कृष्ण श्रेष्ठ
म्याथ्यु आर्नोल्ड (सन् १८२२–१८८८) को एउटा भनाइ पत्रकारिताका विद्यार्थीबीच विख्यात छ, ‘पत्रकारिता हतारको साहित्य हो ।’ सार्वजनिक चासोलाई सर्वोच्च महŒव दिँदै समयसीमाको लक्ष्मणरेखाभित्र बसेर पत्रकारहरूले हतारहतारमा सामग्री तयार गर्नुपर्ने भएकैले हुनुपर्छ, यसलाई ‘हतारको साहित्य’ भनिएको । चलनचल्तीमा छापा माध्यममात्रै रहेको कालखण्डको यो भनाइको महŒव र सान्दर्भिकता वर्तमानमा अझ चुलिएको छ । ‘डेडलाइन’ पर्खेर होइन, ‘रियलटाइम’मा समाचार प्रकाशन÷पोस्ट गर्नुपर्ने प्रतिस्पर्धात्मक बाध्यताले यो अहिले ‘प्रकाशको गतिको हतार’ मा परिणत भएको छ । यद्यपि, ‘हतार’ को बहानामा गलत तथ्य दिएर सत्यलाई नै विचलन गर्ने छुट समाचारले पाउँदैन ।
प्रसङ्ग २०७६ माघमा घटित सानेपा काण्डको समाचार सम्प्रेषणमा देखिएको तथ्यगत विचलनको हो । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्न राखिएका सहयोगी विजय चौधरीको हत्या÷मृत्युसम्बन्धी समाचार सोही दिनका अनलाइनहरूमा पोस्ट र भोलिपल्टका अखबारहरूमा प्रकाशन गरिए । बहुप्रचलित अनलाइन तथा मूलधारका दैनिक अखबारहरूमा दिइएका समाचारका अध्ययनबाट समाचार लेखनमा आवश्यक संवेदनशीलता र जिम्मेवारीको कमी रहेको भान हुन आउँछ । यस्ता केही ‘हतार’को उपजमा देखिएका विसङ्गतिलाई यहाँ केलाइएको छ ।
बाझिएका तथ्य
समाचारमा एउटा घटनाको प्रतिनिधित्व विभिन्न तथ्यले गरेका हुन्छन् । हरेक तथ्य निश्चित सन्दर्भबाट परिचालित हुन्छन् र एउटा तथ्यको सामाजिक प्रतिनिधित्व एउटै हुन्छ । ‘भान्छाकोठा’, ‘लिभिङ रुम’ तथा ‘डाइनिङ रुम’ फरक तथ्यहरू हुन्, पर्यायवाची होइनन् । हो, कुनै तथ्यको छनोट गर्ने, घटनाको व्याख्या–विश्लेषण गर्ने र निष्कर्षमा पुग्ने सवालमा भने मत बाझिन सक्छ । फरक कोणबाट सम्पे्रषित निष्पक्ष समाचारहरू अनुसन्धानका लागि उपयोगी हुन सक्छन् । तर, तथ्य प्रस्तुतिमै अलमलियो भने समाचारको विश्वसनीयता धर्मरिन्छ । समाचारको मूल्य–मान्यता र परिशुद्धताको अन्त्य हुन्छ । समाचारको ‘ए, बी, सी’ पुस्तक र कक्षाकोठाको गफमा सीमित हुन पुग्छ ।
सबभन्दा पहिले पूर्वसचिव कार्कीले श्रीमती कार्की र कामदार चौधरीको शरीर देखेको प्रसङ्गको चर्चा गरौँ । एउटा दैनिकमा उल्लेख छ ः “...गाडी पार्किङ गरेर भ¥याङ चढ्दै गर्दा कामदार विजय चौधरी डोरीमा झुन्डिएको दृश्यले उहाँलाई स्तब्ध बनायो भने आत्तिएर भित्र भान्सामा पस्दा भावविह्वल हुनुभयो उहाँ ।
“भान्सामा रक्ताम्य अवस्था (मा) लडेकी श्रीमती मुनालाई देखेपछि उहाँको आँखाबाट आँसु बर्सियो । ...”
