प्रा.डा. प्रेम शर्मा
नेपाल पर्यटन गन्तव्यमय मुलुक हो । प्रकृति र संस्कृति यहाँको प्रमुख सम्पदा अर्थात् गन्तव्य वस्तु हुन् । विश्वको सर्वोच्च शिखर सगरमाथा, गौतम बुद्धको जन्मथलो लुम्बिनी र हिन्दु आस्थाका देवमन्दिर महŒवपूर्ण विश्व पहिचानका आकर्षणहरू हुन् । यहाँ प्रकृतिसिर्जित र मानवनिर्मित सम्पदाहरू अथाह छन् । एक दर्जन धर्म, एक सय २५ जातजाति, एक सय २४ भाषाभाषी र ती जातजातिले हुर्काएका आ–आफ्ना संस्कृतिहरू विश्वका मानिसलाई रहस्यमय तथा कौतूहलका खुराकहरू हुन सक्छन् । त्यसैले जलस्रोत सम्पदापछि नेपालमा पर्यटन सम्पदालाई उच्च प्राथमिकतामा हेरिन थालिएको छ । सम्पदाहरू भएरमात्रै हुँदैन, बजार अर्थात् उपभोक्ता पनि चाहिन्छन् । छिमेकी राष्ट्र भारत र चीन हाम्रो बजारका लागि अथाह उपभोक्ता हुन सक्छन् । केवल बजार व्यवस्थापन र वस्तुको प्रचार–प्रसारको आवश्यकता छ । यही यथार्थ बोध गरी वर्तमान सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । जसको लक्ष्य २० लाख पाहुना भिœयाएर नेपालसँग रहेका चमत्कारी पर्यटकीय वस्तुहरूको विश्वव्यापारीकरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने भन्ने सपना साकार पार्नेछ ।
यही प्रसङ्गमा नेपालका सातवटा प्रदेशमध्ये गण्डकी प्रदेशको पर्यटकीय क्षमता, सम्भाव्यता र तयारीको छोटो चर्चा गरौँ । गण्डकी प्रदेश सरकारले आफूलाई नेपालको पर्यटक केन्द्रबिन्दु ठान्छ । धेरै सम्भावना र पर्यटन गन्तव्यहरूको लेखाजोखामा अग्रस्थानमा पर्छ । यहाँका ११ जिल्लाभित्र प्राकृतिक, जैविक र साँंस्कृतिक सम्पदाहरू छन् । त्रिवेणीधामदेखि दामोदर कुण्ड, तिलिचो ताल (विश्वको उच्च स्थान ४९४९ मिटर) सम्म, एक सय १२ जातजातिहरूको बसोवास थलो, उत्कृष्ट पदमार्ग– अन्नपूर्ण परिक्रमा, सिकार आरक्षण, हिमालपारिको संस्कृति बोकेका मनाङ, मुस्ताङ र म्याग्दी जिल्लाहरू र पोखरा उपत्यका केही उल्लेखनीय गन्तव्यहरू हुन् ।
त्यसैले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनायो । ११ जिल्लाका ११० प्रमुख पर्यटकीय गन्तव्यहरू र प्रतिजिल्ला एक दर्जनजति उपगन्तव्यहरू पहिचान गरेको छ । त्यसैगरी, समुदायमा आधारित घरवास (होमस्टे) हरू दुई सय ७४ लाई ३० करोड बजेट विनियोजन गरेर २७ करोड खर्च ग¥यो र स्थानीय सरकार एवम् स्थानीयवासी (समुदाय) लाई परिचालन गरी थप १० करोड लगानी गरेको छ । भ्रमण वर्ष २०२० लाई २५ करोड बजेट विनियोजन गरी समुदायलाई क्षमता अभिवृद्धि र पूर्वाधारहरू निर्माण गर्न सुरु गरेको छ । गण्डकी प्रदेशको राजधानी पोखरा प्रकृतिको अनुपम आकर्षकीय गन्तव्य भएकाले यहाँ बर्सेनि लाखौँ विदेशीको आगमन हुन्छ । ऐतिहासिककालमा जनकपुरका राजा जनकको ससुराली (सीताकी आमा)को जन्मथलो मानिने पर्वत पाँगस्थित पार्वती मन्दिरमा राम र सीताको विवाहपछि आशिर्वाद लिन राम–सीता पर्वत पाँग आएका र फर्किंदा पोखरामा हनिमुन मनाएका किंवदन्तीदेखि वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर धाम, पशुपति र मुक्तिनाथ परिक्रमा हिन्दु सर्किटले पनि गण्डकी प्रदेशलाई कम महŒव राख्दैन ।
