डा. देवी क्षेत्री दुलाल
यतिबेला नेपालको पत्रकारिताको इतिहास एक सय १९ वर्ष पुगेको छ । यसको ज्युँदो प्रमाण गोरखापत्र दैनिक हाम्रासामु छँदैछ । यति लामो इतिहासको सन्दर्भमा यो आलेखको केन्द्रीय विषय चाहिँ नेपालको वर्तमान पत्रकारिता र पत्रकार हो । यसको सामयिक अधिकार, कर्तव्य र प्रवृत्तिबारे सङ्क्षिप्त विश्लेषण गर्नु हो ।
अहिले हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास गरिरहेका छौँ । नेपालको संविधानले परिकल्पना गरेअनुरूपको शासनव्यवस्था सञ्चालन भइरहेको छ । राज्यका तीनवटै तहमा जननिर्वाचित सरकार क्रियाशील छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यको प्रमुख तीन अङ्ग हुन् । यस्तै चौथो अङ्गका रूपमा प्रेस अर्थात् पत्रकारिता जगत्लाई व्यवहारतः स्वीकार गरिएको छ । नेपालको संविधानको प्रस्तावनामै स्वतन्त्र प्रेसलाई आत्मसात् गरिएको छ । समष्टिमा भन्दा यही पत्रकारिता जगत् नै राज्यको चौथो अङ्ग हो । चौथो अङ्गलाई थप मर्यादित, जवाफदेही र उत्तरदायी बनाउन सरकारले प्रेस काउन्सिल विधेयक ल्याएको छ । यसमाथि अहिले सदनदेखि सडकसम्म समर्थन, विरोध र परिमार्जनको आवाज उठिरहेको छ । लोकतन्त्रमा सरकारको कामका विषयमा आलोचना र समर्थन हुनु लोकतन्त्रको सौन्दर्य नै हो । यस विषयमा स्वयं पत्रकारिता जगत् नै विरोधको स्वरसहित सडकमा आएका छन् । यसै सन्दर्भमा पत्रकारिता पेशा या व्यवसाय के हो ? अधिकार मात्र हुने कि कर्तव्य पनि छन् ? भन्ने जस्ता प्रश्न जनस्तरबाटै उठिरहेका छन् ।
पेशा कि वयवसाय ?
पत्रकारिता निश्चय नै पेशा हो व्यवसाय होइन । यो मर्यादा, जवाफदेहिता र उत्तरदायित्वसहितको पेशा हो । कानुन व्यवसायीले गर्ने वकालतजस्तो कानुनी व्यवसाय होइन । उद्योगी व्यवसायीले गरेजस्तो उद्योग व्यवसाय पनि होइन । पत्रकारिता त उच्च नैतिकतासहितको आस्था, विश्वास र प्रतिबद्धता हो । आज पत्रकारितामा नयाँ क्रान्ति आएको छ । प्रविधिमा मात्र होइन, प्रस्तुति, प्रयोग र प्रभावमा पनि । यसकारण पत्रकारिता पेशालाई नयाँ परिभाषासहित थप मर्यादित बनाउन
जरुरी देखिन्छ । नेपालको पत्रकारितामा ठुल्ठुला लगानीकर्ता आएका छन् । उनीहरूले इलेक्ट्रोनिक (विद्युतीय) र प्रिन्ट (छापा) दुवै क्षेत्रको मिडियामा लगानी गरेका छन् । नाफामूलक ठूलो उद्योगका रूपमा सञ्चारक्षेत्रलाई प्रयोग गरिरहेका छन् । लगानीकर्ताले लगानी गरेपछि मुनाफा खोज्नु कुनै पनि व्यवसायीको धर्म हो । आजका हाम्रा सञ्चारक्ष्ोत्रका लगानीकर्ता यसै अनुरूपको अपेक्षा गरेर मिडियामा लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताले आशातित नाफा कमाइरहेका छन् । सञ्चारलाई नाफामूलक उद्योग व्यवसाय बनाइरहेका छन् ।
