पुरनसिंह दयाल
तत्कालीन बैतडी जिल्ला विकास समितिले २०७० सालमा प्रकाशित गरेको जिल्ला पाश्र्वचित्रलगायतका विभिन्न पुस्तक एवम् लेखहरूमा बैतडीको नामकरणबारेमा व्याख्या गरेको पाइन्छ । बैतडीको वरिपरिका उच्च पहाडहरूमा चारवटा केदार देवताहरूको देवस्थल छ । तीमध्ये दक्षिणमा ग्वाल्लेक केदार, पूर्वमा रौलाकेदार, उत्तरमा देवलेक केदार र पश्चिममा ध्वोज केदार (भारत उत्तराखण्डको पिथौरागढ निकट पर्दछ) रहेको मान्यता छ । हाल ग्वाल्लेक केदार भनिने पर्वतलाई पहिले बायोत्तड भनिने रहेछ र त्यहाँ ज्यादै हावा लाग्ने गर्दछ । बढी हावा चल्ने भएकाले संस्कृतमा वायुत्तड पर्वत (वायु उत्तड–वायोत्तड) अर्थात् वायु चल्ने ठाउँ भन्ने अर्थमा वायुत्तडबाट अपभ्रंश हुँदै वायोत्तड र बैतड भई अन्तमा बैतडी भएको हो भन्ने परम्परा छ । केही प्रकाशनहरूमा यस पर्वतलाई पहिला “वायोवाड” पहाड भन्ने गरिन्थ्यो रे । अहिलेसम्म हामी सबैले यसैलाई स्वीकार्दै लेख्दै र बोल्दै आइरहेका छाँै । तर, ग्वाल्लेक केदारको पर्वत शृङ्खला र खास बैतडीको भूगोल र वायु चल्ने पर्वतबारे केही कुरा नलेखिरहन सकिएन । यस विषयमा मेरो फरक धारणा छ ।
पहिलो तथ्य, पहिलेको विभाजनअनुसार हालको बैतडीका अलग–अलग भेगका रहनसहन, लवाइखवाइ, बोली, भाषा थिए । बैतडीमा प्रवेश गर्ने आगन्तु्क पनि फरक–फरक क्षेत्रबाट प्रवेश गरेको देखिन्छ । सुर्नया नदीनजिक तल्लो स्वराडका दक्षिणी भेगका बासिन्दा बैतडीमा समावेश हुनुभन्दा डडेल्धुराको भन्न रुचाउने गर्छन् । बोली, भाषा पनि मिल्ने र आवतजावतमा सहजता हँुदा जनसङ्ख्याका आधारमा पनि यस क्षेत्रलाई १६०० सय तल्ली स्वराड (हाल ः राजनीतिक व्याख्याकारबाट स्वराज) भन्ने गरिन्छ । दुईपटक नानीगाडदेखि दक्षिणतिरको भू–भाग) तत्कालीन गिरेगाडा र मलिकुल सलेनातलको क्षेत्र डडेल्धुरामा समावेश भइसकेको थियो । ग्वाल्लेकको केही भाग स्वराडतिर र केही पाँच सय डाँडा समाहित भएकाले यस भेगलाई बैतडी भन्न सुहाउँदैन ।
दोस्रो तथ्य, हुरहुरे बतास खास बैतडी क्षेत्रमा पनि चल्छ । महाकाली नदीछेउस्थित जुलाघाटको उखरमाउलो घामबाट माथि बैतडी गढीतिर उकालो लाग्दा साङडीको पीपल चौतारीहरूमा बस्दा हुरहुरे बतास चल्छ । यात्रुलाई शीतलता प्रदान गर्दछ । कुकुन्या हँुदै धौलेलीबाट त्रिपुराको मन्दिर क्षेत्र पनि बतास लाग्ने डाँडा हो । सबैभन्दा माथिको टाकुरो भनेको गढी हो । गढीको नामकरण सैनिक महŒवका कारण इसं १७९० मा नेपाल एकीकरणको सिलसिलामा अन्यत्र पनि भएका छन् र यहाँ पनि भएको हुनुपर्छ । पहिलाको कोट त कुल्लेकोट नै हो जो कि हाटकोनजिक वबेतमाथि अवस्थित छ । यसमा पुराना शासक कठायतहरूले आफ्नो शासन चलाएको र तिनको पतन पछि रना देवका शाखा–सन्तानले