रमाकान्त शर्मा
कात्तिक महिना सुन्तलाको मौसम ! मुग्लिङको बाटो हिँड्नेहरू ठेलागाडामा राखिएका रसिला सुन्तला देखेर नलोभिने कुरै भएन । म पनि एक किलो सुन्तला लिएर बसमा चढेँ । बस मुग्लिङबाट काठमाडौँतर्फ हुइँकियो । मसँगै मेरी छोरी पनि थिइन् । दुवैजना सुन्तला खान थाल्यौँ । मैले सुन्तला फोकेर बोक्रा झ्यालबाट सडक छेउको झ्याङतर्फ फ्याँक्न के आँटेको थिएँ संँगैको सिटमा झ्यालतर्फ रहेकी छोरीले हात च्याप्प समाइन् । आफ्नो अगाडिको झोलाको कोखे खल्ती खोलेर बोक्रा राख्न भनिन् । अनि भनिन्– “बुवालाई पनि सिकाउनुपर्ने । फोहोर जथाभावी फाल्दै हिँड्ने ?” म झसङ्ग भएँ । एकातर्फ आफ्नो कामप्रति हीनताबोध, अर्कोतर्फ आफ्नी छोरीको राम्रो कामप्रति गौरव । उनलाई त्यो बानी सिकाउने शिक्षक तथा साथीहरूप्रति मनमनै आभारी भएँ । हामी सबैले यस्तै बानी बसाल्ने हो र बालबालिकालाई पनि सिकाउन सक्ने हो भने सरसफाइ, फोहोर व्यवस्थापनको कुरा गर्दा विदेश र विदेशीका मात्र उदाहरण दिनुपर्ने थिएन ।
कुनै विद्यालयमा पुग्दा निकै राम्रा ‘क्यारी’ हरू बनाएको, फूलहरू फुलाएको, राम्रा बोटबिरुवा हुर्काएको, विद्यालय हाता निकै सफा र सुन्दर देख्न पाइन्छ । पूmल बिरुवा संरक्षणको समस्या देखिँदैन । अर्कोखालका विद्यालयमा फेरि जतासुकै कागजका टुक्रा र फोहोर, विद्यालय हातामा फलफूल नरोपिएका, धुलो उड्ने, शौचालयको गन्ध फैलिएको पाइन्छ । दोस्रोखालका विद्यालयका प्रधानाध्यापक र शिक्षकसँग हाता सरसफाइ, फलपूmल, रुख–बिरुवाको बारेमा छलफल गर्दा विद्यार्थीले झ्याल, ढोका, बिजुलीका स्विच बक्ससमेत फुटाउँछन्, पङ्खा बङ्ग्याएर यस्ता बनाए, उदास विद्यार्थीले फूल बिरुवा कसरी राख्छन् ? उल्टै प्रश्न आपूmतर्फ तेस्र्याइन्छ । के कारण होला त ? कुनै विद्यालयमा सरसफाइ, हरियाली, फूूलको सजावट सम्भव र सहज हुने कुनै विद्यालयमा असम्भव हुने ?