अर्को दैनिकको प्रस्तुति छ ः “... जोडजोडले ढकढक्याउँदा पनि ढोका खुलेन । अन्ततः भान्साकोठाको झ्यालबाट भित्र चिहाउँदा भयानक दृश्य देखियो । रगत लतपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रुन–कराउन थाले ।” अर्को दैनिकमा छ ः “... गेट खोल्न खोजे, तर खुलेन । घरमा कोही नहुँदा कहिलेकाहीँ गेट खुल्दैन । यस्तो बेला गेटको अर्को चुकुल खोल्नुपर्छ । उनले त्यसै गरे । अनि सरासर किचेनतर्फ लागे ।
“जब किचेनभित्र प्रवेश गरे, भुइँमा रगत लतपतिएको देखे । नजिकै ढलेकी थिइन्, श्रीमती मुना । कोठाभित्रै अर्कोतिर पल्टिएका थिए कामदार चौधरी ...।”
समाचारका प्रमुख पात्रहरूमध्ये एक अर्जुन कार्कीले सबैभन्दा पहिले कसको शरीर देखे ? अनि, कहाँ देखे ? पहिलो अखबारमा भ¥याङ चढ्दै गर्दा चौधरीको लास देखेको र त्यसपछि आत्तिएर भान्सामा पस्दा श्रीमती कार्कीको लास देखेको, दोस्रो अखबारमा कार्कीले भान्साकोठाको झ्यालबाट भित्र चियाउँदा (अर्थात् कार्की घरभित्र पसेका थिएनन्) श्रीमती कार्कीको लास देखेको र तेस्रो अखबारमा कार्कीले श्रीमती कार्की र चौधरीको लास भान्साकोठामा देखेको उल्लेख छ । प्रश्न उठ्छ, कुनचाहिँ तथ्य सही हो त ? यसरी तथ्य नै बाझिएपछि समाचारको मूल्य नै रहँदैन ।
दुर्घटनाका बारेमा प्रहरीलाई सबैभन्दा पहिले कसले खबर ग¥यो भन्ने भनाइमा पनि एकरूपता छैन । एउटा दैनिकमा “अर्जुनका अनुसार मुना अचेत अवस्थामा लडिरहेकी थिइन् । उनले तत्काल प्रहरीमा खबर गरे” छापिएको छ । अर्कोमा “रगत लतपतिएको अवस्थामा पत्नीलाई देखेपछि कार्की रुन–कराउन थाले । छिमेकी दानबहादुर थापा दौडँदै उनको घरमा पुगे । ‘त्यतिबेला करिब साढे १० बजेको थियो होला,’ थापाले सुनाए । थापाले महानगरीय प्रहरी प्रभाग सानेपालाई खबर गरे । दुई सय मिटर परको प्रहरी कार्यालयको टोली दुई मिनेटकै(मै) कार्कीको घरमा पुग्यो” छापिएको छ ।
अर्को दैनिकमा चाहिँ “पूर्वसचिव कार्कीकी छिमेकी राष्ट्रियसभाकी सांसद तथा गायिका कोमल वली कार्की चिच्याएको सुनेपछि दाइसँग त्यहाँ गएकी थिइन् । कार्कीको घर वलीको ठीक पछाडि छ । ‘हामी पुग्दा ज्वाईंसाहब चिच्याइरहनुभएको थियो, दाइले घर पुग्नुअघि नै प्रहरीलाई खबर गरिसक्नुभएको थियो ...” छापिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रहरी उपरीक्षक तथा प्रवक्ताको भनाइ उद्धृत गर्दै एउटा अङ्ग्रेजी दैनिकले करिब १२ बजे घटनाको जानकारी पाएपछि तत्काल प्रहरी टोली खटाइएको उल्लेख गरेको छ ।
