प्रकृतिका समन्वयकारी वन्यजन्तुको महìव बुझेर नै हाम्रो धर्मसंस्कृति, सभ्यताले प्राणी हिंसा होइन, तिनको रक्षार्थ पूजा र माया गर्न सिकाएका छन् । तर मानव जति आधुनिक र सभ्य बन्दै गएको छ उति नै वन्यजन्तुको जीवन जोखिममा पर्दैगएको छ । एकातिर वन विनाश हुँदैछ, अर्कोतिर वनजङ्गलमा बसोवास गर्ने वन्यजन्तुको शिकार गर्ने सञ्जाल विश्वभर छ । वन्यजन्तु चोरी शिकारी, वासस्थान विनाश, खान्कीको अभाव, मानव र वन्यजन्तुबीचको निरन्तर द्वन्द्वका कारण पनि वन्यजन्तुको जीवन सङ्कटमा छ । वन्यजन्तुको संरक्षणमा हरेक देशमा विभिन्न कानुनी व्यवस्था र ऐन छन्, अन्तर्राष्ट्रिय कानुनकै व्यवस्था छ । तथापि छलेर, चोरेर, मिलेमतोमा वन्यजन्तुको चोरी शिकारी तथा तस्करी कायमै छ । विश्वभर वार्षिक करिब २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुँदैगरेको तथ्याङ्क छ । जसको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकको छ । नेपाल यसबाट अछुतो छैन । यहाँ त अझै पनि तत्कालीन शासकहरूले वन्यजन्तुको शिकार गरेर बन्दुकसहित रवाफका साथ मृतजनावरको साथ उभिएका तस्बिर, चित्रकला व्यक्तिका घरकोठामा मात्र होइन, संसद् भवनकै भित्तामा टाँस्ने गरिएको धेरै पुरानो कथा होइन । यद्यपि पछिल्ला दशकमा त्यस्तो शिकारविरुद्ध कानुन बनेका छन्, वन्यजन्तुको वर्गीकरण गरी दुर्लभ र सङ्कटापन्न बन्यजन्तुको शिकार दण्डनीय बनाइएको छ । तथापि साना वन्यजन्तुको चोरी शिकार यथावत् छ ।
यसअघि राष्ट्रिय वनको प्रावधान रहँदा खुलारूपमा वन्यजन्तुको चोरी शिकारी हुनेगथ्र्यो । अहिले देशभरका वनमध्ये केही सामुदायिक वन तथा केही राष्ट्रिय निकुञ्जका रूपमा स्थापित छन् । निकुञ्जका वन्यजन्तुको संरक्षण जिम्मा नेपाली सेनासहित सुरक्षाकर्मीले लिएका छन् भने सामुदायिक वनका वन्यजन्तुको संरक्षणमा स्थानीय नागरिकले नै जिम्मेवारी लिएका छन् । त्यसकारण पहिलेको तुलनामा वन्यजन्तुको चोरी शिकारी तथा तस्करीमा कमी आए पनि नियन्त्रण छैन । वन विज्ञका अनुसार यसअघि भएको सशस्त्र युद्धताका वन्यजन्तुको चोरी शिकारीमा उल्लेख्य वृद्धि थियो । वन्यजन्तु संरक्षणकर्ताले आफ्नो सुरक्षाको कारण देखाउँदै वनको हेरचाहमा ध्यान दिन सकेका थिएनन् तर अहिले अवस्था सामान्य भएका बेला चोरी शिकारीमा केही नियन्त्रण भए पनि प्रभावकारी नियन्त्रण हुनसकेको छैन ।
नेपालमा आ.व. २०६८÷६९ लाई शून्य चोरी शिकारी वर्षको घोषणा गरियो । त्यसयता गैँडाको चोरी शिकारी घटेको छ तर हिमाली कालो भालु, घोरल, सालक, हात्ती, गौरीगाई, दुम्सी, मृगलगायतका वन्यजन्तुको चोरी शिकारी भइरहेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७०÷७१ मा चोरी शिकारी नियन्त्रण गर्न सरकारले ‘महाहन्ट अपरेशन’ नै चलायो तर चितुवा, रतुवा, सालक, चित्त, नीरबिरालो, लोटोकोसेरा, वनबिराला, न्याउरीमुसा, मलसाँप्रो, सर्प, लोखर्के, चराजस्ता वन्यजन्तुको चोरी शिकारी निरन्तर छ । केहीलाई चोरी शिकारी गर्नेले र केहीलाई वनमा हिँड्ने बन्जारा समूहले मारेको तथ्याङ्क देखिन्छ ।
तथ्याङ्क हेर्दा तुलनात्मकरूपमा चोरी शिकारीमा कमी आए पनि नियन्त्रण गर्ने चुनौती अझै छ । पछिल्लो बीस वर्षमा चितवनमा मात्रै गैँडाको तीनसय ६९ थान खाग, ६९ थान पाटे बाघका छाला, एकसय ८५ थान जङ्गली हात्तीका दाह्रा, चारसय ९३ थान चितुवाको छाला, ३६ थान कस्तुरी मृगको बिना सङ्कलन भएको देखिन्छ । अन्य दुर्लभ वन्यजन्तुको आखेटोपहार पनि सङ्कलन भएको छ । यसले पनि वन्यजन्तुको चोरी शिकारी तथा तस्करी भइरहेको पुष्टि गर्छ । पछिल्लो वर्षमा गैँडा र बाघको शिकार क्रमिकरूपमा घटेको छ तर चितुवा, सालक, घोरल र हाब्रेको शिकारमा भने वृद्धि भएको छ । त्यस्तै अजिङ्गर, सालक, हुचिल, लाटोकोसेरो लगायतको चोरी तस्करी बढेको तथ्याङ्कले देखाउँछ । खुला सिमाना तथा मानिसमा वन्यजन्तु संरक्षणको चेतना वृद्धि गर्न नसक्दा चोरी शिकारी नियन्त्रण हुन सकिरहेको छैन । वन्यजन्तुको चोरी शिकारी तथा तस्करी गर्ने अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएको देखिन्छ । वन्यजन्तु जोगाउन अन्तर्राष्ट्रिय गिरोहलाई निरुत्साही बनाउन अन्तर्राष्ट्रिय सहकार्य र कानुनी उपचारसहित सुरक्षा संयन्त्र क्रियाशील हुनु आवश्यक छ । वनजङ्गलको सुन्दरता र पर्यटकीय क्षेत्रको विस्तारका लागि पनि वन्यजन्तु चोरी शिकारी एवं तस्करी रोक्न नागरिक चेतना अभिवृद्धि गर्नु सबैभन्दा प्रभावकारी उपाय हुनेछ ।