logo
२०८१ मंसिर १२ बुधवार



विद्यार्थीलाई किन दिइन्छ दण्ड ?

विचार/दृष्टिकोण |




वाई.पी. आचार्य

जोन हाल्ट भन्नुहुन्छ, “स्कुल जेल जस्ता छन्, शिक्षक जेलर जस्ता छन् र विद्यार्थी कैदी जस्ता बनाइएको छ ।” झट्ट हेर्दा नेपालका विद्यालय यस्तै देखिन्छन् । यसो हुनुमा बहुकारण छन् । हाम्रो शिक्षा पद्धति प्रमुख दोषी छ । पढ्ने, लेख्ने र परीक्षामात्रै उत्तीर्ण गर्नमा केन्द्रित पद्धतिले यसलाई संरक्षण गरेको छ । समाजका अस्वाभाविक अपेक्षाले यसैलाई दुरुत्साहन गरेको छ । अभिभावकको अव्यावहारिक उच्च आकाङ्क्षाले भाङ पेलेर तोरीको तेल निकाल्न खोजिएको छ । रुसोले भने जस्तै किताबका पानापाना पढेका तर विद्यार्थीको प्रकृति पढ्न नसक्ने केही शिक्षकले विद्यार्थीलाई कैदी बनाएका छन् । यिनै समग्र कारणले विद्यालय विद्यार्थीलाई तर्साउने जेल भएका छन् । विभिन्न ठाउँमा शिक्षकले कुटेर विद्यार्थीलाई घाइते बनाएका घटना यिनैको प्रतिविम्ब हो ।
किन दण्ड ?
विद्यार्थीलाई दिइने दण्डविरुद्धका कानुन त बने तर कानुनी दाम्लोले पीडकलाई बाँध्न सकेन । दण्डको प्रकृति फेरियो तर मात्रा घटेन । नेपालमा यस्ता दण्डका बारेमा वैज्ञानिक अध्ययन भएको खासै भेटिँदैन तर केही रिपोर्ट र सञ्चार माध्यमका सूचनाले शारीरिक तथा मनोवैज्ञानिक दण्डका कारण हाम्रा विद्यालयहरू असुरक्षित रहेको देखाउँछन् । पङ्क्तिकार कैलालीको एक विद्यालय अवलोकन भ्रमणमा गएको बेला (दुई महिना अगाडि) एक जना अभिभावक आएर प्रधानाध्यापकलाई भन्नुभयो “मेरो बच्चा घरमा निकै उच्छृङ्खल भयो, पढ्न मान्दैन, होमवर्क गर्दैन, अलि डर देखाइदिनु प¥यो । यहीँबाट तिम्रो घरमा पनि सी सी क्यामेराले देख्न सक्छौँ भन्नुप¥यो ।”
यो प्रतिनिधिमूलक घटनामात्रै हो । अधिकांश शिक्षकले यस्ता घटना सुनाउँछन् ।
त्यस्तै सुर्खेतमा २५ जना जतिको शिक्षकको समूहमा छलफल गर्दा अधिकांशले दण्ड नदिएमा विद्यार्थीले नटेर्ने तर्क गरे । रौतहटका एक शिक्षकले त “चड्कन नदिए विद्यार्थीलाई अनुशासनमा राख्नै सकिँदैन, दण्डरहित विद्यालय बनाउने भनेको अनुशासनहीन विद्यालय बनाउनु हो” भने । यी भनाइले अभिभावकले कसरी दण्डलाई दुरुत्साहन गर्छन् र शिक्षकले निरन्तरता दिन्छन् भन्ने प्रष्ट हुन्छ । विद्यालयमा दण्डलाई दुरुत्साहन गर्ने अर्को कारण सामाजिक व्यवहार पनि हो ।
विद्यालय उमेरको बच्चा भएको घरमा आउने पाहुना वा आफन्त जो कसैले पनि बच्चालाई सोध्ने पहिलो प्रश्न तिमी कति कक्षामा पढ्छौ र कुन पोजिसन आउँछ भन्ने हुन्छ । र, प्रथम हुनुपर्छ है भन्ने एकल सुझाव हुन्छ । तिम्रो रुचि के हो ? के गर्दा रमाइलो लाग्छ ? भनी सोधिँदैन । एउटै कार्यमा सबै कसरी प्रथम हुन सम्भव छ ? प्रथम, द्वितीय नभए बेवकुफ भनिन्छ, कमजोर ठानिन्छ र अब्बल बनाउन दण्डको सहारा लिन खोजिन्छ यहाँ । दण्डको बलमा रुचि जगाउन खोजिन्छ । लाठी देखाएर ‘इन्जोय’ गर भनिन्छ । कान निमोठेर बच्चाको प्रतिभा निचोर्न खोजिन्छ । त्यो पनि किताब र कापीमा । के यही शैलीले फ्रोबेलले भने जस्तो बच्चाको सम्पूर्णताको विकास सम्भव छ ? इलिचले भने जस्तो विद्यालयले बच्चामाथि अन्याय गरेको ठहर्दैन ? उपनिषद्मा भनिएजस्तो यो शिक्षाले विद्यार्थीलाई निःस्वार्थी र आत्मविश्वासी बनाउँछ ? के हरेक बालबालिका अभिभावकले अपेक्षा गरेजस्तो डाक्टर र इन्जिनियर बन्नैपर्छ ? सोच्न जरुरी छ ।