प्रहरीलाई खबर गर्ने व्यक्तिका सन्दर्भमा मात्र होइन, अर्जुन कार्की घर पुगेको समय पनि भिन्नभिन्न अखबारले भिन्नभिन्न छापेका छन् । एउटा अखबारअनुसार कार्की “करिब साढे १० बजे” नै घर पुगिसकेका थिए । दोस्रो अखबारमा “कार्की करिब सवा ११ बजेतिर घर आइपुगे” उल्लेख छ भने तेस्रोमा “नियमितजस्तै अर्जुन सोमबार पनि ११ः४५ तिर घर पुगे” उल्लेख छ ।
चौधरीको लासको स्थिति जनाउने तथ्य पनि बाझिएको छ । एउटा अखबारमा “११ बजे प्रहरी घटनास्थल पुग्दा पूर्वसचिव कार्की भावविह्वल अवस्थामा हुनुहुन्थ्यो भने ढोकामै झुन्डिएको कामदार चौधरी र भान्सामा ढलेकी श्रीमती मुनाको दृश्य वीभत्स” छापिएको छ । अर्कोमा “‘भान्सामा मुना रगताम्मे अवस्थामा थिइन् । कामदार पाहुना राख्ने कोठामा झुन्डिएको अवस्थामा थिए,’ छिमेकी दानबहादुरले भने” छापिएको छ । तेस्रोमा “प्रहरी घटनास्थलमा पुग्दा मुना भान्साकोठामा रगताम्य भएर लडिरहेकी थिइन् । विजय नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका थिए” छापिएको छ । एउटा अनलाइनमा “प्रहरीले घरभित्र नै लिभिङ रूममा विजय चौधरीलाई नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको (पारेको) थियो” उल्लेख छ । एउटा अङ्ग्रेजी दैनिकमा ललितपुर महानगरीय प्रहरी परिसरका उपरीक्षक तथा प्रवक्ताको भनाइ उद्धृत गर्दै प्रहरी घटनास्थलमा पुग्दा चौधरी झुन्डिएको अवस्थामा पाइएको र उनको शरीरमा प्राण नरहेको उल्लेख गरिएको छ ।
“ढोकामै झुन्डिएको कामदार चौधरी”, “कामदार पाहुना राख्ने कोठामा झुन्डिएको अवस्था”, “नाइलनको डोरीले पासो लगाएको अवस्थामा डाइनिङ टेबलमा लडिरहेका”, “लिभिङ रूममा विजय चौधरीलाई नाइलनको डोरी लगाएर झुन्डिएको अवस्थामा मृत फेला” पारेको, “चौधरी झुन्डिएको अवस्थामा पाइएको” जस्ता वाक्यांशहरूबाट समाचारमा तथ्यगत विचलन रहेको देखिन्छ । अझ एउटा दैनिकमा छापिएको “सानेपास्थित कार्कीनिवासको डाइनिङ हलमा सोमबार बिहान दुवैको शव भेटिएको हो” ले नवीन तथ्य सिर्जना गरेको छ ।
समाचारहरूमा श्रीमती कार्कीमाथिको आक्रमणसम्बन्धी तथ्यमा पनि विचलन देखिन्छ । एउटा अखबारमा छापिएको छ ः “... चौधरी कपाल समातेर जोडतोडले टाउको भुइँमा ठोकाउँछन् । करिब पाँच मिनेट लामो यातनाबाट शिथिल बनेकी मुनालाई नजिकै रहेको प्लास्टिकको पिर्काले टाउको र अनुहारमा जोडतोडले हिर्काउँछन् ...।” एउटा अनलाइनमा लेखिएको छ ः “प्रहरीका अनुसार सीसीटीभी फुटेजमा चौधरीले