सबै नेपालीले एकपटक हनिमुन, भ्यालेन्टाइन वा बिदा पोखरा÷गण्डकीमा गएर मनाउने कार्यक्रम बनाउनु उपयुक्त छ । केही महिनाअघि गण्डकी प्रदेशले पर्यटन प्रवद्र्धन अभियानअन्तर्गत प्रदेश ५, २, १ र बाग्मतीमा एकहप्ते कार्यक्रम राखेको थियो । जसमा एउटा साँस्कृतिक टोलीको चर्चित गीत, “आमन्त्रण गर्छु कोटीकोटी भ्रमण गर्नुस् गण्डकी (प्रदेश) एकचोटि” भन्ने बोल थियो । यो गीतको पछाडि पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक पर्यटकलाई गण्डकी प्रदेशमा घुमफिर गराउनु उद्देश्य थियो । त्यसैगरी भिटोफ नेपाल र नेपाल पर्यटन बोर्ड पोखराको संयुक्त आयोजनामा तीनदिने गण्डकी प्रदेशीय होमस्टे मार्ट
सञ्चालनमा रह्यो ।
हाल भिटोफले गण्डकी प्रदेशका होमस्टेहरूलाई अन्य प्रदेशका होमस्टेहरूसँग मितेरी, भेटघाट एवम् भ्रमण गराउन थालेको छ । पहिलो आन्तरिक पर्यटन प्रवद्र्धन त्यसपछि बाह्य पर्यटन विकास रणनीति गण्डकी प्रदेशको प्राथमिकता हो । पोखरा सडक महोत्सव (वार्षिक) सञ्चालन, सम्पन्न हुन गइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, छिमेकी देशका पर्यटकलाई लायक र पायक हुने गतिविधिहरू सम्पन्न गर्दै आइरहेका छन् । ३४७ पृष्ठको सामुदायिक होमस्टे दर्पण २०७६ प्रकाशनमा ल्याएर बाँकी छवटा प्रदेश एवम् अन्य होमस्टेलाई अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ । पोखरा विमानस्थलबाट क्षेत्रीय÷आन्तरिक उडानहरू–भरतपुर–पोखरा– भैरहवा पोखरा–सुर्खेत–जुम्ला–मनाङ–मुस्ताङ–ढोरपाटन–बलेवा–भरतपुर–मेघौली–नेपालगन्ज–विराटनगर आदि ठाउँहरूमा विस्तार गरिसकेको र गर्नेक्रममा रहेको छ । प्रदेश सरकारकारको पहल र सहयोगमा होमस्टे मितेरी कार्यक्रमहरू देशव्यापी रूपमा सञ्चालन हुन थालेको छ । स्मारिका प्रकाशन, समय–समयको ब्रोसर (चिनारी पुस्तिका) प्रकाशन, ठाउँ ठाउँमा फोटो प्रदर्शनी र होमस्टे तालिममार्फत धमाधम आन्तरिक पर्यटन गतिविधिलाई प्रवद्र्धन गर्ने कार्यमा जुटेको भेटिन्छ ।
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका धार्मिक, प्राकृतिक एवम् साँस्कृतिक सम्पदाहरूको प्रवद्र्धन, संरक्षण, पुनर्जीवन तथा विकासका लागि अध्ययन, अनुसन्धानहरू पनि गर्न थालेको छ । पर्यटक गन्तव्यहरूलाई सुरक्षित एवम् सुविधायुक्त बनाउन टिमको व्यवस्था, सूचना केन्द्र, पर्यटन प्रहरीको व्यवस्था र दैवी घटना उद्धार (रेस्क्यू) रणनीति र सावधानी केन्द्रहरू पनि व्यवस्था गर्दै छ । पर्यटन क्रियाकलापहरूसँग प्रत्यक्ष सरोकार सङ्घ–संस्था र निजी क्षेत्र र व्यक्ति एवम् समुदायलाई परिचालन गरी ‘पर्यटन व्यवसाय एउटा विशुद्ध निजी व्यापारिक प्रतिष्ठान हो, सेवामूलक होइन’ भन्ने सन्देशसमेत दिन थालेको छ । किनभने पर्यटन मानिसका पाँच ज्ञानेन्द्रियहरूलाई आकर्षण गरी आर्थिक कारोबार गर्ने विद्या र क्षेत्र हो । यसमा प्रत्यक्ष फाइदा व्यक्ति, समुदाय र निजी क्षेत्रले गर्दछ । सरकारको भूमिका उनीहरूलाई प्रोत्साहन, सहजीकरण र अनुकूल पूर्वाधारहरू तय गरिदिनु मात्र हो । प्रत्येक जिल्लामा नेपाल भ्रमण वर्ष २०२० संयोजक समितिहरू प्रदेश सरकारको संयोजकत्व र समन्वयमा गठन भएका छन् । गण्डकी प्रदेशमा यो कार्यले तीव्रता पाएको छ ।