शिक्षाशास्त्री रुसो भन्छन्, “जति बालबालिकालाई प्रकृतिबाट अलग गर्छौं त्यति उनीहरू अप्राकृतिक बन्छन् ।” अहिले हामीहरू बच्चालाई कृत्रिम संसारमा बाँच्न सिकाउँदैछौँ । मोबाइल, टीभीमा भुलाएर आफू फुर्सदिला बन्न खोज्छौँ । गाउँ छाडी सहर झारी सानो बन्द कोठामा बसेर बच्चालाई निजी विद्यालयमा पठाउँदैछौँ । घरमा सामान राख्ने त ठाउँ छैन, बच्चा खेलोस् कहाँ ? चार आनामा बनेको अग्लो विद्यालय भवन छ, कोचाकोच विद्यार्थी ‘ब्रिदिङ्ग स्पेस’ पनि नभएका विद्यालयमा उफ्रोस् कसरी ? विद्यार्थीको दैनिकी विद्यालयमा ‘क्लास वर्क’, घरमा ‘होमवर्क’, बाँकी समय भिडियो हेर्ने । यस्तो वातावरणबाट हुर्कंदै गरेका बच्चामा असामाजिक व्यवहार देखिनु स्वाभाविक हो । यिनै बच्चालाई अनुशासनको साँचोमा हालेर नैतिकवान र सामाजिक बनाउन फेरि दण्डको सहारा लिने गर्छौं । यो बालबालिकामाथिको जघन्य अपराध हो । मनोवैज्ञानिकहरू भन्छन्, “सबै बालबालिका फरक छन् उनीहरूको सिक्ने तरिका फरक हुन्छ ।” गार्नरका अनुसार सिकाइका सवालमा आठ प्रकारका बालबालिका हुन्छन् । कसैले सुनेर, कसैले बोलेर, कसैले गरेर... सिक्छन् । तर हामी सबैलाई एउटै साँचोबाट खुलोस् भन्ने चाहन्छौँ, एकै तरिकाले सिकोस् भन्ने अपेक्षा गर्छौं । सुनेर सिक्ने क्षमता भएका बालबालिका पाठ पढाउने विषयमा अब्बल हुन्छन् तर गरेर सिक्ने क्षमता भएकाहरू सुनेर वा बोलेर सिक्ने विधि अनुसार कम सिक्छन् । अब गरेर सिक्ने क्षमता भएकालाई सुनाएर नसिक्दा बेकुफ भनी कुट्छौँ । यो त एउटा रुखमा चढ्न बाँदर, चितुवा, माछा र हात्तीको बीचमा प्रतिस्पर्धा गराएजस्तै हो । यसमा बाँदर प्रथम हुन्छ तर अरू असक्षम होइनन् । पिटेर वा डर देखाएर अरू रुख चढ्न सक्दैनन् । उनीहरूको विशेषता अनुसारको प्रतिस्पर्धा हुनुपर्छ अनि सबैले राम्रो गर्छन् । त्यसैले घोकाएर सिकेन भनी बच्चालाई कुट्नु माछालाई रुख चढ्न सकेन भनी लाठी हानेसरह हो ।
अभिभावकको अङ्ग्रेजी मोहले विद्यार्थीमाथि ठूलो अन्याय भएको छ । अधिकांश संस्थागत विद्यालयमा विद्यालय समयभित्र अनिवार्य अङ्गे्रजी भाषामा बोल्नैपर्ने व्यवस्था गरिएको छ । अङ्ग्रेजी भाषामा नबोले ‘फाइन’ लिने वा कुटाइ दिने गरी ‘मोनिटर’ को समेत व्यवस्था गरेको पाइन्छ । ब्रिटिस काउन्सिलको २०१६ को एक रिपोर्ट अनुसार नेपालका बालबालिकाहरूले मातृभाषा छाडेर अङ्ग्रेजी भाषामा पढ्दा उनीहरूको रचनात्मकता कमजोर भएको भनी मातृभाषामा सिकाउन सिफारिस गरेको छ । तर हाम्रा स्कुलमा मातृभाषामा संवाद गर्दा ती कलिला गालामा चड्कन पर्छ । यो कहाँको न्याय हो ? के यसले सिर्जनात्मकताको मुन्टो निमोठ्दैन ? के अङ्ग्रेजी भाषा नै अब्बलताको परिचायक हो ? पराई भाषाले बालबालिकाको अन्तरनिहित प्रतिभाको बिर्को खुलाउला कि झन् बन्द
गर्ला ? मन्थन जरुरी छ ।
पीडित को ? पीडक को ?
