डा. धनपति कोइराला
हिँड्ने गोरुकै धेरै पुच्छर निमोठिन्छ । नहिँड्ने गोरुलाई यो यस्तै हो हिँड्दै हिँड्दैन भनेर त्यसको एकतिरबाट मात्र हुन्छ आलोचना । जुन कामकाजी र फुर्तिलो पनि छ उसैमाथि आशा, भरोसा र अपेक्षा हुन्छ । त्यसैले केही काम गर्न उद्यत व्यक्तिकै सुरुमा काम गराइको शैली र प्रवृत्तिलाई लिएर हुन्छ सर्वत्र निन्दा र आलोचना । जब सकारात्मक परिणाम देखिन थाल्छन् यी आलोचक नै भोलि प्रशंसाको पुलिन्दा बोक्न थाल्नेछन् । त्यसैले सर्वत्र धैर्य र सहनशीलता जस्ता गुण सबैका निम्ति प्रिय हुन्छ ।
विकृत सामाजिक, राजनीतिक तथा प्रशासनिक जीवन भोगेर गुज्रिरहेको वर्तमान नेपाली मनोविज्ञान धेरै हदसम्म नकारात्मक छ । त्यो नकारात्मकताको सिर्जना पनि यही राजनीतिक चरित्र र चारित्रिकताले पैदा गरेको हो । यसर्थ सानोतिनो विषयमा समेत माथापच्चिसी गर्नु र तिललाई पहाड बनाउनु यसको विशेषता बन्ने गरेको छ । यसलाई सहजै पचाउँदै र सकारात्मक संस्कार र संस्कृतिको विकास गर्दै अग्रगतितर्फ लम्कने दायित्व पनि राजनीतिक चरित्रकै हो । यस दायित्वबाट राजनीतिक नेतृत्व भाग्न मिल्दैन । राणाशासन ढल्यो तर ढलेन राणातन्त्र । पञ्चायती तन्त्रको अवसान त भयो तर पञ्चेपनाको भएन कहिल्यै अन्त्य । राजतन्त्र अन्त्य भयो तर राजतन्त्रीय पद्धतिको अन्त्य भएन । यसैले तन्त्र फेरिए पनि संस्कार फेरिएन । संस्कार फेरिएन कर्मचारीतन्त्रको । संस्कार फेरिएन हुनेखाने वर्ग र कतिपय ठूलासाना सञ्चारमाध्यमको पनि ।
खोट निकाल्न अभ्यस्त पारखीले त चन्द्रको षोडश कलामा पनि खोट फेला पार्छन् । मर्यादापुरुषोत्तम मानिएका राम, बुद्ध, यशु, कन्फुसियस, महात्मा गान्धीमा पनि खोट फेला पार्छन् । सीता, सावित्री, वृन्दा हुँदै पतिपरायण नारीमा पनि फेला पार्छन् खोट । हिमालय, हिमताल र प्राकृतिक दिव्यछटामा पनि भेट्छन् कमजोरी । दक्षिण अफ्रिकालाई स्वतन्त्रता दिलाउने नेल्सन मण्डेला, चीनलाई विकासको उन्नत गतिमा पु¥याउन महìवपूर्ण भूमिका खोल्ने देङ सियापिओ, सिंहापुरलाई समृद्धिको शिखरमा आरोहित गर्ने नेतृत्व, जर्ज वासिङ्टन, अब्राहम लिङ्कन आदि नेतृत्वभित्र पनि भेटिन्छन् कमजोरी । आलोचना निर्जीव वस्तुको त हुन्छ भने सजीव जीवको नहुने कुरै भएन, त्यसमा पनि मानिसको । अझ सबै नागरिकको अभिभावकत्व ग्रहण गरेको सरकारको त नहुने कुरै भएन । धेरै आलोचना त्यसैको हुन्छ जो बढी गतिशील छ । अल्छे, कामचोर र निष्कर्म भएर बस्नेको पनि आलोचना हुन्छ नै । उसलाई गर्ने गालीका अनगन्ती शब्द भण्डारबाट जति शब्द ग्रहण गरे पनि त्यसको रुप र सार एउटै हुन्छ । तर कर्मशीलको हरकोणबाट सुरुमा निन्दा नै हुन्छ । बिस्तारै त्यो निन्दा उसले गर्ने सत्कर्मसँगै प्रशंसा, स्तुति र सम्मान हुँदै भक्तिमा रुपान्तरित हुनथाल्छ ।