एकातिर यस्तो अवस्था छ भने अर्कातिर सानो लगानीमा चलेका मिडिया चल्न नसकेर मरणासन्न अवस्थामा छन् । जसले लामो समयदेखि पत्रकारितलाई आस्था, विश्वास र मर्यादित पेशा बनाएका थिए तिनको पत्रकारिता पेशा सङ्कटग्रस्त बनेको छ । यसो हुनको मूल कारण सरकारले सञ्चार नीतिलाई समयसापेक्ष बनाउन ढिला गर्नु पनि हो । हाम्रो पत्रकारिता बहुआयामिक बनिसकेको अवस्थामा पुरानै सञ्चारनीति, नियम र नियमावलीले नियमन गर्न सक्दैन । यसर्थ सञ्चारनीतिमा सामयिक परिवर्तन अपरिहार्य देखिन्छ । सरकारको पुरानो सञ्चारनीति न्यायोचित छैन । जिल्ला या स्थानीय पालिकास्तरको कुनै सूचना प्रकाशन गर्नेजस्तो सामान्य काम पनि राजधानीबाट प्रकाशित ठूलो दैनिक पत्रिकामा नै छाप्नुपर्ने ! यो प्रावधानले मोफसलमा रहेका साना लगानीमा प्रकाशित÷सञ्चालित मिडियाहरू आर्थिक रूपले चल्न सकिरहेका छैनन् । ठूला मिडियामा काम गर्ने पत्रकार र सानो लगानीमा काम गर्ने पत्रकारबीच वर्गीय असमानता सिर्जना भइरहेको छ ।
पछिल्लो समय नेपालको मिडियामा पेशाको झ्यालबाट छिरेर व्यवसायको ढोकाबाट निस्किने प्रवृत्ति बढेको छ, यसलाई नियमन गर्न आवश्यक छ । जसरी अन्य क्षेत्रको व्यवसाय छाडेर स्कुल खोल्न, अस्पताल, मेडिकल खोल्न र अकुत नाफा आर्जन गर्न लालायित भए व्यवसायीहरू ठीक त्यसरी नै सञ्चारक्षेत्रमा लगानी गरेर अकुत कमाउने र मिडियाको आडमा शक्ति आर्जन गर्नेदेखि देशको राजनीतिलाई नै प्रभावित पार्नेसम्मका हर्कत अहिले भइरहेका छन् । अझ त्यस्ता सञ्चार उद्योगी र तिनका पक्षधर राज्यका सञ्चारमाध्यमलाई समेत निजीकरण गर्नुपर्छ भनिरहेका छन् । यसो हुनु किमार्थ ठीक होइन । हाम्रो देशको मिडिया पेशाको नाममा व्यवसाय भइरहेको छ, अझ व्यावसायिकताको आवरणमा व्यापारीकरण भइरहेको छ । सञ्चारमा व्यवसायीकरण हुनुपर्छ तर व्यापारीकरण हुनुहुँदैन । व्यवसायीकरण र व्यापारीकरण फरक हो । यिनै कुराबीचको अन्तर छुट्याउन र पत्रकारितालाई उत्तरदायित्व र जवाफदेहीपूर्ण पेशा बनाउनका लागि पनि नयाँ सञ्चार ऐन अविलम्ब आउन जरुरी छ । प्रस्तावित प्रेस काउसिल विधेयकलाई आवश्यक परिमार्जसहित पास गरौँ, त्यो मिडिया क्षेत्रको सर्वाङ्गीण हितमा होस् ।
अधिकार र कर्तव्य
नेपालको संविधानले नै नागरिकको अधिकार र कर्तव्यबारे प्रष्ट पारेको छ । राज्यको चौथो अङ्गमा क्रियाशील पत्रकार पनि समान नागरिक हुन् तिनको पृथक् विशेषाधिकार हुँदैन तर पेशा, भूमिका र क्षेत्रका आधारमा आम नागरिकले पत्रकारलाई छुट्टै दर्जाका विशिष्ट नागरिक हुन् कि भन्ने ठान्छन् र यथेष्ट सम्मान पनि गर्छन् । यही जनसम्मानलाई बुझेर या नबुझेर हामी कतिपय पत्रकार आफूलाई अरू आम नागरिकभन्दा ठूलो, जान्ने विशिष्ट सर्वज्ञका रूपमा हेर्छौं र त्यस्तै प्रवृत्ति पनि देखाउँछौँ । यसो गर्नु सर्वथा भुल हो । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ जस्तो, देशको नीति नियमभन्दा माथि छु भनेजस्तो प्रवृत्ति चौथो अङ्गका कतिपय सदस्यमा प्रकट भइरहेका छन् । यस्तो हुनु र सोच्नु अल्पज्ञान हो । आफ्नो मात्र नभएर सम्पूर्ण नागरिकको अधिकार रक्षाको लागि पहरेदारी र खबरदारी गर्ने सचेतक हो पत्रकार । आवाजविहीन नागरिकको आवाजलाई मुखरित गर्ने सचेत नागरिक हो पत्रकार । यसरी देशको नागरिकको अधिकारप्रति सचेत रहँदै राज्यका अन्य तीनवटा अङ्गसँग जनतालाई जोड्ने पुलको काम गर्नु पनि हो पत्रकारको काम । यसैकारण पत्रकार विनयशील, अध्ययनशील र सचेत हुनपर्छ । यसैभित्र पत्रकारको मर्यादित अधिकार अनुदित हुन्छ । अधिकारका साथै कर्तव्य जोडिएका हुन्छन् नागरिकका । यति लामो र गौरवपूर्ण पत्रकारिताको इतिहास पार गरेर यहाँसम्म आइपुग्दा पनि हामीले आफ्नो कर्तव्यप्रति सचेत भएका छैनौँ कि भन्ने देखिन्छ । हाम्रा राजनीतिक संस्था र तिनका नेताहरू सत्तामा रहँदा पत्रकारका कर्तव्यप्रति चासो राख्ने र फेरि तिनै संस्था र तिनका नेता विपक्षमा रहँदा अधिकारको मात्र वकालत गर्ने द्वैध चरित्र या परम्परागत मनोरोग यसको कारक हो । हाम्रो पत्रकारिता राजनीतिक पत्रकारिताबाट सुरु भएको हो । राजनीतिक पत्रकारिताको आफ्नै मूल्य र महìव हुन्छ । यही पत्रकारिताको असर पनि हो यस्तो हुनको अर्को कारण । पत्रकारिताका थुप्रै स्थापित सिद्धान्त छन्, त्यो छुट्टै विषय हो ।
अधिकारको उपभोग गर्ने नाममा यतिबेला देशका प्रधानमन्त्रीले पत्रकारको शब्दकोषमा आदरार्थी शब्द नभएको हो कि ? भनेर शङ्का गर्नुपरेको छ । पत्रकारको प्रस्तुति र पक्षधरताका विषयमा प्रश्न उठाउनुपरेको छ । उपमहानगरपालिकाका मेयरले पत्रकारले घुस मागे, केही पत्रकार कमिसन, घुस नपाएपछि आफूविरुद्ध योजनाबद्ध षडयन्त्रमा लागे भनेर जनतामा अपिल गरेको सुन्नुपरेको छ । पछिल्लो समयमा आएर नेपाल भारतबीचको सीमा विवादको विषयका समाचार र उपनिर्वाचनका समाचार सम्प्रेषणका विषयमा पनि प्रशस्तै पक्षधरतापरक समाचार आए । यस्ता घटना, समाचार, प्रवृत्ति र पात्र अपवाद हुन् तर यसमा नेपाली मिडियाजगत्ले आत्मसमीक्षा गर्न आवश्यक छ । नत्र एउटा बिराउने शाखा पिराउने भन्ने नेपाली उखान चरितार्थ हुन्छ । लोकतन्त्र, नागरिकको अधिकारको रक्षा र राष्ट्रको समुन्नतिका लागि आफ्नो कर्तव्यलाई हरपल अधिकार समान ठान्नुपर्दछ । यसैमा पत्रकारिताको पेशागत सम्मान, मर्यादा र अधिकार अन्तरनिहित हुन्छ, सबैको हित हुन्छ ।
(लेखक पत्रकार हुनुहुन्छ ।)