logo
२०८१ मंसिर १२ बुधवार



पाशुपत क्षेत्र धाम

विचार/दृष्टिकोण |




भिक्षु कृष्णमान

भारत खण्डमा अवस्थित १२औँ ज्योतिर्लिङ्गहरूमध्ये नेपाल देवभूमिमा रहेको पशुपतिनाथलाई सर्वश्रेष्ठ ज्योतिर्लिङ्ग मानिन्छ ।
भारतको विभिन्न प्रान्तहरूमा रहेका ज्योतिर्लिङ्गको नामावली निम्नप्रकार वर्णित छन् ।
सोमनाथ – सौराष्ट्र गुजरात हिन्दमहासागरको किनारमा
महाकालेश्वर – मध्यप्रदेश उज्जैन शिप्रा नदीकिनारमा
मल्लिका अर्जुन महादेव – आन्ध्रप्रदेश शैल पर्वतसँगै कृष्णा नदीकिनारमा
ओमकारमलेश्वर महादेव – मध्यप्रदेश नर्वदा नदीकिनारमा
वैधनाथ महादेव – विहार झारखण्ड सन्थाल क्षेत्रमा
भीमा शङ्कर महादेव – महाराष्ट्र पुने जिल्लामा
रामेश्वर महादेव – तामिलनादु प्रदेश समुद्रकिनारमा
श्री नागेश्वर महादेव – गुजरात प्रदेश द्वारिकानजिक
विश्वनाथ महादेव – काशी वाणाणसी गङ्गाकिनारमा
त्रम्वकेशर महादेव – महाराष्ट्र नासिक जिल्ला गौतमी नदीकिनारमा
केदारनाथ महादेव – हिमालप्रदेश उत्तराखण्ड गरुवाल प्रान्तमा
धृणेश्वर महादेव – महाराष्ट्र औरङ्गावाद जिल्लामा
भारतीय तीर्थालुहरू यी १२ ज्योतिर्लिङ्गहरूको तीर्थाटन सकेर अन्तिम ज्योतिर्लिङ्ग श्री पशुपतिनाथमा आउने गर्छन्, जसको दर्शन पूजाबाट पुण्य लाभमा पूर्णता पाउँछन् ।
कैलाश पर्वत र श्लेष्मान्तक वनसँगै बाग्मती नदीकिनारको देवपत्तन क्षेत्रमा अवस्थित पशुपतिनाथ अर्थात् पारसनाथ ज्योतिर्लिङ्ग पञ्चमुखी रहेको छ, जसको नाम र आकार अलग–अलग वर्णित छ ।
पूर्वमा तत्पुरुष, पश्चिममा सद्योजात, दक्षिणमा अघोर, उत्तरमा वामदेव र शिरो भागमा इशान । पशुपतिनाथ मन्दिरको चारै ढोकाबाट शिवलिङ्गको विभिन्न आकार मूर्तिको अवलोकन गर्न सकिन्छ । बिहान ४ बजे नित्यपूजाका लागि नेपाली पुजारीले परम्परागत विधिअनुसार पूजा आरम्भ गरेपछि करिब ६ बजेदेखि दक्षिण भारतका द्रविड समुदायको पुजारीबाट महादेवलाई पञ्चामृत (चिनी, घिउ, दही, दूध, मह) बाट स्नान गराइसकेपछि विभिन्न फूलमालाको शृङ्गार र रुद्राभिषेक गराइन्छ । अपराह्न २ः३० मा भोग प्रदान सकेपछि ३ः०० बजे ढोका बन्द गरेर पुनः ५ः३० बजे आरतिको ढोका खुला रहन्छ । यसरी सञ्चालित हुने पूजा सामारोहमा धार्मिक बन्धुहरू सहभागी बनेर पुण्य आर्जन गर्छन् ।
शिव पुराणअनुसार ज्योतिर्लिङ्गको महात्म्यबारे निम्नप्रकार वर्णन गरिएको छ ।
यस ब्रह्माण्डको सृष्टिकर्ताको महŒवबारे ब्रहमा र विष्णुबीच गहन वादविवाद चलेको बेला यसको निरूपणका लागि शिवजी आफैँ प्रकट हुनुभई त्रिलोक भूमिमा विशाल ज्योतिर्मय खम्बाको आविष्कार गर्नुभयो । शिवजीले यस ज्योतिर्मय खम्बाको छेउ पत्ता लगाऊ भनेर ब्रह्मा, विष्णु दुवैलाई आदेश दिनुभो । दुवैले कठोर मिहिनेत गरिसकेपछि ब्रह्माले ज्योतिर्मय खम्बाको छेउ पत्ता लगाएँ भनेर झुटो बोल्न पुगेछन्, जब कि विष्णुले मैले सकिनँ भनेर हार स्वीकार गरे ।
ज्योतिर्मय खम्बाको प्रतीक मानिएका शिव महादेवले झुटो बोलेबापत कुनै ठाउँमा पनि तिम्रो मूर्तिको स्थापना र पूजा हुने छैन भनेर ब्रह्मालाई श्राप दिनुभो र विष्णुलाई हरेक पूजा समारोहमा तिम्रो सम्मान हुनेछ भनेर आशिर्वाद दिनुभो ।