कार्कीलाई भान्सामा गएर लछारपछार पारी सुरूमा पिर्काले हानेको देखिएको छ । पिर्का फुटेपछि चौधरीले भुइँमा धेरैपटक टाउको ठोक्काएको देखिएको छ ।” अर्को अनलाइन समाचारमा “कुटपिटका क्रममा मुनाको नजिकैको धारामा ठोक्किएको पनि खुलेको छ” उल्लेख छ । अर्को अनलाइनले एसएसपी सहकुल थापाको भनाइ उद्धृत गर्दै ‘धारानजिकै रगत लागेको देखिन्छ । त्यहाँ ठोकिएको वा ठोकाएको हुन सक्छ’ उल्लेख गरेको छ । पछिल्ला दुई अनलाइनका तथ्यलाई अतिरिक्त तथ्यका रूपमा लिने हो भने पनि अखबार र पहिलो अनलाइनले विपरीत तथ्य प्रस्तुत गरेका छन् ।
विजय चौधरीको उमेर र उनले काम गरेको समयावधिबारेमा पनि तथ्यगत एकरूपता देखिँदैन । पोस्ट वा प्रकाशन गरिएका एउटै घटनासँग सम्बन्धित समाचार अध्ययन गर्दा अन्य विसङ्गतिहरू पनि फेलापर्छन् ।
सजग र संवेदनशील हुन आवश्यक
सामाजिक सञ्जाल, ‘युट्युब पत्रकारिता’ र च्याउसरि उम्रिएका ‘अनलाइन’हरू छाडा भएका र बहुसङ्ख्यले सत्यतथ्य बङ्ग्याउने गरेको गुनासो व्यापक छ । तर, चलेका अनलाइन तथा मूलधारका दैनिकहरूका महŒवपूर्ण समाचार सम्प्रेषणमा नै तथ्यगत विचलन देखिन थाल्यो भने त्यसले समाचारमाध्यमको साख गिराएर भविष्य नै चौपट पार्न सक्छ । मिडिया उपभोक्ताहरूमा मूलधारका समाचार माध्यमप्रति अविश्वास तथा वितृष्णा बढ्न सक्छ । सेयरकास्ट इनिसियटिभ नेपालको अनुसन्धान प्रतिवेदन ‘नेपाल मिडिया सर्वे २०१९’ले समाचारपत्र र म्यागाजिनका पाठक–सङ्ख्या खुम्चिएको देखाएको छ । यो आफैँमा ‘रातो बत्ती’ सरह हो । अर्को, समाचारहरूमा देखिने तथ्यगत विचलनले ‘मिडिया ट्रायल’लाई पनि निम्त्याउँछ । यो झनै खतरनाक स्थिति हो ।
सानेपा काण्डको समाचार सम्प्रेषणमा देखिएको तथ्यगत विचलन एउटा उदाहरणमात्र हो । नेपाली समाचारमाध्यममा यस्ता विसङ्गतिहरू छ्याप्छ्याप्ती नै देखापर्ने गरेका छन् । यस्ता विचलन र विसङ्गतिबीच मिडिया उपभोक्ताले कसको समाचारमा विश्वास गर्ने ? कसकोमा विश्वास नगर्ने ? अन्त्यमा, विश्वास नै किन र कसरी गर्ने ? समाचार लेखनमा ‘स्रोत’को महŒव र औचित्य यत्तिकै स्थापित भएको होइन । यस्तो
विसङ्गति–विचलनको जन्म कसरी भइरहेको छ ? किन भइरहेको छ ? र, यसको अन्त्य कसरी गर्न सकिन्छ ? मिडियाकर्मीले आत्ममन्थन र सञ्चारगृहहरूले व्यवस्थापकीय सुधार गर्नुपर्छ । पत्रकारितालाई ‘हतारको साहित्य’ भनेर कोही पनि ‘पानीमाथिको ओभानो’ हुन पाउँदैनन् ।
(लेखक गोरखापत्रका पूर्वप्रधानसम्पादक हुनुहुन्छ ।)