विद्यार्थीमाथिको दण्ड सामुदायिक र संस्थागत विद्यालय दुवैमा व्याप्त नै छ तर संस्थागतमा चरम देखिएको छ । विद्यालयका लगानीकर्ताको विद्यार्थीको नतिजा अङ्कमा देखाएर ‘बिजनेस’ चलाउने ध्याउन्न हुनु यसको प्रमुख कारण हो । त्यस्तै शिक्षकलाई विद्यार्थीको नतिजासँग मात्रै दाँजेर मूल्याङ्कन गरिनु र अभिभावकको उच्च अङ्क ल्याउनैपर्ने आकाङ्क्षा पूरा गर्ने लालसाले पनि दण्डलाई उक्साइरहेको छ । अर्कातिर बिचरो बाल मनोविज्ञान पढेको तर आन्तरिकीकरण नगरेको, न्यून पारिश्रमिकमा थिरिथिरी जागिर धानेको शिक्षकलाई निचोर्न खोज्दा त्यसको वज्र्र विद्यार्थीमाथि परेको देखिन्छ ।
सामाजिक रूपमा हेर्दा दलित, पिछडा र गरिब परिवारका बालबालिका बढी पीडित भएको तथ्याङ्कले देखाउँछ । पियरे बड्युले भनेजस्तो ‘सांस्कृतिक पुँजी’ कमजोर भएकाहरू बढी मर्कामा परेका छन् । घर परिवारबाट उपयुक्त वातावरण नपाएका, विद्यालयको मात्रै भर पर्नेहरू बढी शोषित छन् । विद्यालयमा भन्दा घरमा शारीरिक र मानसिक दण्ड खाने बालबालिका अधिक छन् जुन बाहिर कम आउँछ । हरेक दिन आमाबाबुको चड्कन नभेट्ने बालबालिका विरलै होलान् । यो झनै खतरनाक छ ।
अब के गर्ने ?
सद्गुरु भन्नुहुन्छ, “विद्यालयमा दण्ड भोगेका बालबालिका नै पछि समाजका सबैभन्दा उच्छृङ्खल व्यक्ति बन्छन् ।” त्यसैले बालबाललिकामाथिको दण्ड हरेक तह र क्षेत्रमा वर्जित हुनुपर्छ । यसका लागि निम्न काम गर्न आवश्यक छ । १) बालबालिकालाई मूल्य दिने, बच्चालाई स्वतन्त्रता दिने । उनीहरूको रुचि अनुसारका क्रियाकलाप गर्न दिने । २) समस्या विद्यार्थीमा होइन शिक्षण विधिमा हो, अभिभावकको महìवाकाङ्क्षामा हो भन्ने चेतनाको विकास गराउने । बालबालिका जे हुन् त्यही बन्ने अवसर दिने । महाभारतकालमा पनि क्षमता र रुचि अनुसारको सिक्ने अवसर दिइन्थो, अर्जुन धनुष विद्यामा, भीम र दुर्योधन गदामा, युधिष्ठिर भालामा.. पोख्त थिए, त्यही अनुसारको सिकाइ वातावरण थियो । ३) तल्लो कक्षामा पढाइ होइन क्रियाकलाप गराउने, रुचि जगाउने र रुचि पहिचान गर्ने वातावरण बनाउने । ४) अहिलेजस्तो लेखी ल्याउने गृहकार्य पद्धति बदल्ने, र गरी आउने पद्धति बसाल्ने । ५) विद्यालयमा अङ्ग्रेजी बोल्नैपर्ने अभ्यासलाई निषेध गर्ने ६) पीडकलाई जघन्य अपराधीका रूपमा कारबाही गर्ने व्यवस्था गर्ने ।
विद्यालय र घर परिवारमा बालबालिका माथि गरिने दुव्र्यवहार ‘कल्चर्ड’ भएको छ । यो शिक्षकलाई मात्रै दुत्कारेर कम हुँदैन । यसमा राज्य, विद्यालय, शिक्षक, परिवार, समाज सबै सचेत र जिम्मेवार हुनुपर्छ ।
(लेखक अध्यापन गर्नुहुन्छ ।)
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?