यसबाट हामी बुझ्न सक्छौँ कि ज्योतिर्मय खम्बाको प्रतीक नै सकल प्राणीका रक्षक शिव महादेव हुनुहुन्छ । शिव पुराणमा भनिएअनुसार पशुपति शिवलिङ्गको पाँच शिर हुन्छ । विनाशिरको शिवलिङ्ग केदारनाथलाई मानिन्छ । महाभारतको युद्ध समाप्तिपछि पाप मोचनका लागि केदारनाथ दर्शन गर्न गएका पञ्च पाण्डवलाई बन्धुद्रोही र गुरुद्रोही भएकाले शिवजीले भैँसीको रूपधारण गरेर शरीरको पछाडिको भागमात्र देखाए ।
शिव पुराणको ऐतिहासिक कथनअनुसार भनिन्छ– “शिरोभागस्य रुपेण शिवलिङ्ग तदस्ति हि” अर्थात् शिवलिङ्गको शिरको भाग पशुपतिनाथ नेपालमा । शरीर पछाडि भाग भारत केदारमा ।
कोही तीर्थालु केदारनाथ जान्छ भने उसले केदारनाथमा शरीरको पछाडि आधा भागमात्र दर्शन गर्न सक्छ । अगाडिको शिर भाग दर्शन गर्नु छ भने सोही तीर्थालुले पशुपतिनाथको यात्रा गर्नुपर्छ अनि मात्र सोही तीर्थालुले पूर्ण पुण्य लाभ पाउन सक्छ । त्यसैले नेपालको पशुपतिनाथलाई उच्च कोटीको ज्योतिर्लिङ्ग मानिन्छ ।
इलाहवाद प्रयागनिवासी मेरा गुरु गङ्गाप्रसाद गुप्ता भन्नुहुन्थ्यो, “एकवार मुझे देवभूमि नेपालमे पारसनाथ दर्शन करनेकी उत्कृष्ट इच्छा हे ।” (मलाई एकपटक देवभूमि नेपालमा पारसनाथ दर्शन गर्ने उत्कृष्ट इच्छा छ ।) पशुपतिनाथ महादेवको महिमाबारे उहाँ भन्नुहुन्छ, “लोहा लेजाके शिव लिङ्गमे स्पर्श करदो तो सोना वन जाता हे ।”
(फलाम लगेर शिवलिङ्गमा छुवाइदिए सुन बन्छ ।)
यसरी पशुपतिनाथ महादेवप्रति पोखिएको आत्मीय विश्वास हरेक भारतीय धर्म बन्धुहरूको मनमा रहेको मानिन्छ ।
नेपाल राजकीय भ्रमणमा आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्भित्र आफ्नो कुरा यसरी भन्नुभएको थियो, “मेरो जन्मभूमि सोमनाथ पावन भूमि हो । विश्वनाथ मन्दिरको प्राङ्गणमा मैले शिक्षादीक्षा पाएँ । आज तपोभूमि नेपालमा अवस्थित पशुपतिनाथ महादेव मन्दिरसामु आइपुग्नु मेरो शौभाग्य हो ।”
उहाँले गुजरात सौराष्ट्रको सोमनाथ, उत्तरप्रदेश काशीको विश्वनाथ र नेपालको पशुपतिनाथ तीनवटा ज्योतिर्लिङ्गहरूको वर्णण गर्न भ्याउनुभयो ।
पशुपतिनाथ विकासका लागि आर्थिक अनुदान र आधुनिक धर्मशाला उहाँकै पहलबाट पाएको हो । राणाकालीन नेपालमा महाशिवरात्रि पर्वमा आउने साधुसन्तहरूलाई रक्सौल नाका काट्नासाथ काठमाडौँ उपत्यका नपुगेसम्म हरेक वासमा भण्डारा खुवाउँदै सम्पूर्ण खर्च राज्य कोषबाट बेहोरिने गर्दथ्यो । महाशिवरात्रि पर्व सकेपछि ती सबै साधुसन्तहरूलाई बिदाइ गर्दा बाटो खर्चसमेत दिने चलन थियो । हिजोआज भारतबाट आउने धर्मयात्रीहरू एकैदिनमा रक्सौलबाट काठमाडौँ आइपुग्छन् ।
“नेपाल भ्रमण वर्ष २०२०” अभियानमा महाशिवरात्रि पर्वमा धेरै नै साधुसन्त आउने अनुमान गर्न सकिन्छ । पशुपति क्षेत्र विकास कोष, गुठी संस्थान र राणाकालीन राजगुठीको आयस्ताबाट महाशिवरात्रि पर्वको बेला आउने सकल साधुसन्तहरूको हेरचाहमा कुनै कमी नदेखाउँदा आगामी वर्षहरूका लागि नेपालको छवि राम्रो हुँदै जानेछ । 

(लेखक अमेरिकन लाइब्रेरी, काठमाडौँका पूर्वपुस्तकालयाध्यक्ष हुनुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?