यातायातको सिन्डिकेट, वैदेशिक रोजगार, युवा स्वरोजगार, योगदानमा आधारित पेन्सन, फास्ट ट्र्याक आदि कार्यक्रम सरकारका राम्रा भन्न मिल्ने काम हुन् । राम्रा कामलाई त छायाँमा पार्ने प्रयास भएकै थियो तर अझ सुन तस्करी, निर्मला पन्त हत्या प्रकरण, यति होल्ड्स, त्रिविबाहेकका विश्वविद्यालयका पदाधिकारी नियुक्ति जस्ता कतिपय पहेली नसुल्झिँदासम्म आलोचना हुन्छ । प्रसङ्गवश भारतबाट लिपुलेकसहित कालापानी मिचिएको, ललिता निवास जग्गा घोटाला, अब उठाइँदै गरेको मातातीर्थस्थित सरकारी जग्गा घोटाला जुन यसअघिका सरकारका पालामा भए, गरिएका विषय पनि यही सरकारले गरेकोजस्तो गरी प्रचारित छन् । कम्तीमा अहिलेसम्मका कार्यकारी प्रमुखले सार्वजनिक रुपमै भन्न नसकेको ‘कालापानी नेपालको अभिन्न भूमि हो र यहाँबाट विदेशी सेना हट्नुपर्छ र त्यो भूमि खाली गरिदिनुपर्छ’ भन्नु र कूटनीतिक पहलकदमी लिनु आफैँमा आँटिलो कार्य हो ।
हुन पनि कालापानी लिपुलेकजस्ता अतिक्रमित भूमि फिर्ता गर्ने विषय जनताले चाहेजस्तै र सरकारले निर्णय गर्नेबित्तिकै समाधान हुने होइन । लामो तर सक्षम कूटनीतिक प्रयास, अनवरत छलफल, आत्मनिर्भरतातर्फ उन्मुख आर्थिक भौतिक स्थिति भएपछि मात्र न्याय पाइने विषय हो यो । नेपाल–भारत सन्धि सम्झौता आदिको अध्ययनार्थ आफैँले गठन गरेको बौद्धिक वर्गले तयार पारेको प्रतिवेदन अझै भारतले बुझ्न चाहेको छैन । यसर्थ परिपक्व नेतृत्वले दूरदर्शिता अपनाउनु अपेक्षित हुन्छ । त्यो रुप पक्षबाट हेर्दा निर्वाह नगरिएको जस्तो प्रतीत भए पनि सारमा हेर्दा वर्तमान सरकारले जति गर्न सक्थ्यो र गर्नुपथ्र्यो त्यो गरेको छ । तर, सरकारले कालापानी, लिम्पियाधुरा, कालापानी, सुस्ता आदि आफ्नो भूमिलाई समेटेर अब त एउटा आधिकारिक नक्सा जारी गर्न सक्नुपर्छ । केही दिन अघिमात्र रक्षामन्त्री स्वयं कालापानी पुगेर कूटनीतिक–राजनीतिक अभिव्यक्ति दिएर फर्कनुभएको छ । रक्षामन्त्रीको हैसियतमा व्यक्त वाणीले राजनीतिक वृत्तमा एउटा महìव अवश्य राख्ला ।
तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईले महादेवले झैँ निन्दारुपी हलाहल विषपान नगर्नुभएको भए आज काठमाडौँका सडक असनका गल्ली र गल्छेडा जस्तैमा सीमित रहन्थे । हिजो निन्दा गर्नेहरू आज उहाँका अरू केही कामको निन्दा गरे पनि सडक विस्तारका निम्ति उहाँलाई धन्यावद नै दिइरहेका छन् । प्रधानमन्त्री केपी ओलीले अन्तर्चक्षु खोलेर हेर्नुभयो भने पत्रकार, कलाकार, लेखक आदि साँचो अर्थमा उहाँका शुभेच्छुक रहेको देख्नुहुनेछ । मिडियाले