राम्रो हरियाली बनाएका बोटबिरुवाहरू सजाएका विद्यालयमा कसरी सम्भव भयो त ? भनी सोध्ने हो भने विद्यार्थीले नै संरक्षण गर्छन् । गमला फुटाउने बिरुवा नास्ने भन्ने कुरै आउँदैन भन्ने सुनिन्छ । यी कुराबाट के निष्कर्ष निकाल्ल सकिन्छ भने जुन विद्यालय सिकाइको थलो, विद्यार्थीको बानी निर्माण गर्ने स्थान बनाइएको छ, प्रधानाध्यापक र शिक्षकले गरे सम्भव हुन्छ भन्ने सकारात्मक सोच राख्छन्, विद्यालय गतिविधिलाई सिर्जनात्मक बनाएको छ । त्यस्ता विद्यालयको हातामा फूलबारी, हरियाली, फोहोर व्यवस्थापन, शौचालयको सरसफाइ सहजै सम्भव हुने रहेछ । जुन विद्यालयका शिक्षक जागिर थाम्न विद्यालय जान्छन्, विद्यार्थीको सिकाइमा, बानी निर्माणमा खासै चासो राख्दैनन्, अरूबाट सिक्न चाहँदैनन्, अरूलाई दोष दिन माहिर छन् । त्यस्ता विद्यालयका हातामा सरसफाइ र हरियाली सम्भव हुने कुरै भएन ।
विद्यालय भनेको बालबालिकालाई सिकाउने र असल बानी निर्माण गर्ने थलो हो । कालोपाटीमा केही कुरा लेखेर भट्भटाउँदैमा पढाइएको त भन्न सकिएला तर विद्यार्थीले सिक्दैनन् । असल बानी र सीप निर्माणमा सहयोग पुग्दैन भने त्यो शिक्षा दिएको मानिँदैन । पाठ्यक्रम, पाठ्यपुस्तकमा लेखिएका कुरा नमुना मात्र हुन् । जीवनमा सिक्नुपर्ने सबै कुरा पाठ्यक्रममा राख्न सम्भव पनि हुँदैन । पाठ्यक्रममा समेटिएका विषय पनि उपयुक्तरूपमा प्रयोग गरिंदैन भने राख्नुको कुनै अर्थ रहँदैन । विद्यालयमा सिकेका कुरा त्यतिबेला मात्र सार्थक हुन्छन् जतिबेला विद्यार्थीले सिकेका कुरा दैनिक जीवनमा लागू गर्न सक्छन् । घर, परिवार र समुदायमा पनि प्रयोगका लागि उत्प्रेरित गर्न सक्छन् । पाठ्यक्रममा राखिएका कुरा पनि त्यतिबेला प्रभावकारी हुन्छन् जतिबेला विद्यालयमा व्यवहार परिवर्तन गर्न सक्नेगरी शिक्षकले विद्यार्थीलाई सिकाउन सफल हुन्छन् ।
विद्यार्थीले विद्यालयमा सफा शौचालय प्रयोग गर्न पाएमा घरमा पनि सफा शौचालय प्रयोग गर्न खोज्छन् । घरका शौचालय सफा बनाउने कार्यमा सरिक हुन, छलफल गर्न र सफा राख्न अभिभावकलाई दबाब दिन सक्छन् । केही बालबालिकाले विद्यालयको शौचालय प्रयोग गर्न नपरोस् भनेर घरमा पानी नपिएका उदाहरण पनि छन् । मानव शरीरबाट उत्पन्न हुने फोहोर अन्य व्यक्ति र समुदायलाई असर नपुग्ने गरी व्यवस्थापन गर्न शौचालय बनाइन्छ । विद्यालय अनुगमन गर्ने क्रममा केही विद्यालयमा शौचालयतर्फ पनि जान नसकिने गरी फोहोर र दुर्गन्धित हुन्छ । लाखांँ लगानी गरेर बनाइएका शौचालयमा सिमसारजस्तै फोहोरले भरिएको देखिन्छ । शिक्षकलाई सोध्दा उही विद्यार्थी बदमास भएको, पानी प्रयोग नगरी कागज, ढुङ्गा, झारपात प्रयोग गरेर फोहोर जाने निकास बन्द गरिदिएको, सफा गर्नै नसकिने भएको भन्ने जवाफ पाइन्छ । केही विद्यालयमा निर्मित शौचालय पनि ताला लगाएर राखिएको, शिक्षकले मात्र खोलेर प्रयोग गर्ने र विद्यार्थीले प्रयोग गरेमा फोहोर हुनेगरेको सुनिन्छ । विद्यार्थीलाई दिसा पिसाब गर्न चौर, जङ्गल, खोला नजिकमा जे छ त्यतैतर्फ पठाउने गरिन्छ । केही विद्यालयमा भने शिक्षक–विद्यार्थीका शौचालय अलग हँुदैनन् । केवल महिला र पुरुषका शौचालय मात्र अलग हुन्छन् । अझै विद्यार्थीको समस्या बुझ्ने विद्यालयले छात्रा शौचालमा साबुन, सेनेटरी प्याडसमेत व्यवस्था गरेको देखिन्छ । कुनै विद्यालयमा छात्राका लागि सेनेटरी प्याड आवश्यक परेमा महिला शिक्षकसँग मागेर प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको पाइन्छ ।
विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकले चाहने हो भने विद्यालय, कक्षाकोठा सरसफाइ गर्न, विद्यालयको वातावरण हरियालीयुक्त, सुन्दर बनाउन कठिन हँुदैन । नयाँ भर्ना भएका विद्यार्थीलाई शौचालयको प्रयोग, पिउने पानीको व्यवस्था, समस्या परेमा समस्याको समाधान गर्ने उपाय, विद्यार्थीले विद्यालयमा खेल्नुपर्ने भूमिकाजस्ता कुरामा अभिमुखीकरण गर्ने हो भने विद्यार्थीले विद्यालयमा उपद्रो गर्ने कुरै आउँदैन । विद्यार्थीको सहभागितामा विद्यार्थी शिक्षकका आचारसंहिता बनाउने हो भने विद्यार्थीले आचरसंहिता उल्लङ्घन होइन, झनै कार्यान्वयनमा सहयोग गर्छन् । विद्यालयमा विद्यार्थीलाई विभिन्न क्लब बनाएर फरक क्षेत्रको जिम्मा दिन सकिन्छ । इको क्लब बनाएर विद्यालयको वातावरण सरसफाइ, रुखबिरुवा संरक्षणसम्बन्धी जिम्मा दिने हो भने झनै प्रभावकारी हुन्छ ।
फोहोर व्यवस्थापनका लागि विद्यालयमा कुहिने र नकुहिने फोहोर राख्ने अलग अलग डस्टबिनको व्यवस्था गर्न सकिन्छ । भाँडाको व्यवस्था गर्न नसकेमा दुईवटा खाल्टा बनाएर प्रयोग गर्न सकिन्छ । सहयोग माग्ने हो भने सहयोगी पनि पाइन्छन् । कुहिने र नकुहिने फोहोर अलग सङ्कलन गर्ने हो भने नकुहिने खालका फोहोर निकै सीमित हुन्छन् । कुहिने फोहोर कुहाएर रुखबिरुवाका लागि मलको रूपमा प्रयोग गर्न सकिन्छ । विद्यालय हातामा रोप्न नर्सरीबाट विभिन्न फलपूmलका बिरुवा निःशुल्क पाउन सकिन्छ । एक विद्यार्थी एक बिरुवा ल्याउन र संरक्षण गर्न भन्ने हो भने पर्याप्त बिरुवा प्राप्त गर्न र हुर्काउन सकिन्छ । विद्यालयमा उपलब्ध जमिनको अवस्थाअनुसार कस्ता फलफूल वा रुखबिरुवा रोप्ने ? निर्णय गर्नुपर्ने हुन्छ । यस विषयमा विज्ञको सहयोग लिन सकिन्छ । जमिन भएका विद्यालयले आफ्नो हातामा करेसाबारी बनाउने र तरकारी उत्पादन गर्न सिकाउने हो भने विद्यार्थीमा स्वावलम्बी बानीको विकास हुन्छ । विद्यालय हाता नभएमा वा सानो भएमा गमलामा पनि फूल र सजावट हुनेखालका बिरुवाहरू रोपी विद्यालयलाई हरियालीयुक्त र सुन्दर बनाउन सकिन्छ ।
पर्यटन वर्षको मौकामा सबै सार्वजनिक स्थान पनि सजाएर विदेशी र स्वदेशी पाहुनालाई आफ्नो ठाउँमा आकर्षित गर्नुपर्ने आवश्यकता छ । विद्यालयले आपूmले आफ्नो हाता राम्रो पार्न मात्र होइन, समुदायमा पनि वातावरण संरक्षण, सरसफाइका चेतनामूलक कार्यक्रम सञ्चालन गर्न, सार्वजनिक स्थान सफा र हरियाली बनाउन भूमिका खेल्न सक्छन् ।
(लेखक शिक्षा विकास तथा समन्वय इकाइ तनहुँमा कार्यरत हुनुहुन्छ ।)