ यसको मूल्याङ्कनका आधारमा उपत्यकाका अन्य क्षेत्रलगायत मुलुकैभर क्रमशः तार भूमिगत गर्नुपर्ने देखिएको छ । यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तार भूमिगत गरिने भएकाले सडक भत्काउनु नपर्ने दाबी गरिएको छ । पटकपटक सडक खनिने भएकाले उपत्यकाबासी हैरान भएका अब मूल सडक नखनिने मात्र होइन, बिजुलीको तारसँगै अप्टिकल फाइबर पनि बिछ्याइनेछ । विद्युत्का साथै विद्युतीय (टेलिफोन, इन्टरनेट र अन्य केवल) तारसम्बन्धी सम्पूर्ण काम यसै प्रणालीमा समेटिने भएकाले एकीकृतरुपमा सहर सुन्दर, व्यवस्थित र सुरक्षित हुनेछ । यो योजना सम्पन्न भइसकेपछि राजधानी पूर्णरूपमा पोल (खम्बा) र ताररहित हुनुका साथै हावाहुरी तथा दैवी प्रकोपको बेला विद्युत् आपूर्तिमा हुनसक्ने व्यवधानको अन्त्य हुनसक्नेछ । उपत्यकामा बिजुलीका तारले भन्दा सञ्चार प्रविधिसँग सम्बन्धित विद्युतीय तारले एउटा पोललाई रुखका हाँगाबिँगा जस्तै बनाएको देखिन्छ । अब यो अवस्थामा पूर्णतः परिवर्तन हुनेछ । नयाँ प्रणालीअन्तर्गत विद्युत्को ‘स्मार्ट मिटरिङ प्रणाली लागू गरिनुका साथै ‘स्मार्ट ग्रिड विकास गरिने भएकाले सब–स्टेसन टान्सफर्मरको क्षमता पनि अभिवृद्धि हुनेछ । भूमिगत गरिने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिने र अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी जडान गरिने भएकाले एउटै कक्षबाट सम्पूर्ण स्मार्ट मिटरजडित ग्राहकको अनुगमन तथा नियन्त्रण गर्न सकिनेछ । यस्तो प्रणालीबाट विद्युत् र विद्युतीय तार वितरणमा नेपालले नयाँ फड्को मार्नेछ । उपत्यकामा रहेका प्राधिकरणका तीनलाख ६० हजार ग्राहकमध्ये पहिलो चरणमा ९० हजार ग्राहकको मिटर स्मार्ट मिटरबाट प्रतिस्थापन गरिने भएकाले बाँकी काम पनि अपेक्षित समयभित्रै सकिने देखिन्छ ।
तारलाई भूमिगत गरिने कार्यले नेपालको परम्परागत विद्युत् तथा विद्युतीय तारका सेवा वितरण पद्धतिमा परिवर्तन आउने भएकाले लामो भविष्यका लागि उपयुक्त हुनेगरी यो प्रणाली विकास र विस्तार गरिनु आवश्यक छ । काठमाडौँ उपत्यकाजस्तै अन्य सहरमा पनि तार भूमिगत गर्नुपर्ने आवश्यकता रहेकाले ती सहरको विस्तार तथा संरचना निर्माणलाई भूमिगत तारमैत्री बनाउनुपर्ने देखिन्छ । तारलगायत पानीका पाइप र ढल पनि भूमिगत गरिने भएकाले यिनको उपयोगमा आउन सक्ने जटिलताबारे अहिले नै विस्तृत तयारी गर्नु आवश्यक छ । यसैगरी भूमिगत तारमार्फत विद्युत् र विद्युतीय सेवा प्राप्त गर्न शहरवासीले व्यक्तिगत रूपमा के कस्ता पक्षमा ध्यान दिनुपर्छ । घरलगायतका संरचनालाई भूमिगत तारमैत्री बनाउन उनीहरूले गर्नुपर्ने गृहकार्यका बारेमा पनि प्रचारप्रसार हुनु आवश्यक छ । नयाँ बन्ने घर लगायतका संरचनामा यस्तो प्रणाली पूर्णतः स्थापित गरी पुरानो प्रणाली विस्थापित गर्न आवश्यक जानकारी हुनसकेमा यो अभियानमा नागरिक र उपभोक्तास्तरको सहभागिता र सहयोग जुट्नेछ । काठमाडौंका भित्री सहरमा रहेका ज्यादै पुरानो ढल निकास प्रणालीले तारको भूमिगत गर्ने अभियानलाई कस्तो प्रभाव पार्नेछ भन्ने बारेमा पनि स्पष्ट हुनुपर्ने हुन्छ ।