त सरकारको कमजोरी देखाइदिनु राम्रो हो । यस मानेमा उहाँको अध्यक्षतामा गठित सङ्घीय सरकारले गरेका त्रुटि कमीकमजोरी र ढिलासुस्ती जुन उहाँको छायाँमा परिरहेको हुनसक्छ, नजरमा नपरेका र पर्न नदिइएका विषय पनि हुनसक्छन् । हिजोको विकृत राजनीतिक संस्कृतिको जगमा बनेका मन्त्रीगण र कर्मचारीतन्त्रले प्रलोभनमा परी गल्ती गर्ने सम्भावना रहन्छ । तिनैलाई सरकार प्रमुखले देखे पुगेसम्म सचेत गर्ने हो । तिनलाई कारबाहीको दायरामा ल्याउने हो तर आफ्नो दृष्टि नपुगेका ठाउँमा लेखक, पत्रकारले ध्यानाकर्षण गराउँदा आलोचना गरिएको भनेर मात्र बुझ्नुहुँदैन । हुन त अरूको हण्डी खाएर लेख्ने केही पत्रकारले सधैँ असल काममा पनि खोट नै देखाउँछन् । तर ‘नबिराउनु नडराउनु’ भन्ने तथ्य बुझेको सरकार त्यसबाट विचलित हुनुपर्दैन । ‘काग कराउँदै गर्छ पिना सुक्तै गर्छ, कुकुर भुक्तै गर्छ हात्ती लम्किँदै गर्छ’ लोकोक्तिबारे प्रधानमन्त्री आफैँ जानकार हुनुहुन्छ ।
हो, एउटा दूरदर्शी, सक्षम र गम्भीर नेतृत्वले कहिल्यै पनि कसैको क्षणिक प्रशंसा या स्तुतिलाई महìव दिँदैन । त्यो पवित्र भावनाले गरिएको होस् या पूर्वाग्रह वा आग्रह भावनाले गरिएको किन नहोस् । सबैखाले आलोचना सुन्छ, मनन गर्छ । त्यसलाई आफ्नो चिन्तनको भट्टीमा पकाएर त्यसबाट शिक्षा र दीक्षा ग्रहण गर्दै विकृतिलाई कम गरी रचनात्मक कार्य गर्नमा त्यो ऊर्जाको उपयोग गर्दछ ।
किनभने सस्तो प्रशंसाले व्यक्ति र सरकारको मति नष्ट पार्छ । तसर्थ प्रधानमन्त्रीले सम्पादक, पत्रकारस“ग निडर भएर समाधानसहितको सिर्जनात्मक आलोचना गरी सधैँ मार्गनिर्देश गर्न आग्रह गर्नुपर्छ । खोज पत्रकारितामार्फत स्थानीय, प्रादेशिक र सङ्घीय तहका पदाधिकारी र कर्मचारीले कहीँ कतै अनियमितता गरेको भए निःस्वार्थताका साथ समयमै देखाएर राष्ट्रनिर्माणको महान् कार्यमा सघाउन अपिल गर्नु वाञ्छनीय हुन्छ । यसर्थ सरकार क्षणिक रुपमा प्रशंसाप्रिय होइन, आलोचनाप्रिय बन्नुपर्छ । अहिले जति आलोचना भए पनि यसपछि हुने त सरकारको प्रशंसा नै हो । यसर्थ सरकारले अहिले सराहनाको खोजीमा भन्दा काममा जोड दिनुपर्छ । स्वस्थ र सुन्दर आलोचनाले सरकारको काममा चुस्तता नै ल्याउँछ । सरकारी कामकाजको कमीकमजोरी देखाउनेलाई अझ सरकारले पुरस्कृत गर्नुपर्छ । यो सरकार लामो दूरी तय गर्ने सरकार हो । त्यसैले आजको आजै नतिजा हात लाग्दैन । सरकारले सुरु गरेको कामको परिणाम आउन पनि समय लाग्छ । दीर्घकालीन आयोजनाका कामको सुरुवात भएकाले त्यसको परिणाम समय लागे पनि अवश्य आउँछ । आलोचकलाई कामबाटै उत्तर दिन सकेमा सरकार सबैको नजरमा प्रशंसनीय बन्नेछ ।
(लेखक साहित्यकार हुनुहुन्छ ।)