पुनर्उत्थान गरी आफ्नो शासन केन्द्रका रूपमा प्रयोग गरेको देखिन्छ । यहाँको पुरानो बस्ती गढीभन्दा तलका केही हदसम्म समथल भू–भाग छन् । जगन्नाथ मन्दिर स्थलमा अझै पनि ठूला बाँझका रूखहरू छन् । त्यसको उत्तरपट्टि त अझै सानो जङ्गल छ । गोरखाली फौज बस्नुपूर्व टँुडिखेललगायतको क्षेत्र पक्कै पनि वन–जङ्गल भएको हुुनुपर्दछ । त्यहाँ गाईबस्तु चराउने हुनुपर्छ । त्यसैको पश्चिमी भाग गोठलापानीमा गाईबस्तुलाई पानी खुवाउने ठाउँ थियो । जहाँ अझै पनि प्राकृतिक पानी धारो रहेको छ । यसैबाट गोठालापानी नामकरण भएको सहज अनुमान लगाउन सकिन्छ । उक्त लेकाली भेग बाडलेक, भट्टगाउ, आइत, पल्लाचौडालीदेखि बस्कोटसम्मका गाउँलेको मेलापात गर्ने क्षेत्र हो ।
गोरखाली सेनाले आफ्ना सैनिक र प्रशासकहरूका परिवारजन र अन्य कारिन्दाहरूका लागि उक्त ठाउँमा विभिन्न संरचना बनाउन वन–जङ्गल फँडानी गरेको अनुमान गर्न सकिन्छ । तैपनि टँुडिखेलमा अझै पनि हुरहुरे बतासको रमाइलो अनुभूति गर्न जेठ, वैशाखका महिना गढीका बासिन्दा र कर्मचारी घुम्ने, बस्ने गर्दछन् । के वायोत्तडवा वायोवाडका लागि वाडलेक छोडेर ग्वाल्लेक नै पुग्नुपर्ने जरुरी छ र ? यसका लागि उर्दुको उखान, “हाजिरकी हुज्जतनहि गैर की तलास” सार्थक हुँदैन होला त ! तेस्रो तथ्य, जितसिंह भण्डारीको डोटी क्षेत्रको प्राचीन इतिहास, धार्मिक स्थल र वंशावलीको पृष्ठ ३६५ मा खप्तडको नामकरणबारे डा. जयराज पन्तको लेखअनुसार देउरालीको फाँट, खुला मैदान, फराकिलो क्षेत्रलाई “तड” वा “तडी” भन्ने चलनकै कारण बैतडी, मार्तडी नाम राखिएबाट पनि खप्तड नामको अर्थ खोज्न र यस शब्दको विश्लेषण गर्न सजिलो हुन्छ । यसको व्याख्याबाट गढीबाट तल झर्दा बसकोटसम्मको देउराली र त्यसैगरी गढीदेखि छेलासम्मको देउराली र तिनको बीचको हाट, देउलहाट, भट्टगाउँ, आइत, पल्लाचौडालीदेखि लिएर बसकोट हुँदै त्रिपुरासम्मका फाँट र खुला मैदान क्षेत्र बैतडी नामरकणका लागि पर्याप्त आधार छोडेर ग्वाल्लेक पुग्न आवश्यक ठान्दिनँ । त्यसैअनुरूप महाकाली नदीको तट अर्थात् किनाराका फराकिला फाँटहरू जस्तै बुड्डा, रातामाटा, सतपाली, खडेनी साथै बाराकोटदेखि डुङरासम्मका फाँटहरूलाई पनि ठूलो आधार मान्न सकिन्छ– बैतडी नामकरणका लागि ।
तथ्य चार, गढीको वरिपरिका गाउँहरूका नामले पनि एउटा महŒवपूर्ण सहयोग पु¥याएको छ । बैतडी नामकरणका लागि, जस्तै– बाडलेक, वबेत, बसकोट, बम्रडा, बिनासौहरूमा “ब” अक्षरको पुनरुक्तताबाट बनेका यी शृङ्खलाबद्ध अवस्थित रहेका पाँचवटा गाउँहरूले पनि बैतडी नामकरण गर्नमा कम भूमिका निर्वाह गरेको लाग्दैन । तथ्य पाँच, बैतडी सदरमुकाम निकटका केही व्यक्तिहरूको अभिमत लिँदा तपसिलका भनाइहरू प्राप्त भएका छन्– दशरथ चन्द नगरपालिका वार्ड नं ४ जर्गका शिक्षक देवदत्त पाण्डेय, नवराज पाण्डेय र जयराज भट्टका मतानुसार विशेष गरेर कठपतेभन्दा तल, पुजारी गाउँभन्दा माथि, कन्सैनी गाडभन्दा पूर्व र निलगाडभन्दा उत्तरतिरको क्षेत्रलाई खासगरी बैतडी भन्ने गरिन्छ ।