प्रदेश सरकारको नेतृत्व र सक्रियतामा भौतिक पूर्वाधार निर्माण अगाडि बढेका छन् । यस क्षेत्रमा रहेका सरोकार निकायहरूलाई सफ्टवेयर अर्थात् मानव संशाधन पूर्वाधारहरू– पर्यटन शिक्षा, ज्ञान, सीप, तालिम पुँजी परिचालन गर्ने व्यवस्थापकीय क्षमताहरू तयार गर्नु अति आवश्यक छ । हामीसँग सम्पदा (प्रडक्टस) हरू छन्, स्रोत–साधनहरू छन् तर तिनीहरूको समुचित प्रयोग, अधिकतम लाभ प्राप्त गर्ने कार्यक्रम र शिक्षाको अभाव देखिन्छ । बिदेसिएका युवा शक्तिलाई स्थानीयस्तरमा रोजगारी दिलाउने, प्रोत्साहन गर्ने, सम्पर्क सञ्जाल निर्माण गर्ने, विभिन्न सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्ने, प्रडक्टस टु प्रडक्टस कनेक्टिभिटी निर्माण गर्ने । जस्तै, चिनियाँ पर्यटक साहसी प्रडक्टस–प्याराग्लाइडिङ, ¥याफटिङ, हात्ती चढ्न रुचाउँछन् भने भारतीय एवम् एसिया प्यासिफिकका धार्मिक गन्तव्य– लुम्बिनी, मुक्तिनाथ, दामोदर कुण्ड मन पराउँछन् । व्याकवार्ड–फरवार्ड–लिङ्केजतर्फ पनि सरोकार संस्था, निकाय, समुदाय एवम् व्यक्तिमार्फत योजनाबद्ध तरिकाले अगाडि आउनुपर्दछ ।
यसका लागि सर्वप्रथम आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा हाम्रा उद्देश्यलाई प्रदेश र स्थानीयस्तरमा बजारीकरणका लागि समन्वय र सहकार्यको आवश्यकता छ । हामीले समुद्रपारिका भन्दा छिमेकी मुलुकका पर्यटकलाई बढीभन्दा बढी आकर्षण गराउने उद्देश्यसाथ योजना र कार्यक्रमहरू ल्याउनु आवश्यक छ । समय, प्रविधि र डिजिटल क्रान्तिको गतिमा नयाँ–नयाँ गन्तव्य÷वस्तु र कार्यक्रमको खोजी, बजारीकरण र मौजुदा सम्पदाहरूको संरक्षण, सम्बद्र्धन, रूपान्तरण एवम् विकासोन्मुख रहनुपर्दछ ।
हाम्रा धेरै सम्पदाहरूमा पर्यटन गन्तव्यको ह्रास देखापर्न थालेको छ । २२ दिने अन्नपूर्ण पदमार्ग ७÷८ दिनमा खुम्चिन गएको छ । पर्यावरणीय प्रणालीलाई कसरी जोगाइराख्ने र भूमण्डलीय जलवायु परिवर्तन र अतिक्रमणलाई कसरी सामना गर्ने, हाम्रो प्राकृतिक र संस्कृतिलाई हुबहु बचाइराख्न वातावरणीय प्रभाव प्रतिकूल हुन नदिन स्थानीय, क्षेत्रीय एवम् राष्ट्रिय तहमा विचार विमर्श र त्यसअनुसार व्यावहारिक योजना, रणनीति र कार्यक्रमहरू वार्षिक एवम् आवधिक योजनाहरू निर्माण गर्नु सोचनीय भइसकेको छ । हाल पर्यावरणीय पर्यटनको महŒव बढ्दो छ ।
नेपाल भ्रमण वर्ष २०२० एउटा सुरुवात र सङ्घारमात्र हो, त्यसैले आगामी दिन अर्थात् यो दशकको कार्यक्रमले क्रमशः भावी दिनहरूमा पक्कै पनि हाम्रो लक्ष्य पूरा हुनेछ । गण्डकी प्रदेशको गतिविधि र कार्यक्रमले एउटा अगुवाइको भूमिका निर्वाह गर्दै छ । बाँकी छवटा प्रदेशहरूमा पनि यस्तै सक्रियता र अझ नयाँ पहलमा नेपालको पर्यटन विकासको उद्देश्य सफल हुनेछ भन्ने आशा गरिन्छ ।
महोत्सव, भ्रमण अनुभव आदान–प्रदान र सरोकार निकायहरूको परिचालनले गति ल्याउँछ र समग्र सिङ्गो राष्ट्र समृद्धि उन्मुखतर्फ लाग्ने विश्वास गर्न सकिन्छ । गण्डकी प्रदेश पर्यटन विकासमा अग्रस्थानमा छ नै तर यसले अझ धेरै कार्यहरू सम्पादन गर्न बाँकी छ । भविष्यका योजना र कार्यक्रमहरूमा व्यापक छलफल, विचार विमर्श गरी व्यक्ति, समुदाय र निजी क्षेत्रलाई साथमा लिएर अगाडि बढ्नु छ ।
(लेखक ग्रामीण पर्यटनविद् हुनुहुन्छ ।)