जर्गकै व्यवसायी र समाजसेवी रामदत्त पाण्डेयका मतानुसार गढी, गोठालापानी र शाहीलेकवरिपरिका गाँउहरूलाई नै बैतडी भनिन्छ । बुड्डा, खडेनी, बाराकोट क्षेत्रलाई नयाँ भनिन्छ । त्यहाँको मान्छे सदरमुकाम आउन प¥यो भने बैतडीतिर जाँदै छु भन्ने गर्छन् । बाडलेकका जनक भुल भन्नुहुन्छ– हाम्रा बाजेले भुल गाउँ छोडेर बाडलेकको “भन्यावडार” आउँदा गर्भवती बज्जैलाई उडाएर गोगलगडा पु¥याइयो । यस वराडलाई देवस्थल मान्नुहुन्छ तर उडाउने कार्य त आखिर वायुले नै त ग¥यो होला । वाडलेकको नाम तथा गुण यस घटनाबाट पनि झल्किन्छ । खडबडानीका रामदत्त पाण्डेय उदय वड–हेडमिस्त्री पनि थप्नुहुन्छ– नौहाट, शालेक, गोठालापानी, गढी छेला आदि भाग नै बैतडी हुन् । पल्लाचौडालीका स्वास्थ्यकर्मी गोपाल राम लुहार भन्नुहुन्छ– गढी स्यालेकतिर गइरहँदा कुनै गाउँलेलाई कता जाँदै हुनुहुन्छ भनी सोध्दा “वाडितिरलाई झानलारियु वा बैतडिउ बझान लारियु भन्ने गर्छन् ।” बैतडी शिक्षा क्याम्पसका क्याम्पस प्रमुख हर्कबहादुर चन्दका अनुसार निलगड गाड र कन्सैनी गाडको बीच तथा महाकालीमाथि रदमौहन्ना तलको भू–भाग नै बैतडी हो । गिरेगाडा रोडीदेवलक्षेत्रका मान्छे गढी क्षेत्रलाई मल्ली बैतडी र त्रिपुरा तलको क्षेत्रलाई तल्ली बैतडी भन्ने गर्दछन् । त्यसैले पनि ग्वाल्लेकको हावालाई जोडी राख्न उपयुक्त देखिँदैन ।
वीरेन्द्र उच्च माध्यमिक विद्यालयका प्राचार्य ईश्वरीदत्त भट्ट पनि गढी वरपरको क्षेत्रलाई नै बैतडी मान्नुहुन्छ । तोकेर यही क्षेत्र बैतडी हो भनिएको छैन भन्नुहुन्छ । बौद्धिक व्यक्तित्व धनश्याम लेखकका मतानुसार बैतडी सदरमुकाम क्षेत्र सोझै उत्तरतिर रहेको मानसरोवर र अपिनम्पा हिमालको सम्मुख पर्ने हँुदा त्यहाँबाट निरन्तर आउने वायुको कारण वायोत्तड परेको हो । ग्वाल्लेकको वायुका कारण बैतडी परेको भए ग्वाल्लेक क्षेत्रलाई पाँच सय डाँडा नभनीकन बैतडी नामकरण गरेको हुनुपथ्र्यो । जब कि यहाँ पाँच सयवटा डाँडाहरूले बनेको भूगोल वा पाँच सय जनसङ्ख्या भएको अर्थमा नामकरण भएको देखिन्छ । तसर्थ, माथिका विभिन्न तथ्याङ्कहरू र व्यक्तिहरूका अभिमतलाई मध्यनजर गर्दा बैतडीको ग्वाल्लेकसँग जोडेर गरिएको नामकरणको व्याख्या अवस्तुवादी, अधरातलीय र स्वीकार गर्न असहज महसुस हुन्छ । बैतडीको नामकरणबारे वास्तविकता पहिल्याउन खोज अनुसन्धान गर्न जरुरी छ ।
(लेखक पूर्वशिक्षक तथा तत्कालीन संविधानसभा सदस्य हुनुहुन्छ ।)